जनताका दुःख, श्रम र मुक्तिको आकांक्षालाई गीतमार्फत् आवाज दिएका जनगायक खुसिराम पाख्रिनलाई जनसंस्कृतिकर्मीहरूले उनको योगदानको स्मरण गर्दै सम्झिएका छन्। उनका गीतले नेपाली सांस्कृतिक तथा राजनीतिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै वक्ताहरूले पाख्रिनलाई सिंगो सांस्कृतिक आन्दोलनकै शिखर व्यक्तित्वका रूपमा चित्रण गरे ।
०८३ मङ्सिर ५ गते शनिबार राजधानीको संवाद डबलीमा जनसांस्कृतिक महासंघले आयोजना गरेको पाख्रिनको नवौँ स्मृति दिवस कार्यक्रममा सहभागी वक्ताहरूले उनका सिर्जना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
नेपाली कम्युनिस्ट पार्टीकी नेतृ, पूर्वमन्त्री एवम् साहित्यकार सत्य पहाडीले पाख्रिनका कालजयी गीतले विभाजित क्रान्तिकारी मनहरूलाई एकताबद्ध हुन आह्वान गरेको बताइन्। कम्युनिस्ट आन्दोलनमा देखिएको टुटफुट र विभाजनका बीच उनका सांस्कृतिक योगदानले एकता, रूपान्तरण र संघर्षका लागि प्रेरित गरिरहेको पहाडीको भनाइ थियो ।
साहित्य, कला तथा संस्कृति विभाग प्रमुख गंगानारायण श्रेष्ठले नेपाली क्रान्ति र विशेषगरी जनयुद्धमा गीत–संगीतमार्फत् जनतालाई संगठित गर्न पाख्रिनको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनका सांगीतिक तथा वैचारिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु पर्नेमा उनले जोड दिए ।
जनसांस्कृतिक महासंघका इन्चार्ज चिरन पुनले पाख्रिनका सिर्जना र सहकार्यले नेपाली सांस्कृतिक आन्दोलनलाई प्रभाव पारेको चर्चा गरे। भाषा आयोगका पूर्वअध्यक्ष तथा गीतकार डा. गोपाल ठाकुरले देशको परिवर्तनका लागि पाख्रिनजस्ता प्रखर जनवादी र प्रगतिशील कलाकार आवश्यक रहेको बताए ।
भाषा आयोगका सदस्य तथा साहित्यकार मातृका पोखरेलले पश्चिमा संस्कार र संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा पाख्रिनजस्ता सर्जकले नेपाली मौलिक संस्कृति जोगाउन योगदान पुर्याएको बताए ।
जनसांस्कृतिक महासंघ नेपालका संयोजक भीम कुमाखीले जनवादी सांस्कृतिक तथा सांगीतिक आन्दोलनमा पाख्रिनले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै आगामी समाजवादी सांस्कृतिक आन्दोलनका लागि नयाँ नेतृत्व विकास गर्नुपर्ने बताए।
महासंघका सहसंयोजक तथा संगीतकार अष्ट लामाले उनका गीतले कलाकारलाई जनताप्रति प्रतिबद्ध रहन प्रेरित गर्ने गरेको धारणा राखे।
कार्यक्रममा वरिष्ठ जनवादी गायक तथा संगीतकार मोहित श्रेष्ठले पाख्रिनको सांगीतिक योगदानबारे चर्चा गरेका थिए। महासंघकी कार्यालय सदस्य तथा गायिका कुश्मा महरा ‘प्रगति’ले पाख्रिन जनवादी कलाकारमा मात्र सीमित नभई सिंगो सांस्कृतिक आन्दोलनकै प्रेरक व्यक्तित्व रहेको बताइन्।
स्मृति दिवसमा साहित्यकार तथा कविहरू मातृका पोखरेल, डा. केशव सिलवाल र राजाराम रावतले पाख्रिनको सम्झनामा कविता वाचन गरेका थिए । मोहित श्रेष्ठ, काशीराम बुढामगर ‘झन्कार’, कुश्मा महरा ‘प्रगति’, केशरी घर्ती, विहानी विक, केशर कालिकोटे, चन्दु गोरखाली, कुष्मिता दर्लामी, धनु ज्ञाङ्मी, दीपक राई, निर्मला घिसिङ, पूजा श्रेष्ठ र सुझाव ढकाललगायत कलाकारले उनका चर्चित गीत प्रस्तुत गरेका थिए।
000
को हुन् जनगायक खुसिराम पाख्रिन ?
वि.सं. २००९ कात्तिक ९ गते गोरखामा जन्मिएका खुसिराम पाख्रिन नेपाली जनवादी तथा प्रगतिशील सांगीतिक आन्दोलनका अग्रणी सर्जक थिए। गायन, संगीत र गीत लेखन तीनै विधामा सक्रिय उनी वि.सं. २०३५ सालदेखि औपचारिक रूपमा सांगीतिक यात्रामा लागेका थिए। वि.सं. २०३८ मा ‘सगरमाथाको काखबाट’ गीत सार्वजनिक गरेपछि उनको सांगीतिक यात्रा थप चर्चित बनेको थियो।
पञ्चायती व्यवस्थाविरुद्धको सांस्कृतिक आन्दोलनदेखि जनयुद्ध र त्यसपछिको राजनीतिक परिवर्तनसम्म उनले गीत–संगीतलाई सामाजिक जागरण र जनताको पक्षमा आवाज उठाउने माध्यम बनाए। बेदना सांस्कृतिक समूह हुँदै सामना सांस्कृतिक परिवारको संस्थापक तथा अगुवाका रूपमा उनले देशभित्र र प्रवासमा जनवादी गीतमार्फत् सांस्कृतिक अभियान सञ्चालन गरेका थिए।
‘भोका नाङ्गा नानीहरू’, ‘गैँती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’, ‘फाटेको जालाले छेके पनि’ र ‘लाल झुपडीका मान्छेहरू’ लगायत उनका गीतमा श्रमिक, किसान, गरिब, उत्पीडित र सर्वसाधारणका दुःख तथा संघर्ष अभिव्यक्त भएका छन्। उनका एक सयभन्दा बढी गीतमा स्वर तथा संगीत रहेको र थुप्रै सिर्जना प्रकाशित हुन नसकेको बताइन्छ। उनले आफ्ना सिर्जनामार्फत लोकलयलाई जनजीवन र परिवर्तनको आन्दोलनसँग जोड्ने काम गरेका थिए।
पाख्रिन राजनीतिमा पनि सक्रिय थिए। उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट संविधान सभा सदस्यसमेत बनेका थिए। २०७४ मंसिर ५ गते चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभामा गीत प्रस्तुत गरेपछि उनलाई हृदयाघात भएको थियो। उपचारका लागि अस्पताल पुर्याइए पनि उनको निधन भयो। गीत गाउँदागाउँदै जीवन बिताएका पाख्रिनको निधनले नेपाली जनवादी सांगीतिक आन्दोलनले एक प्रतिबद्ध सर्जक गुमाएको थियो। उनको योगदानको कदर गर्दै २०८१ सालमा मरणोपरान्त एक लाख रुपैयाँ राशिको जेबी टुहुरे स्मृति पुरस्कारसमेत प्रदान गरिएको थियो।


























No comments:
Post a Comment