Monday, November 28, 2022

चुनावी प्रतिस्पर्धामा संस्कृतिकर्मी

 


चुनावी प्रतिस्पर्धामा संस्कृतिकर्मी

सौर्य अनलाइन२०७९ कार्तिक २६ गते प्रकाशित



काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब दुई दर्जन बढी संस्कृतिकर्मी उम्मेद्वार बनेका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फ उनीहरु प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरु विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रचार प्रसारमा व्यस्त छन् । रुकुम पूर्वबाट प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) बाट पूर्णबहादुर घर्ति उम्मेद्वार बनेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारका रुपमा निर्वाचनमा होमिएका उनी संगीतकर्मीका रुपमा परिचित छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ नेपालका पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवाली प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेद्वार छन् । यस्तै, माओवादी प्रदेश १ का सचिव मणिकुमार साम्पाङ ‘विजय’ समेत समानुपातिक उम्मेदवार बनेका छन् । उनी पनि महासंघका पूर्वकोषाध्यक्ष हुन् । चर्चित अभिनेत्री रेखा थापा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै प्रचार प्रसारमा व्यस्त छन् । माओवादीबाट राजनीति यात्रा थालेकी उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी बनेकी हुन् । अभिनेत्री थापा नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्मा र नेकपा एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा उत्रिएकी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लेखक युग पाठकले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका छन् । नियमित रुपमा समसामयिक राजनीतिक विश्लेषण गरिरहने पाठकका केही पुस्तक प्रकाशित छन् । पाठक ओलीसँगै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रा.डा. खगेन्द्र अधिकारीसँग चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी चर्चित गायिका कोमल वली पनि प्रत्यक्षतर्फ दाङ क्षेत्र ३ बाट नेकपा एमालेको उम्मेद्वार बनेकी छन् । उनी यसअघि राष्ट्रियसभा सदस्य रहेकी थिइन् । उनी कांग्रेसका दीपक गिरी, राप्रपाका ओजबहादर खड्का लगायतसँग प्रतिस्पर्धामा उत्रिएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फ राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका पूर्वउपाध्यक्ष तथा गायिका पवित्रा घर्ती मगरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । काभ्रे २ बाट चलचित्र निर्देशक मनोज पण्डित प्रतिनिधिसभा सदस्यमा उठेका छन् । प्रचार प्रसारमा व्यस्त उनी बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका शिवप्रसाद हुमागाँई र एमाले नेता गोकुलप्रसाद बाँस्कोटासँग प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठ स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाबाट विद्रोह गरी उनी स्वतन्त्र उम्मेद्वार बनेका हुन् । गायक श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चार महिनाअघिदेखि नै काठमाडौं ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए । राप्रपाले सो क्षेत्रबाट विष्णुप्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि गायक श्रेष्ठले राप्रपा परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बनेका हुन् । यो क्षेत्रबाट नेपाली कांग्रेसबाट पूर्वमन्त्री भीमसेनदास प्रधान र नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल उम्मेद्वार छन् ।

यस्तै, कलाकार मुधुसुदधन पाठक ‘सिते बा’ काठमाडौं ५ बाट स्वतन्त्र उम्मेद्वार बनेका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, स्वतन्त्र उम्मेद्वार रञ्जु दर्शना लगायतसँग प्रतिस्पर्धा गर्दैछन् । हाँस्यकलाकार हिमेश पन्त धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हुन् । उनले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्दैछन् ।

निर्माता तथा चलचित्र निर्देशक दलप्रसाद लिङदेन (दिनेश लिङदेन) यतिबेला चुनावी दौडाहामा व्यस्त छन् । पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका लिङदेन अहिले घरदैलो कार्यक्रमसहित जिल्लाका सबै पालिका तथा वडाका समर्थकसँग भेटघाटमा व्यस्त छन् । एक नगरपालिकासहित सात वटा गाउँपालिका रहेको पाँचथरमा उनले स्वास्थ, शिक्षा, कृषि, रोजगार, सडक लगायतका भौतिक पूर्वाधा को निर्माण एजेण्डा लिएर चुनावमा होमिएका छन् । उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् । कालिकोट निवासी जनवादी गायक बिहानी बिकले नेकपा माओवादी समाजवादीबाट समानुपातिक उम्मेद्वार बनेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीलाई नेकपा एमालेले प्रदेश १ को समानुपातिक उम्मेद्वार बनाएको छ । यस्तै, एमालेले वागमती प्रदेश कमिटि सदस्य नारायणभाई श्रेष्ठलाई समेत प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेद्वार बनाएको छ । नेपाली कांग्रेसले चलचित्र निर्माता तथा कलाकार रोज राणालाई प्युठान १ ‘ख’ बाट प्रदेशसभाको उम्मेद्वार बनाएको छ । यसैगरी चलचित्र वितरक करण श्रेष्ठ ‘क्रेजी’ प्रदेशसभा सदस्यमा उठेका छन् । काठमाडौं १ को ‘ख’ बाट श्रेष्ठले समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश समिति अध्यक्ष तथा जनसांस्कृतिक महासंघ नेपालका पूर्वअध्यक्ष सरल सहयात्री सिन्धुपाल्चोक १ को ख बाट प्रदेशसभा सदस्यका उम्मेद्वार बनेका छन् । प्रचार प्रसारमा व्यस्त उनले नेपालको सांस्कृतिक दिशालाई मौलिक ढंगले विकास गर्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका छन् ।

यस्तै माओवादी निकट जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष तथा जनवादी गायिका प्रगति महरा लुम्बिनी प्रदेशसभा सदस्यको समानुपातिक उम्मेद्वार बनेकी छन् । यसैगरी माओवादीले महासंघका केन्द्रीय सदस्य तथा जनवादी गायक केशर कालिकोटेलाई वागमती प्रदेशको समानुपातिक सदस्यको उम्मेद्वार बनाएको छ ।माओवादी निकट जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले प्रतिनिधिसभा तथा प्रदेशसभामा संस्कृतिकर्मीको बलियो उपस्थिति हुनुपर्ने बताए । उनले भने, ‘कला, साहित्य तथा संस्कृति क्षेत्रको विकास, प्रवद्र्धन तथा नीतिगत तहमा हस्तक्षेप बढाउनका लागि पनि संस्कृतिकर्मीको उपस्थिति हुनु पर्दछ । यस राजनीतिक दलको अझै गहन रुपमा ध्यान जान सकेको छैन ।’

एमालले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका महासचिव लालकाजी लामाले सांस्कृतिक क्षेत्रको विकासका लागि नीति बनाउने तहमा संस्कृतिकर्मी पुग्नु पर्ने बताए । उनले राजनीतिक दलले कला, साहित्य तथा संस्कृति क्षेत्रमा योगदान दिएका स्रष्टालाई उचित सम्मानका साथ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य बनाउनु पर्नेमा जोड दिए ।

000

www.souryaonline.com  बाट साभार 

No comments: