Tuesday, May 17, 2022

शान्तिका लागि कविता

 


काठमाडौं : २५६५औँ बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गर्दै कविता वाचनको कार्यक्रम सम्पन्न गरिएको छ । जरा फाउन्डेसन नेपालले २०७९ जेठ २ गते  आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति कविता वाचन कार्यक्रममा नेपाली तथा विदेशी कविहरुले कविता वाचन गरेका थिए ।

उक्त कार्यक्रमका  प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले गौतम बुद्ध एसियाका मात्रै  नभएर विश्वकै तारा भएको बताए । उनले कविताका माध्यमबाट शान्तिको खोजी गर्न सकिने र शान्तिको आह्वान गर्न सकिने बताए ।

यस्तै कार्यक्रमका विशेष अतिथि प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले शान्तिको खोजी गर्न कविता सजिलो माध्याम  भएको बताउँदै उनले नेपालका कविहरुले शान्तिका लागि निरन्तर कविता सिर्जना गरिरहेको बताए ।  

फाउन्डेसनका अध्यक्ष एवं कवि कृष्ण प्रसाईँले नेपाली कवितालाई विश्व बजारमा पुर्याउन अन्य देशका कविहरु सहितको गोष्ठी गर्नु पर्ने बताए । उनले विश्वमा अशान्ति फैलिएको अवस्थामा शान्ति कविताका माध्याबाट कविहरुले बुद्धलाई खोजिरहेको बताए ।

कार्यक्रममा प्रसाईले आफ्ना  केही जेन कविता सुनाएका थिए ।प्रसाई नेपाली जेन कविताका प्रबद्र्धकका रुपमा परिचित छन् । उनका दुईवटा जेन कविता कृति प्रकाशित भएका छन् ।

यस्तै कार्यक्रममा कवि विप्लव ढकाल, राजेन्द्र शलभ,विधान आचार्य,भीष्म उप्रेती, मातृका पोखरेल,ठाकुर बेलवासे, ज्योति जङ्गल, रेनुका शोलू,  शकुन्तला जोशी,उमेश अकिन्चन राई,रन्जना निरौला, देवेन्द्र के सी,डा.शान्तिमाया गिरी,सन्तोष पोखरेल लगायत विदेशी कविहरू बिरल्याण्ड राज्यका राजा डा.ईमिर हवाई र प्रधानमन्त्री तथा जरा फाउण्डेशनकी अन्तर्राष्ट्रिय  उपाध्यक्ष प्रा.डा.ईडेन एस ट्रिनिड्याडले समेत कविता वाचन गरेका थिए । 

फाउण्डेशनका अध्यक्ष  प्रसाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम कवि गीतकार देवेन्द्र के सीले संचालन गरेका थिए ।  कार्यक्रम बुढानिलकण्ठ स्थित छाहारी रिट्रिटमा  सम्पन्न भएको थियो ।

 www.khulamancha.com बाट साभार 







No comments: