२०७१ साल चैत्र १७ गते आउन धेरै दिन बाँकी थिएन । त्यस्तै छ सात दिन मात्र बाँकी थियो । अझ दुई दिन पछि काठमाण्डौबाट हामी बाटो लाग्नु पर्ने थियो । म प्रज्ञा प्रतिष्ठानमा आख्यान विभागको प्रमुख भएको बेला इलाममा नेपाल प्रज्ञा प्रतिष्ठान र रमाकृष्ण सिर्जना प्रतिष्ठानसँगको सहकार्यमा 'समकालीन नेपाली नारी कथाकार र कथा लेखन प्रवृत्ति' विषयक गोष्ठी गर्ने निर्णय गरिएको थियो । कार्यक्रमको टुङ्गो गरियो र कार्यपत्र लेख्ने जिम्मेवारी एकजना प्रख्यात महिला समालोचकलाई दिने निर्णय गरियो । कार्यपत्र तयार गरिदिने हाम्रो प्रस्तावलाई उहाँले अत्यन्तै खुसीका साथ स्वीकार गर्नुभयो । रमाकृष्ण प्रतिष्ठानको अगुवाईमा हामी हामी दुई दिन पछि सिक्किम, दार्जेलिङ हुँदै इलाम आइपुग्ने कार्यक्रम थियो । त्यो टोलीमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरे लगायत हामी एकदर्जन जति साहित्यकारहरू थियौं । इलाममा हामीले गोष्ठीसहितको कार्यक्रम गर्नु थियो । हामीले जसलाई कार्यपत्र लेख्ने जिम्मेवारी दिएका थियौं, उहाँले कार्यक्रमको मुखैमा आइपुगेपछि स्वास्थ्यको कारणले कार्यक्रममा जान नसक्ने र कार्यपत्र पनि पुरा लेख्न नसकेको जानकारी गराउनुभयो । पर्सिको दिन हिंड्नु छ , कार्यक्रममा प्रस्तुत गर्ने कार्यपत्र नहुने भयो । सारै नमज्जा महशुस गरेँ मैले । यो जानकारी मैले तुरुन्तै रमाकृष्ण प्रतिष्ठानका अध्यक्ष इन्जिनियर महेन्द्र बहादुर गुरुङलाई दिनुपर्थ्यो । तर उहाँलाई जानकारी दिन मलाई पनि असहज लागिरह्यो । सोचिरहेँ - कार्यपत्र विनाको इलामको कार्यक्रम कमजोर हुने भयो । यही सोच्दासोच्दै मेरो कार्यकक्षमा इन्जिनियर महेन्द्र बहादुर गुरुङ र साहित्यकार लक्ष्मी उप्रेती टुप्लुक्क आइपुग्नु भयो ।
'कार्यपत्र नहुने भयो । कार्यपत्र विनाको कार्यक्रम बनाउनु पर्ने भयो ।' मेरो कुराले महेन्द्रबहादुर गुरुङको अनुहार पनि अँध्यारो भयो ।
'अब कार्यपत्र तयार गर्ने समय पनि छैन ।' मैले फेरि थपें ।
'कार्यपत्र लेखकले यो कुरा पहिल्यै भनिदिनु पर्थ्यो नि !' महेन्द्र दाइले आक्रोश पोख्नुभयो ।
'उहाँ विरामी हुनुभएछ । त्यसैले नसक्ने हुनुभयो ।' मैले नै उहाँको तर्फबाट स्पष्टिकरण जस्तै दिएँ ।
' त्यसो भए म तयार गर्छु ।' लक्ष्मी दिदीले आफैंले आँट कस्नु भयो ।
हामीले मुखामुख गऱ्यौं ।
'पक्कै सक्नुहुन्छ ? समय त अत्यन्त थोरै छ ।' महेन्द्र दाइ र मैले आशंका व्यक्त गऱ्यौं ।
'सक्छु भनेपछि सकिगो नि ! म सक्छु ।' अलिकति पनि नलकपकाइकन जवाफ फर्काउनु भयो लक्ष्मी दिदीले ।
एकछिन अघि अँध्यारो देखिएको महेन्द्र गुरुङको अनुहार पनि उज्यालो भयो । म पनि खुसी भएँ । मेरै कार्यकक्षमा बसेर हामीले कार्यक्रमको एउटा खाका कोऱ्यौं ।
हामी सिलगढी, सिक्किम, दार्जीलिङका साहित्यिक कार्यक्रमहरू सकेर इलाम आइपुग्यौं । हामीभित्र एउटा खुल्दुली थियो, यति थोरै समयमा 'समकालीन नेपाली नारी कथाकार र कथा लेखन प्रवृत्ति' विषयमा लक्ष्मी दिदीले कस्तो कार्यपत्र तयार गर्नु भयो होला ? तर इलाममा उहाँले एउटा उत्कृष्ठ कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँको स्रष्टा व्यक्तित्वबाट हामी राम्ररी परिचित थियौं त्यसपछि उहाँको द्रष्टा व्यक्तित्व पनि निकै सबल रहेको हामीले अनुभूत गऱ्यौं ।
नेपाली पत्रकारिताको इतिहासमा वि.सं. २००८ सालमा प्रकाशन भएको 'महिला' मासिक नामक पहिलो नारी पत्रिका र नारी पत्रकारको रुपमा साधना प्रधान र कुमारी कामाक्षादेबी रहनुभएको इतिहास भेटिन्छ । त्यहाँदेखि अहिलेसम्म आइपुग्दा पत्रकारितामा महिला उपस्थितिले झण्डै साढे सात दशकको यात्रा पुरा गर्न लाग्दै छ । वि.सं. २००८ सालमैं नेपाली भाषा प्रकाशिनी समितिले होनहार लेखिका भनेर घोषणा गरेको नाम थियो शशीकला शर्माको । साहित्यिक पत्रकारितामा उहाँको बेग्लै इतिहास छ । पहिलो नारी पत्रकार बन्ने मौका साधना प्रधान र कुमारी कामाक्षादेबीले प्राप्त गरे पनि साहित्यिक पत्रकारितामा शशीकला शर्माले वि.सं. २०१४ सालमा 'स्वास्नीमान्छे' पत्रिका प्रकाशन गरेर पहिलो महिला साहित्यिक सम्पादक बनेर इतिहासमा नाम दर्ता गर्नु भयो ।
। शशिकला देखि यहाँसम्म आइपुग्दा साहित्यिक पत्रकारितामा नारी उपस्थिति कति दरिलो र खँदिलो भयो भन्ने कुरा यतिबेला हाम्रा आँखा अघिल्तिर छर्लङ्गै छ । वि.सं. २०५६ सालदेखि 'वनिता' साहित्यिक पत्रिका निकालेर लक्ष्मी उप्रेतीले त्यो पत्रिकालाई पूर्णाङ्क ९५ को सिंढी चढाउने तयारीमा हुनुहुन्छ । यो सामान्य कुरा हुँदै होइन । 'वनिता' साहित्यिक पत्रिकाले नेपाली साहित्यमा पुऱ्याएको योगदानबाट हामी पाठकहरू धेरै थोरै सबै अवगत नै छौं ।
साहित्यकार लक्ष्मी उप्रेतीसँगको मेरो सङ्गत बढ्नुको एउटा महत्वपूर्ण कारण नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना थियो । तिनताक म 'वेदना' साहित्यिक पत्रिकाको सम्पादन समूहमा थिएँ । नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना गर्दा उहाँ एक्लै आफूले आधा आकाशको प्रतिनिधित्व गर्नु भएको थियो । उहाँले प्रतिनिधित्वमात्र गर्नु भएन, सक्रिय भूमिका पनि खेल्नुभयो । नेपाल साहित्यिक पत्रकार सङ्घलाई यो अवस्थामा पुऱ्याउन उहाँको प्रशस्त पसिना खर्च भएको छ ।
लक्ष्मी उप्रेती जुन ठाउँमा जानु हुन्थ्यो त्यस ठाउँलाई उहाँ साहित्यमय पनि बनाउनुहुन्थ्यो । त्यो क्षेत्रका साहित्यकारहरूलाई एउटै मालामा जोड्नु हुन्थ्यो । यसरी जोड्ने विशिष्ट र बेग्लो क्षमता छ उहाँमा । उहाँ सर्जक र साहित्यिक पत्रकार मात्र होइन , सुयोग्य अभियन्ता पनि हो । २०६७ सालतिरकै एउटा प्रसङ्ग यसको राम्रो उदाहरण हो । आफ्नो छोराको जागिरको सिलसिलामा उहाँ त्यसबेला नेपालबाट भारतको मुम्बई र कोलापुर आउने जाने गर्नुहुन्थ्यो । छोटो समयको पनि आउने जाने क्रममा उहाँले कोलापुरमा साहित्यकारहरूसँग सम्पर्क विस्तार गर्नुभयो । उहाँले बनाएको सम्पर्कका कारण बालसाहित्य सम्बन्धी एउटा गोष्ठीमा नेपालका केही साहित्यकारहरूलाई उनीहरूले निमन्त्रणा गरे । त्यो टोलीमा नेपालबाट म पनि गएको थिएँ । त्यहाँका साहित्यकारहरूले नेपालबाट गएका साहित्यकारहरुलाई विशेष महत्त्व दिएर सम्मान गरेका थिए । भारतीय साहित्यकारहरूले हामीलाई त्यसबेला मुम्बई , कोलापुर, गोवा जस्ता सहरहरूमा मात्र नभएर ग्रामीण इलाकामा समेत पुऱ्याएर साहित्यिक कार्यक्रममा सहभागी गराए । हामीले त्यसबेला राम्रोसँग भारतीय ग्रामीण जीवन अध्ययन गर्न पायौं । मेरा लागि त्यो भ्रमण त्यस अर्थमा महत्वपूर्ण हुन पुग्यो । कोल्हापुरका साहित्यकारहरूलाई राज्यले दिएको परिचयपत्र देखेर मैले प्रज्ञा प्रतिष्ठानमा पुगे पछि त्यो अभियान सुरू गराउन पहल गरेँ । मेरै नेतृत्वमा नेपाल प्रज्ञाप्रतिष्ठानले प्राज्ञद्वय श्रवण मुकारुङ र नर्मदेश्वरी सत्याल रहनुभएको एउटा समिति बनाएको थियो । हामीले कार्यविधि बनाएर प्रज्ञा- परिषदको वैठकबाट त्यसलाई पारित गऱ्यौं । यतिबेला साहित्यकारहरूलाई परिचयपत्र दिने काम नेपाल प्रज्ञा- प्रतिष्ठानले गरीरहेकै छ । अन्तर्यमा भन्नुपर्दा यो कार्यको आरम्भ गर्न लक्ष्मी उप्रेती दिदीले बनाएको सम्पर्क नै हाम्रा लागि पहिलो खुट्किलो बन्न पुग्यो । यो कामका लागि जस पाउनुपर्ने पहिलो हकदार वास्तवमा लक्ष्मी दिदी नै हुनुहुन्थ्यो । उहाँकै कारण भारतीय साहित्यकारहरूलाई राज्यले दिएको सम्मान हामीले नजिकबाट नियाल्न पायौं ।
नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा २०७३ साल फाल्गुनको पहिलो साता भारतको बनारसमा 'नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान' विषयक गोष्ठी सम्पन्न भएको थियो । त्यहाँ पनि उहाँको नेतृत्वकारी भूमिकालाई हामी सबैले नजिकबाट परिचित भएका थियौं ।
लक्ष्मी दिदीसँग मैले झण्डै चार पाँच वटा यात्रा गर्ने अवसर प्राप्त गरेको छु । २०७४ साल फागुनको दोस्रो हप्ता सुदुर पश्चिमको महेन्द्रनगरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र रमाकृष्ण सिर्जना प्रतिष्ठानको सहकार्यमा 'उपन्यास विश्लेषणको शैली वैज्ञानिकआधार' विषयक गोष्ठी आयोजना गर्न पनि उहाँकै केन्द्रीय भूमिका रहेको थियो । लक्ष्मी उप्रेती दिदीकै नेतृत्वमा साहित्यकारहरू दधिराज सुबेदी, विवस पोखरेल, सीता शर्मा, सीताराम गुरुङ र म नैनितालसम्म पुग्यौं । त्यसबेला महाकाली नदीमा भारतले नेपाललाई गरेको हेपाहा प्रवृत्तिलाई हामीले नजिकैबाट देख्न पायौं । त्यो दिनभरको यात्राको विषय हामीले यसैलाई बनायौं ।
लक्ष्मी दिदी साहित्यकारमात्र हुनुहुन्न । एकजना साहित्यिक अभियन्ता पनि हुनुहुन्छ । साहित्यमा पाइलो राख्न खोज्नेहरूलाई मञ्च दिनुहुन्छ । उनीहरुलाई गन्तव्यमा पुऱ्याउन मद्धत गर्नुहुन्छ । लेख्न खोज्नेहरूलाई बाटो देखाइदिनु हुन्छ । प्रकाशन गरिदिनु हुन्छ । कति साहित्यकारहरू उत्पादन गर्नु भयो होला उहाँले ? यसरी लेखाजोखा गर्ने हाम्रो चलन नै छैन । मानिसको मूल्याङ्कन गर्नुपर्ने यो पनि महत्वपूर्ण पाटो हो भन्ने मलाई वारम्बार लागिरहन्छ ।
साहित्यकार लक्ष्मी उप्रेतीका योगदानका बारेमा धेरै लेख्न सकिन्छ । उहाँको प्रतिभा धेरै विधा र क्षेत्रतिर छरिएको छ । पछिल्लो समयमा उहाँको स्वास्थमा देखिएको समस्याले नेपाली भाषा - साहित्यको मा उहाँको गति केही सुस्त हुन पुगेको महशुस भएको छ । उहाँको स्वास्थ सबल हुनु भनेको नेपाली भाषा-साहित्यको उन्नयन पनि हुनु हो । लक्ष्मी दिदी , तपाईं स्वस्थ हुनुहोस् ! नेपाली साहित्यलाई अझ समृद्ध बनाउनु छ । हार्दिक कामना !
000
No comments:
Post a Comment