Sunday, September 26, 2021

साहित्यिक पत्रकारद्वय सम्मानित

नेपाल साहित्यिक पत्रकार संघको स्थापना २०६३ जेठ २२ गते भएको हो। यही जेठ २२ लाई सम्झेर नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा दुईजना वरिष्ठ साहित्यिक पत्रकारहरू ‘रत्नश्री’का प्रधानसम्पादक शान्तदेव भट्टराई र ‘उन्नयन’का प्रधानसम्पादक अच्युतरमण अधिकारीलाई एक समारोहका बीच प्रमुख अतिथि कमल दीक्षितले सम्मान प्रदान गरे। २०२० सालमा प्रकाशित भएको ‘रत्नश्री’ले जम्मा १८४ अङ्क पत्रिका प्रकाशित गरेको देखिन्छ। र, २०४१ सालमा प्रकाशित ‘उन्नयन’ले हालसम्म ९० वटा पूर्णाङ्क प्रकाशित गरिसकेको छ। सम्मानित साहित्यिक पत्रकारहरूको परिचय दिँदै संघका महासचिव मोहन दुवालले भने– ‘नेपाली साहित्यिक पत्रकारितामा आफ्नै ढङ्गको विशिष्ट योगदान पुर्याएबापत् यी दुई पत्रिकाका सम्पादकद्वयलाई सम्मान गरिएको हो। संघ उचित मूल्याङ्कन गर्छ, कहिल्यै पनि पूर्वाग्रहले निर्णय गर्दैन।’

संघका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा भएको उक्त साहित्यिक कार्यवक्रममा सबैजसो वक्ताहरूले ‘साहित्यिक पत्रकारिता’को आफ्नो छुट्टै पहिचान भएर पनि ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे। साथै पञ्चायतकालदेखि पक्षपात बेहोर्दै आएको यस क्षेत्रले अहिलेको गणतन्त्रकालमा पनि यथास्थिति भोग्दै आएकोमा उनीहरूले दुखेसो पोखे। उक्त कार्यक्रममा कमल दीक्षित, शान्तदेव भट्टराई, अच्युतरमण अधिकारी, अमर गिरी, विष्णुविभु घिमिरे, दुर्गाप्रसाद श्रेष्ठ, रामप्रसाद पन्त, मातृका पोखरेल, चेतनाथ धमलालगायतका वक्ताले मन्तव्य राखेका थिए।

ooo

www.newsofnepal.com बाट साभार

No comments: