- मातृका पोखरेल
[ आफ्नो मातृभूमिको रक्षाका लागि सङ्घर्षशील प्यालेस्टाइनीहरूमा समर्पित ]
म प्यालेस्टाइन !
माथि आकाश हेर्छु
यसको नीलो रङ्गमा रमाउने अधिकार खोज्छु
अनगिन्ती तारापिण्डहरूसँग हराउने सपना देख्छु
म आफ्नै देशमा अपरिचित र असहाय
हो, म प्यालेस्टाइन !
मेरै घरमा बसेर
मलाई बन्दुक ताक्नेहरू
मेरो सपनामा खुवै आउँछन्
त्यो घरको ढुङ्गा
त्यो आँगनको माटो
त्यो झ्यालबाट देखिने दृश्य
त्यो आमाको स्वर
एकाएक हराए
अब म सँग
गुमेको सभ्यताको एउटा कथा बाँकी छ ।
ती खण्डहर सडकहरू
एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू
ती भत्किएका गेटहरू
ती जलेका पलङ र कुर्सीहरु
आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश
मानौं म एक पर्यटक हुँ
यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्
अचेल हाम्रो आँखाबाट आँसु बग्दैन
धुवाँको ज्वाला निस्कन्छ ।
म फेरि हेर्छु -
त्यहीँ नेर थियो मेरो एउटा घर
मारिनु भन्दा अघि
त्यही छेउमा थिइन मेरी आमा
त्यहीँ खेलिरहेका थिए मेरा बच्चाहरू
सम्झनास्वरूप यतिबेला मेरो हातमा
मेरो छोराको छुटेको एउटा जुत्ता छ
उसको जलेको किताब छ म सँग
मेरो हातमा छ उसको टिफिन बट्टा
र आमाको मजेत्रो ।
प्रत्येक विपना
मृत्युको ध्वनी बजाउँदै वस्तीमा आउँछ
त्रासद बमको गन्धले वस्ती ढाकिन्छ
फेरि रात पर्छ
तर निद्रा आउँदैन
किनभने सपनामा पनि
ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ
विपनाजस्तै त्यहाँ पनि मृत्यु आउँछ
सपनामा पनि युद्ध छ
सपनामा पनि चित्कार छ
सपना भनेको
मेरो परिभाषामा अर्को रणभूमि हो
जहाँ चित्कारको प्रतिध्वनि
आकाशले पनि सम्हाल्न सक्दैन
मसँग अब
सभ्यताको एउटा कथा छ
त्यो कथा जलेको धुवाँभित्र कैद भएको
एउटा इतिहास हो ।
म बारम्बार नयाँ बिहान खोज्छु
मेरो छोराको जुत्तामा
अझै पनि माटोको गन्ध आउँछ
त्यो माटो जसले हजारौं बसन्त देखेको थियो
त्यो माटो जुन मेरो र मेरो हो
किनभने म प्यालेस्टाइन हुँ
म कदापि हार मान्दिनँ
प्रतिरोध नै मेरो अस्तित्व हो ।
०००
No comments:
Post a Comment