Monday, August 30, 2021

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन - खुलामञ्च संवाददाता

श्रध्दाञ्जलीका लागि भट्टको शवलाई ९ :३० देखि ११ वजेसम्म पशुपति आर्यघाटमा राखिने पारिवारिक स्रोताले जानकारी दिएको छ ।



काठमाडौं: वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका भट्ट  निमोनियाबाट पीडित थिए । उनलाई  केही दिन देखि चावहिल स्थित मेडिकेयर अस्पतालमा भर्ना गरेर उपचार गरिदै थियो । भट्टको आज गए राति तीन बजे  कालीकास्थान स्थित निजी निवासमा निधन भएको हो । 

दुई दर्जन भन्दा  बढी कृतिका स्रष्टा भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत रहेका थिए । कुशल संगठकका रुपमा परिचित भट्टले   चितवन , भक्तपुर र धरानमा वसेर कम्यूनिस्ट राजनीतिको प्रभावशाली  संगठन गरेका थिए । 

८५ वर्षीय भट्टको गत वर्ष राष्ट्रिय अभिनन्दन गरिएको थियो । उनका   २  दुई छोरा र एक पत्नी  (प्राध्यापक सुशीला भट्ट) छन् । श्रध्दाञ्जलीका लागि भट्टको शावलाई ९: ३० देखि ११ बजेसम्म पशुपति आर्यघाटमा राखिने पारिवारिक स्रोताले जानकारी दिएको छ । भट्टको अहिले ११ बजे  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ । 

भट्ट लेखक स्रष्टा मात्र थिएनन् । उनी राजनीतिका एक निष्ठावान चिन्तक पनि थिए । साहित्यकार प्राज्ञ मातृका पोख्रेलले भने  -"भट्ट जत्तिको इमानदार र निष्ठावान राजनीतिज्ञ र लेखक नेपालमा अर्को छैन् । नेपालका मै हूँ भन्ने वामपन्थी नेताहरुका पनि उहाँ गुरु हुनुहुन्थ्यो ।" 'निर्मल लामा र आनन्द देव भट्टको आर्दशका कारण म जस्ता धेरै व्यक्तिहरु वामपन्थी राजनीतिमा सक्रिय भएका छौँ ' , पोख्रेलले भने  ।

 "भट्टको निधनले वामपन्थी राजनीति , प्रगतिशील साहित्य र सिंगो देशका लागि ठूलो क्षति भएको छ । हामीले अभिनन्दन ग्रन्थ प्रकाशनको तयारी गर्दै थियौँ । दुर्भाग्य उहाँको निधन भयो । अब अभिनन्दन ग्रन्थलाई स्मृति ग्रन्थका रुपमा प्रकाशन गर्नु पर्ने वाध्यता हामीसंग रहेको छ ।" प्राज्ञ पोख्रेलले खुलामञ्चसंग भने । 

भट्टले २०६२ - ०६३ जनआन्दोलनमा   स्रष्टाहरुको आन्दोलनलाई नेतृत्व गर्ने काम  समेत गरेका थिए । ०६२ -०६३ को परिवर्तनमा प्रजातन्त्रवादी स्रष्टा र प्रगतिशील स्रष्टाहरुलाई एउटै मञ्चमा राखेर आन्दोलन अगाडि बढाउनमा  उनको महत्वपूर्ण योगदान रहेको छ । 


www.khulamancha.com बाट साभार

२०७८ भदौ १४ गते  प्रकाशित

No comments: