Tuesday, August 8, 2023

कोशी प्रदेश : नेपाली साहित्यको अवलोकन - सुदर्शन श्रेष्ठ

 





गणतन्त्रवादी कविता आन्दोलन

णतन्त्रवादी कविता आन्दोलनको पृष्ठभूमि वा आधारभूमिको रूपमा हेर्यो भने यो सडक कविता क्रान्तिको भावभूमिमा नै उभिएको देखिन्छ । तर यी दुवै कविता आन्दोलनको चरित्र र भूमिका भने पृथक्-पृथक् नै हो । यो आन्दोलनको घोषणा २०६१ जेठ ९ गतेका दिन राजतान्त्रिक व्यवस्थाको विरुद्धमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न र जनसमुदायमा सचेतना फैलाउँदै राजतन्त्रविरुद्ध जनतालाई जागरुक बनाउन केन्द्रित भएको देखिन्छ । 'गणतन्त्रवादी कविता आन्दोलन : सन्दर्भ र सार्थकता' नामक शीर्षकको कार्यपत्रद्वारा आफ्ना धारणा र घोषणालाई सार्वजनिक गरेको यस आन्दोलनको अभियन्ताहरूमा, खगेन्द्र सङ्ग्रौला, विमल निभा, विक्रम सुब्बा, श्यामल, हरिगोविन्द लुइँटेल र मातृका पोखरेलहरू देखा परेका छन् । यी सबै साहित्यकारहरू प्रगतिवादी साहित्यका स्थापित साहित्यकारहरू नै हुन् । त्यसो त खगेन्द्र सङ्ग्रौला, विक्रम सुब्बा र मातृका पोखरेल कोशी प्रदेशबाटै काठमाडौं खनिएका साहित्यकारहरू हुन् भने बाँकी विभिन्न स्थानका । यो कविता आन्दोलन सडक कविता क्रान्तिजतिको प्रचारित र प्रसारित भने हुन सकेन, र प्रगतिवादी साहित्यिक व्यक्तित्वहरूको यो प्रयासले सम्पूर्ण प्रगतिवादी शक्तिहरूलाई समेत एकीकृत गर्न सकेको पाइँदैन । र पनि यो आन्दोलनलाई सफल यसकारण पनि मान्नुपर्दछ भने यो आन्दोलनको प्रारम्भपछि नेपालमा राजतन्त्र ढलेको इतिहास छ ।

No comments: