Saturday, August 28, 2021

आमा, दिदीहरूलाई जगाउने त्यो गीत - निर्भीकजंग रायमाझी

 



१० भदौ २०७८ , काठमाडौं । त्यो समय निर्दलीय पञ्चायती व्यवस्थाको उत्कर्षकाल थियो । सार्वजनिक वृत्तमा महिला मुक्तिको कुरा उठेकै थिएन । महिलाले भोट दिन पाउने भएपनि सामाजिक जीवनमा उनीहरूको धरातल निकै तल थियो ।

त्यो अँधेरो युगमा समेत आमा, दिदी–बहिनीहरूलाई दासी भई बस्न हुँदैन भन्दै गीतबाट ब्युँझाउने गायक जेबी टुहरेको ७८ वर्षको उमेरमा बल्खुस्थित वयोधा अस्पतालमा बिहीबार निधन भयो ।

किशोरावस्थादेखि गायन थालेका टुहुरेले २०२० पछि कम्युनिष्ट विचारबाट प्रभावित भई जनवादी गीत गाउन थाले । २६ वर्षको उमेरमा नै उनको गीत ‘बसाइँ हिंड्नेको ताँतीले’ चर्चित भइसकेको थियो । यद्यपि, ‘आमा, दिदी–बहिनी हो’ बोलको गीतले भने टुहुरेलाई साँच्चिकै जनताको गायक बनाइदियो ।

तत्कालीन नेकपा माले समर्थित मोर्चाका नेता मदन भण्डारीसँग डुल्दाडुल्दै २०३३ सालमा टुहुरेले यो गीत गाएका थिए । एकदेव ज्ञवालीले लेखेको यो गीत पहिलोपल्ट धरानको सैनिक मञ्चमा प्रस्तुत गरियो ।

२०३६ पछिका सबै राजनीतिक–सांस्कृतिक आन्दोलनमा घन्किएको यो गीत महिला मुक्तिको माइलस्टोन साबित भइसकेको बताउँछन् गायक जीवन शर्मा । चार दशकदेखि टुहुरेसँगै सयौं मञ्चमा सँगसँगै गीत गाएका शर्मा टुहुरेको गलाले जनताको गीत स्थापित गर्न ठूलो भूमिका खेलेको स्मरण गर्छन् ।

‘उहाँको आमा, दिदीबहिनी हो गीत नै सबैभन्दा चर्चामा रह्यो’ शर्मा भन्छन्, ‘महिला मुक्तिको पक्षबाट लेखिएको अत्यन्त सशक्त भाव भएकाले नै यो गीत चर्चाको चुलीमा पुग्यो ।’

आज महिला मुक्ति र महिला आन्दोलनको उभार चलिरहँदा समेत उनको गीत त्यतिकै सान्दर्भिक छ । बहुसंख्यक आमा–दिदीहरूको जीवन अहिले पनि दासीसरह नै भइरहँदा टुहुरेको गीतको खाँचो छ ।

आमा दिदी–बहिनी हो बाहेक टुहुरेको ‘कोशीको पानी सलल’, ‘पानी चल्दैन रे’, ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘नयाँ दिन आयो’लगायत गीत लोकप्रिय छन् । वृद्धावस्थामा पुगिसक्दा समेत यिनै गीतहरू गाएर टुहुरे नेपालका जिल्ला–जिल्लामा पुग्थे । यही असोजमा समेत आफ्नो जन्मभूमि धरानमा उनको एकल सांगीतिक प्रस्तुति हुँदै थियो ।

पिताको मृत्युपछि ‘टुहुरे’ भए

पुरानो धरान बजारको निम्न मध्यमवर्गीय परिवारमा २००१ कात्तिक १५ मा जन्मिए, जुठबहादुर खड्गी । सानैदेखि नाचगान मन पराउने जुठबहादुरका पिता कृष्णबहादुर व्यापार गर्ने भएकाले उनले तीन कक्षासम्म मात्र पढ्न पाए ।

२०२१ सालमा पिताको निधनपछि भने घर–परिवारको सारा जिम्मेवारी जुठबहादुरको काँधमा आयो । पिता वियोगको रन्कोमा जुठबहादुरले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपी आफूलाई जेबी टुहुरे बनाए । अनि शोषित–पीडितको लागि जनवादी गीत गाएर गाउँगाउँ डुल्न थाले ।

विस्तारै राजनीतिक गतिविधिमा सक्रियता बढाउँदै २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । सुरुमा केही हिन्दी गीत गाए पनि टुहुरे कहिल्यै व्यावसायिक कलाकार बन्नतिर लागेनन् । बरू आन्दोलनको माहोल बनाउने, कम्युनिष्ट पार्टीका लागि जनमत बटुल्ने कुरामा नै केन्द्रित रहेर उनले पार्टीमा काम गरे ।

घर–परिवारको जीविका चलाउने क्रममा टुहुरेले अनेकौं कामहरूमा हात हाले । उनी आफैं भन्ने गर्थे, ‘कहिले होटल, लज चलाइयो, कहिले पुस्तक पसल त कहिले पान पसल पनि खोलियो । बाँच्नका लागि अनेक गरियो !’

तर आफ्नो घर व्यवहार मात्र भनेर टुहुरेले गायन यात्रा पनि कहिल्यै छाडेनन् । बरू झन् बढी सक्रिय भएर अन्याय र अत्याचार विरूद्ध गीत गाउँदै देशैभरि पुगे ।

कम्युनिष्ट कारखाना

२०२९ सालमा गणेश उदास, एनबी राई, कृष्ण राई आदिसँग मिलेर ‘नयाँ लहर’नामक सांस्कृतिक समूह बनाएर कम्युनिष्ट पार्टीको प्रचार गर्दागर्दै मोरङको कानेपोखरीमा एकजना प्रहरीको हत्या भएपछि टुहुरेमाथि पनि प्रहरी–वारेन्ट जारी भयो । त्यसपछि उनी भूमिगत भए । २०३२ सालमा काठमाडाैं विशेष अदालतबाट यस काण्डको मुद्दा जितेपछि मात्र भने सार्वजनिक भएर गीत गाउन थाले ।

साहित्यकार मातृका पोखरेलका अनुसार टुहुरे कम्युनिष्ट उत्पादन गर्ने अग्रणी स्रष्टा हुन् । ‘उहाँले नेपाली समाजको रूपान्तरणका लागि दिनुभएको योगदानलाई हामी सधैंसधैं सम्झनेछौं’ पोखरेलले भने, ‘आमा, दिदीबहिनीहरूले तपाईंलाई कहिल्यै बिर्सने छैनन् ।’

गायक जीवन शर्माको शब्दमा भने टुहुरे कम्युनिष्ट उत्पादन गर्ने सांस्कृतिक अभियन्ता हुन् । शर्मा भन्छन्, ‘टुहुरेले हजारौं युवालाई कम्युनिष्ट बन्न प्रेरित गर्नुभएको छ । ती युवालाई क्रान्तिमा होमिन प्रेरणा दिने वातावरण समेत उहाँ तयार पार्नुहुन्थ्यो ।’

पारिजात, रामेशहरूको तत्कालीन ‘राल्फा’ समूह विभाजित भएपछि २०३४ सालतिर टुहुरे, रामेश, मञ्जुल र कुन्ता शर्मा मिलेर ‘संकल्प’ नामक सांस्कृतिक अभियान शुरू गरे । त्यहीबेला उनीहरूका गीत सुनेर धेरै सर्वसाधारण कम्युनिष्ट पार्टीमा लागे । त्यसबेला टुहुरे र संकल्पका सदस्यहरूले गाएको ‘जुनीभरि मुटु पोल्ने अन्याय सहेर’, ‘छोराहरू हो, अनिकाल लाग्यो’ जस्ता गीत कम्युनिष्ट पार्टी निर्माणको मियो बनेका थिए ।

कवि केशव सिलवाल जेबी टुहुरेकै गीतहरू सुनेर कम्युनिष्ट पार्टीमा संगठित भएको स्मरण गर्छन् । सिलवालका अनुसार ४० र ५० को दशकमा टुहुरेका जनवादी गीतहरू गाउँ–गाउँसम्म गुन्जिने गर्थे ।

‘विचार भनेको के रहेछ भन्ने कुरा सिद्धान्त नपढिकनै उहाँका गीतबाट बुझ्न सकिन्थ्यो । म र मेरो पुस्ता त्यसरी हुर्किएका हौं’, सिलवालले भने ।

राजनीतितर्फ २०४४ सालमा मोदनाथ प्रश्रितको अध्यक्षतामा राष्ट्रिय जनसांस्कृतिक मञ्च स्थापना गर्ने संस्थापकमध्येका एक थिए टुहुरे । २०४७ पछि नेकपा एमालेभित्रको सांस्कृतिक मोर्चामा रहेर मेची–काली सांस्कृतिक अभियानमा लागे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला भने उनी तत्कालीन माओवादी प्रवेश गरे । त्यही क्रममा २०७० को संविधानसभा सदस्य समेत भए । निधन अघिसम्म उनी जनसांस्कृतिक महासंघ नेपालका संरक्षक एवं माओवादी केन्द्रका सल्लाहकारको भूमिकामा थिए ।

परिमार्जनपछि झन् क्रान्तिकारी बनेको गीत

‘आमा, दिदीबहिनी हो’ गीत शुरुमा गाउँदा यसको अन्तिम अन्तरामा महिलाहरू आफ्नै चेतनाले फसेका हुन् भन्ने भाव थियो ।

लाली, पाउडर धस्न पाई
टेलरिङको झिल्के सारी लाउन पाई
बुद्धि सबै नष्ट पारी
मख्ख परी पुरूषको खेलौना भई
जीवनलाई व्यर्थ फाल्छौ
भोगविलासको साधन बनेर
आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई
सुखको सधैं प्यासी बनेर ।

मञ्चमा गाउन थालेको केही महिनामै गीतले चर्चा पायो । तर त्यसको एक वर्षपछि धरानका बम देवान, लव प्रधान लगायतका संस्कृतिकर्मीहरू बसेर समीक्षा गर्दा यो गीतले महिलाको समस्या र दुःखको मात्रै उठान गरी महिलालाई होच्याएको निष्कर्ष निस्कियो । त्यसपछि कवि बम देवानले यसरी एक अन्तरा थपिदिए–

सामन्तीको कुचाल यो भ्रष्ट रीति पूँजीको
बुझी सब ब्युँझ अब
ध्वस्त पार्न नारी बन्धन, दुःख अनि जीवनको
युगले आज भन्दछ, नारी पनि मान्छे हो
जाग उठ नारी हो, सिर्जनाको घाम बनेर

यो भाग थपेपछि गीत अझै क्रान्तिकारी भएको निष्कर्ष निकालियो । त्यही थपिएको अन्तरासहितको गीत टुहुरेले रेकर्ड गराएका छन् ।

आज महिला मुक्ति र महिला आन्दोलनको उभार चलिरहँदा समेत उनको गीत त्यतिकै सान्दर्भिक छ । बहुसंख्यक आमा–दिदीहरूको जीवन अहिले पनि दासीसरह नै भइरहँदा टुहुरेको गीतको खाँचो छ ।

(जेबी टुहुरेसँगको कुराकानीको आर्काइभमा आधारित)

www.onlinekhabar.com बाट साभार

No comments: