Friday, July 26, 2024

घाम झुल्किनुअघिः आलोचनात्मक यथार्थवाददेखि समाज यथार्थवादसम्म - डा.मधुसूदान गिरी

 १. पृष्ठभूमि 

जीवन जगत्लाई हेर्ने र सत्यलाई पर्गेल्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित हुँदै  निम्नवर्गीय किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा, तिनको कल्याण र सुन्दर भविष्यको बाटो अपनाउँदै, यस वर्ग विभाजित समाजको वर्गीय द्वन्द्वमा तिनका विजयको अवस्यंभावितालाई सङ्केत गर्दै आशावादी तुल्याउनु नै समाजवादी यथार्थवाद हो । आलोचनात्मक यथार्थवादले समाज यस्तो छ, समाजका समस्या यी हुन्, यी यति कुरा नराम्रा हुन् भनेरसम्म देखाउँछ तर ती समस्या समाधानको बाटोमा त्यो उदासिन हुन्छ, कुनै बाटो देखाउँदैन, स्पष्ट वर्गीय पक्षधरता देखाउँदैन । समस्या समाधानको बाटो चयनको जिम्मा पाठकलाई नै दिन्छ ।   समाजवादी यथार्थवादले समाधान पनि दिन्छ र त्यो समाधान तिनै निम्नवर्गीय शोषित, उत्पीडित किसान, मजदुर, सर्वहारा वर्गको मुक्ति र उत्थानका पक्षमा दिन्छ यसैले समाजवादी यथार्थवाद बढी जिम्मेवार पनि देखिन्छ । 

हृदयचन्द्रसिंह  प्रधान आदिको प्रगतिशील कथा लेखनले निर्माण गरेको पृष्ठभूमि, वि.स.२००९ सालको सेवा पत्रिकाको तेस्रो अङ्कमा प्रकाशित भवानीप्रसाद शर्माको ‘यो अत्याचार हो’, रमेश विकलको ‘आँसुले भिजेको हाँसो’ जनकबहादुर कर्माचार्यको ‘नारीत्वको क्रय’ कथाबाट आरम्भ भएको समाजवादी यथार्थवादी कथा लेखन (पौडेल, २०७९, पृ.१८) को परम्परालाई संसदीय (२००९–२०१६), पंचायती (२०१७–२०४५), जनयुद्ध (२०३६–२०६२) र गणतन्त्र काल (पौडेल, २०,७९, पृ.२०–२१) मा विभाजन गरेको पाइए पनि यो विभाजन नेपाली कथाले लिएको प्रवृत्तिगत मोडभन्दा सामाजिक राजनीतिक गति र प्रवाहले लिएको मोडमा आधारित छ जसले नेपाली कथा लेखन मात्र नभएर समग्र कला, साहित्य अर्थात् उपरी संरचनालाई नै प्रभावित गर्दछ । यति भए तापनि आधार र उपरी संरचनाको गति र प्रवाह एकैसाथ सँगसँगै आरम्भ हुँदैनन् । अर्कोतर्फ वास्तवमा आधारले उपरी संरचनाको निर्माण गरेकै भए पनि कतिपय सन्दर्भमा ‘आधार परिवर्तनमा अधिरचनाले मनोभूमिगत पृष्ठभूमिको काम गर्दछ । अतः नेपाली कथाका प्रवृत्तिगत मोड र घुम्तीहरूको पहिचान गरी समाजवादी यथार्थवादी कथा लेखनको कालगत रेखाङ्कन गर्नु बढी औचित्यपूर्ण हुन्छ । यति हुँदाहुँदै पनि यहाँ उक्त समग्र परम्परा यस लेखनको अभीष्ट नभएकाले प्रगतिवादी साहित्यकार मातृका पोखरेलका कथालेखन क्रमकाः ‘सन्त्रस्त आँखाहरू, (२०६१) पछिको कथा सङ्ग्रह ‘घाम झुल्किनुअघि’ मा सङ्कलित कथाहरूको विवेचना गरी त्यसका आधारमा पोखरेलका कथालेखनको प्रवृत्ति ठम्याउनु रहेको छ । 

२. कथाकार मातृका पोखरेल र उनको घाम झुल्किनुअघि सङ्ग्रह    

कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनुअघि’ नामक यस कथा सङ्ग्रहको लेखकीय मन्तव्यकै दुइटा भनाइ उनको लेखनको सूत्रका रूपमा रहेका छन् (१)  “सचेत ढङ्गले सुरु गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखकहरूको मूल अभीष्ट समाजबाई रूपान्तरण गर्नु हो । केही कमी कमजोरीहरू रहे पनि विगतको बाह्र वर्षको जनयुद्ध नेपाली समाजको रूपान्तरणका लागि एउटा कोसेढुङ्गो थियो (पोखरेल,२०६७, मन्तव्य–पृ.१)।” 

 (२) “समाजमा नङ्ग्याउनु पर्ने मानिसहरू अझैसम्म नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रस्टाचारको भञ्ज्याङ्गमाथि चढेर बनेको इज्जत र प्रतिष्ठालाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन” (पोखरेल, २०६७, पृ.२)।

 कथाकारका यी कथा मूलतः यिनै दुई सूत्र वाक्य, दृष्टिकोण वा विचारका आख्यानीकरण हुन भन्न सकिन्छ । सरल, सम्प्रेषणीय र प्राय : रैखिक शैलीमा लेखिएका यी कथाहरूका आधारमा कथाकार पोखरेलको कथा लेखनको लगभग समग्र अन्तरवस्तुगत प्रवृत्ति ठम्याउन सकिन्छ । प्रस्तुत प्रवृत्तिलाई निम्नलिखित उपशीर्षकहरूमा प्रस्तुत गर्नु सजिलो हुनेछ ।

२.१. समाजवादी यथार्थवादी कथाहरू

क्रान्ति, परिवर्तन र तिनको उत्कर्ष रूप जनयुद्धलाई सकारात्मक रूपमा हेर्ने र नेपालको प्राचीन कालदेखिको सामन्तवादद्वारा दंशित निम्न वर्गीय मजदुर, किसान श्रमिक वर्गको मुक्तिका निमित्त क्रान्तिलाई अपरिहार्य आवश्यकता ठान्ने दृष्टिकोण समाजवादी यथार्थवादी दृष्टिकोण हो । यसमा मालिक र नोकर, शोषक र शोषित, उत्पीडक र उत्पीडित दुई वर्गको द्वन्द्वमा शोषित, उत्पीडित निम्नवर्गीय नोकर वर्गको विजय तथा शोषण, पीडक मालिक वर्गको पराजय अपरिहार्य हुन्छ । यद्यपि कतिपय स्थानमा उक्त निम्न वर्गको मुक्ति, विजय र सुनौलो भविष्यको अवस्यंभाविताका अभिलक्षणद्वारा आशावादिता मात्रै भए पनि प्रस्तुत गरिएको हुन्छ । यस सङ्ग्रहका धुवाँ, घाम झुल्किनुअघि, मौन सङ्केत, अँध्यारो गाउँ, मुक्ति, वाध्यता, घोडाको गन्ध, देवीदत्तको चिन्ता यही कित्ताभित्र पर्ने कथा हुन् ।

 त्यसो त ‘धुवाँ’ मा कथाकार पोखरेल वि.स. २०४६ पछिको स्थितिका निरपेक्ष प्रशंसक देखिदैनन् । उनी प्रजातन्त्रको पुन प्राप्तिपछि सिर्जित विकृति, विसङ््गतिमाथि आँखा चिम्लिँदैनन् । उनी प्रस्तुत अँध्यारा पक्षहरूको चित्रण विश्लेषण पनि गर्दछन् । त्यसैले अन्तत ः उक्त अनपेक्षित परिस्थितिमाथि उत्पीडित सत्य पक्षको आक्रमण भएको छ, हस्तक्षेप भएको छ र असत्यको पराजय भएको छ । 

वि.स.२०६५ को रचना पत्रिकामा प्रकाशित भए पनि यसले २०४६ को परिवर्तनपछिको यथार्थलाई चित्रण गरेको छ । त्यसो त २०४६ पछिको विसङ्गतिलाई धेरैले लेखेका छन् । स्वयम् ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ मा यही सत्य छ । त्यसमा पनि ‘रवि’ जस्तो परिवर्तनप्रति निष्ठावान, कर्तव्यनिष्ट, इमान्दार पात्र मारिएको छ र लक्ष्मीजस्ता प्रतिगामी, अवसरवादी पटाहाको रजाइँ चलेको छ तर त्यसमा केवल यथार्थ छ, समस्या छ, समाधान छैन, सुन्दर भविष्यको सम्भावना छैन,  आशावाद छैन । यहाँ भने त्यो सम्भावना प्रबल छ । २०४६ को परिवर्तनपछि सबै राजनीतिकर्मी साथीहरू पद, पैसा र अवसरका पछाडि दौडेर देश र जनताप्रति जिम्मेवार नबनेपछि त्यस्तो राजनीति छोडेर र घरजग्गा जो भएको जेथा गाउँको विद्यालयलाई दिएर आफू त्यसैमा निःशुल्क स्वयंसेवक शिक्षक भएको शशीराम थापा परिवर्तनपछि एकाएक रङ्ग बदलेर जनतापार्टी खोजी अध्यक्ष र गा.वि.स. अध्यक्ष बनेको पञ्चायत कालको प्रधानपञ्च रङ्गध्वजहरूबाट मारिने प्रबल सम्भावनालाई मध्यनजर गरी त्यसबाट बचेर आफ्नो विचार प्रवाह गर्न बोरा ओढेर हिड्ने जस्तै असामान्य प्रकृतिको व्यवहार गर्छ, फलत ः प्रतिगामी अन्यायी फटाहाहरूले उसलाई फ्रस्टेड बौलाहाको बिल्ला भिराइ दिन्छन् । तर ऊ सधैँ सत्य र न्यायका पक्षमा बोल्छ । मूल चोकबजारमा रङ्गध्वजजस्ता पुरातनपन्थी, प्रतिगामी, यथास्थितिवादी, अवसरवादी फटाहाहरूले आफ्नो पार्टीको भ्रष्ट नेताको सालिक राख्न कसरत गरिरहेका छन् तर शशीरामले राख्न दिएको छ्रैन र सम्पूर्ण नयाँ पुस्तालाई सत्य र न्यायका पक्षमा एकत्रित गरेर उसले त्यहाँ भ्रष्टहरूको सालिक राख्नु हुँदैन, देश र जनताका निमित्त जीवनोत्सर्ग गर्ने महान सहिदहरूको सालिक राख्नु पर्छ, सहिदहरूलाई बिर्सेर यहाँ भ्रष्टहरूको सालिक राखिन्छ भने अब यस ठाउँमा मानिसहरू नबसेर मूर्दा मात्र बसे हुन्छ, भनेर जुलुसबाटै आवाज उठाउँछ । 

केही नलागेर रङ्गध्वज शशीराम र उसले प्रशिक्षित गरेका विद्यार्थी आदि नयाँ पुस्ताका मानिसहरूका विरूद्ध एउटा मोर्चा बनाएर त्यसमार्फत् उनीहरूको पनि विरोध गर्ने र भ्रष्टको सालिक स्थापना गर्ने आफ्नो उदेश्य पूरा गर्ने प्रयत्न गर्छ । तर यस कार्यका लागि उसको मोर्चाले आयोजना गरेको जुलुस÷¥यालीमा जम्मा १५ जना मात्र मानिस आउँछन् । त्यति बेलै उसले फ्रस्टेड बौलाहा नाम राखेको शशीरामद्वारा निर्देशित युवा र्‍यालीमा बिशाल जनसंख्या उपस्थित भएको देख्छ । यसबाट आत्तिएको रङ्गध्वज र उसका भिजिलान्तेहरू अब अर्को उपाय नदेखेर गोप्य रूपमा शशीरामको हत्या गर्छन् ।

भोलिपल्ट जम्मा भएको बिशाल भीडले रङ्गध्वजको घरमा आगो सल्काइ दिन्छन् । यसरी त्याग र बलिदानको नमुना, स्पष्ट, निर्भिक, सिद्धान्तनिष्ट, कर्तव्यनिष्ट क्रान्तिकारी पात्र एकजना मारिए पनि उसको विचार र चिन्तनका समर्थनमा सयौँ सयौँ युवाहरूको भीड बढिरहेको छ । यसैले शशीराम मारिए पनि उसको विचार विजयी भएको छ, उसको पक्ष, पीडित पक्ष, परिवर्तनकारी पक्ष विजयी भएको छ । यसैले यस कथालाई समाजवादी यथार्थवादी भन्न सकिन्छ । 

यस्तै ‘मौन सङ्केत’ भने कारखानाका मजदुर र मालिकको उत्पादक–उत्पादन सम्बन्ध र वर्गीय द्वन्द्व, वर्गीय प्रेम र दृष्टिकोण देखाउने कथा हो । उद्योगपति, पुँजीपति साहूहरू कसरी मजदुरहरूको रगत चुसेर मोटाउँछन् तर मजदुर मर्न लाग्दा आफूले पालेका कुकुरलाई जति पनि माया, प्रेम र सहयोग गर्दैनन् । ती निर्धन मजदुरको रगत र पसिना चुसेर मोटाएका हृदयहीन, संवेदनाहीन पशुका लागि निम्न वर्गीय मजदुर, किसानको जीवनको कुनै मूल्य हुँदैन भन्ने सत्य उद्घाटन गरिएको छ । यहाँ मजदुरको उपचार नपाएर, उपचार गर्ने पैसा नपाएर मृत्यु भएको छ, त्यसको जिम्मेवार मालिकमाथि कुनै कार्यवाही भएको छैन तर भाविष्यप्रति आशावादी  हुने सङ्केत केसम्म छ भने मौरीको रानीलाई जस्तै मृतक भीमबहादुरलाई घेरिरहेका मजदुरहरूका अनुहारमा पढ्न सकिने मौन सङ्केत थियो र त्यो आँधी आउनुपूर्वको वातावरणजस्तै थियो भनिएको छ, जुन मौन सङ्केत गणेश र शिवरामले बुझेर त्यही समूहमा गएर मिसिए भनिएको छ । यत्तिले पनि यस कथालाई समाजवादोन्मुख, समाजवादी भन्न सकिन्छ ।

अर्को कथा ‘अँध्यारो गाउँ’ को परिवेश हेदा त्यो गाउँको परिवेश पूरै माओवादी र माओवादी पक्षधर मात्र भएको परिवेशजस्तो देखिन्छ । छन त त्यहाँ माओवादी र माओवादी जनयुद्धको सामाजिक परिवर्तन र मुक्ति कर्ममा नलागेको र अझै गाउँले जनतालाई माओवादीको आरोप लगाएर निर्भयतापूर्वक मार्ने पुलिस, आर्मीको पाशविक दैत्य प्रवृत्तिको बिम्ब यहाँ छ । कुनै बिषयमा मत बाझिएको वा मतभिन्नता भएका आधारमा एकजना पुलिसले गाउँको आदर्श व्यक्ति मास्टर काकालाई जबर्जस्ती तँ माओवादी नै होस् भनेर गाली गलौज र मार्ने धम्की मात्र दिदैन, थप बल ल्याएर अपहरण गरी लैजान्छ । मास्टरकी सानी छोरीले सहित ‘मेरो बाबालाई नमारी दिनुहोस् अङ्कल, हामी जे भने पनि मान्छौं भन्दै रूँदै कराउँदै अनुनय विनय गर्दा पनि हृदयहीन जल्लादहरू पाषण भएर मार्छन् । यसले सोझै पीडित वर्गको विजय भएको र उसले न्याय पाएको स्थिति त छैन, तर त्यस घट्नाले पूरै गाउँका मान्छेहरू उक्त  पुलिसको यस्ता विरोधि भएका छन् कि गाउँमा भेट्नेवित्तिकै कुटीकुटी मार्ने निचय जस्तै भएको छ । त्यति मात्र होइन सबले त्यस पुलिसका छोराछोरी र परिवारलाई समेत पुलिसका छोराछोरी र परिवार भनेर चरम घृणा गर्ने स्थिति छ । यसैले मनोवैज्ञानिक सजाय पनि दिइएकाले यसलाई समाजवादी यथार्थवादीमै राख्न सकिन्छ ।  

 ‘मुक्ति’ मा वर्गीय द्वन्द्व भन्दा वर्ग–चरित्रको चित्रण गरिएको छ । धन, सम्पति त जीवन चलाउने साधन हो । यसको सही प्रयोग भएन भने यसले जीवन नष्ट पनि गरिदिन सक्छ । यस्तो प्रायः धनी बाबुका बिग्रेका सन्तानका सन्दर्भमा लागु हुन्छ । यहाँ निम्न वर्गका कश्यपजस्ता पात्र मेहनत गर्छन् र आफ्नो पसिनाको आर्जनमा बाँच्छन् तर आनन्दरामजस्ता उपल्लो वर्गका बिग्रेका सन्तान कश्यमजस्ताले कमाएको कमाइ खाएर बाँच्छन् । सहर पसेर पनि कश्यपजस्ताले मजदुरी गरेर दुःखजिलो गरी कमाएको ४० हजार चोरेर लागूऔषध पान गर्छ र आफ्ना गुण्डा समूहको ग्याङफाइटमा मर्छ । यहाँ वर्गीय द्वन्द्व त होइन तर आनन्दजस्तो उपल्लो वर्ग धन र त्यसद्वारा निर्मित खराब चरित्रका कारण समाप्त भएको र निम्न श्रमिक मजदुर वर्ग बाँकी रहेको छ । वर्ग द्वन्द्व नभए पनि उत्पीडक वर्गको समाप्ति र श्रमिक वर्गको यथावत अस्तित्वका दृष्टिले यसलाई पनि समाजवादी यथार्थवादी नै भन्न सकिन्छ ।

 ‘वाध्यता’ शीर्षक कथामा पनि निम्न वर्गीय किसान, मजदुर श्रमिकहरूको मुक्तिका लागि गरिएको जनयुद्ध एक दिन अवश्य सफल हुनेछ र उनीहरूका सुनौलो दिन अवस्य आउनेछन्  भन्ने भावना नै देखिन्छ । त्यही जनयुद्धमा माइलीजस्ता सेना र पुलिस पीडित महिलासमेत सब छोडेर अन्ततः जङ्गल पस्न वाध्य भएका छन् । यस अर्थमा जनतालाई जङ्गल पसेर माओवादी हुन वाध्य पार्ने सेना र प्रहरी नै माओवादी जनयुद्ध फैलाउने मुख्य कारक थिए भन्ने देखिन्छ । 

‘घोडाको गन्ध’ मा घोडा सामन्तवादको प्रतीक हो । २०४६ र २०५२/२०६२ पछि २०६५ गरी दुई खेपमा मधेशमा जमिनदारीकै भरमा आधिपत्य जमाइरहेका ठुला जमिनदार अर्थात् सामन्त रवीन्द्रशमशेरको अस्तित्व मधेशबाट समाप्त हुनु एउटा वर्गको अस्तित्व समाप्त हुनु हो । यसैले ती सामन्तको मधेशको सत्ताको प्रतीक घोडाका दिन पनि गएका छन् । अब मधेशमा न उनी आउँछन् न उनको घोडो आउँछ । यसरी उनी झर्दा घोडो बाँध्ने चौतारोबाट अब घोडाको गन्ध पनि बिस्तारै हराउँदै गएको छ । यसबाट सामन्तवादको पराजय र झण्डै अवसान देखाइएको छ त्यसैलाई निम्न वर्गीय किसान, मजदुर, सर्वहारा श्रमिकको जित हो भन्न त सकिएला तर त्यो विजय र पराजय २०४६ सालको जस्तै हुने हो कि भन्ने आशङ्का छ । जे होस् सत्ताको सनातन सामन्तवादी वर्चस्व समाप्त भएकाले आशावादी हुँदा समाजवादी यथार्थवादोन्मुखतामा यस कथालाई राख्न सकिन्छ । 

‘देवीदत्तको चिन्ता’ मा प्रजातन्त्र प्राप्तिपछिको लामो सङ्क्रमण अवधिभरि उनै पञ्चायती सामन्त जिम्वाल मुखिया र तिनका छाउराहरूकै बोलवाला भएको, तिनकै दबदबा रहेको, तिनका शोषण, दमन र उत्पीडनले गाउँमा बस्न नसक्ने स्थिति भएको, सिधासादा वा भिन्न विचार राख्नेलाई बाँच्न मुस्किल भएको, माओवादी जनयुद्ध कालमा तिनको ताण्डव हराए पनि शान्ति प्रक्रियापछि त्यसपूर्वको उक्त जनयुद्ध कालमा गाउँमा बस्न नसकेर सदरमुकाम र अझ राजधानी पसेका ती पुनः गाउँ पसेर आतङ्क मच्चाउन थालेको, पुलिस प्रशासनले पनि तिनैलाई साथ दिएकाले तिनले निर्दोष जनतामाथि दमन गरेकाले तिनले रमाकान्तहरूको हत्या गरेको र रमेशजस्तालाई अपहरण गरेर बेपत्ता पारेको तर अब जनता सचेत भइसकेकाले त्यो हत्या, अपहरण र आतङ्कका विरूद्ध नारा जुलुस गरी विरोध गरेपछि ती मण्डलेहरू गाउँमा बस्न नसकी पुनः सहर नै फर्केको देखाइएको छ । अपराधिहरूलाई पक्रेर कानुनी कार्वाही नगरी सहरका साँढे हुन छोडिएको जस्तो भए पनि गाउँ सामन्तमुक्त भएको र गाउँलेको जित भएकाले यस कथालाई पनि समाजवादी यथार्थवादी कथामै राख्न सकिन्छ ।

 आलोचनात्मक यथार्थवादी कथाहरूमध्येको कथा हो, ‘घाम झुल्किनुअघि’ । यसमा समस्या छ, समाधान छैन । यथार्थ छ् मजदुर, किसान, उत्पीडित श्रमिक वर्गको उज्यालो भविष्यको बाटो छैन्, सङ्केत छैन । यहाँ सामन्तवादी सत्ताको तावेदार, रक्षक प्रतिनिधिका रूपमा रहेका तातो फलामले संवेदना डामिएका हृदयहीन, संवेदनाहीन क्रूर, पशु र अझ दानवका रूपमा प्रस्तुत सेना र प्रहरी छन् । परिवेश कटारी – ओखलढुङ्गा सडक परिसर र त्यहीँ वरपरको छ । यहाँ गाउँ, सडकका निर्धन निमुखा छोरी, चेली र नारीहरूलाई जबर्जस्ती पत्नी बनाएर रासलीका गर्ने र गर्भिणी बनाएर त्यत्तिकै छोडेर जाने सेना र प्रहरी छन् । जनयुद्धको कालिक परिवेश छ, एउटा निहत्या मानिसलाई गोलीगठ्ठा र लाठीधारी त्याइसजना सेनाको जत्थाले पक्रेर ल्याएका छन् । जनयुद्धमा अझ  माओवादीमा लागेको कुनै प्रमाण छैन, ऊ म माओवादीमा लागेकै छैन, “म माओवादी हुँदै होइन, मलाई नमार ।” भन्दैछ । उसको भाइ माओवादी भएको र एक वर्ष अगाडि एक रात उसको भाइ उसकहाँ बस्न आएको थियो, यत्ति मात्र । यस्तैमा उसलाई रातभर अत्यन्त चिसोमा हिँडाएर बिहान उज्यालो हुनु अगि उनीहरू बुटैबुटले लात्ते भकुण्डो बनाएर कुट्छन् र घाइते बनाउँछन्, भागे बाँच्छस् भनेर भाग्न लगाउँछन्, ऊ बाँच्ने आशले ऊ सकीनसकी उठ्छ र अलिकति पर भाग्छ, दुष्टहरू गोली हानेर मार्छन् । 

यो यथार्थ हो तर सम्भावना र आशावादितारहित । यसैले यो पनि आलोचनात्मक यथार्थवादी कथा हो भन्न सकिन्छ । 

यही कित्ताको अर्को कथा ‘कमरेड पाताल’ हो । यसमा क्रान्ति र परिवर्तनका ठुल्ठुला कुरा र चर्का भाषण गर्ने, ठुल्ठुला आदर्श अगाडि सारेर सपना देखाउने सर्वहारा संस्कृतिका कुरा गर्ने, नेपाली कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक रूपान्तरण नै भएन भन्ने पातालजस्ता क्रान्तिकारी नेताहरू शान्ति प्रक्रियामा आएर अवसरका उपत्यकामा पौडी खेल्न थालेपछि एकाएक सत्ता र शक्तिका बलमा उपभोक्तावादका सिकार दलाल पँुजीवादी उपभोक्तावादी नवसामन्त भएको यथार्थ उद्घाटन गरिएको छ जसले सच्चा, इमान्दार, आदर्श, निष्ठावान, सिद्धान्तनिष्ठ कार्यकर्तालाई मन पार्दैन, ऊ त्यसलाई  किन खबर नगरेर बैठकमा आएको ? भनेर झपार्छ किनकि अब त्यो बैठकमा ऊजस्तै सिद्धान्तका तस्करहरू भरिसकेको र सोझा, सिद्धान्तनिष्ट, इमान्दारको नेतृत्त्वसमेत त्यस्तै ढोंगी, अवसरवादीले गरेका छन् । यही सत्य तथ्यको यस कथामा आलोचनात्मक प्रस्तुति छ, त्यसको समाधान के ? लेखक मौन छन् । 

 ‘सपनाहरूको खोजी’ मा एउटा प्रश्न छ, शान्ति प्रक्रियामा आएपछि जनयुद्धमा सहादत प्राप्त गर्ने मृतकका चिहानजस्तै जनयुद्वमा देखिएका, देखाइएका सपनाहरू पनि हराउँदै जाने त होइनन् ? तर उत्तर छैन । 

यसै गरी ‘भत्किएको घरनेर’ मा पनि नेपाली राजनीतिको मूल्यहीनता र पतनको चित्रण छ । लामो त्याग, बलिदान र समर्पण गरेको आदित्य जस्तो इमान्दार, कर्तव्यनिष्ठ, सिद्धान्तनिष्ठ; पार्टी, देश र जनताप्रति वफादार आफ्नो व्यक्तिगत सम्पूर्ण सम्पतिबाई पार्टीकरण गर्ने त्याग र बलिदानको नमुना एक आदर्श व्यक्तिलाई परेको बेला पैसा हाल्न नसक्ने निर्धन भएको आरोप लगाउँदै मजदुर सङ्गठनको नेतृत्व उसबाट छिनेर देश र जनताको रगत, पसिना रूपान्तरित सम्पूर्ण सम्पति थुपारी मालामाल भएको चरम अवसरवादी, फटाहा, दुईजिब्रे, धूर्त, चाटुकार, आर्थिक रूपले अत्यन्त भ्रष्ट, लाजिम्पाटमै ठुलो भव्य महललगायत बस्ने र भाडा दिने छुट्टाछुटै घरहरू जोडिसकेको, प्रशस्त जग्गाजमिनको मालिक रमणजस्तो ब्वाँसो नेता (अध्यक्ष) भएको देखाई अब जनयुद्ध लडेको पार्टी वर्गीय किसान, मजदुर, श्रमिक सर्वहारा वर्गको पार्टी नरहेर दलाल, भ्रस्टाचारी, अवसरवादी, तस्करहरूको पार्टी हुन गएको विचार यस कथामा प्रस्तुत गरिएको छ । यसमा पर्याप्त आलोचना छ, यथार्थ छ, समस्या छ तर समाधान छैन । 

यी बाहेक निर्धनातिनिर्धन दयनीय अवस्थाको दनुवार समाजको तथा तिनका सपनाको अपहरणकारी उत्थानको बाधक जल्दोबन्दो समस्या निर्धनताको जीवन्त बिम्ब उतारिएको कथा ‘निधो’ , नेपालका चरम बेरोजगारीको समस्याको बिम्बयुक्त  ‘कालोचश्मा’, आजका द्रव्यपिसाच, अत्यन्त स्वाथीर्, अवसरवादी प्रवृत्तिको बिम्बयुक्त कथा ‘खाडल’ सबैमा नेपाली समाजका एउटा एउटा समस्या छन्, समाधानको मार्ग चयनको जिम्मा पाठकलाई नै दिएको छ । 

३.निष्कर्ष

यसप्रकार यी कथामा नेपाली समाजका आजको युगले देखे भोगेका समस्याहरू छन्, तिनको प्रस्तुतिका आख्यानीकृत बिम्बहरू छन्, कतै समाधान पनि छन् र ती निम्नवर्गीय पक्षधरतायुक्त छन् । कतिपय कथा यथार्थलाई यथार्थकै रूपमा छोडिएका देखिन्छन्, तिनलाई लेखकीय कथाकलाको प्रयोगद्वारा भिन्न रूपमा ढालेर पाठकको रुचिमुखी बनाउन सकिने सम्भावना भए पनि त्यस्तो गरिएको छैन । जस्तो ‘घाम भुल्किनु अघि’ को टुङ्ग्याउनीमा अबला नारी पात्र माइलीलाई हृदयहीन, संवेदनाहीन, नृशंस पशु बनेका सेनाको जत्थाले त्यहीँ बलात्कार गरेर मारेको र उता त्यसरी नै दौडन लगाएर गोली हानेर मारिएको पुरुषका घरमा उसका ८/१० वर्षे छोराछोरी, २२/२४ वर्षे श्रीमती र बुढा आमाबुबा ऊ आउने बाटो पर्खेर बसेको देखाएको भए अझै मार्मिक हुन सक्ने थियो ।

समग्रमा कथाकारका प्रायः कथा हेर्दा र नेपाली समाजको, परिवर्तनकर्मी, क्रान्तिकारी योद्धा र नेताको आजको परिवर्तनको स्वरूप हेर्दा एन्टोनियो ग्राम्सीले सोभियत सङ्घका सम्बन्धमा गरेको टिप्पणी ठिक्क यहाँ लागु भएको छ । 


सन्दर्भसामग्रीसूची 

१) गौतम, देवीप्रसाद (२०५४, सम्पा.), नेपाली कथा, काठमाडौँः नवीन प्रकाशन ।

२) चापागाई, निनु र अन्य (सम्पा.२०४६), प्रतिनिधि नेपाली कथाहरू काठमाडौं : स्रष्टा प्रकाशन ।

३) बराल, ऋषिराज (२०४८), प्रगतिवादी नेपाली उपन्यासका मूल प्रवृत्ति विद्यावारिधि शोध प्रबन्ध,कीर्तिपुर : त्रि. वि.  ।

४) पोखरेल, मातृका (२०६७), घाम झुल्किनुअघि, काठमाडौं : साझा प्रकाशन । 

५) पौडेल, गोपीन्द्र (२०७९), भुंडीपुराण प्रकाशन, बागबजार, काठमाडौं । 


-----------------------------------------------------------





































































No comments: