Tuesday, December 6, 2022

नेपाल विध्युत प्राधिकरणमा बहुभाषिक काव्यगोष्ठी सम्पन्न

 


नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले `भाषिक समावेशिता र सम्मान: हाम्रो अभियान´ भन्ने मूल नाराका साथ  ‘बहुभाषिक काव्यगोष्ठी’  भव्यताका साथ सम्पन्न गरेको छ। २०७९ मङ्सिर १६  गते शुक्रबार नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालयको रुफ टप हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल “शब्द सेना” को सभाध्यक्षता एवम् प्रा.डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा संचालन भएको सो कार्यक्रममा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, विध्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू- विष्णुबहादुर सिंह, पुण्य घिमिरे, केशवप्रसाद रुपाखेती र रामेश्वर राउत मातृदास, सिस्नोपानी नेपालका थरेन्द्र बराल, चलचित्र विकास बोर्डका गणेश भण्डारी लगायत प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

सो समारोहमा साहित्यकार रासा, गायक जुजुकाजी रन्जित र  राजेश तण्डुकारले नेवारी भाषामा, डा. कृष्णराज सर्वहारीले थारू भाषामा, लक्ष्मण मण्डल र अशोक चौधरीले मैथिली  भाषामा तथा राजन पालुङ्गाले लिम्बू  भाषामा कविता, गीत लगायतका रचनाहरू वाचन/ गायन गरेका थिए।



त्यस्तै मनुकुमारी पुलामीले मगर भाषामा  रचना वाचन गरेकी थिइन् भने लोकविक्रम मल्लले डोट्याली भाषा,प्रकाश आचार्यले चिनियाँ भाषा,  विष्णुबहादुर सिंहले रसियन भाषा, अर्जुन राईले राई भाषा तथा कृष्णदेव रिमाल, मूलतिहुन, उमेश अवस्थी र मीरा काफ्लेले नेपाली भाषाका रचना प्रस्तुत गरेका थिए।  नेपालीबाहेक अन्य मातृभाषामा रचित र वाचित रचनाहरूलाई सम्बन्धित स्रस्टाले सरल नेपाली भाषामा भावानुवाद पनि गरेका थिए।

सो समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि माधव प्रसाद पोखरेलले प्राविधिक कार्यालय भएर पनि प्राधिकरणले समावेशी चरित्रको उत्कृष्ट  सृजनात्मक कार्यक्रम  सन्चालन गरेकोमा आयोजकलाई बधाई ज्ञापन गरेका थिए। उनले बोलचालको भाषाको सीमा नाघेपछि काव्यको व्याकरण सुरू हुने बताउँदै वाचित रचनाहरूमा सूत्रात्मकता, बिम्बात्मकता, मितव्ययिता, वाक चातुर्य र व्यङ्ग्यात्मकता  रहेकाले  जीवन्त बनेको धारणा राखेका थिए।

त्यस्तै विशिष्ट अतिथि मातृका पोखरेलले  नेपाल भाषिक रूपमा समृद्ध देश भएकाले सबै भाषाको संरक्षण र विकासबाट मात्र सामाजिक एकता प्रवर्द्धन  हुने विचार व्यक्त गरेका थिए। अर्का वक्ता तुलाराम गिरीले विभिन्न भाषाभाषीका रचनालाई नेपाली अनुवाद सहित उपलब्ध गराइएमा विध्युतकर्मी साहित्यिक समाजले त्यसलाई पुस्तकाकार रूप दिने विचार व्यक्त गर्दै नेपालको संविधानले भाषिक  बहुलतालाई उच्च सम्मान दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गरेका थिए। सो कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवेले कार्यक्रम सफल भएको र यस्तो कार्यक्रम आयोजना हुनु आफैंमा विशिष्ट उपलब्धी रहेको तर्क राखेका थिए।



विध्युतकर्मी साहित्यिक समाजका पूर्व पदाधिकारीहरू, विभिन्न तह र तप्काका कर्मचारी,क्रियाशील ट्रेड युनियनका प्रतिनिधिहरू, साहित्यकार  तथा पत्रकारहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम करिब २:३० घण्टासम्म संचालन भएको थियो।  सो कार्यक्रमलाई  समाजका सचिव विष्णुप्रसाद आचार्य “अतृप्त” ले सहजीकरण गरेका थिए भने शारदादेवी भट्टराई पोखरेलले उपस्थित महानुभावहरूलाई न्यानो स्वागत गरेकी थिइन् ।

सो कार्यक्रमलाई विध्युतकर्मी साहित्यिक समाजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रमको अन्त्यमा  नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिनाले कार्यक्रमका प्रमुख अतिथिलाई मायाको चिनो समर्पण गरेका थिए।


000

www.sahityapost.com बाट साभार 



No comments: