काठमाडौँ / वि. सं. २०८३ साल आश्विन ५ गते
प्रगतिशील लेखक सङ्घ (प्रलेस), नेपालले आफ्नो ७५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा आयोजित विशेष कार्यक्रमका बीच सङ्घले स्थापना दिवस सम्पन्न गर्नुका साथै आफ्नो हीरक वर्ष महोत्सव समेत घोषणा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं चीनका लागि पूर्व राजदूत डा. कृष्णप्रसाद ओलीले वर्तमान सूचना तथा प्रविधिको युगमा प्रगतिशील स्रष्टाहरूले आफूलाई नयाँ ढङ्गले परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई) बाट भाग्ने नभई त्यसलाई प्रगतिशील लेखन र साहित्यको हित अनुकूल प्रयोग गर्नुपर्ने धारणा राखे ।
नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न विभाजन र पुनर्गठनको अवस्थाबाट गुज्रिरहेको भए पनि प्रगतिशील लेखक सङ्घ विभिन्न सांस्कृतिक मोर्चाहरूको साझा संस्थाका रूपमा अगाडि बढ्न सक्नु गौरवको विषय भएको उनले बताए । प्रलेसलाई लेखन तथा साहित्यको क्षेत्रमा राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
विशेषाङ्क विमोचन र हीरक वर्षको रूपरेखा
प्रलेसका केन्द्रीय पदाधिकारीहरूको बैठकले निर्णय गरेबमोजिम यस ७५ औँ स्थापना दिवस तथा हीरक वर्ष प्रारम्भको अवसरमा वर्षभरि गरिने कार्यक्रमहरूको प्रारूप तय गरिएको छ । सोही अवसरमा प्रगतिशील लेखक सङ्घको ३२औँ विशेषाङ्क समेत विमोचन गरिएको थियो ।
सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले संस्थाको हीरक वर्ष महोत्सवको औपचारिक घोषणा गरेका थिए । सांस्कृतिक मोर्चाका नेताहरू र स्रष्टाहरूको ऐक्यबद्धतासङ्घका महासचिव डा. पारस ढकाल (झागेन्द्रराज) द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष समीर सिंहले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य पूर्व मन्त्री तथा प्रलेसकी सल्लाहकार सत्या पहाडी नेपाली कम्युनिस्ट पार्टीको कला, साहित्य तथा संस्कृति विभागका इन्चार्ज गङ्गानारायण श्रेष्ठ, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव आरसी न्यौपाने, नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने, देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल पौडेल लगाएतले राखेका थिए ।
त्यसैगरी कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल, प्रा. डा. जीवेन्द्र देव गिरी, डा. मधुसूदन गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल बोगटी तथा सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, प्रा. डा. गोपिन्द्र पौडेल, गोपिरमण उपाध्याय, गोपाल बराललगायत उपत्यकाका प्रगतिशील स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबीच स्थापना दिवसको अवसरमा प्रलेसले आगामी वर्षभरि सञ्चालन गर्ने विभिन्न रचनात्मक र सङ्गठनात्मक निर्णयहरू समेत सार्वजनिक गरेको छ । त्यस्तै प्रलेसले सन् २०२६ (विक्रम संवत २०८३) का लागि प्रदान गरिने प्रतिष्ठित पुरस्कारहरूको घोषणा गरेको छ । जसमा श्यामप्रसाद स्मृति पुरस्कार, शक्ति लम्साल साहित्य पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार, प्रलेस बालसाहित्य पुरस्कार र प्रलेस युवा पुरस्कार रहेका छन् । यी पुरस्कारहरू आगामी मङ्सिर ६ गते काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने प्रलेसले जनाएको छ ।
यस्तै हीरक वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ७५ वर्ष नाघेका प्रगतिशील लेखक–साहित्यकारहरूलाई मङ्सिर ६ गते काठमाडौँमा अभिनन्दन समेत गरिने भएको छ । काठमाडौँ आउन असमर्थ स्रष्टाहरूलाई प्रदेशगत रूपमा वर्षभरि अभिनन्दन गरिनेछ भने हीरक वर्षकै अवसरमा प्रलेस हीरक वर्ष विशेषाङ्क प्रकाशन गरिने प्रलेसले जनाएको छ ।
स्मरण रहोस अखिल भारत जनवादी लेखक सङ्घको भारतमा मङ्सिरमा हुने कार्यक्रममा प्रलेसलाई निमन्त्रणा प्राप्त भएकाले संस्थाका तर्फबाट प्रतिनिधित्व जनाउने निर्णय गरिएको समेत उसले जनाएको छ । प्रलेसको गत बैशाखमा दोधारा चाँदनीमा भएको अन्तराष्ट्रिय साहित्य गोष्टीमा अखिल भारत जनवादी लेखक सङ्घका पदाधिकारीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
000
https://www.sindhujwala.com बाट साभार


















No comments:
Post a Comment