Thursday, March 24, 2022

विश्व कविता दिवसका अवसरमा विशेष कवि गोष्ठीको आयोजना


काठमाडौँ, ७ चैत, २०७८ । नेपाल प्रज्ञा–प्रतिष्ठानले विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरेको छ । प्रतिष्ठानको सभाहलमा सोमबार एक विशेष कवि गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीको सभाध्यक्ष प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले गर्नुभएको थियो । यसैगरी कार्यक्रमको प्रमुख व्यक्तिको रूपमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती रहनु भएको थियो । कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरु प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल रहनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्यहरु, आजीवन सदस्यहरु, प्राज्ञसभाका सदस्यहरु, प्राज्ञ परिष्द्का पूर्व पदाधिकारी, कवि तथा साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रतिवेदकको रुपमा आजको खबर डटकमका प्रधानसम्पादक डिल्ली रमण सुवेदी रहनु भएको थियो भने कार्यक्रमलाई प्राज्ञ शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।

राष्ट्रगानबाट सुरु भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्यसहित कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । उहाँले विश्व कविता दिवसको अवसर पारेर आजको दिनमा विगतका वर्षदेखि नै विशेष कवि गोष्ठीको आयोजना गर्ने गरेको बताउनु भयो । विश्वका कविहरुका लागि यो हर्ष र उल्लासको दिन भएको उहाँले बताउनु भयो । 




कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनको रुपमा विश्व कविता दिवस रहेको उहाँको भनाइ थियो । विश्वका कविहरुलाई आ–आफ्ना मातृभाषामा कविता रचना गर्न प्रेरित गर्दै पुरस्कार, सम्मान गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।

सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औं साधारणसभाबाट विश्व कविता दिवस मनाउन थालिएको पनि उहाँले जानकारी दिनु भयो । यो वर्षको विश्व कविता दिवसको नाराको रुपमा"to recall the role of poetry in the surival of ancient languages, in the development of the world and the enlightenment of the world" (विश्वको भौतिक विकास, आन्तरिक प्रबोधन र प्राचीन भाषाहरुको संरक्षणमा कविताको भूमिका) रहेको पनि उहाँले जानकारी दिनु भयो ।

आजको दिनमा सरकारी प्रतिष्ठान, निजी संस्थाहरुले पनि कविता वाचन, काव्य चर्चा परिचर्चाजस्ता कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो । नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको उहाँले बताउनु भयो । यो दिवसले स्रष्टाका अभिव्यक्ति प्रस्फुटनमा सहयोग गरिरहेको उहाँले बताउनु भयो । गोष्ठीमा ३५ जना विशिष्ट कविहरुलाई रचनावाचनको लागि निमन्त्रणा गरिएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमको समुद्घाटन कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको थियो । कवितावाचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले विश्व कविता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने साहित्य भएको बताउँदै उहाँले एक दिन सिर्जना गर्ने उद्देश्यले विश्व कविता दिवस मनाउन थालिएको उल्लेख गर्नु भयो । कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको बताउनु भयो ।

प्रतिष्ठानको नियमित कार्यक्रम भएको उल्लेख गर्दै उहाँले ३१ जना कविहरुले कविता वाचन गर्नुभएकोले कार्यक्रम सफल भएको बताउनु भयो । काव्य विभागको आह्वानलाई स्वीकार गर्दै सहभागी भएर कविता वाचन गरिदिनुभएकोमा सम्पूर्ण कविहरुमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

कविता सुनेपछि प्रेरित बन्ने भन्दै प्रभावकारी कविता लेखनमा नयाँ पुस्ता र अन्य स्रोतालाई यो कार्यक्रम उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले यो कवि गोष्ठीले वर्तमान कविताको अवस्था चित्रण गरेको बताउनु भयो । ‘३१ जना कविले वाचन गरेका कविताबाट समग्र नेपाली साहित्यको वर्तमान अवस्था झल्किएको छ’ उहाँले भन्नु भयो । पहिले कविता र कविमा विभेद रहेको उल्लेख गर्दै उहाँले कवितामा सबै केन्द्रित भएपछि विवाद समाधान हुने उल्लेख गर्नुभयो ।

विश्व कविता दिवसमा छानिएका कविहरु आएर सहभागिता जनाउने प्रचलन रहेकोले सोही अनुसार कविहरुको सहभागिता रहेको उहाँले बताउनु भयो । प्रा.डा. हेमनाथ पौडेल काव्य विभागको जिम्मेवारीमा आएपछि कविता र काव्यको क्षेत्रमा प्रतिष्ठानले थप उचाई प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो । काव्य विभागले विभिन्न क्षेत्रका कवि र कवितालाई समेटेर पुस्तकमा संग्रहित गरेको पनि उहाँले उल्लेख गर्नुभयो । कविता मात्रै नभएर गजल, गीत, मुक्तक, समालोचनाका क्षेत्रमा पनि विभागले उल्लेख्य पुस्तक प्रकाशन गरेको उहाँले बताउनु भयो । नेपाली कविताको प्रादेशिक इतिहास, छरिएका कविताहरुको संकलन र प्रकाशनको कार्य पनि गरेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले ‘नेपाली महाकाव्यः परम्परा र प्रवृत्ति’ नामक कृति प्रकाशन गर्ने तयारीमा रहेको जानकारी दिनु भयो । कोरोनाकालमा पनि कोठामै बसेर पनि पुराना कृतिहरु खोजेर प्रकाशन गर्ने, प्रतिष्ठानबाट बाहिर गएका कृतिहरुलाई बाहिर जान नदिने अवस्था सिर्जना गर्ने र गएकालाई फिर्ता ल्याउने काम पनि भइरहेको उहाँले बताउनु भयो । सरकारले प्रतिष्ठानको खर्च कटौती गरिरहेको उल्लेख गर्दै आगामी दिन थप चुनौतिपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा ३१ जना कविहरुले आ–आफ्ना कविता वाचन गरेर सुनाउनु भएको थियो ।

कवि डा. बेन्जु शर्माले ‘कोरोना भाइरस’ शीर्षकको कविता सुनाउनु भयो । यसैगरी सुलोचना मानन्धरले ‘बाटो’, ‘रातबाट’, ‘बुद्ध’ शीर्षकका छोटा कविता, मातृका पोखरेलले ‘दुर्घटित सपनाको भञ्ज्याङबाट’, श्रवण मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ नर्मदेश्वरी सत्यालले ‘मेरी छोरी’, ईश्वरचन्द्र ज्ञवाली ‘उसको पत्र आमाको नाममा’, विश्वविमोहन श्रेष्ठले ‘यात्रा’, राजेन्द्र सलभले ‘दुई सैनिक’, दयाकृष्ण राईले ‘नगरवधुहरुको आवाज’, नरनाथ लुइटेलले ‘डुक्रनेसँग केही प्रश्न’, नन्दकृष्ण जोशी ‘कुडा कर्णालीका’, मित्रलाल पंज्ञानीले ‘दैवले देख्दैन’, सीता शर्माले ‘गन्तव्य’, वासुदेव अधिकारीले ‘वाफ’ शीर्षकको कविता वाचन गरेर सुनाउनु भएको थियो ।

यसैगरी डा. नेत्र एटमले ‘म अवश्य पनि उठ्नेछु’, प्रभा भट्टराईले ‘जान्दिन म ता’, डा. रामप्रसाद ज्ञवालीले ‘म कवि’, गङ्गा सुवेदीले ‘यथार्थमा’, शोभा दुलालले ‘श्यामलाल’, रमेश पोखरेलले ‘जनविश्वास पाइदैन बोलेर’, लक्ष्मण गाम्नागेले ‘उस्तै उस्तै लाग्न थालेको छ’, गोविन्द घिमिरे ‘वेदमणि’ ले ‘सम्मान ब्यापार हो’, वैरागी जेठाले ‘च्याङबाको गीत’, विना थिङले ‘ड्यामड्याम’, जयन्ती सत्यालले ‘जवाफ देउ न आमा मलाई ऐठन परिरहेछ’, हेमन्त विवशले ‘गोसाई तमिले कसको मुटु बोकेका छौ’ अयोध्यानाथ चौधरीले ‘बिर्सिसकेँ अनुहार’, ई. सन्तोष पोखरेलले ‘द फ्युटायल वल्र्ड’, राम विनयले ‘गन्तव्य’, हरिकला उप्रेतीले ‘कालेका बा’ शीर्षकको कविता सुनाउनु भएको थियो ।

000

www.aajakokhabar.com बाट साभार 

No comments: