Saturday, December 27, 2025

येनान गोष्ठीबारे चर्चा गर्दै प्रलेसले मनायो माओजयन्ती

 



काठमाडौँ । प्रगतिशील लेखक सङ्घले येनान गोष्ठीमा माओत्सेतुङको मन्तव्यसित सम्बन्धित रहेर एक सय तेत्तिसौँ माओजयन्ती मनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. भूपाल राईको प्रमुख आतिथ्यमा २०८२ पुस ११ गते (डिसेम्बर २६) का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित त्रियासिऔँ परिसंवाद कार्यक्रमको मुख्य शीर्षक ‘साहित्य र कलाबारे माओको दृष्टिकोण’ रहेको थियो ।

कार्यक्रममा ‘साहित्यमा वर्गीय पक्षधरता’ बारे तेजविलास अधिकारीले, ‘प्रगतिवादी साहित्यको लोकप्रियता’ बारे प्रकाश थापामगरले, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’ बारे सावित्री सीले र ‘येनान गोष्ठीको दार्शनिक पक्ष’ बारे विष्णु प्रभातले सङ्क्षिप्त विषयकेन्द्रित मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा डा. राईले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल र प्राडा जीवेन्द्र देव गिरी, पूर्वमन्त्री तथा प्रलेसकी सल्लाहकार शान्त मानवी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, डा. कौशिला रिसाल, प्रलेसका सल्लाहकारहरू डा. पुष्करराज भट्ट, पूर्व प्राज्ञ गोपीन्द्र पौडेल, साहित्यकारहरू नर्मदेश्वरी सत्याल, नमुना शर्मा, गोपीरमण उपाध्यायलगायतको आतिथ्य रहेको थियो ।

प्रलेसका उपाध्यक्ष तथा परिसंवाद संयोजक समीर सिंहको अध्यक्षता तथा अर्की केन्द्रीय उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सचिव कुशल बोगटीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको आयोजना प्रगतिशील लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानले संयुक्त रूपमा गरेका थिए ।

000

www.yugdarshan.com बाट साभार 

No comments: