Wednesday, June 8, 2022

एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ विमोचित


२२ जेठ २०७९, काठमाडौँ । नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुङ्गानाको एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ ।

उदयपुरको इनामे, कमेरेमा  जन्मिएर पञ्चावती मावि उदयपुरगढी र त्रिवेणी मावि कटारीमा लामो समय शिक्षण गरी अवकाशप्राप्त ढुङ्गानाका यसअघि बाल साहित्य, अनुवाद, खण्डकाव्य, उपन्यास तथा पाठ्यक्रममा आधारित पुस्तकहरू प्रकाशित छन् । पञ्चवती सद्भाव समाज र कटारी विद्यार्थी समाजद्वारा  नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा माधवप्रसाद पोखरेल लगायतले ‘परलोकको विमर्श’ विमोचन गरे ।

डा पोखरेलले ढुङ्गानामा इतिहासका पात्राहरूलाई गहन अध्ययनसहित यथार्थ नाट्य र रोचकरूपमा प्रस्तुत गर्ने सीप भएको बताए । इतिहासकार डा सुरेन्द्र केसी, प्राज्ञ दिनेशराज पन्त, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली , वरिष्ठ इन्जिनियर ओम बहादुर राउत, साहित्यकार बोधकुमार घिमिरे लगायतले नेपाली राष्ट्रियताबारे नयाँ पुस्ता उदासिन हुँदै गएको अवस्थामा कृतिको महत्व र सान्दर्भिकताबारे प्रकाश पाएका थिए ।

सो एकाङ्कीमा बौद्ध धर्मको पुनःजागरणकर्ता अमृतानन्ददेखि वामपन्थी पार्टीका भूमिगत नेताकार्यकर्तासमेतलाई जीवित पात्र बनाइ उनीहरूका माध्यमबाट इतिहासको अभिलेख गराइएको छ । कार्यक्रममा उहाँको कृति ‘नेपाल दर्शन’ को समीक्षा पनि गरिएको थियो ।

कटारी विद्यार्थी समाजका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शम्भु थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन  कवि  मातृका पोखरेलले गरेका थिए । 

No comments: