Monday, January 15, 2024

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई प्रदान

 


मिति २०८० पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित पारिजात हलमा प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईबाट दोसल्ला ओढाएर साहित्यिक पत्रकारिता सम्मानपत्र सहित नगद रू ५० हजार नगद पुरस्कार घिमिरेलाई समर्पण गरिएको हो। घिमिरेले २०१८ सालदेखि रचना पत्रिका सम्पादन गर्दै आउनु भएको छ।

यसैगरी अर्को पुरस्कार नेपाल भाषाको थौंकन्हे पत्रिकाको सम्पादक रुक्मिणी श्रेष्ठलाई मातृभाषा पत्रकारिता सम्मानपत्र सहित पुरस्कार समर्पण गरिएको छ। श्रेष्ठलाई पनि खास्टो ओढाएर रू ५० हजार नगद समर्पण गरिएको छ।

कार्यक्रममा सदस्य सचिव डा धनप्रसाद सुवेदीबाट स्वागत गरिएको थियो ।
राष्ट्रगानबाट प्रारम्भ गरिएपछि कुलपति राईबाट पानशमा दीप बालेर कार्यक्रम अगाडि बढाइएको थियो ।

पुरस्कृतद्वयबारे परिचय प्राज्ञ बाबा बस्नेतबाट लिखित छोटो मन्तव्य राखिएको थियो ।

कार्यक्रममा जनमत पत्रिकाका सम्पादक मोहन दुवाल ,साहित्यकार मातृका पोखरेल, मधेस आयोगका सदस्य आभा सेतु सिंहले आ-आफ्ना साहित्यिक पत्रकारितामा भएको ऊहापोह बारे आ-आफ्ना भनाइ राखेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विमल कृष्ण श्रेष्ठ ( विमल निभा)बाट धन्यवाद व्यक्त गरिएको थियो ।

सो कार्यक्रममा प्रज्ञाका प्रेम खत्री ,मधुसूदन गिरी,अमर न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रज्ञाका चेतनाथ धमलाबाट भएको थियो ।

निम्तो ११:५५ बजे भए तापनि कार्यक्रम १:०५ बजे मात्र शुरुआत भएको थियो । पुरस्कृत दुई जेष्ठ व्यक्तित्व नै अस्वस्थ भई भरखरै घर बाहिर आएको र लामो समय कुर्नु पर्दा असहज भएको र पुरस्कार वितरण भन्ने भाषा भूकम्पपीडित ,बाढीपीडितलाई जस्तो भयो र पुरस्कार समर्पण भनिएको भए राम्रो हुने आशय पुरस्कृत प्रतिभा रोचक घिमिरेबाट व्यक्त गरिएको थियो ।

कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार र साहित्यिक पत्रकारहरूको उपस्थिति रहेकोे थियो ।

000

शब्दपथ बाट साभार





















No comments: