विचार-पत्र
नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुको पृष्ठभूमिमा केही महत्त्वपूर्ण कारणहरू विद्यमान थिए । मूल रुपमा नेपाली समाजमा आएको वैचारिक परिवर्तन नै यस संस्थाको स्थापनाको महत्त्वपूर्ण कारण थियो । विश्वव्यापिरूपमा विस्तार हुँदै गएको मार्क्सवादी दर्शनको प्रभावले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमैं यसप्रकारका संस्थाहरु निर्माण भएको इतिहास हामी भेट्टाउँदछौं । इ.सं. १९२९ मा सोभियत संघमा गठन भएको 'सर्वहारा लेखकहरुको एशियाली सङ्घ' साम्राज्यवादका विरुद्धमा जुर्मुराएका संस्कृतिकर्मीहरूको संगठित पहल थियो । त्यसैगरी इ.सं. १९३४ मा महान् साहित्यकार मैक्सिम गोर्कीको अध्यक्षतामा गठित 'रसियाली लेखकहरुको साहित्यिक सङ्घ' लाई प्रगतिवादी साहित्यकारहरू संगठित हुने अभियानको रूपमा महत्वपूर्ण आरम्भ मानिन्छ । सन १९३४ को मैक्सिम गोर्की, रोमा ऐला आदिको उपस्थितिमा फ्रान्सको पेरिसमा भएको भेलाले प्रगतिशील लेखक सङ्घ नामको अंतर्राष्ट्रिय संगठन गठन गरेको थियो । त्यसैको प्रभावस्वरूप सन १९३५ मा लण्डनमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरूको पहलमा भारतमा प्रगतिशील लेखक सङ्घ गठन भयो ।
अन्तर्राष्ट्रिय रूपमा खुलेका यी संगठनहरूको प्रेरणा कुनै न कुनै रूपमा नेपालमा वि.सं . २००९ सालमा गठन गरिएको प्रगतिशील लेखक सङ्घमा परेको देखिन्छ । यस सङ्घको स्थापनाको भ्रुण राणा शासनको उत्तरार्द्ध देखिनै विद्यमान थियो । त्यसबेलाको चर्चित पत्रिका 'शारदा' मा प्रकाशित सम्पादकीय एवम् समाचारहरुले यो तथ्यलाई प्रष्ट बनाउँछन् । मूलत: यस संस्थाको आवश्यकता राणा शासनकालमैं देखिएको थियो । प्रगतिशील लेखक सङ्घको स्थापना हुनुभन्दा अघि पनि प्रगतिशील प्रकाशन मण्डल, नेपाल जनवादी लेखक सङ्घ, जनसांस्कृतिक सभा र नेपाली साहित्य सदनजस्ता प्रगतिशील संस्थाहरू खुलेको चर्चा हामी इतिहासमा भेट्टाउँछौं । तर ती संस्थाहरुले निरन्तरता दिन सकेनन् ।
वि.सं . २००७ सालको क्रान्तिको पृष्ठभूमि र आलोकमा वर्गीय तथा पेशागत हकहित गर्ने उद्देश्यले मुलुकमा विभिन्न संघ, संस्थाहरू खुलिसकेका थिए । अखिल नेपाल किसान संघ, मजदुर संघ, महिला संघ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन, अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ (९ फागुन २००७) जस्ता जनवर्गीय र पेशागत संगठनहरू बनिसकेका थिए । समग्रमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुका पछाडि यी सबै घटनाहरूको प्रभाव पर्नु स्वभाविक देखिन्छ ।
प्रगतिशील लेखक आन्दोलन विश्वव्यापी प्रगतिशील साहित्यिक धारासँगै जोडिएको छ, जसले साहित्यलाई केवल सौन्दर्यबोधको साधन मात्र नभई सामाजिक परिवर्तनको औजारको रूपमा व्याख्या गर्छ । नेपालमा पनि यस आन्दोलनले
वर्गीय असमानता, शोषण र उत्पीडनविरुद्ध जनस्तरले बोध गर्ने गरी आवाज उठायो । श्रमिक, किसान, महिला, दलित, आदिवासी समुदायका जीवनअनुभवलाई साहित्यको केन्द्रमा ल्याउने प्रयत्न गऱ्यो । साहित्यलाई जनताको पक्षमा उभ्याउने प्रयास गर्यो । समाज परिवर्तनको अभियानमा यो संस्थाको भूमिका इतिहासमा स्पष्ट रूपमा लिपिवद्ध भएको हामी पाउँछौं ।
प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको उपलब्धीको यात्रा : संक्षिप्त चर्चा
प्रगतिशील लेखक सङ्घको स्थापना कालमा नेपालको कम्युनिष्ट आन्दोलन अविभाजित अवस्थामा थियो । त्यसैले पनि सङ्घको परिकल्पना त्यसै अनुरूप गरियो । समय क्रमसँगै नेपालको वामपन्थी आन्दोलन टुटफुटबाट गुज्रिन थाल्यो । त्यसपछि प्रगतिशील लेखक सङ्घलाई संयुक्त मोर्चाको अवधारणा अनुसार चलाउनु पर्ने अवस्था आइपऱ्यो । नेपालका वामपन्थी पार्टीहरूले २०४६ सालको जनआन्दोलन, संसदीय वा स्थानीय निर्वाचनको बेलामामात्र अल्पकालीन सहकार्य गरे पनि दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर काम अघि बढाउन सकिरहेका छैनन् । प्रगतिशील लेखक सङ्घभित्र विविध वैचारिक चिन्तनको उपस्थिति छ । नेपालका वाम पार्टीहरूमा संयुक्त मोर्चाको लामो अभ्यास नभएका कारण प्रगतिशील लेखक सङ्घले कहिलेकाहीँ साझा मत बनाउन निकै सकस परेको हाम्रो अनुभव छँदै छ ।
अहिलेको हाम्रो परिवेश भनेको सामन्तवाद र विकृत पूँजीवादको नवीन समीकरणको परिवेश हो । सामन्तवादी र साम्राज्यवादी साँस्कृतिक चेतना परस्पर एक अर्काका उपकारी भएर समष्टी रूपमा अघि बढेका छन् । यो संस्कृति जीवन विरोधी र मानवता विरोधी संस्कृति हो । यो संस्कृति राष्ट्रवादी चेतनाका विरुद्ध छ र समग्रमा भन्नुपर्दा लोकतान्त्रिक चेतनाको बिरुद्धमा छ । जुन संस्कृति समग्र राष्ट्र , जाति र जनताको हितमा छैन त्यसका बिरुद्धको आन्दोलन प्रगतिशील सांस्कृतिक चेतनाका पक्षधर सिर्जनकर्मीहरुका लागि साझा चासोको विषय हो । प्रगतिशील लेखक सङ्घको वर्तमान अवस्थासँग त्यही चासो जोडिएको छ र जोडिनु पर्छ । यसको साझा चरित्रको सौन्दर्य पनि यही सामुहिक चासोको परिणाम हो ।
प्रगतिशील लेखक सङ्घ नेपालको सबैभन्दा पुरानो साहित्यिक संस्था हो । वि.सं. २००९ सालमा स्थापना भएको यस संस्थासँग यसै वर्षसम्म आइपुग्दा चौहत्तर वर्ष दीर्घ यात्रा गरेको गौरवपूर्ण इतिहास छ । यो संस्थाको स्थापनापश्चात नेपालको प्रगतिवादी / प्रगतिशील साहित्यको विस्तार र विकासमा अभुतपूर्व योगदान प्राप्त भयो । यस संस्थासँग विगतमा अति सामान्य आलोचना पनि खप्न नसक्ने निरङ्कुश सत्ताको आततायी चरित्रका विरुद्धमा लडेको गौरवमय इतिहास छ । नेपालको प्रगतिवादी / प्रगतिशील साहित्यको विकास र कालखण्डको चर्चा गर्दा प्रगतिशील लेखक सङ्घ कतै न कतै जोडिएर आइपुग्छ ।
प्रलेसले राजनीतिक परिवर्तनका कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप गरेको छ । यसले साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम पनि गरेको छ। विगतमा भएका जनआन्दोलनहरूमा प्रगतिशील लेखक सङ्घले वा प्रगतिशील लेखकहरूले अग्रिम मोर्चामा रहेर भूमिका खेलेका थुप्रै उदाहरण हामी दिन सक्छौं । त्यो भूमिका वि.सं . २०३६ सालको आन्दोलनताकाको सडक कविता क्रान्तिको होस वा वि.सं. २०४६ को जनआन्दोलनको समयको चैत्र ३ गतेको कालो पट्टी अभियान होस् । वि.सं. २०६२ / ६३ को आन्दोलन ताका बनेको प्रतिगमन विरोधी स्रष्टाहरुको संयुक्त समिति, गणतन्त्र कविता आन्दोलन वा लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चजस्ता आन्दोलनकारी संस्थाहरुको निर्माण मा प्रगतिशील लेखक सङ्घ वा प्रगतिशील लेखकहरूको अगुवाई अग्रिम पङ्क्तिमा रहेको भेटिन्छ ।
प्रगतिशील लेखक सङ्घको सङ्गठन विस्तार अहिले करिवकरिव देशव्यापि भएको छ । प्रगतिशील लेखकहरू संगठित भएर धेरै प्रतिष्ठान, स्मृति केन्द्र , मञ्चहरू खुलेका छन् । प्रगतिशील साहित्यिक आन्दोलनको निम्ति यो अत्यन्तै सकारात्मक अवस्था हो । यो शक्तिलाई नेपाली समाज रुपान्तरणको अभिष्ट उद्देश्य तर्फ जोड्दै प्रगतिवादी साहित्यको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु अहिलेको समयको माग हो ।
भावी कार्यदिशा एक संक्षिप्त चर्चा :
प्रलेसको भावी कार्यदिशा मुख्यतया निम्न विषयमा केन्द्रित गर्नु आवश्यकता छ ।
१ ) वैचारिक सुदृढीकरण :
प्रगतिवादी विचारधाराको रक्षा गर्दै पछिल्लो समय देखापरेका वैचारिक विचलन र विसङ्गतिविरुद्ध बौद्धिक बहस तथा सिर्जनात्मक हस्तक्षेप गर्ने कार्य अहिलेको पहिलो प्राथमिकता हो । प्रगतिवादी दृष्टिकोण र ध्येयलाई ठिक ढङ्गले अँगाल्ने प्रयत्न गरिनु पर्दछ । पछिल्लो चरणमा वैचारिक कार्यहरूले कम तर अन्य कामहरूले प्राथमिकता पाइरहेका छन् । यसका लागि -
१:१) वैचारिक बहस र विमर्शको निरन्तरता :
केही वर्षदेखि मार्क्सवादी कला -साहित्यको विषयमा प्रशिक्षणात्मक गोष्ठीहरु कम भएर गएका छन् । भएकै छैनन् भने पनि हुन्छ । त्यस्ता प्रशिक्षणमूलक गोष्ठीहरू सञ्चालन गरिनु पर्दछ । पहिलेको तुलनामा अहिले प्रलेसका सदस्यहरुको लेखनमा वर्ग प्रतिवद्धताको अभिव्यक्ति कमजोर रहनुको एउटा मूल कारण मार्क्सवादी कला -साहित्यको विषयमा प्रशिक्षणात्मक कार्यक्रमहरू नहुनु पनि एक हो ।
१ः२) हजारौं वर्षदेखि चल्दै आएको रुढीग्रस्त समाजलाई बदल्न निश्चितै रूपमा सहज छैन । सहज नभए पनि हामीले यो कदम उठाउनै पर्छ । अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती दर्शनलाई प्रश्रय दिने व्यक्तिवाद, अराजकतावादजस्ता प्रवृत्तिको विरुद्धमा प्रगतिशील लेखक सङ्घका सदस्यहरूले आफ्ना लेखनमार्फत चेतना प्रवाहित गर्नुपर्छ ।
१ः३) मार्क्सवादका विरुद्ध उत्तरआधुनिकता, नववामपन्थजस्ता विचारहरू योजनावद्ध रुपमा अघि सारिएका छन् । ड्यानियल बेलको ‘वर्ग सङ्घर्षको अन्त्य’, फुकियामाको ‘इतिहासको अन्त्य’, रोलाँ बार्थको ‘लेखकको मृत्यु’, डेरिडाको विनिर्माणवादजस्ता धारणाको प्रभाव साहित्यकारहरूमा बढ्दै गएको छ । यी दृष्टिकोण किन गलत हुन् भनेर मानिसहरूलाई सचेत बनाउने कार्यक्रमहरू अघि सार्नुपर्दछ ।
१:४) प्रगतिशील साहित्य लेखनमा स्थापित अग्रजहरूका रचना पढ्न उत्प्रेरित गर्ने त्यस प्रकारका रचना वा कृतिमाथि बेलाबेलामा समीक्षा गोष्ठी गर्ने कार्यक्रम अघि बढाइनु पर्दछ । जसले गर्दा नयाँ पुस्ता प्रगतिवादका सैद्धान्तिक परम्पराबाट दीक्षित र प्रशिक्षित हुन सकुन् ।
२ ) साहित्यिक सिर्जना र समीक्षा :
नेपालको साहित्यिक आन्दोलनको इतिहास केवल कलात्मक अभिव्यक्तिको यात्रा मात्र होइन, यो समाज परिवर्तनको चेतनासँग गाँसिएको वैचारिक संघर्षको इतिहास पनि हो । यसै परम्परामा उभिएको प्रगतिशील लेखक सङ्घ, नेपालले वर्गीय चेतना, सामाजिक न्याय, समानता र जनपक्षीय मूल्यहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । तर बदलिँदो सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक सन्दर्भमा यसको अवस्था र कार्यदिशालाई पुनः विमर्शको विषय बनाउन आवश्यक छ ।
२:१ ) श्रमजीवी वर्ग, उत्पीडित समुदाय, र राष्ट्रियताका पक्षमा कलम चलाउन स्रष्टाहरूलाई प्रोत्साहन गर्नु पर्छ ।
२:२ ) प्रगतिशील / प्रगतिवादी समालोचना अत्यन्तै कमजोर हुँदै गएको छ । समाजवादी यथार्थवादी पद्धतिलाई अंगालेर प्रगतिवादी समालोचनाको विकास करिवकरिव ठप्पै छ भन्दा पनि हुन्छ । प्रगतिशील लेखक सङ्घले समालोचनात्मक चेत भएका र प्रगतिशील साहित्यको बाटो हिँड्न चाहने प्रतिभाहरुको विधागत समूह बनाएर योजनावद्ध रूपमा काम अघि बढाउनु पर्दछ ।
२:३ ) सर्वप्रथम त प्रतिबद्ध लेखनको बारेमा प्रगतिशील लेखक सङ्घको नेतृत्वमा बस्नेहरु नै प्रष्ट हुनुपर्छ । प्रगतिशील लेखकहरूको लेखन वर्ग प्रतिवद्ध लेखन हो । प्रगतिशील लेखक सङ्घले सङ्घमा आवद्ध नभएका वर्ग प्रतिवद्ध लेखकहरुको पहिचान गरी रोष्टर तयार गर्दै उनीहरुलाई संगठित बनाउने कोसिस गर्नुपर्छ ।
२:४ ) प्रगतिशील साहित्यकारहरूले सिर्जना र अध्ययन दुबै क्षेत्रबाट हस्तक्षेप बढाउन जरुरी छ । प्रगतिशील लेखक सङ्घका सदस्यहरूले के के लेखिरहेका छन् ? के के पढिरहेका छन् ? अनुगमन गर्न जरूरी छ । सिर्जनाविनाको सक्रियताको प्रलेसले लोभ गर्नु हुँदैन । प्रलेसका सदस्यको सौन्दर्य सिर्जनामा देखिनु पर्छ । सिर्जनालाई प्राथमिक र सङ्गठनात्मक सक्रियतालाई सहायक महत्त्व दिनु पर्दछ । नत्र प्रलेस लेखक विनाको सङ्गठनमा रूपान्तरित हुँदै जाने खतरा बन्छ । प्रगतिशील लेखक सङ्घले सिर्जनालाई पहिलो महत्त्व दिने कार्यक्रम अघि बढाउनु पर्दछ ।
३ ) प्रकाशनको क्षेत्रमा :
३:१ ) प्रगतिशील पत्रिकाहरूको प्रकाशनलाई जोड दिनु पर्छ । प्रगतिशील लेखक सङ्घमा आबद्ध सदस्यहरुले चलाएका साहित्यिक पत्रिकाहरू कतिपय अवस्थामा प्रगतिशील मूल्यलाई आत्मसात गरेको पाइँदैन । सङ्घका सदस्यहरुलाई प्रगतिशील मूल्यलाई आत्मसात गरेका सामग्री प्रकाशन गर्न उत्प्रेरित गर्नु र कर्तव्यवोध गराउन पहल लिनु पर्दछ । सरदर बजारमा निस्कने पत्रिका र प्रगतिशील पत्रिकाको फरक बुझाउन साहित्यिक पत्रिका प्रकाशन गरिरहेका प्रलेसका सदस्यहरु सम्मिलित गराएर छलफल र अन्तरक्रियाको कार्यक्रम चलाउनु पर्छ ।
३:२ ) सेवा पत्रिका देखि लिएर उत्साह, वेदना, संकल्प, झिसमिसे, लहर, कलम, इच्छुक आदिजस्ता वर्तमान चरणसम्म निस्किरहेका प्रगतिशील / प्रगतिवादी . साहित्यिक पत्रिकाहरू खोजी गरेर एकीकृत रूपमा अनलाइनमार्फत अध्ययन गर्ने व्यवस्था मिलाउन सकिन्छ । त्यो मार्फत् नयाँ पुस्ताले इतिहासको विरासतबाट प्रभाव ग्रहण गर्न सक्छन् ।
३:३ ) आजको युग डिजिटल प्रविधिले पूर्णतया प्रभावित गरेको युग हो । यसलाई हामीले समयको माग बुझेर उपयोग गर्न सकिरहेका छैनौं । यसको अर्थ छापा प्रकाशनको महत्त्व छैन भन्ने अर्थमा बुझ्नु आवश्यक छैन । तर प्रकाशनको मञ्च छापा दुनियाँबाट डिजिटल दुनियाँतिर फट्को मार्दै गरेको अवस्था हो । यो परिवर्तनलाई जति चाँडो हामीले आत्मसात गर्न सक्यौं त्यतिनै नयाँ पुस्तासँग संवाद बढाउन सक्नेछौं । नत्र समयले हामीलाई धेरै पहाडि छाड्ने छ ।
४:१) प्रलेसका शाखाहरूलाई ७७ वटै जिल्ला र तल्लो तहसम्म विस्तार गरी सङ्गठनलाई अझ सुदृढ, समावेशी र गतिशील बनाउने अभियान सञ्चालन गर्न जरूरी छ । प्रविधिको प्रयोग: डिजिटल माध्यम (अनलाइन पोर्टल, सामाजिक सञ्जाल) को उपयोग गरेर प्रगतिशील विचार, साहित्य र सन्देशलाई युवा पुस्तामाझ व्यापक रूपमा पुर्याउने योजना बनाउनुपर्छ ।
४:२) प्रगतिशील लेखक सङ्घ संयुक्त मोर्चा खालको संगठन हो । विभिन्न साहित्यिक / सांस्कृतिक संगठनसँग सम्बन्धित सदस्यहरू यो सङ्घमा सहभागी हुनुहुन्छ । संयुक्त मोर्चाको संस्कृतिलाई स्थापित गर्न सकियो भने यस प्रकारका संस्थाहरू प्रभावकारी ढङ्गबाट संचालन हुनेछन् ।
५:१) जनजीविका, जनतन्त्र र राष्ट्रियताको पक्षमा प्रगतिशील लेखक सङ्घले स्थापना कालदेखि सङ्घर्ष उठाउँदै आएको छ । प्रगतिशील लेखक सङ्घको इतिहासमा यो संस्थाले दिल्ली सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौताजस्ता राष्ट्रघाती सम्झौताको विरुद्धमा आवाज बुलन्द बनाएको हामीले पढ्न पायौं । त्यो अभियानलाई कमजोर पार्न दिनुहुन्न । पछिल्लोपटक गरिएका महाकाली सन्धी र MCC सम्झौताजस्ता राष्ट्रघाती सम्झौताका विरुद्धमा अभियान चलाएर नयाँ पुस्तालाई प्रशिक्षण गराउनु जरूरी छ ।
५:२) एकता - आलोचना र फेरि एकताको सही तरिकाले कार्यान्वयन गर्नु अहिलेको समयको आवश्यकता हो । जुट्नुको अर्थ विचार परित्याग गर्नु होइन । विचार विनाको एकताले हामीलाई सही ठाउँमा पुऱ्याउँदैन । अर्कातिर सामान्य कार्यशैलीगत मतभेदलाई पहाड बनाएर द्वन्द सिर्जना गर्दा प्रहार गरिनु पर्ने ठाउँ छुट्ने सम्भावना हुन्छ । त्यसैले संघर्ष र आलोचनालाई ठिक ढङ्गले अघि बढाइयो भने मात्र संयुक्त मोर्चा प्रकृतिका संस्थाहरू प्रभावकारी रुपमा संचालित हुन्छन् ।
६ ) स्रष्टा हकहित र ऐक्यबद्धता :
६:१) लेखक तथा साहित्यकारहरूको बौद्धिक सम्पत्तिको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत र देशभरिका स्रष्टाहरूका बीचमा आपसी ऐक्यबद्धता कायम गर्दै अघि बढ्नु पर्छ ।
६ः२) श्रमजीवी जनतासँग हाम्रो सम्बन्धको दुरी झन्-झन् बढ्दै गइरहेको छ । श्रमजीवी जनतासँग टाढा भएर एकान्त कोठामा बसेर लेखिएको प्रगतिशील साहित्यले जनताको मन जित्न सक्दैन ।
जनताको लागि साहित्य लेख्न चाहने लेखकले जनतालाई अध्ययनको विषय मात्र होइन, आफ्नो सहयात्री र प्रेरणाको स्रोत बनाउनुपर्छ । जनतासँगै हाँस्ने, रुने, श्रम गर्ने र संघर्ष गर्ने लेखकले मात्र जीवनको साँचो स्पन्दन भेट्टाउन सक्छ। त्यसैले जनताको साहित्य लेख्ने सबैभन्दा भरपर्दो बाटो भनेको जनतासँगै घुलमिल हुनु हो ।
६:३ ) प्रगतिशील लेखक सङ्घले मुलुकका अग्रज पुस्ताका प्रगतिशील स्रष्टाहरूको सार्वजनिक सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिनुपर्छ । विगतमा युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्टजस्ता विराट प्रगतिशील प्रतिभाहरुको सामुहिक अभिनन्दन गरियो । यो अभियानमा धेरै प्रतिभाहरूलाई जोड्नु पर्छ । उहाँहरूको योगदान समेटिएको विशेषाङ्क प्रकाशन गर्नुपर्छ । यो अभियान अग्रजहरूको सम्मानमात्र होइन, नयाँ पुस्तालाई इतिहासप्रति जानकारी गराउनु पनि हो ।
७ ) प्रगतिशील लेखक सङ्घले विगतमा कमैमात्र प्राथमिकता दिएको तर प्राथमिकतामा पार्नै पर्ने केही मुद्धाहरू :
प्रगतिशील साहित्यको मूल उद्देश्य समाजको यथार्थलाई उद्घाटित गर्नु, शोषण–उत्पीडनका संरचनाहरूलाई चिनाउनु, र न्यायपूर्ण तथा मानवीय समाज निर्माणको पक्षमा वैचारिक–सांस्कृतिक हस्तक्षेप गर्नु हो। समयसँगै समाजका समस्याहरू र अन्तर्विरोधहरू बदलिँदै गएका छन्। त्यसैले आजको प्रगतिशील साहित्यले परम्परागत वर्गीय शोषणका प्रश्नसँगै नयाँ सामाजिक, सांस्कृतिक, वैज्ञानिक र वैश्विक मुद्दाहरूलाई पनि केन्द्रमा ल्याउन आवश्यक छ ।
प्रगतिशील साहित्यको लक्ष्य समाजलाई उन्नत बनाउनु नै हो । समाजलाई उन्नत बनाउन प्रयत्न नगर्ने साहित्यप्रति प्रगतिशील साहित्यको खासै सरोकार रहँदैन । प्रगतिशील साहित्यले हर आफ्नो युगमा उभिएर नयाँ युगको माग गर्नुपर्छ ।
७:१ ) जलवायु संकट र पर्यावरणीय न्यायको प्रश्नलाई हामीले कहिल्यै पनि प्राथमिकतामा पारेनौं । साम्राज्यवादले नाफा कमाउने नाममा पर्यावरणलाई नष्ट गरिरहेको छ । अब यो विषयलाई पनि प्रगतिशील साहित्यको केन्द्रमा ल्याउनुपर्छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिनु, पानीको संकट बढ्नु, जैविक विविधताको ह्रास हुनु, र विपन्न समुदायमाथि पर्ने असमान असरलाई प्रगतिशील साहित्यले गहिराइका साथ उठाउनुपर्छ।
७:२) डिजिटल पूँजीवाद र कृत्रिम बुद्धिमत्ताले सिर्जनामा पार्ने असर, श्रम, शिक्षा र रोजगारीमा ल्याउने परिवर्तन, डिजिटल असमानता, र मानिसको आत्मपहिचानमा पर्ने प्रभाव पनि अब हाम्रो साहित्यको विषय बन्नुपर्छ ।
७:३) प्रगतिशील बाल -साहित्यको क्षेत्रमा हाम्रो ध्यान विगतमा आवश्यकता अनुसार पुग्न नसकेको सत्य हो । अहिलेका बालक नै भोलिका नागरिक हुन् । उनीहरुलाई वैज्ञानिक खुराक दिने साहित्य हाम्रो प्राथमिकतामा पर्नु पर्छ । बाल - साहित्यलाई बढ्ता ध्यान केन्द्रित गर्न जरूरी छ ।
निष्कर्ष
प्रगतिशील लेखक सङ्घ, नेपाल एक ऐतिहासिक जिम्मेवारी बोकेको संस्था हो । यसले अतीतमा परिवर्तनको बीउ रोपेको थियो, तर अबको चुनौती त्यो बीउलाई नयाँ माटो, नयाँ समय र नयाँ चेतनासँग मलजल गरेर हुर्काउनु हो । नेपाली समाजमा परिवर्तन आइरहेको छ । हाम्रा आँखाले देख्ने गरी आइरहेको छ । कैयौं पुराना विश्वास र मान्यताका जगहरू हल्लिरहेका छन् । प्रगतिशील लेखक सङ्घले समाजलाई नयाँ गति दिने र समयको पदचापलाई विश्लेषण गर्ने नयाँ शक्तिको रूपमा आफूलाई परिवर्तित गर्न जरूरी छ ।
सही प्रगतिवादी दृष्टिकोणमाथि चौतर्फी रूपमा आक्रमणहरू भइरहेकै छन् । प्रगतिशील आन्दोलन जति अघि बढ्दै जान्छ, प्रतिकृयावादीहरुको योजनाबद्ध आक्रमण पनि पक्कै बढ्दै जान्छ ।
आम नागरिकको आवाज बोल्ने लेखनधारा कमजोर बन्दै छ कि भन्ने चिन्ता पुरानो पुस्तामा बढ्दो छ । मानिसहरूमा विकसित हुँदै गरेको यो चिन्तालाई निराकरण गर्दै भरपर्दो बाटो पहिल्याउनु प्रलेसको अहिलेको प्रमुख कार्यभार हुनुपर्दछ ।