Wednesday, October 14, 2026

सुरेश किरण : अर्को भेटमा सुनाउने कथा अधुरै रह्यो - मातृका पोखरेल

सांस्कृतिक अभियन्ता एवम् कवि सुरेश किरण र म उमेरले एकै दामलका थियौं । करिव एक-डेढ वर्षले मात्र हाम्रो उमेरमा फरक भए पनि उहाँ मलाई दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । पैंतालीस सालको अन्तदेखि भेट भएको थियो हाम्रो । ती भेटहरू साहित्यको माध्यमले भएका थिए । प्राय : प्रगतिशील सङ्घ संस्थाहरूले आयोजना गर्ने विभिन्न साहित्यिक गोष्ठीहरू हाम्रा भेट हुने माध्यम थिए ।

सुरेश कीरण कविमात्र हुनुहुन्थेन । हाम्रो भेट हुँदा सायद पत्रकार भइसक्नु भएको थियो । उहाँसँग परिचय भएको एकाध वर्ष पछि छयालीस सालको आन्दोलनमा हामी आ-आफ्नो ठाउँबाट सक्रिय भयौं । त्यही आन्दोलनको बेला हाम्रा बीचमा उहाँको वीरताको एउटा घटना हल्लाको रूपमा 'भाइरल' भयो । त्यो घटनाले समवयका हामी साथीहरूका बीचमा उहाँ 'हिरो' बन्नुभयो । छयालीसको आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंह वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँलाई कसैसँग भेटघाट र सम्पर्क गर्न दिइएको थिएन । डाक्टरको भेषमा पसेर उहाँले गणेशमानसँग अन्तर्वार्ता गर्नु भएछ । हाम्रा बीचमा चलेको यस वास्तविक हल्लाले हाम्रो जमातको उहाँ 'हिरो' बन्नुभयो ।

छयालीस सालको आन्दोलनपछि पनि विभिन्न अभियानहरूमा उहाँ भेटिइरहनु हुन्थ्यो । कहिले हाम्रा साझा अभियानहरू हुन्थे कहिले फरक । प्रगतिशील साहित्यिक गोष्ठीहरूमा प्राय: भेट भइरह्यो ।

पछिल्लो समय उहाँ भाषा आयोगमा आउनु भयो । उहाँ आए पछि उहाँको मोटरसाइकलको पछिल्तिर बस्ने म नियमितजसो यात्रु भएँ । त्यसपछि महाबौद्धमा उहाँको साथीको पसल छेउमा मोटरसाइकल राखेपछि हामी मम खाने बहानामा पुरातत्विक काठमाण्डुको छेउकुना पस्थ्यौं ।

त्यसबेलाको एउटा सम्झना आइरहन्छ । काठमाडौँ उपत्यका केवल एउटा राजधानीमात्र होइन, हजारौँ वर्षको सभ्यताको दस्तावेज हो भन्ने ज्ञानको धेरै हिस्सा मैले उहाँबाटै प्राप्त गरेँ ।

सुरेश किरणको जन्म पनि 'कोर सिटी' अर्थात् न्युरोडकै छेउमा भएको रहेछ । घुम्दै जाने क्रममा आफ्नै जन्मस्थानको छेउमा लगेर मलाई उहाँले पाको पोखल्ड्याङको कथा भन्नु भएको सम्झन्छु । गजवको इतिहास रहेछ । नेपाल भाषाबाट नेपाली भाषामा अपभ्रंस भएर ''पाको पुखुद्यां'' नै "पाको पोखल्ड्याङ" भएको रहेछ । नेपाली साहित्यको इतिहास पढ्दा यो नाम मैले सुनिरहेको नाम थियो । विशिष्ट आख्यानकार गोविन्दबहादुर मल्ल गोठालेको जन्मस्थल, मेरा अनन्य मित्र साहित्यकार अतृप्त पाण्डेयको जन्मस्थल । पढिरहेको र सुनिरहेको नाम थियो मेरा लागि ।

"भोटाहिटी नामको ढुङ्गेधारा पुरेर यो भवन बनाए दाइ !'' नजिकै रहेको साझा संस्थाको भवन देखाउँदै उहाँले भन्नु भएको थियो एकदिन । यसो भन्दै गर्दा उहाँको अनुहारमा एउटा विषादको भुमरी नाचिरहेको महसुस गरेको थिएँ मैले त्यसबेला ।

एकदिन भाषा आयोगमा कुरैकुरामा सुरेश कीरणले असन चोकमा निस्कने सातवटा बाटो छन् भन्नुभयो । जतिपटक मनमनै गन्छु छ वटा भन्दा पुऱ्याउनै सक्दिन । एकदिन उहाँकै मोटरसाइकिल पछि बसेर असन पुगेँ । उहाँले असन पुग्ने सातवटा बाटोमात्र देखाइदिनु भएन असन चोकमैं उभिएर लामो समयसम्म असनको कथा सुनाउनु भयो ।

जैशीदेवलको रोचक कथा उहाँले जैशीदेवलमैं पुगेर मलाई सुनाउनुभयो । जैशी देवलको निर्माण पनि नेपालको राजनैतिक सत्ता संघर्षको परिणाम रहेछ । रोचक इतिहास रहेछ जैशी देवलको ।

वि.सं .२०८२ फागुन ६ गते भाषा आयोगका सदस्यहरू सुरेश कीरण, कृष्णप्रसाद न्यौपाने, डा. पुष्करराज भट्ट र म भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको माताको निधनमा समवेदना प्रकट गर्न बारा जिल्लाको कचर्वा जाँदै थियौं । कुलेखानी पुग्दै गर्दा हाम्रा बिचमा देउरालीमा पुगेर चिया पिउनु पर्ला भन्ने चर्चा चल्यो ।

''चिया चाहिँ भीमफेदीमा पुगेर पिउँ । चिया पिउँदै गर्दा दाइलाई म भीमफेदीको कथा पनि सुनाउँछु ।" इतिहासप्रतिको मेरो रूची बुझेर सुरेश कीरणले यस्तो प्रस्ताव राख्नुभएको थियो । किनकी, उहाँ भाषा आयोगमा आउनु भएपछि उहाँको मोटरसाइकिलमा बसेर उहाँबाट काठमाण्डौको प्राचीन सभ्यताको बारेमा महत्वपूर्ण सन्दर्भहरू सुन्न पाएको थिएँ । हामी भीमफेदी पुगेर चिया पिउन तयार भयौं ।

भीमफेदीसँग उहाँको पुरानो सम्बन्ध रहेछ । चिसापानीगढीबाट ओरालो लाग्ने वित्तिकै उहाँले भन्न थाल्नु भयो "वि.सं . १८२५ मा पृथ्वी नारायण शाहले काठमाण्डौंमाथि आक्रमण गर्दा सबभन्दा पहिले भीमफेदीलाई नाकाबन्दी गरेका थिए ।"

"के भीमफेदी त्यसबेला मकवानपुरगढी अन्तर्गत थियो ?" भीमफेदीको इतिहास बुझ्ने मेरो रूची बढ्दै गयो ।

"होइन । यो पाटन राज्य अन्तर्गत थियो । भीमफेदी त्यसैबेला महत्वपूर्ण नाका थियो । यसलाई कब्जा गरेर आफ्नो बनाउन पाटन, भक्तपुर र काठमाण्डौंको बिचमा युद्धहरू नै भएका छन् । पछि पाटनको भयो ।" इतिहासका सामान्य तथ्यहरूबाट उहाँ जानकार हुनुहुन्थ्यो ।

"वि.सं . २०११ सालको बाढी र वि.सं. २०१२ सालमा खुलेको त्रिभुवन राजपथ भीमफेदीका ठुला काल हुन् । त्यसपछि वि.सं. २०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारेपछि यो ठाउँ सम्पूर्ण रूपमा नामेट पारियो । " चिसापानीगढीको ओरालोबाट देखिने भीमफेदीको उजाड शहरलाई हेर्दै उहाँ हामीलाई सुनाउँदै हुनुहुन्थ्यो ।

भीमफेदीको पुरानो पसलमा चिया पिएर हामी एकछिन मृत शहर भीमफेदीको कथा सुन्न सुरेश कीरणको पछि लाग्यौं ।

" पूर्वाधार र सुविधाका दृष्टिले यो सहर त्यसबेला काठमाण्डौं पछिको दोस्रो सहर थियो ।" उहाँ भन्दै हामीलाई लिएर एउटा पुरानो दरबारको आकृति झल्कने सानो भवनको अघिल्तिर पुग्नुभयो ।

"काठमाण्डौंमा वीर अस्पताल बनेकै समयमा यो अस्पताल बनेको हो । वीर अस्पताल र यो अस्पतालको डिजाइन एउटै थियो ।" एउटा जीर्ण भइसकेको तर पुरानो दरबारको जस्तो झल्को दिने एउटा भवनको अघिल्तिर पुऱ्याउँदै उहाँले हामीलाई भन्नुभयो ।

एकदिन भाषा आयोगमा कुरै कुरामा सुरेश किरणले असनको ढिके नुनको पसलको कुरा गर्नुभयो । दुई सय वर्ष अघिदेखि एउटा डालोमा राखेर अहिलेसम्म निरन्तर एउटै परिवारका शाखा सन्तानले चलाएको पसल रहेछ त्यो । उहाँले त्यो पसलको कथा भनिरहँदा कुनै तिलस्मी कथा सुने झैँ लाग्थ्यो मलाई ।

"एकदिन दाइलाई त्यो पसल देखाउँछु ।" उहाँले यसो भनिरहँदा मलाई त्यो पसल हेर्ने हतारो थियो । अब उहाँले गरेको त्यो बाचा सदा मेरो स्मृतिमा मात्र रहने भयो ।

एकदिन प्रसङ्गबस उहाँसँग कोतपर्वको चर्चा चलेको थियो ।

"कोतपर्वका गगन सिंहको मूल घर केही वर्ष अघि भत्क्यो । अर्को छेउको घर छँदै छ । कुनै दिन दाइलाई म त्यो देखाउँछु ।" उहाँबाट मैले त्यो बचन पनि पाइसकेको थिएँ । मलाई गगन सिंहको घर देखाउने उहाँको इच्छा पुरा हुनुभन्दा अघि उहाँलाई हामी विदा गर्न विवस भयौं । गगन सिंहको घर हेर्ने इच्छा तीब्र हुनुको पछाडि मेरो एउटा बेग्लो कारण थियो । पहाडको गाउँमा शहरतिरबाट पुग्ने मनोरञ्जक उपन्यास र कथाहरू पढ्ने मौका हामीलाई हम्मेसी जुर्दैनथ्यो । घरमा ज्योतिषशास्त्र , धार्मिकशास्त्रका किताबहरू प्रसस्त थिए । यी बाहेक एउटा अत्यन्तै पुरानो बाहिरी पानाहरू च्यातिएको बोधविक्रम अधिकारीद्वारा लिखित दन्त्य कथाको किताब र बालचन्द्र शर्माद्वारा लिखित 'नेपालको ऐतिहासिक रूपरेखा' थियो । 'नेपालको ऐतिहासिक रूपरेखा' उपन्यासको मजा लिए जसरी पढियो । कोतपर्व आनन्द मानेर पढियो । तर उहाँसँग गगन सिंहको घर हेर्न जाने दिन कहिल्यै आएन ।

सायद त्यो घर अब मलाई कसैले देखाइदिने छैन । र त्यो घरको सिलसिलेवार कथा कसैले सुनाइदिने छैन । सुरेश कीरणसँग भेट हुँदा मलाई सधैँ लाग्थ्यो - उहाँसँग अझै धेरै कुरा सोध्न बाँकी छ। कुनै ऐतिहासिक स्थलको चर्चा हुँदै गर्दा अर्को भेटमा त्यसबारे विस्तृत सोधौँला भन्ने सोच्थेँ। कुनै पुरानो अभिलेखको प्रसङ्ग आउँदा त्यसको स्रोत मागौँला भन्ने योजना बनाउँथेँ । नेपाल भाषाका कुनै शब्दको उत्पत्तिबारे उहाँको धारणा फेरि सुन्ने इच्छा हुन्थ्यो। तर जीवनले हामीलाई सधैँ अर्को भेटको अवसर दिँदैन रहेछ । केही प्रश्नहरू प्रश्नकै रूपमा रहँदा रहेछन् । सुरेश किरणसँग त्यस्तै भयो ।

मेरा लागि सुरेश किरणको निधन एउटा प्रिय साथीको दुखःद मृत्यु मात्र थिएन; एउटा सभ्यता र संस्कृतिको जीवित र भव्य पुस्तकालयको अन्त्य हुनु पनि थियो । अल्पायुमैं हामीले सुरेश कीरणलाई उहाँका सिर्जनामा खोज्नु पर्ने भयो । अब हामीले उहाँका कर्ममा खोज्नु पर्ने भयो । उहाँले जगाएका प्रश्नहरूमा खोज्नुपर्ने भयो । उहाँले बचाउन आग्रह गरेका सम्पदाहरूमा खोज्नुपर्ने भयो । उहाँले प्रेम गरेको भाषामा खोजी गर्नु पर्ने भयो । मानव सभ्यताका यी स्थानहरूमा जहाँ खोजे पनि सुरेश कीरण भेटिनुहुन्छ । यी ठाउँहरूमा दीर्घकालसम्म उहाँ बाँचिरहनु हुन्छ । सबै मानिसहरू यसरी बाँच्न सक्दैनन् । तर सुरेश कीरण सदाका लागि बाँच्न सक्ने मानिस भएर हामीसँग विदा हुनुभयो ।

ooo



  दायाँबाट क्रमश : सुरेश कीरण,  डा. पुष्करराज भट्ट कृष्णप्रसाद न्यौपाने र मातृका पोखरेल भीमफेदीमा 

Wednesday, October 7, 2026

कृष्ण कोपिलाको कृति ‘उसको अतीत’ सार्वजनिक

 



२०८३ असोज १९ गते काठमाडौं / 
वाम अभियन्ता कृष्ण कोपीलाको 'उसको अतीत' नामक कृति सार्वजनिक भएको छ ।

वाङ्मय उन्नयनको साझा चौपारी भन्ने मूल मन्त्रका साथ नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील लोमश वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहको अवसरमा सो कृति सार्वजनिक भएको हो । सो अवसरमा सस्थाको साहित्यिक प्रकाशन बइँसेरी २ को पनि लोकार्पण गरिएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्य तथा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा संपन्न सो समारोहका विशेष अतिथि रहेका नेकपाका नेता जगन्नाथ खतिवडा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल कृति परिचर्चाकार डीपी ढकाल, नरेन्द्र वज्राचार्य, केशव नेपाल, नीलकण्ठ तिवारी, होटल व्यवसायी महासङ्घका अध्यक्ष टीआर भण्डारी, लोकप्रसाद ढकाल, चक्र दवाडी, समीर राई, डा सावित्री श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा धनप्रसाद सुवेदीले कृतिको लोकार्पण गरेका थिए ।

आफ्नो नयाँ कृति ‘उसको अतीत’ सार्वजनिक बारे बोल्दै लेखक कृष्ण कोपिलाले आफ्नो जीवन यात्राका उकाली ओराली र कृति सिर्जना गर्दाका वास्तविक भोगाइहरू प्रस्तुत गरेका थिए । यस वर्ष प्रतिष्ठानबाट सम्मानित व्यक्तित्व युवराज इटनीको व्यक्तित्व र कृतित्वमाथि साहित्यकार जयराम बिडारीले प्रकाश पारेका थिए । सम्मान ग्रहण गरेपछि भावुक हुँदै इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूले सगरमाथाको शिखर चढेको जस्तो गौरव महसुस गरेको बताएका थिए ।

सार्वजनिक भएको ‘उसको अतित’ ४५० पृष्ठको रहेको छ । लोमश वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको सो कृतिमा पछिल्लो पाच पुस्ता (हजुरबा देखी नाती ) का सन्दर्भ उल्लेख छन । ब्यक्तिगत, सामाजिक र राजनैतिक यात्राका बिभिन्न अनुभुति उतारीएको उनको यो कृतिमा लेखक संबद्ध नेपाल बुद्धिजीवी संगठन भित्रको प्रवृतिगत संघर्षका केहि घटनाहरु समेत उल्लेख भएका छन ।

००० 











Monday, October 5, 2026

मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहको अन्तर्वस्तु - डा . अमृता शर्मा

 समीक्षा  

मलाई पनि निद्रा लागेन कथासङ्ग्रहको अन्तर्वस्तु
- डा. अमृता शर्मा


मातृका पोखरेल (२०२३) नेपाली साहित्यको समकालीन युगका सशक्त प्रगतिवादी साहित्यकार हुन् । नेपाली साहित्यका कविता, कथा, निबन्धलगायत विभिन्न विधामा कलम चलाएका पोखरेलका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य, अनुहारहरू, मित्रताको आकाश गरी चार ओटा कवितासङ्ग्रह र सन्त्रस्त आँखाहरू, घाम झुल्किनुअघि र मलाई पनि निद्रा लागेन गरी तीन ओटा कथासङ्ग्रह प्रकाशित छन् । उनका साहित्यिक कृतिमा मानव समाजलाई वस्तुवादी वैज्ञानिक दृष्टिकोणबाट हेर्दै यसको सूक्ष्म विश्लेषण गरिएको पाइन्छ । निम्नवर्गीय पक्षधरताहित सामाजिक न्यायको स्थापनामा जोड दिनु उनको साहित्यिक वैशिष्ट्य हो । 

मलाई पनि निद्रा लागेन (२०८२) पञ्चायतकालदेखि वर्तमानसम्मको नेपाली विभेदकारी समाजका विभिन्न समस्याको चित्रण गर्दै त्यसका विरुद्ध आवाज उठाइएको कथासङ्ग्रह हो । यस सङ्ग्रहका ‘उज्यालोको प्रतीक्षा’, ‘महानगरभित्र’, ‘थवाङ हेर्ने रहर’, ‘मुक्तिनगर’, ‘बाध्यता’, ‘बाढीको आवाज’, ‘अँधेरी रातको एउटा कथा’, ‘मलाई पनि निद्रा लागेन’, ‘इतिहासको चिहानमाथि उभिएर’, ‘चियाको खैरो जालो’, ‘सानिमा फेरि फर्कनु भएन †’, ‘तर यो सपना होइन’, ‘रसिद’, ‘शर्मा अङ्कलको  सेकुवा कर्नर’ र ‘होलटाइमर’ गरी पन्ध्र ओटा कथाले श्रमिक, किसान, महिला, दलितलगायत निम्नवर्गीय जीवनका शोषण, दमन र उत्पीडनका यथार्थलाई देखाउनाका साथै राजनीतिको दलालीकरणले समाजमा पारेको प्रभाव र विकृत बन्दै गएको नेपाली कम्युनिस्ट राजनीतिका नकारात्मक पक्षलाई सूक्ष्म र गम्भीर रूपमा चित्रण गरेका छन् । यी कथाले एकातर्फ नेपाली निम्नवर्गीय जनतामाथिको पञ्चायतकालीन बर्बर दमन र उत्पीडनलाई उदाङ्गो पार्दै त्यसका विरुद्ध कम्युनिस्ट आन्दोलन अपरिहार्य थियो भन्ने अन्तर्य प्रस्तुत गरेका छन् भने अर्कोतर्फ नेपालको कम्युुनिस्ट सङ्घर्षले व्यवस्था परिवर्तन गरे पनि नेपाली उत्पीडित जनताको अवस्था परिवर्तन गर्न नसकेको पीडादायी यथार्थलाई सूक्ष्म रूपमा चित्रण गरेका छन् । यस सङ्ग्रहका कथाले वर्तमानमा कम्युनिस्ट राजनीतिको आवरणमा मौलाएको भ्रष्टाचार, अवसरवाद, दलालीकरणको निर्मम आलोचना गर्दै उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायले गरेका सङ्घर्षका विभिन्न आयामलाई देखाएका छन् ।

मलाई पनि निद्रा लागेन कथासङ्ग्रहका केही कथा नेपाली समाजको विगततर्फ फर्किएका छन् । यस सङ्ग्रहका ‘अँधेरी रातको एउटा कथा’ र ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले पञ्चायतकालीन समाजका वर्गीय र जातीय विभेदका कारुणिक यथार्थको मार्मिक चित्र उतारेका छन् । ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले पञ्चायतकालीन राज्यसत्ताको जातीय दमनको अमानवीय चरित्रलाई उदाङ्गो पारिदिएको छ । यस कथाले उच्चजातीय पुरुषसँग प्रेम गरेकै आधारमा गर्भवती युवतीलाई जेल हालेको, सुत्केरी अवस्थामा उसको हत्या गरेको र उसको सन्तानलाई समेत जिउँदै पुरिदिएको घटनामार्फत निम्न वर्ग, निम्न जात र महिलाप्रति पञ्चायती व्यवस्थाको निर्मममता, अमानवीयता र पाशविकतालाई देखाएको छ । ‘अँधेरी रातको एउटा कथा’ पञ्चायतकालीन सामन्ती समाजको वर्गीय विभेदको अपरिमित शृङ्खलालाई देखाउने कथा हो । यस कथामा राज्यसत्ताको निकट रहेका ‘बैदार कटुवाल’हरूले आर्थिक शोषणकै आधारमा ‘डल्ले कान्छा’ र ‘डल्ले कान्छाकी आमा’ जस्ता नामविहीन महिलाहरूलाई कसरी आफ्नो स्वार्थअनुकूल उपभोग गर्दछन् र आजीवन उत्पीडनमा पार्दछन् भन्ने यथार्थको प्रारूपीकरण गरिएको छ । 

मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले नेपालको कम्युनिस्ट राजनीतिका विविध समस्याको चित्रण गरेका छन् । यी कथाले विशेष गरी तत्कालीन माओवादी पार्टीभित्र आएको वैचारिक स्खलन र अवसरवादी प्रवृत्तिविरुद्ध आवाज उठाएका छन् । यस सङ्ग्रहका ‘मुक्तिनगर’, ‘बाध्यता’, बाढीको आवाज’, ‘मलाई पनि निद्रा लागेन’, ‘तर यो सपना होइन’, ‘होलटाइमर’लगायत कथाले तत्कालीन माओवादी पार्टीमा आएको वैचारिक स्खलन, सिद्धान्त र व्यवहारबिचको फरक, पार्टीका लागि महत्वपूर्ण योगदान दिएका इमान्दार र प्रतिबद्ध कार्यकर्तालाई पार्टीले गरेको बेवास्तालाई गम्भीर रूपमा चित्रण गर्नाका साथै पार्टीको स्वार्थी, दलाल, अवसरवादी र भ्रष्ट चरित्रलाई उदाङ्गो पारिदिएका छन् । यी कथाले पार्टीभित्र मौलाएको सिद्धान्तको बर्को आडेर सिद्धान्तविपरित नै चल्ने, निम्न वर्गलाई प्रताडित तुल्याउने, व्यवहारमा परम्परागत रूढिवादकै अनुसरण गर्ने, सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने, चरम अवसरवादी दक्षिणपन्थी प्रवृत्तिविरुद्ध आवाज उठाएका छन् । ‘मुक्तिनगर’ कथाले निम्नवर्गीय मुक्तिका लागि सङ्घर्ष गरेको कम्युनिस्ट पार्टीले दीर्घनरसिंह राणाजस्ता सामन्तीले हडपेको भूमि भूमिहीनलाई सुम्पिएर सिद्धान्तअनुरूपको कार्य गरेको तर पार्टी शान्तिप्रक्रियामा जोडिइसके पछाडि उक्त भूमि सामन्तीहरूलाई नै फिर्ता गरी भूमिहीनविरोधी कार्य गरेको पीडादायी यथार्थको चित्रण गरिएको छ । यस कथाले उत्पीडित वर्गलाई नै प्रताडित गरेर उल्टो बाटोमा हिँडेको नेपालको कम्युनिस्ट आन्दोलनप्रति असहमती जनाएको छ । ‘बाढीको आवाज’ कथाले शान्तिप्रक्रियामा आइसकेपछि माओवादी आन्दोलन दक्षिणपन्थी बाटोमा जान खोजेको र अवसरवाद मौलाएको अवस्थालाई सजीव रूपमा चित्रण गरेको छ । ‘तर यो सपना होइन’ यस सङ्ग्रहको शक्तिशाली कथा हो जसले जनयुद्धका बेला योद्धाहरूको हत्या, बलात्कार र असीमित पीडादायी यातनामा संलग्न मङ्गलमानजस्ता हत्याराहरूले नै शान्तिप्रक्रियापछि माओवादी पार्टी कब्जा गरेको करूप यथार्थको सही प्रारूपीकरण गरेको छ । कथामा जस्तै माओवादी पार्टीले आफ्ना सन्तानलाई जनयुद्धमा नै गुमाएका र प्रतिशोधले नभई पार्टीको सिद्धान्तबाट प्रभावित भएर जनयुद्धमा लागेका ‘खोजु’ जस्ता इमान्दार कार्यकर्तालाई पाखा लगाएर हत्याराहरूलाई पार्टीमा भिœयाउने घृणित कार्य ग¥यो । कथाकारले यस कथामार्फत माओवादी पार्टीको वैचारिक र व्यावहारिक स्खलनको चरम भ्रष्ट रूपलाई कलात्मक प्रतिबिम्बन गर्दै त्यसप्रति चर्को असहमती जनाएका छन्  । 

मलाई पनि निद्रा लागेन सङ्ग्रहमा जातीय उत्पीडनविरोधी चेतना प्रबल छ । यस सङ्ग्रहका ‘इतिहासको चिहानमाथि उभिएर’, ‘बाढीको आवाज’लगायत कथाले नेपाली समाजका जातीय उत्पीडनका विविध यथार्थलाई देखाउँदै त्यसविरुद्ध सशक्त आवाज उठाएका छन् । ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले कथित उच्च जातसँग प्रेम गरेकै बहानामा कथित निम्नजातीय महिलाको राज्यव्यवस्थाद्वारा नै हत्या भएको अत्यन्त पीडादायी अवस्थामार्फत जातीय व्यवस्थाको क्रूरतम रूपलाई देखाएको छ भने ‘बाढीको आवाज’ कथामा तत्कालीन शाही नेपाली सेनाद्वारा आफ्ना बाबुको हत्या भएपछि जनयुद्धमा लागेकी ‘करुणा’ पात्रले दलित प्रतापसँग बिहे भएपछि समाजबाट भोगेको उत्पीडनको अवस्थामार्फत जातीय उत्पीडनको गम्भीर चित्र कोरेको छ । यी कथाले जातीय उत्पीडनको प्रमुख आधार वर्गीय उत्पीडनसँग जोडिएको कुरालाई सङ्केतिक चित्रण गरेका छन् ।

मलाई पनि निद्रा लागेन सङ्ग्रहको शीर्ष कथा ‘मलाई पनि निद्रा लागेन’ले सुकुम्वासी समस्याको उचित समाधान हुनुपर्नेमा जोड दिएको छ । कथाले धनाढ्यहरूले काठमाडौँका धेरै सरकारी जग्गा सुकुम्बासीकै नाममा कब्जा गरेर बसेको र सुकुम्बासी बस्तीभित्र पनि सुकुम्बासी र गैरसुकुम्बासीबिच गहिरो विभेद रहेको अवस्थालाई चित्रण गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बागमती किनारका सुकुम्बासी हटाउनुपर्छ भन्ने विचार व्यक्त गरेको छ । यस कथाले एकातर्फ पतिद्वारा प्रताडित निम्नवर्गीय पात्र ‘सरला’को कथामार्फत सुकुम्वासीहरूका पीडादायी यथार्थलाई देखाएको छ भने अर्कोेतर्फ वास्तविक सुकुम्बासीहरूको नेतृत्व गरेको कम्युनिस्ट पार्टीले पनि उनीहरूका समस्या समाधान गर्न नसकेको परिणाम नै वर्तमान दुःखद अवस्था हो भन्ने विषयलाई गम्भीर रूपमा उठाएको छ । 

नेपाली समाजको राजनीति र कर्मचारीतन्त्रभित्र रहेका अवसरवादी, भ्रष्ट र स्वार्थी चरित्रलाई ‘शर्मा अङ्कलको सेकुवा कर्नर’, ‘चियाको खैरो जालो’, र ‘रसिद’ कथाले देखाएका छन् । पञ्चायतकालमा पञ्चायतको प्रमुख वक्ताका रूपमा रहेका शर्मा अङ्कल बहुदलीय प्रजातन्त्र आएपछि गृहमन्त्रीका सल्लाहकार बनेका र पछिल्लो चरणमा कम्युनिस्ट बनेको सन्दर्भले नेपाली राजनीतिमा शर्मा अङ्कल प्रवृत्तिकै बिगबिगी रहेको नेपाली राजनीतिको कुरूप चित्र उतारेका छन् । ‘चियाको खैरो जालो’ कथाले संसदीय राजनीतिको करूपतालाई बिम्बन गरेको छ भने ‘रसिद’ कथाले कर्मचारीतन्त्रको भ्रष्ट, अवसरवादी र स्वार्थी चरित्रलाई व्यङ्ग्य गरेको छ ।  

मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले महिलामाथिको पितृसत्तात्मक उत्पीडनलाई देखाएका छन् तर त्यसका विरुद्ध सचेत विद्रोह गर्न भने सकेका छैनन् । ‘इतिहासको चिहानमाथि उभिएर’ र ‘अँधेरी रातको एउटा कथा’ कथाले पञ्चायतकालीन परिवेशमा वर्गीय, जातीय र लिङ्गीय शोषण, दमन र उत्पीडनको तहोरो मारमा परेका महिलाको पीडादायी अवस्थाको चित्र मात्र कोरेका छन् भने ‘उज्यालोको प्रतीक्षा’ कथाले वर्तमान नारीउत्पीडनको एउटा स्वरूपलाई देखाएको छ तर वर्तमान नारीसमस्याको सबल र सही प्रारूपीकरण गर्न सकेको देखिँदैन । यस कथाकी मुख्य पात्र रम्भाले आफ्ना बाबुको पितृसत्तावादी निर्णयविरुद्ध आवाज उठाउन सकेकी छैन न त श्रीमान्को अनैतिक र भ्रष्ट व्यवहारविरुद्ध विद्रोह गरेकी छ । कथामा राजनीतिक रूपमा सक्रिय र दुई पटकसम्म स्ववियु सभापति पदमा अत्यधिक मत ल्याएर विजय भएकी चर्चित विद्यार्थी नेता रम्भाले पारिवारिक करकापमा मागीविवाह गरेको र पतिको अनैतिक चरित्र थाह पाएपछि चुपचाप गृहत्याग गरेको सन्दर्भ त्यति सहज लाग्दैन । उसले पति अनुपको आडम्बरी, जड्याहा र अनैतिक चरित्रविरुद्ध आवाज नउठाउनु, उसले गरेका कुकृत्यलाई नदेखेझैँ गर्नु बरु आफ्नै जीवनलाई भित्रभित्रै धिक्कार्नु र कुनै विद्रोह नगरी चुपचाप गृहत्याग गरेको देखाउनु शिक्षित, राजनीतिक रूपमा सक्रिय र सचेत वर्तमान महिलाहरूको सही प्रारूपीकरण होइन । कथामा एउटी सचेत र शिक्षित महिलाले आफूमाथिको दमन र उत्पीडनविरुद्ध कुनै आवाज नउठाई चुपचाप घरबाट बाहिरिनुलाई किमार्थ विद्रोह मान्न सकिँदैन । यस कथाले रम्भाजस्ती शिक्षित र सचेत महिलालाई यति उत्पीडनकारी, अनैतिक पुरुषविरुद्ध आवाज उठाउन नलगाएर चुपचाप घरबाट भाग्नु नै विद्रोही बन्नु हो भन्ने देखाउन खोजेको छ । यस कथाले सचेत महिलाहरूले पुरुषहरूका यस्ता घृणित प्रवृत्तिविरुद्ध आवाज उठाउन, उनीहरूलाई कानुनी कारवाहीको  दायरामा ल्याउन र भागेर होइन लडेर आफ्नो अधिकार प्राप्त गर्न प्रेरित गर्नुपथ्र्यो । रम्भाको यस्तो निरीहताले पितृसत्तालाई बढवा र प्रोत्साहित मात्र गर्दैन महिलालाई शोषण, दमन र उत्पीडनविरुद्ध आवाज नउठाई त्यसबाट विमुख हुन मात्र प्रेरित गर्दछ । 

मलाई पनि निद्रा लागेन सङ्ग्रहको ‘बाध्यता’ कथामा यथार्थको सही प्रारूपीकरण भएको छैन । यस कथाले राज्यले सिर्जना गरेको आतङ्क र त्रासदीलाई देखाएको छ साथै विद्रोही पक्ष र राज्यपक्षको सङ्घर्षमा पिल्सिएका जनता बाध्यताले जनयुद्धमा लागेको अवस्थालाई देखाएको छ । यस कथाले ‘माइली’ पात्रलाई बाध्यताले जनयुद्धमा सहभागी भएको देखाएर नेपाली जनता स्वेच्छाले नभई बाध्यताले जनयुद्धमा लागेका थिए भन्ने विषयलाई सामान्यीकरण गरेको छ । यो वस्तुपरक यथार्थ होइन । बहुसङ्ख्यक जनता बाध्यतामा नभई सचेत र प्रतिबद्ध भएर जनयुद्धमा सहभागी भएका थिए । कथाले अपवादको नभएर प्रतिनिधिमूलक यथार्थको कलात्मक प्रतिबिम्बन गर्नुपर्दछ ।

मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले नेपाली समाजको विगत र वर्तमानलाई देखाउँदै त्यसका विरुद्ध सचेत आवाज उठाएका छन् । म पात्रको केन्द्रीयतामा लेखिएका यी कथामा मानव र समाजलाई हेर्ने दृष्टिकोण वस्तुवादी छ । केही कथाले पञ्चायकालीन समाजको वास्तविक रूप, त्यहाँका निम्नवर्गीय नागरिकको सङ्घर्ष र उनीहरूका जीवनका कटु र पीडादायी यथार्थलाई देखाएका छन् भने बढीजसो कथाका विषय र पात्रहरूले विद्यमान समाजका कुरूप पक्षहरू उजागर गरेर न्याय, समानता र मानवताका मूल्यहरू स्थापित गर्न खोजेका छन् । यी कथाले जनताको मुक्तिका लागि लडेको क्रान्तिकारी पार्टीमा आएको वैचारिक, सामाजिक, सांस्कृतिक, व्यावहारिक भ्रष्टीकरणका गम्भीर सन्दर्भलाई सूक्ष्म रूपमा उजागर गर्दै त्यसप्रति आलोचना गरेका छन् । यस सङ्ग्रहका बढीजसो कथाले नेपालको वर्गमुक्तिको आन्दोलनमा महŒवपूर्ण भूमिका खेलेको तत्कालीन माओवादी शान्तिप्रक्रियामा आइसकेपछिको उसको सैद्धान्तिक र व्यावहारिक स्खलनका साथै चरम अवसरवादी चरित्रप्रति गम्भीर प्रश्न उठाएका छन् । यी कथाले वर्गीय विभेदका गहिरा खाडलहरूलाई देखाएका छन्, वर्तमान भ्रष्ट राजनीतिलाई उदाङ्गो पारेका छन्, समाजमा विकसित स्वार्थी अवसरवादी र व्यक्तिवादी प्रवृत्तिको विरोध गरेका छन् तर त्यसका विरुद्ध सङ्घर्ष गर्ने क्रान्तिकारी चरित्र, चिन्तन र परिवेशको निर्माण भने गरेका छैनन् । समग्रमा समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक विसङ्गतिको विरोध, वर्गीय, जातीय, लिङ्गीय आधारमा भएको अमानवीय उत्पीडनविरुद्ध विद्रोह, सभ्य र सुसंस्कृत समाजको निर्माणको आकाङ्क्षा, सरल भाषाशैलीमा गम्भीर विषयको उठान यस सङ्ग्रहका सबल पक्ष हुन् । 

000













Friday, October 2, 2026

पोखरेलहरू जतनपुरसम्म कसरी पुगे ?

 जतनपुरमा पोखरेलहरूको पदचाप : जनश्रुतिदेखि इतिहासको खोजीसम्म


- मातृका पोखरेल


पोखरेलहरू जतनपुरसम्म कसरी पुगे ? यो प्रश्नको उत्तर पाउन त्यति सजिलो छैन । पोखरेलहरूका धेरै वंशावली लेखिएका छन् र यो बारेमा केही प्रसङ्गहरू पनि उल्लेख गरिएका छन् । केही अनुमानहरू पनि प्रस्तुत गरिएका छन् । मौखिक परम्परामा पछिल्लो पुस्तासम्म आइपुगेका जनश्रुतिहरू पनि हामीलाई तथ्यको नजिक पुग्ने गोरेटो हुनसक्छन् भनेर अध्ययन गर्न जरूरी छ । अनुसन्धान योग्य विषयहरू अझै धेरै छन् ।

जतनपुरे पोखरेलहरूसँग पुराना राजकीय अभिलेखहरू थोरै हुनु स्वभाविकै थियो । चौदण्डीगढी राज्य विलुप्त भएको लामो समयसम्म उनीहरू प्रतिपक्षीको भूमिकामा थिए । गोरखाको छोप्राक हुँदै पूर्व आएका पोखरेलहरूझैं पश्चिम लमजुङबाट चौदण्डीगढी आइपुगेका कतिपय पोखरेलहरू मूलत: पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा सहयोगी भएनन् । त्यस्को प्रभाव निकै पछिसम्म परेको पाइन्छ । उनीहरूलाई पछिसम्म पनि सत्रुतापूर्ण व्यवहार गरियो ।

लमजुङमैं रहँदा वामदेव मिश्रले स्वरुङदेखि रामपुरसम्म विर्ता पाएको र सोही कारणले मिश्रका बहिनी ज्वाइँ शिवानन्द पोखरेल जतनपुर आइपुगेका हुन् भन्ने कुरा जतनपुरे पोखरेल खालकाे इतिहासप्रति रूची भएका केही ज्येष्ठ सदस्यहरूले भन्नुभएको प्रसङ्ग सुनेको पछिल्लो पुस्ता हो हाम्रो पुस्ता । यो जनश्रुतिलाई तथ्यको तुलोमा तौलँदा प्रमाणित गर्न सजिलो छैन । लमजुङमा त्यसबेला सेन वंशको राज्य थिएन । शाह वंशको राज्यमा थियो । यता चौदण्डीगढी भने मकवानपुरको सेन राज्यको अधिनस्त थियो । शाह वंशका शासकले सेन वंशको राज्यमा विर्ता दिने कुरो कतैबाट मेल खाँदैन । त्यसैले वामदेव मिश्र वा शिवानन्द पोखरेलले विर्ता पाएको समय लमजुङ छाडेर मकवानपुरगढी आइसकेपछि वा चौदण्डीगढी पुगेपछि हुनसक्छ भनेर अनुमान गर्ने आधारहरू प्रसस्त छन् ।

सेन राजाको दरबारमा पुरेत, पण्डितको काम गर्नका लागि लमजुङबाट मकवानपुरगढी हुँदै चौन्दण्डीगढी आइपुगेका पोखरेलहरू नै समयक्रममा विर्ता पाएर जतनपुर पुगेको कुरा सत्यको नजिक हुनसक्छ । तर पनि अझै धेरै भनाईहरू जनश्रुतिमैं आधारित छन् । कुनै ठोस प्रमाण फेला परेका छैनन् ।

समाजका पुस्तौँपुस्तादेखि सुनिँदै, भनिँदै र स्मृतिमा बाँच्दै आएका कथा, किंवदन्ती, लोककथा र मौखिक परम्पराले पनि विगतको एउटा महत्त्वपूर्ण झलक प्रस्तुत गर्छन् । यस्ता मौखिक स्मृतिमा आधारित इतिहासलाई सामान्यतः जनश्रुति आधारित इतिहास भन्न सकिन्छ । विशेषतः लिखित अभिलेख थोरै पाइएको बेला इतिहासको खोजीमा यसको महत्त्व अझ बढी हुन्छ ।

जनश्रुतिको सबैभन्दा ठूलो सबल पक्ष भनेको यसले सामान्य मानिसको स्मृति र स्थानीय समाजको अनुभवलाई इतिहासको स्रोत बनाउनु हो । पोखरेलहरू जतनपुर कसरी र कुन अवस्थामा आइपुगेका हुनसक्छन् भनेर यी पुराना जनश्रुतिहरू हामीलाई अनुसन्धानको नजिक पुऱ्याउन सहायकसिद्ध हुन सक्छन् । स्मृतिमा आधारित कथामा कल्पना, अतिशयोक्ति, सामाजिक गौरव र पारिवारिक स्वार्थ मिसिन सक्ने सम्भावना अत्यधिक रहन्छ । जनश्रुतिमा आएको प्रत्येक कुरालाई प्रमाणित ऐतिहासिक तथ्यका रूपमा स्वीकार गर्नु जोखिमपूर्ण हुन्छ ।

जनश्रुतिलाई इतिहासको अन्तिम प्रमाणभन्दा अनुसन्धानको महत्त्वपूर्ण प्रारम्भिक स्रोतका रूपमा लिनु उपयुक्त हुन्छ। एउटै घटना वा वंशसम्बन्धी जनश्रुतिलाई शिलालेख, लालमोहर, सनद, वंशावली, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, नक्सा तथा अन्य लिखित स्रोतसँग तुलना र परीक्षण गर्नुपर्छ। विभिन्न व्यक्तिबाट प्राप्त मौखिक विवरणबीचको समानता र भिन्नता पनि केलाउनुपर्छ । हामीले हाम्रो इतिहासलाई यसरी पनि खोज्न सक्छौं ।

जतनपुरमा पोखरेल हरूको बसाइ सुरू भएको समय झल्काउने केही जनश्रुतिहरू हेरौं :

१) सुनकोशीमा डुंगा अड्किएको कथा :

यो जनश्रुति पनि बालखै कालमा हामीले धेरै सुन्यौं । यो जनश्रुति यस्तो थियो । "शिवहरिका दुई श्रीमती थिए । जेठी दिव्यश्वरा र कान्छी पार्वता । जेठीका रामेश्वर भए हाम्रा पुर्खा । कान्छी पार्वताका सदानन्द छोरा भए । सदानन्द जतनपुर छाडेर बसाई सिम्पानी हिँड्दा रसुवाघाटमा सुनकोशीमा डुङ्गामा पार हुन खोज्दा डुङ्गा कोसीको बीचमा रोकियो ।

माझी पनि छक्क परे । डुँगा कसैगरी पनि चल्दैन अरे । देउतासँग बल माग्दा र पाठी भाकल गर्दा पनि डुंगा नदीको बीचमा अडियो । माझीले आफनो नियम सबै गरे । त्यही पनि डुङ्गा चलेन । सदानन्दले जतनपुरबाट लगेको कुलको दियो र चामर लिएर भाकल गरेपछि डुङ्गा फेरि बाटो लाग्यो । पछि माझीले खेवा लिन मानेनन् भन्ने बुढापाकाहरू थिए ।" यो जनश्रुतिले के देखिन्छ भने जेठो ठाउँ जतनपुरै हो । यो जनश्रुतिले पनि इतिहासको एउटा सानो पाटो बुझ्न पक्कै योगदान पुऱ्याउँछ । रामेश्वरका भाइ सदानन्द जतनपुरबाटै सिम्पानी गएका हुन् भन्ने तथ्यलाई थप बुझ्न टेवा पुऱ्याउँछ । रामेश्वरको जतनपुर नआउँदै निधन भएको भन्ने पनि केही वंशावलीको भनाई छ । जतनपुर नै नआएको मानिसको नाममा कसरी रामपुर नाम नामाकरण भयो भन्ने प्रश्न उठाउन पनि सकिन्छ । हामीले खोज्ने त फेरि प्रमाणमैं हो । अनुमानमा खोज्नु हुँदैन ।

२) वामादेउ (कुमालटार) को पाहुना :

जतनपुरमा पोखरेलको प्रारम्भिक वसोवासको समय झल्काउने एउटा प्रख्यात जनश्रुति अर्थात् किंवदन्ती विद्यमान छ । वामदेव मिश्रको घर जतनपुरमा थियो । जतनपुर भेकमा चलेको एउटा चर्चित जनश्रुति यस्तो छ । " सिम्पानीबाट दुइजना पोखरेल दाजुभाइ वामदेव मिश्रलाई भेट्न जतनपुर आएछन् । जतनपुर आइपुग्दा निकै रात परिसकेको रहेछ । वामदेव मिश्रको घरमा पुग्दा उहाँ घरमा नहुनु भएको र यारीखोला बेसीमैं गोठ लगेर बस्नु भएको छ भनिदिए घरमा भएका दुई बहिनी छोरीले । रात निकै छिप्पिइ सकेकोले अब जतनपुरबाट यारी खोला पुग्न पनि सजिलो थिएन । उनीहरूले त्यहीँ बस्ने विचार गरे र बास मागे । घरमा भएका दुइटी छोरीले पनि यतै बसौं भने र राडी ल्याएर बाहिर पाहुनालाई ओछ्याइदिएछन् । राती पाहुनालाई राम्रो सत्कार गरेर खानापिनाको व्यवस्था गरे । भोलिपल्ट बिहानै उनीहरू वामदेव मिश्रलाई भेट्न यारी खोला पुगे । वामदेवले टाढाबाट भेट्न आएका आफन्त पाहुनालाई बेलुका कसरी कहाँ बस्नुभयो । खान पनि पाउनु भएन होला भने । सिम्पानीका पाहुनाले हामीले जतनपुरको घरमा दुइटी नानीहरूले खानेकुरा र बासको राम्रो व्यवस्था गरे भने । दुइटीमात्र छोरीको केही दिन पहिले निधन भइसकेको थियो । वामदेवले पाहुनाहरूलाई आफ्ना छोरीहरूको भरखरै मात्र निधन भएको र जतनपुरको घरमा कोही पनि मानिस बस्ने नगरेको भने पछि एकजना पाहुना त्यहीँ रगत छादेर मरे ।" यो निकै चर्चित रहेको जनश्रुति हो । जतनपुरमा मिश्र बारी नामले पुराना मानिसहरू अहिलेसम्म पुकार्दै छन् । वामदेव मिश्रको नाममा स्वतःस्फुर्त रूपमा नामाकरण भएको 'वामादेउ' अचेलभरी कुमालटारमा रुपान्तरित हुँदै छ । जतनपुरमा यद्यपि मिश्र बारी भनेर पुकारा गरिँदै छ । झण्डैझण्डै मानिसहरूले बिर्सिसकेको अवस्थामा छ । असमयमैं निधन भएका वामदेव मिश्रका दुइ बहिनी छोरीहरु कुन्ती र मैतीका नाममा भाग छुट्याएर चढाएरमात्र खाने चलन देखेको र भोगेको पुस्ता अझै पनि छँदै छ ।

केही वर्ष अघि प्रकाशित मिश्र वंशावलीमा पनि वामदेव मिश्र जतनपुरमैं बसोवास गरेको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । वंशावलीमा धनकुटाका मिश्रहरू वामदेव मिश्रकै भाइका सन्तान हुन् । जतनपुरमा पोखरेलहरूलाई पुऱ्याउने कार्यमा मिश्रहरुको ठुलो भूमिका भएका तथ्यहरू धेरै भेटिन्छन् ।
प्रा. बालकृष्ण पोखरेलले वामदेव मिश्रकी बहिनी दिव्यश्वरासँग लमजुङमैं शिवानन्दको विवाह भएको उल्लेख गर्नुभएको छ । उहाँले वामदेव लमजुङ छोडेर मकवानपुर दरबार आएपछि आफ्ना बहिनी ज्वाइँ शिवानन्दलाई स्वरुङको विर्ता र मौजा हेरचाह गर्न दिएको उल्लेख गर्नुभएको छ । यसरी हेर्दा रामेश्वरका मामा वामदेव मिश्र पोखरेलहरूलाई जननपुर प्रवेश गराउने पहिलो पात्र हुन् ।

३) दामु, चामु र पद्मुको कथा :

जतनपुर भेकमा बच्चाले पनि रुचीका साथ सुन्न मन पराउने र लोककथाकै रूप धारण गरिसकेको अर्को एउटा जनश्रुति चर्चित छ दामु, चामु र पद्मुको कथा । यो कथा जतनपुर आवाद गर्दाको प्रसङ्गसँग मेल खान्छ । जतनपुरको दक्षिण पश्चिमको गहिरो खोँचमा बिमिरे भन्ने एउटा ठाउँ छ । हाल त्यहाँ कुनै पनि मानव बस्ती छैन । जनश्रुति अनुसार - "दामु चामु र दामुको त्यहाँ पशुपालनको एउटा गोठ थियो । ठिक समयमा खानेबेला भए पछि हात थाप्दै एउटा राक्षस 'मलाई पनि देउ' भन्दै हात थाप्दै आइपुग्थ्यो रे ! उनीहरूले जे गरे पनि म पनि त्यसै गर्छु भन्दै आइपुग्थ्यो । राक्षसले धेरै दुःख दिए पछि तीनै भाइले एउटा जुक्ति निकालेछन् । खाना खाने बेलामा सल्लाको खोटो अनुहार भरी दल्ने आफू चाहिँ जोगिँदै दियालो बालेर नजिकै अनुहार नेर लग्ने । एकछिन पछि राक्षस आइपुग्यो । दामु, चामु र पद्मुले आफ्नो सल्लाह अनुसार आफ्नो शरीरभरी खोटो दले । आफू जोगिने गरेर नजिकै दियालोको अगुल्टो बाले । राक्षसले म पनि तिमीहरूले जस्तै गर्छु भन्यो । शरीरभरी रौं भएको राक्षसले खोटो दल्यो र आगोको अगुल्टो नजिक लग्यो । राक्षसको शरीरमा आगो सल्क्यो र ऊ अब देखि यहाँ आउँदिन भन्दै आगो लागेको शरीर लिएर एउटा ओडारमा पस्यो । बिमिरेको त्यो ओडारबाट पसेर राक्षस जतनपुरको माझको बर नेरको अर्को ओडारमा निस्केर अलप भयो । त्यसपछि त्यो फर्केर आएन ।" यो किंवन्दन्ती चर्चित थियो ऊ बेला । यसमा उल्लेख भएका पात्रहरू दामु भनेका रामेश्वरका कान्छा पुत्र देवीचरण हुन् । त्यस्तै चामु भनेको रामेश्वरका जेठा पुत्र चन्द्रलाल हुन् । त्यसैगरी पद्मु भनेको पनि रामेश्वरकै माहिला पुत्र पद्मलाल हुन् । यो किंवदन्तीले जतनपुरका वरिपरिको क्षेत्र सर्वप्रथम आवाद गर्नेहरू पोखरेलहरू नै थिए भन्ने देखिन्छ । सायद बनमान्छेको अवशेष त्यसबेला हुनसक्छ र त्यसैलाई राक्षस भनिएको पनि हुनसक्छ । पोखरेल वस्तीमा फैलिएको अरू किंवन्दन्ती भन्दा यो चर्चित थियो ।

४ ) जनश्रुतिमा सत्यधर र गजधरको प्रसङ्ग

उदयपुरको जतनपुर भेगमा पुराना पाकाका बीचमा धुकधुकी बोकेर एउटा कथा अझै बाँचेको छ । त्यो कथाका दुइवटा पात्र छन् सत्यधर र गजधर । उनीहरू जतनपुरका पोखरेल ब्राम्हणहरू थिए । त्यो कथामा उनीहरूले रूपाटारलाई जङ्गलबाट आवाद बनाएको चर्चा पाइन्छ । त्यसबेला त्यो लोककथामा रूपाटारलाई त्यसबेला खुर्पेठ्याक भनेर सम्बोधन गरिँदो रहेछ । उनीहरू खुर्पेठ्याक फँडानी गरेर साँझमा जतनपुर फकिँदा माथिल्लो आदमारा पुगेपछि तिर्खा लागेछ । उनीहरूले माथिल्लो आदमारामा रहेको मगर परिवारको एउटा घरमा पानी मागेर खाएछन् । पानी दिने मगर महिलाले पानी सारेर दिँदा पहिले जाँड छानेको भाँडामा पानी खान दिएको उनीहरूले पानी खाएपछि मात्र थाहा पाएछन् । त्यसपछि आफूहरूको जात गएको र अब अरू मानिसहरुले पनि थाहा पाउनेछन् भन्ने अनुमान गरेर जतनपुर छाडेर हिँडेछन् ।" यो जनश्रुतिले रूपाटार क्षेत्रको आवादी केही पछि भएको देखिन्छ । पोखरेलको वंशावलीमा यी दुई पात्रहरू सत्यधर र गजाधर कतैतिर पनि भेटिँदैनन् । मानिसहरूको त्यसबेला दोस्रो नाम पनि प्रयोग गर्ने अधिक चलन भएको हुनाले वंशावलीमा यी नामहरू नभेटिएको हुनसक्छ ।

जब इतिहासको सिलसिलालाई अलौकिक सत्ता र पौराणिक पात्रहरूसँग जोडिन्छ ; त्यहीँबाट तथ्य प्रमाण र अनुसन्धानको प्रकृया अवरुद्ध हुन्छ । हाम्रा धेरै वंशावलीहरू त्यही प्रकृयाबाट गुज्रिएका छन् । पोखरेल वंशावली पनि यसबाट अछुतो छैन । हाम्रा जनश्रुतिहरू पनि यही रोगबाट ग्रस्त छन् । यी माथिका जनश्रुतिहरूमा त्यसको मनग्गे प्रभाव देखिन्छ ।

वि.सं. २०१४ सालभन्दा पहिले पनि जतनपुरे पोखरेलको कुनै लिखित वंशावली भएको चर्चा कृष्णचन्द्र पोखरेलले पोखरेलको वंशावली (दोस्रो संस्करण, २०४४ साल, पृष्ठ - २७) मा उल्लेख गर्नुभएको छ । त्यो वंशावली डिठ्ठा यज्ञ प्रसादले लेख्नुभएको हो वा अरू कसैले लेख्नुभएको थियो भन्ने केही उल्लेख छैन । यसप्रकारका सामग्रीहरू अझै प्राप्त गर्न सकिन्छ । त्यसबेला हामीले हाम्रो इतिहासलाई अझ व्यवस्थित र परिस्कृत गर्न सक्नेछौं ।

पोखरेलहरूको इतिहासका कैयौं सन्दर्भहरूले अहिले पनि प्रसस्तै अध्ययन र अनुसन्धानको माग गरिरहेका छन् । कुनै यथेष्ट प्रमाण विना निस्कर्षको टाँचा लगाइदिने कार्यले सत्यको नजिक पुग्ने बाटो नै अवरुद्ध बन्छ भनेर हामीले गहिरोसँग बुझ्न जरूरी छ ।

वंशावली जनताको इतिहास हो । इतिहासको स्रोत हुन्छ र हुनुपर्छ । पौराणिक कथा र इतिहास फरक फरक विषय हुन् । इतिहास प्रमाण र तर्कको आधारमा लेखिन्छ । पौराणिक कथामा स्रोतको आवश्यकता पर्दैन । पौराणिक कथालाई सभ्यताको सांस्कृतिक प्रतिकका रूपमा बुझ्न जरूरी छ । पौराणिक कथामा सांस्कृतिक स्मृति, नैतिक शिक्षा, कल्पना शक्तिजस्ता यावत कुराको अभिव्यक्ति हुनसक्छ ।पौराणिक कथाको महत्त्व आफ्नै स्थानमा छ । इतिहास स्रोतहरूको अध्ययन हो । यो प्रमाणमा आधारित हुन्छ । हाम्रा वंशावलीहरूमा कमैमात्र स्रोतहरू उल्लेख गरिएका छन् । हाम्रा धेरै वंशावलीहरूमा मिथकलाई आधार बनाइएका कारण प्रामाणिकताको कसी भन्दा टाढा पुगेका छन् । आगामी दिनमा हामीले यसतर्फ सचेत भएर सोच्न र खोजी गर्न जरूरी छ ।

ooo

सन्दर्भ सामग्री

१. किरातको नालीबेली, नारदमुनि थुलुङ , फिनिक्स बुक्स, २०८१
२. मिश्र वंशावली, मिश्र वंशावली प्रकाशन समिति, झापा, प्रथम संस्करण - २०५०
३ . जतनपुरे पानी पोखरेलको वंशावली, प्रा . बालकृष्ण पोखरेल, प्रकाशक लेखक स्वयम्, प्रथम संस्करण - २०६५
४ . पोखरेलको वंशावली, कृष्णचन्द्र पोखरेल, प्रकाशक - कुबेरप्रसाद शर्मा, संस्करण दोस्रो - २०४०

५ . पानी पोखरेलको वंशावली, गणेशप्रसाद पोखरेल, २०६४ वैशाख

Saturday, September 26, 2026

शक्ति लम्साल : निष्ठा, सङ्घर्ष र आत्मीयताका अविश्रान्त यात्री - मातृका पोखरेल

अविश्रान्त कस्ता मानिसलाई भन्ने ? कहिल्यै नरोकिने, विश्राम नगर्ने, कहिल्यै नथाक्ने मानिसलाई सम्बोधन गर्नुपर्ने शब्द हो यो । अचेल केही मानिसहरुलाई यो विशेषणले सम्बोधन गरेको भेटिन्छ । अग्रजहरूको जीवन पढ्यो भने मेरो अध्ययनमा यो विशेषणको विशेष हकदार मार्क्सवादी चिन्तक शक्ति लम्साल सबैभन्दा अग्रपंक्तिमा पर्नुहुन्छ । शक्ति लम्सालले वि. सं.२००८ साल देखि नेपालको कम्युनिस्ट आन्दोलन , प्रगतिवादी साहित्य र पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण भूमिकामात्र निर्वाह गर्नुभएन, जीवनपर्यन्त लागि पर्नुभयो । जीवनभर क्रान्तिकारी खेमाको अभियन्ता र पक्षधर भएर अविचल निष्ठाका साथ क्रियाशील रहनु सामान्य कुरा छँदै थिएन । तर त्यो असामान्यजस्तो लाग्ने कामलाई शक्ति लम्सालले सामान्य बनाउनुभयो ।

वि.सं. १९९३ चैत २२ गते, अर्थात् ७ अप्रिल १९३६ मा काठमाडौंको चाबहिलस्थित चारुमार्गमा जन्मिएका शक्ति लम्सालको बाल्यकाल र युवावस्था त्यस्तो समयमा बित्यो, जतिबेला नेपाल राजनीतिक जागरणको नयाँ चरणमा प्रवेश गर्दै थियो । राणा शासनको लामो अँध्यारोपछि देशमा परिवर्तनका आवाजहरू विस्तारै मुखर हुँदै थिए। समाजमा राजनीतिक चेतनाको प्रसार हुँदै थियो । पुरानो सत्ताव्यवस्थाका विरुद्ध नयाँ विचारहरू जन्मिँदै थिए । यही ऐतिहासिक संक्रमणको बीचबाट उहाँको चेतनाले पनि आफ्नो बाटो खोज्न थाल्यो ।
शक्ति लम्सालको राजनीतिक जीवनको निर्णायक मोड वि.सं. २००८ सालमा आयो । भारतको तेलङ्गाना सशस्त्र विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीसँगको सम्पर्कले उहाँलाई कम्युनिस्ट राजनीति र विचारधारातर्फ आकर्षित गर्‍यो ।
तेलङ्गाना सशस्त्र विद्रोह केवल एउटा राजनीतिक घटना थिएन । त्यो भूमिहीन किसान, उत्पीडित जनता र सामाजिक न्यायको आकांक्षासँग जोडिएको विद्रोह थियो । त्यस विद्रोहका कुरा सुन्नु र त्यसका प्रतिनिधि पात्रसँग प्रत्यक्ष सम्पर्क हुनु एउटा युवा चेतनाका लागि सामान्य घटना थिएन । शक्ति लम्सालको राजनीतिक चेतनामा त्यसले गहिरो प्रभाव पार्‍यो । त्यसपछि उहाँ नेपालको कम्युनिस्ट आन्दोलनलाई बाहिरबाट हेर्ने दर्शक व्यक्तिमात्र भएर बस्नुभएन ; त्यसको सक्रिय यात्रामा प्रवेश गर्नुभयो ।
वि.सं. २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएको प्रसङ्ग उहाँको राजनीतिक जीवनको अत्यन्त अर्थपूर्ण घटना हो । त्यसको अर्को वर्ष संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यो सदस्यता केवल एउटा संगठनको परिचयपत्र थिएन ; यो उहाँले आफ्नो जीवनलाई एउटा विचार र आन्दोलनप्रति समर्पित गर्ने निर्णय थियो ।
त्यस समय नेपालमा कम्युनिस्ट पार्टी आफ्नो प्रारम्भिक अवस्थामा थियो । संगठन सीमित थियो, साधन सीमित थिए, तर सपना ठूलो थियो । त्यही ठूलो सपनाको प्रारम्भिक पुस्तामा शक्ति लम्साल पनि उभिनुभयो ।
मैले शक्ति लम्साललाई भेट्नुभन्दा पहिल्यै थुप्रैपटक पढेको थिएँ । एकिन नभए पनि हृदयचन्द्र जयन्ती मनाउने क्रममा पद्मोदय स्कुल, पुतलीसडकमा पहिलोपटक देखेँ जस्तो लाग्छ । त्यो कार्यक्रममा प्रहरी हस्तक्षेप भयो र हामी भाग्दै वाल्मिकी क्याम्पसमा पुगेर कार्यक्रम गऱ्यौँ । त्यसपछिका दिनमा उहाँसँग नियमित भेट भइरह्यो । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने 'प्रतिभा प्रवाह' साहित्यिक कार्यक्रममा उहाँ नियमितजसो आउनुहुन्थ्यो । म पनि भरसक छुटाउन्नथेँ त्यो कार्यक्रम । त्यहाँ पनि नियमित भेट हुन्थ्यो । प्रगतिशील साहित्यका गोष्ठीहरूमा थाहा पाएसम्म पुग्थेँ । शक्ति लम्साल यस्ता सबैजसो कार्यक्रममा अगुवा भएर देखा पर्नुहुन्थ्यो ।
०४६ सालको जनआन्दोलनताका शक्ति दाइसङ्ग म करिब एक हप्ता प्रदर्शनीमार्गस्थित ट्राफिक प्रहरी कार्यालयको थुनुवा कक्षमा बस्ने मौका पाएँ । म, खड्ग गुरुङलगायत केही साथीहरुलाई अत्यन्तै ठुलो यातना दिएर त्यहाँ ल्याइएको थियो । प्रत्येक दिनको यातनाका कारण हाम्रो शरीर हलचल गर्न नसक्ने अवस्थाको थियो ।

करिब हप्ता दिनदेखीको यातनाका कारण शरीर पुरै सुनिएको थियो । हामीलाई यातना दिन तयार पारिएको चाबेल भेगको एउटा मानिस थियो गोपाल पुडासैनी भन्ने । उनी हामीलाई यातना दिंदा आफूले धेरै मानिस मारेको भनेर सगर्व भन्ने गर्थे । विद्यार्थी नेता बलराम समाललाई जिब्रोमा करेन्ट लगाएर र कुटेर आफूले नै पागल बनाइदिएको कुरा गर्थे । छयालीस सालको आन्दोलनका हामी धेरै युवाहरू उनले दिने यातनाको सिकार भएका छौं । उनैको नेतृत्वमा कष्टडीमा रहँदा हामीलाई रातको समय पारेर यातना कक्षमा लाने र करेन्ट लगाउने, पैतालामा पिट्ने र नङमा पिनले घोच्ने गरेर यातना दिइन्थ्यो । अरू यातना सहन सकिन्थ्यो तर नङमा पिनले घोचेर दिएको यातना सहन सजिलो थिएन । यातना पाउनेहरू हामी सबै विद्यार्थी थियौं । रातको निस्तब्ध वातावरणमा पनि यातना खप्न नसकेर निस्केको हाम्रो चित्कार बन्द कोठा छिचोलेर अरू बन्दीहरू भएको ठाउँमा पनि पुग्दो रहेछ । यातनाको यो क्रम गिरफ्तार भएको तीन चार दिनसम्म चल्यो । केही दिन पछि त्यही कष्टडीमा ल्याइनुभयो शक्ति लम्साल, गणेश पण्डित, जयप्रकाश आनन्दहरू पनि । हामीलाई दिइएको यातनालाई लिएर उहाँ र गणेश पण्डितले प्रहरीका हाकिमहरूसँग आपत्ति जनाउनु भएछ । त्यसपछि हामीलाई राती लगेर यातना दिने क्रम रोकियो ।

त्यसबेला नियमित यातना पाइरहेका हामी युवाहरूको पंक्तिले उहाँहरूलाई साँच्चैको अविभावक ठान्न पुग्यो । त्यही बसाइले मेरो र शक्ति दाइसँग पछिल्लो सम्बन्धले घनिष्टताको रूप लिन पुग्यो ।
करिब डेढ हप्ताजस्तो बितेपछि कष्टडीमैं भएको बेला एकदिन राती १२ बजेतिर प्रहरीहरू फेरि हामीलाई उठाउन आए । आज फेरि यातना दिने रहेछन् भन्ने शंका गर्दै हामी उनीहरुले भनेको ठाउँतिर गयौं । दौरासुरुवाल र कोटमा सजिएको एउटा डल्लोडल्लो मानिसका अघिल्तिर पुर्‍याइएँ म । झण्डैझण्डै यातना दिने पुलिसकै जस्तो मौखिक व्यबहार देखाउँदै 'तँ कुनचाहिँ महामानव परिस्' भन्दै मतिर टमाटरजस्ता आँखा चम्काए ती मान्छेले । उनी काठमाण्डौका तत्कालीन प्रजिअ केशवराज राजभण्डारी रहेछन् । पछि उनी निर्वाचन आयोगका प्रमुखआयुक्त पनि भए । झण्डै तीन दसक पछि म नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहेको बेला उनले लेखेको 'भजन र सङ्गीतमा जीवन' भन्ने किताब उपहार पठाइदिएका थिए । त्यसदिन हामीलाई यातना दिन होइन, जेल हाल्ने पुर्जी दिन लगिएको रहेछ । त्यही रात गणेश पण्डित, खड्ग गुरुङलगायत हामीलाई केन्द्रीय कारागार चलान गरियो । तर शक्ति लम्साल दाइलाई त्यसदिन हामीसँग छुटाएर भद्रगोल जेलमा लगियो ।
प्रहरी कष्टडीको भन्दा जेलको वातावरण धेरै खुल्ला र स्वतन्त्र प्रकारको थियो । त्यसबेला केन्द्रीय कारागारमा राजबन्दीहरूको संख्या झण्डै डेढ सय जति थियो । दिउँसो जेलको आँगनमा राजनैतिक छलफल गरेर समय बिताउँथ्यौं हामी । जेलको आँगनमा गरमागरम छलफल हुन्थ्यो । अरू कैदी बन्दीहरू पनि हाम्रो छलफल सुन्न खुबै झुम्मिन्थे ।
"शक्ति दाइ यतिबेला के गरिरहनु भएको होला ?" गणेश पण्डित बेलाबेलामा हाम्रो अनुहार हेर्दै भन्नुहुन्थ्यो । छलफलको बिचबिचमा शक्ति दाइको सम्झना गराइरहनु हुन्थ्यो उहाँ ।
शक्ति लम्साल दाइसँग प्रहरी कष्टडीमा बस्दाको एउटा घटना अहिले सम्झँदा पनि हाँसो उठ्छ । बिस्तारै कष्टडीमा राजबन्दीको संख्या बढ्दै जान थालेको थियो । त्यहाँ दिउँसो उनीहरूले दिएको थाल लिएर खानाको लागि लाइन लाग्नु पर्थ्यो । खानाको लाइनमा जाने शक्ति दाइ खुसुक्क मलाई भन्नुहुन्थ्यो - 'मातृकाजी ! मिल्छ भने पुलिसलाई भनेर मलाई माम्रीको व्यवस्था गरिदिनुस् न !' कष्टडीमैं रहेको बेला मैले उहाँलाई भातको माम्री निकै मिठो लाग्दोरहेछ भन्ने थाहा पाएँ । मेषमा बसेको र हामी प्रति प्रेमपूर्वक व्यवहार गर्ने पुलिसलाई भन्थेँ म । उनी सकेसम्म शक्ति दाइको लागि माम्रीको व्यवस्था मिलाइदिन कोसिस गर्थे ।
जेलबाट निस्केपछि शक्ति लम्साल दाइसँग नियमित भेट हुने नै भयो । साहित्यिक सम्बन्ध त पुरानै थियो । तर त्यसपछि उहाँले मलाई पत्रकार बनाउन निकै कोसिस गर्नुभयो । ०४८/ ४९ सालतिर इटुम्बहालबाट पृष्ठभूमी साप्ताहिक लगायतका जनपक्षीय पत्रिकाहरू प्रकाशित हुन्थे । उहाँ सबैजसो पत्रिकाको कुनै न कुनै जिम्मेवारी लिनुहुन्थ्यो । कुनै पत्रिकाको मूल जिम्मेवारी हुन्थ्यो उहाँको र कुनैको सहायक । पत्रिकाको पेज हेरेर राति ११ /१२ बजे उहाँसँग हिंडेरै केही पटक उहाँको घर विशालनगर, चण्डोल आएको छु । राति १/२ बजे घर पुग्दा पनि कृष्णा भाउजू उस्तै अत्मियताका साथ हामीलाई खाना बनाएर ख्वाउनु हुन्थ्यो । स्मृतिका ती घटना सम्झेर म यतिबेला शक्ति लम्साललाई वास्तवमा हामी हजारौंको हृदयमा बस्न लायकको शक्ति लम्साल बनाउन कृष्णा भाउजूको मनग्गे भूमिका हुनुपर्छ भन्ने अनुमान गर्छु । मलाई पत्रकार पनि बनाउने उहाँको चाहनालाई मैले पुरा गर्न सकिन ।
शक्ति लम्साल विचारप्रति दृढ र स्वाभिमानी व्यक्ति पनि हुनुहन्थ्यो । मैले उहाँको जीवनमा नजिकैबाट देखेको र भोगेको एउटा घटना सम्झन्छु । वि.सं. २०४७ सालमा तीनवटा कम्युनिष्ट पार्टीहरू नेकपा (चौम) , नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनको बीचमा एकता भएर नेकपा ( एकता केन्द्र ) बनेको थियो । एकता भएपछि उहाँ एकता केन्द्रमा जोडिन आइपुग्नु भयो । हुन त, उहाँले पहिले पनि नेकपा (चौथो महाधिवेशन) समूहको राजनैतिक र वैचारिक कार्यदिशाकै सेरोफेरोमा आबद्ध रहेर काम गरिरहनु भएको थियो । ने.क.पा. (चौथो महाधिवेशन) विभाजन भए पछि उहाँ नेकपा (मशाल) मा आबद्ध रहेर काम गर्नुभयो । वि.सं. २०४२ सालमा नेकपा (मशाल) मा पुनः अनावश्यक विवाद हुँदा यसप्रकारको विवाद नगर्न र पार्टी विभाजन नगर्न उहाँले सुझाव दिनुभयो तर उहाँको सल्लाह विपरित फेरि पनि पार्टी विभाजन भएपछी दबाबस्वरुप विद्रोह गरि कृष्णदास श्रेष्ठ नेतृत्वको नेकपा (मालेमा) मा समाहित हुनुभयो । नेकपा (मालेमा) मा पोलिटब्युरोको रुपमा सकृय रहनु भयो । उहाँ मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक मान्ने सबल क्रान्तिकारी पार्टीको पक्षमा हुनुहुन्थ्यो । नेकपा (एकता केन्द्र) बनेपछि शक्ति लम्साल नेकपा (मालेमा) बाट एकताकेन्द्रमैं फर्कनु भयो । त्यसबेला पार्टीले उहाँलगायत बलराम बाँस्कोटा, कृष्ण के.सी. र मलाई मध्य काठमाण्डौंको मध्यइलाका कार्यक्षेत्र निर्धारण गरेर एउटा समिति बनाइदियो । यो समिति काठमाण्डौंको जिल्ला समितिको अन्तर्गत थियो । हाम्रो यस समितिको इन्चार्ज हरिबोल गजुरेल हुनुहुन्थ्याे । हामी इन्चार्ज हरिबोल गजुरेलसँग शक्ति दाइलाई यति सानो जिम्मेवारीमा राख्नु हुँदैन भनेर भन्थ्यौं । उहाँलाई पार्टीको केन्द्रीय समितिमा राख्न पहल गर्नुस् भन्थ्यौं । पार्टीले दिएको भूमिका अनुसार काम गर्नुपर्छ भनेर शक्ति दाइ उल्टै हामीलाई सम्झाउनु हुन्थ्यो । पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्ने अहिलेको पुस्ताका लागि उहाँको यो बुझाई अचम्मको लाग्न सक्छ । उहाँलाई पार्टीले दिएको त्यस जिम्मेवारीलाई लिएर म अझै सन्तुष्ट बन्न सकिनँ ।
शक्ति लम्सालको जीवनको एउटा महत्त्वपूर्ण पक्ष के हो भने उहाँले नेपाली कम्युनिस्ट आन्दोलनका प्रारम्भिक महत्वपूर्ण मोडहरूमा केवल दर्शकको भूमिका निर्वाह गर्नुभएन, सक्रिय सहभागी हुनुभयो । आन्दोलनको मैदानमा होमिने र बाहिरबाट दर्शकको रूपमा हेर्नेका दृष्टिकोणहरू समान नहुन सक्छन् । नेपाली कम्युनिस्ट आन्दोलनका प्रारम्भिक अवस्थादेखि झण्डै साठीको दशकसम्मको आरोह अवरोह भोगेको व्यक्तित्व हुनुहुन्थ्यो ।
बाबु कृष्णप्रसाद र आमा राधादेवी लम्सालका सन्तान शक्ति लम्सालले औपचारिक रूपमा मेट्रिकसम्मको शिक्षा प्राप्त गर्नुभयो । तर उहाँले वास्तविक शिक्षा पाठ्यपुस्तकभन्दा बाहिरको जीवन र मार्क्सवादको वैचारिक आलोकबाट प्राप्त गर्नु भयो । समाज, राजनीति, वर्गीय असमानता, जनताको दुःख र परिवर्तनको हुटहुटीले उहाँको ज्ञानको गहिराई विशाल बन्दै गएको पाइन्छ । जीवनको यही विश्वविद्यालयले उहाँलाई एउटा राजनीतिक चेतनाले सम्पन्न अभियन्तामा रूपान्तरण गर्‍यो ।
मैले बुझेका शक्ति लम्साल कम्युनिष्ट पार्टीभित्र हुर्कँदै गएको सत्तालोलुपता, आर्थिक तथा सामाजिक विचलनको प्रखर बिरोधी हुनुहुन्थ्यो । क्रान्तिको नाउँमा चलाइएका जनविरोधी कृत्यको उहाँ कहिल्यै समर्थक हुनुभएन । उहाँ सांस्कृतिक क्रान्तिका अब्बल अनुयायी हुनुहुन्थ्यो ।
वि.सं. २०७२ कार्तिक २५ गते नेपाली बाम अन्दोलनले एकजना अविश्रान्त र अविचलित योद्धा गुमाएको दिन हो । समाज रूपान्तरणलाई मूल ध्येय बनाएर उहाँले रुख, गुलाब, अजय, आजाद, पथिजस्ता विभिन्न छद्म नाम प्रयोग गरेर पनि लेख्नु भयो । रुखझैँ उभिएर, गुलाबझैँ सौन्दर्य जोगाएर, ‘अजय’ विश्वास बोकेर, ‘आजाद’ आकांक्षा लिएर र ‘पथिक’ बनेर हिँडेको त्यो जीवन आज भौतिक रूपमा हामीमाझ छैन । तर इतिहासको लामो बाटोमा उहाँका पाइला लामो समयसम्म देखिनेछन् । पक्कै पनि परिवर्तनको सपना देख्ने मानिसले आफ्नो समयसँग कति इमानदार भएर बाँच्नुपर्छ ? भन्ने प्रश्न गरेको बेला शक्ति लम्सालको जीवन त्यस प्रश्नको एउटा जीवन्त उत्तर हुनेछ ।
शक्ति लम्सालको जीवनलाई पढ्दा एउटा निष्कर्ष सजिलै निकाल्न सकिन्छ । उहाँले आफ्नो समयका कठिन प्रश्नहरूबाट भाग्ने बाटो कहिल्यै रोज्नुभएन । उहाँ मेरो हृदयमा सदैव कम्युनिष्ट आदर्श र निष्ठाको बिम्ब बनाउन सफल एकजना क्रान्तिकारी तपस्वीको रूपमा सम्मानित भएर बाँच्नुभयो ।

ooo