Sunday, January 28, 2024

प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा : बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा

 


काठमाडौं । मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड ताराकान्त पाण्डेयको बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गर्नुभएको छ । प्रा.डा. ताराकान्त पाण्डेयको माक्र्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी साहित्य सर्जक तथा सौन्दर्य चिन्तक, कुशल नेता, सांगठक लगायत बहुआयामिक व्यक्तित्वमाथि वक्ताहरुले विशेष चर्चा गर्नुभएको हो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा बरिष्ठ मार्क्सवादी  सौन्दर्य चिन्तक मोहन वैद्य किरणले भन्नुभयो, “साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन छ । वैचारिक स्खलन छ । यो विचारधारात्मक संघर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपुरणीय क्षति पुगेको छ ।”


 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेलले विचार, राजनीति, साहित्य र संस्कृतिको क्षेत्रमा देखापरेको विचलन चुनौतीपूर्ण रहेको चर्चा गर्दै त्यो विचलनका विरुद्ध संघर्षको क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयले छोडेर जानुभएको अधुरा कार्य पूरा गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गर्नुभयो ।


सोही पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले पनि विचार, राजनीति र मार्क्सवादी  कला र साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँले देखाएको बाटोमा निरन्तर हिड्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

त्यसैगरी मार्क्सवादी  सौन्दर्य चिन्तक निनु चापागाईले भन्नुभयो, “ताराकान्त पाण्डेय एकजना असल, प्रतिबद्ध, वैचारिक रुपमा सबल, सरल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ उत्तरआधुनिकतावादी चिन्तनका विरुद्ध दह्राे रुपमा उभिने व्यक्ति हुनुहुन्थ्यो ।”


 प्रा.डा. ताराकान्त पाण्डेयकी जीवनसंगिनी शिला योगीले उहाँको व्यक्तित्वका विविध पक्ष उजागर हुने सहकार्यको संस्मरण गर्नुभएको थियो ।


इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले भन्नुभयो, “मार्क्सवादी  सौन्दर्य चिन्तन र समालोचनाका क्षेत्रमा ताराकान्त पाण्डेय नढल्ने खम्बा हुनुुहुन्थ्यो ।”


प्रा.डा. ताराकान्त पाण्डेयकी छोरी तितिक्षा पाण्डेयले आफूले भोगेका आर्थिक संघर्षका बारेमा ‘बाबा’ले कहिल्यै पनि अनुभूति हुन नदिएको, स्वतन्त्रतापूर्वक आफ्नो निर्णय लिन र जुनसुकै परिस्थितिलाई पनि सहज रुपमा स्वीकारेर अगाडि बढ्न सिकाउनुभएको अनुभूति सुनाउनु भयो ।


प्राध्यापक तक्मा केसीले प्रा.डा. ताराकान्त पाण्डेयको असामयिक निधनले इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायत सिंगो माक्र्सवादी प्रगतिवादी साहित्य र सौन्दर्य चिन्तनको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनु भयो ।


त्यसैगरी प्रा.डा. रमेश भट्टराईले त्रिभूवन विश्वविद्यालयका पाठ्यक्रममा माक्र्सवादी शिक्षा र साहित्य समावेश गर्नमा ताराकान्त पाण्डेयको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै त्रिवीलाई ज्ञानको थलो बनाउने विषयमा उहाँले धेरै ठूलो योगदान पु¥याउनु भएको बताउनु भयो ।


प्रा.डा. हेमनाथ पौडेलले विचारप्रतिको प्रतिबद्धताबाट कहिल्यै पनि बाहिर नजाने व्यक्तित्वको चर्चा गर्दै ताराकान्त पाण्डेयको सरल, सहज, मिलनसार गुण अनुकरणीय रहेको बताउनु भयो ।


त्यसैगरी कथाकार मातृका पोखरेलले नेपाली साहित्यका क्षेत्रमा मार्क्सवादी समालोचक गोविन्द भट्टपछि प्रतिध्रुवीय कित्तामा पनि सबैभन्दा धेरै पढिने समालोचकमा ताराकान्त पाण्डेय पर्नुहुन्थ्यो भन्दै उहाँको चालिसको दशकताकाको काव्यिक व्यक्तित्वको पनि उजागर गर्नुभयो ।


त्यस्तै डा. अमर गिरीले प्रा.डा. ताराकान्त पाण्डेयको प्राध्यापकीय, शोध निर्देशकीय व्यक्तित्वमाथि समेत प्रकाश पार्दै माक्र्सवादी साहित्य तथा सौन्दर्य चिन्तनका विरुद्ध चौतर्फी रुपमा हमला भइरहेको बेला भएको उहाँको असामयिक निधनले यस क्षेत्रमा गम्भिर र अपुरणीय क्षति पुगेको बताउनु भयो ।


त्यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका नेता आहुतिले भन्नुभयो, “कमरेड ताराकान्त पाण्डेयले आफ्नो व्यक्तित्व र ज्ञानलाई कहिल्यै पनि बजारको साधन बनाउनु भएन । उहाँले कहिल्यै कुनैपनि पदको माग गर्नुभएन । उहाँले यथार्थ आधारभूत मार्क्सवादी  सौन्दर्य चिन्तनको विकासमा योगदान पुर्‍याउनु भयो ।”


शोकसभामा परिवारको तर्फबाट विदुर पुरी, साहित्यकार खेम थपलीयाले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो भने गीता त्रिपाठी, गौरी देवकोटा र विमला रानाले कवितामार्फत् प्रा.डा. ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


अखिल नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न शोकसभाको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंज्ञानीले गर्नुभएको थियो भने अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक हिरामणि दुःखीले स्वागत मन्तव्य राख्नुभएको थियो ।


शोकसभाको सुरुमा प्रा.डा. ताराकान्त पाण्डेय एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्कूल विभागका सदस्य समेत रहनु भएका प्रा.डा. ताराकान्त पाण्डेय केन्द्रीय स्कूलिङ कार्यक्रम सकेर ७ नं. प्रदेशको धनगढीबाट फर्केर नेपालगञ्ज रहेका अाफन्तहरुसँग भेट गरि पौष २७ गते शुक्रबार काठमाडौं फर्कदै गर्दा दाङको भालुवाङ बस दुर्घटनामा पर्नुभएको थियो ।


उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष जनसांस्कृतिक महासङ्घ र प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्यसमेत  हुनुहुन्थ्यो ।



 www.moolbato.com बाट साभार
www.facebook.com बाट साभार

 
 
 

No comments: