Wednesday, September 4, 2024

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भाषा आयोगद्वारा आठौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/ ८१) प्रस्तुत

भाषा आयोगले वि.सं. २०८१ भाद्र १९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष आयोगको आठौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/ ८१) प्रस्तुत गऱ्यो । कार्यक्रममा आफ्नो मन्तव्यसहित भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले राष्ट्रपतिज्यूसमक्ष आयोगको आठौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गर्नुभयो । उहाँले २०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट कम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट शुन्यता रह्यो, त्यसकारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरु थिए तर, बजेट अभावले ती कार्यक्रमहरु अगाडि बढाउन सकेनौं । लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखिकरणका कामहरु र त्यसैगरी भाषाको पुस्तान्तरणका लागि संचालित हुँदै आएका कक्षाहरु जस्ता कामहरु हामीले अगाडि बढाउन सकेनौं ।’
साथै उहाँले प्रदेश सरकार र स्थानिय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखिकरणका कामहरु गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा माननीय नागरिक उड्डयन तथा संस्कृति मन्त्री बद्री प्रसाद पाण्डे, आयोगका माननीय सदस्यहरू उषा हमाल, डा. अमरराज गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, गोपाल अश्क, डा. पुष्करराज भट्ट, सुरेश मानन्धर, आयोगमा सचिव डा. लोक बहादुर लोप्चन लगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
राष्ट्रपति कार्यालयका सचिव नारायण शर्मा दवाडीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

ooo







































































































No comments: