Sunday, January 8, 2023

नेपाली साहित्यमा जनयुद्धको प्रभाव - डा. मधुसूदन गिरी

१. पृष्ठभूमि                                                   

नेपाली समाजको सामाजिक धरातल युगौंदेखिको सामन्तवादी सामाजिक संरचनायुक्त रहेकाले यसको कला, साहित्य र संस्कृति पनि सोहीअनुरूप सामन्तवादी प्रकृतिकै रहेको देखिन्छ । लौकिक पृष्ठभूमिलाई हेर्दा चाहे ती पूर्वमध्यकालको तेह्रौँ चौधौँ शताब्दीको कर्णाली प्रदेशका ‘जितारी मल्लको भारत’, ‘रिपु मल्लकी चाचरी’ जस्ता वीरगाथा होऊन् वा देवगाथा अर्थात् रास्कोटी वंशावलीको काव्यात्मकता सबै वीरस्तुति र देवस्तुति परम्पराकै मात्र सुरक्षित रहेका पाइन्छन् । 

नेपालको इतिहासको आधुनिक कालको पहिलो चरण अर्थात् शाहकालको चारदशक वीर धाराको काल रहयो । यसपछि वीरधाराकालीन लौकिक वीरहरू उपनिवेशवादी अङ्ग्रेजहरू र शाही दरबारका अपमानपूर्ण असमान सुगौली सन्धिका कारण नेपाली समाज, नेपाली जनता र तिनका नेपाली प्रतिबिम्बक कवि लेखकका आस्थाका केन्द्र रहन नसकेपछि ती रहस्यवादी अलौकिक शतिmको शरणको वरणका कारण भक्तिधाराको जन्म र विकास भएको देखिन्छ । तत्पश्चात् नेपाली साहित्यको माध्यमिक काल र नेपालको इतिहासको आधुनिक कालको शाह एवम् राणा काल दुवै जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने भन्दा शासक र तिनका वरपरका भाइभारदारादिको ऐस, आराम र भोगविलासपूर्ण जीवन उत्कर्षमा पुगेकाले त्यसैको छाँया परेका उच्च एवम् मध्यम वर्गीय जनता पनि त्यसैमा लिप्त हुने प्रयत्नमा देखिन्छन् । तिनैको आवश्यकता पूर्ति समाजको प्रतिबिम्बका रूपमा माध्यमिक काल शृङ्गारिक भावधाराले ओतपोत रहेको पाइन्छ । 

शृृङ्गारिक धारापश्चात् आधुनिक कालको पृष्ठभूमिका रूपमा रहेको नीति उपदेशवादी रहस्यवादी परिष्कारवादी शास्त्रीयतावादी धारापछि राणा शासनको नेपाली समाज र जनतामाथिको दमनबाट मुक्तिको सामाजिक अभियान ,आन्दोलनसँगै नेपाली साहित्यमा पनि शिल्प एवम् भावगत उन्मुक्तिको प्रवाह बोकेर देखापरेको स्वच्छन्दतावादी लेखनको  लगभग डेढ दशकतिरबाट जीवन र जगत् एवम् नेपाली समाज र यसको अवस्था तथा समस्यालाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कोणबाट विश्लेषण एवम् प्रतिविम्बन गर्ने परम्पराको हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान आदिबाट बीजारम्भ (वि.सं.२००६) भयो । उक्त समयदेखि नै प्रगतिवादी धारा स्वच्छन्दतावादको प्रतिस्पर्धी धाराका रूपमा विकसित हुँदै आएर आज अग्रता लिएको छ । यही कालिक परिवेशमै सिग्मण्ड फ्रायडको रतिरागात्मक मनोविज्ञानको प्रयोग पनि नेपाली आख्यानमा भई विकसित हुँदै गयो । यसै परिवेशमा श्यामप्रसाद शर्मा, रत्नदास वैद्य, देवीप्रसाद किसान, बालकृष्ण रूपावासी आदिद्वारा वि.सं. २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना भएपछि यसले संगठित रूपमा आफ्नो यात्रा अगाडि बढाएको हो । यसपछि दोस्रो विश्वयुद्वले जन्माएको चरम विसङ्गति र अस्तित्ववादी चेतनालाई शिल्पगत प्रयोगसँग जोडदै वि.सं. २०१७ देखि कवितामा र त्यसको केही समयपश्चात् प्रयोगशील विसङ्गति र अस्तित्वसँगसँगै रमेश विकलादिद्वारा कथामा आलोचनात्मक यथार्थवादी प्रवृत्ति पनि त्यत्तिकै सशक्त रूपमा देखा प¥यो । नेपाली साहित्य र अझ कवितामा प्रयोगवादी लेखन आउनुपूर्व नै ‘निर्झर’ र ‘नयाँ झ्याउरे’ नामक कविता सङ्ग्रहमार्फत् प्रगतिवादी कविका रूपमा चर्चित भूपि शेरचन ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भित्रका कवितासम्म आइपुग्दा क्रान्तिकारी स्वच्छन्दतावादीमा दरिए पनि कवित्व शक्ति र शिल्पका कारण झन् चर्चित रहे । पञ्चायतकालको पूर्वाद्र्घ (वि.सं. २०१७–२०३०) सम्म यही ढङ्गले विसङ्गति, अस्तित्व, प्रयोगशीलता, मनोविज्ञान, सामाजिक यथार्थ, विद्रोह र प्रगतिशील एवम् प्रगतिवादी लेखनका समानान्तर धारहरू क्रमशः अगाडि बढिरहे ।

वि.सं. २०२८ सालको झापा आन्दोलनको पृष्ठभूमि र विभिन्न भूमिगत वामपन्थी विचारधाराका सामाजिक, राजनीतिक र सांस्कृतिक संघ संगठनका सक्रियतामा हुने गरेका सामाजिक, साहित्यिक एवम् सांस्कृतिक गतिविधिमार्फत् परिवर्तन र मुक्तिको चेतनाद्वारा संस्कारित् नेपाली जनता एकदलीय अनुदार राजतन्त्रवादी पञ्चायती तानाशाही तन्त्रको अन्त्यका निमित्त प्रथम धक्काका रूपमा वि.सं २०३६ को जनमत सङ्ग्रह र अन्तिम धक्का वि.सं. २०४६ को वाम–काङ संयुक्त आन्दोलन भयो । प्रस्तुत जनआन्दोलनद्वारा पञ्चायतको अन्त भई संवैधानिक राजतन्त्र र लोकतान्त्रिक प्रजातन्त्रको स्थापना भयो । 

प्रस्तुत परिवर्तनबाट धेरै नेपाली जनताले धेरै ठुलो आशा र अपेक्षा गरेका थिए । तिनले गास, बास र कपासका दैनन्दिनका समस्याहरू समाधान हुने विश्वास गरेका थिए तर त्यस परिवर्तनमा सक्रिय दल र तिनका नेतृत्वमा एकातिर अनुभवको कमी थियो भने अर्कोतर्फ एकदलीय अनुदार तानाशाही तन्त्रमाथिको विजयको उन्माद थियो । परिणामतः तिनले नेपाली जनता र समाजको वस्तुगत धरातललाई बिर्से, विभिन्न वर्ग, लिङ्ग, जाति, जनजाति, क्षेत्र र संस्कृतिका विविधतामा बाँधिएको समाजका इच्छा आवश्यकतालाई सम्वोधन गर्नुका सट्टा आफ्ना व्यक्तिगत र दलगत स्वार्थका दलदलमा ती यसरी चुर्लुम्म डुबेर अन्धा र बहिरा बने कि तिनले जनताको मागका आवाजलाई सुन्नै छाडे । जनताले आफ्ना आवाजहरू सुनाउन टायर बाल्ने, चक्काजाम गर्ने, नेपाल बन्द गर्ने, आल्दोलन गर्ने, रेलिङ भाँच्ने गर्नु पर्ने भयो । सत्ताधारीको यही चरम अन्धो र बहिरोपनको परिणामको उत्कर्ष रूप वि.सं. २०५२ फागुन १ गतेबाट जनयुद्व सुरु भयो । सीमान्तकृत जाति, जनजाति, वगर्, लिङ्ग, क्षेत्र, संस्कृति आदि विभेदका जगमा आरम्भ भएको जनयुद्व साधनहीन अवस्थाबाट सुरु भए पनि प्रस्तुत क्षेत्रका विभेदमा परेका पीडित जनताको साथ पाएकाले यो छिट्टै प्रभावशाली बन्दै गयो । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रियझैँ शक्तिसमेतद्वारा एकदशक लागेर पनि दबाउन र परास्त गर्न नसकेको जनयुद्वका जगमा उभिएको वि.सं २०६२ को जनआन्दोलन पनि सफल भयो र शान्ति सम्झौतामा टुङ्गियो । 

यसबाट सम्पूर्णमा सर्वहारा वर्गको राज्यसत्ता प्राप्त नभए पनि नेपाली समाजको वैचारिक संरचनाबमोजिम नै विभिन्न विचारका वृत्तहरूमा विभक्त राजनीतिक दलको नेतृत्वमा वि.सं. २०६३ मै गणतन्त्रको घोषणा भई दुई पटक भएका संविधान सभाको निर्वाचनमा जनताद्वारा छानिएका प्रतिनिधिहरूद्वारा निर्माण गरिएको सङ्घीय गणतन्त्रात्मक, समावेशी, समानुपातिक प्रतिनिधित्वयुक्त संविधान बनेर सोहीअनुसार राज्य पुनर्संरचना भई आज नेपाल सोही बाटोमा क्रियाशील छ । 

प्रस्तुत परिवर्तनको मुख्य सूत्रधार कारक एक दशकको (२०५२–२०६२) जनयुद्व थियो । यसले नेपाललाई सङ्घीयतामा लगेर नेपालको भू–क्षेत्रको पुनर्संरचना, राजतन्त्रको अन्त्य, समावेशी, समानुपातिक पद्वतिको आरम्भ मात्र गरेन नेपाली समाजका भाषा, साहित्य, संस्कृति, परम्परा आदि क्षेत्रमा पनि ठुलो परिवर्तन र हलचल ल्याएको छ । हिजो ‘बसाइँ’ उपन्यासका नन्दे ढकाल र बहिदार बुढादिजस्ता शोषक सामन्तका कारण धनबहादुर बस्नेतजस्ता सोझासादा, मिहिनेती, परिश्रमी, इमान्दार नेपाली किसान, मजदुर गाउँ छोडेर बसाइँ जानु पथ्र्यो, तर आज (विशेष गरी जनयुद्वताका) गाउँका शोषक, उत्पीडक, जिम्वाल, मुखिया, सुराकीहरू कैयौं भौतिक कारबाहीमा परेका छन् भने कतिले घरजग्गा र श्रीसम्पत्ति सबै त्यसै छाडेर र गाईवस्तु फुकाएर बारीतिर लगाई सदरमुकामको आर्मीको क्याम्पमा लुक्न र कति राजधानी र अझ कति त द्वन्द्वपीडितका नाममा देश छोडेर युरोप, अमेरिका, खाडी आदिका मुलुकतिर लाग्नु परेको स्थिति सिर्जना भएको छ । यही स्थितिलगायत जनयुद्वले नेपाली समाजमा पारेको विविध प्रभावको प्रतिबिम्ब नेपाली साहित्यमा के कसरी प्रतिबिम्बन भएको छ भन्ने कुरा यस कार्यपत्रको विषय बनेको छ । 

२. नेपाली साहित्यका विभिन्न विधामा जनयुद्वको प्रभावका विभिन्न रूप 

क्रान्तिका सन्दर्भमा कवि गोपालप्रसाद रिमालले ‘आमाको सपना’मा लेखेजस्तै जनयुद्व नेपालका हिमाल, पहाड, तराई, गाउँसहर सबै ठाउँमा बस्ने सबै विचारका, सबै वर्गका, सबै तह तप्काका, सबै जाति जनजाति, लिङ्ग, क्षेत्र, भाषा र संस्कृतिका बालकदेखि वृद्धसम्म सम्पूर्णलाई छोइने भएर आएको छ, यसैले यसले सबलाई प्रत्यक्ष प्रभावित गरेको छ । नेपालका सबै लेखक, कलाकार, संस्कृतिकर्मी आदि जनयुद्वले प्रभावित नगरेको कुनै पक्ष छैन । त्यसमाथि नेपाली समाजको सामाजिक अवस्था, संरचना एवम् त्यसमा देखिने विविध प्रकारका द्वन्द्व, सङ्घर्ष र परिवर्तनको ऐनाका रूपमा रहेको नेपाली साहित्य र साहित्यकार यसको प्रभावबाट अछूतो रहनु असम्भव नै थियो र छ पनि । अत ः जनयुद्धले जुन वर्गलाई जे जसरी प्रभावित ग¥यो, जुन वर्गको र तिनका कला साहित्यका क्षेत्रका प्रतिनिधिहरूको जनयुद्वप्रति जे जस्तो दृष्टिकोण रहेको छ, तिनीहरूले यसलाई त्यसैअनुसार प्रतिबिम्बित गर्ने प्रयत्न गर्दै आएका छन्् । 

जनयुद्वका दश वर्षका बिचमा राजधानी र पोखरा, विराटनगर, झापा, नेपालगञ्ज, सुर्खेत आदि केही प्रमुख सहरबाट निस्किने केही पत्रपत्रिकामार्फत् त्यस्ता केही विधाको लेखन बाहिर आए पनि धेरै गुम्फित, कुण्ठित भएर अप्रकाशित रूपमै रहेको देखिन्छ । राजधानीबाट प्रकाशित हुने ‘कलम’, ‘मूल्याङ्ंकन’ र प्रकाशित हुन पाएका बेला ‘जनआस्था’ आदि केही साहित्यिक एवम् समाचारमूलक पत्रिकाहरूमा फाटफुट फुटकर रूपमा जनयुद्वका पक्षमा लेखिएको पाइन्छ भने ‘मधुपर्क’, ‘गरिमा’, ‘समकालीन साहित्य’जस्ता साहित्यिक र ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘अन्नपूर्ण’ आदि दैनिक तथा केही साप्ताहिकका शनिबासरीय परिशिष्टाङ्क आदिमा मूलतस् प्रगतिवादी साहित्य तथा यदाकदा जनयुद्वका क्रममा कतै जनसेनाबाट भएका र थोरै केहीले विद्रोह, शान्ति, हिंसाको विरोध तथा शान्ति र प्रगतिको कामना गरेर लेखेको पाइन्छ । शान्ति प्रक्रिया आरम्भ भएको कालिक सेरोफेरो र त्यसपछि जनसेनाको समायोजन नहुन्जेल क्यान्टोनमेन्ट बसाईको अवधिमा भने लेखन, पठन र प्रकाशनसमेतमा उल्लेखनीय गतिविधि भएको देखिन्छ ।

यसप्रकार एकातिर सम्पूर्ण शोषित, उत्पीडित, दलित, सीमान्तकृतहरूको मुक्तिका निमित्त सर्वहारा वर्गको राज्य सत्ता प्राप्तिका लागि हत्केलामा प्राण र शिरमा कफन बाँधेर बहादुरीपूर्वक लडेको जनयुद्वका उज्याला पक्षलाई उजागर गर्दै अर्थात् प्रस्तुत जनयुद्वलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्दै एक अपरिहार्य आवश्यकताका रूपमा लिने पक्ष र अर्कोतर्फ सामन्त, पुँजीवादी एवम् साम्राज्यवादका पक्षधर र कतिपय मध्यमवर्गीय अवसरवादीका आँखीझ्यालबाट हेरेर यसका उपलव्धिलाई समेत नकारात्मक दृष्टिले नै हेरी नकारात्मक आलोचना गर्ने प्रवृति पनि देखिन्छ । यस प्रकार एकथरीले जनयुद्वलाई नराम्ररी खुइल्याउने, विद्रुपीकरण गर्ने र यसका प्राप्तिलाई नकारात्मक रूपमा चित्रण गर्दै उल्ट्याउने गरी लेखन गर्ने र अर्कोथरीले जनयुद्वका उज्याला पक्ष र प्राप्तिलाई उजागर गर्दै यसका विरूद्वको प्रतिक्रियावादी लेखनको प्रतिवाद गर्ने सांस्कृतिक द्वन्द्वको स्थिति जनयुद्व र त्यसपछिको नेपाली साहित्यको यथार्थ हो । 

प्रस्तुत द्वन्द्व राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि देशभित्रै  देखिन्छ । सबै प्रकारका केन्द्रको विसङ्घटन गरेर अराजकता सिर्जना गरी परिवर्तन र रूपान्तरणको यात्रा एवम् गतिलाई अवरूद्घ गरी शून्यतिर लैजाने साम्राज्यवादी सांस्कृतिक हतियारका रूपमा उर्लेर आइरहेको उत्तरआधुनिकतावाद केही अगाडि नै देखिए पनि जनयुद्घ र त्यसपछि झनै सक्रियतापूर्वक अगाडि बढेको छ । सबै कुरालाई अर्थहीन, मूल्यहीन सापेक्षित सत्य मात्र मान्दै सबै केन्द्रको भञ्जन गर्ने उत्तरआधुनिकतावादले जनयुद्घ र यसका उपलव्धिलाई विद्रुपीकरण गर्दै यसलाई पनि निरर्थक सावित गर्ने र त्यसका स्थानमा नेपाली कवि, लेखक र कलाकारलाई यसबाट विमुख गर्ने तथा यो सिङ्गो युगलाई उत्तरआधुनिक करार गर्ने निरर्थक प्रयत्न यसले गरिरहेको छ भने जनयुद्घलाई सकारात्मक रूपमा लिँदै यसले प्रस्तुत उत्तरआधुनिकतावादको उद्देश्य र लक्ष्यको तर्कपूर्ण र स्तरीय खण्डन गर्ने काम पनि नेपाली चिन्तक, लेखक, समीक्षकहरूबाट भएको पाइन्छ । 

यसरी जनयुद्घकर्मी र शान्ति सुरक्षाका नाममा सरकार दुवै पक्षबाट भएका भौतिक कार्बाहीका क्रममा भएका हताहतबाट जनता र सिङ्गो देशमा परेको प्रभावका सकारात्मक, नकारात्मक पाटोको कलात्मक प्रतिबिम्बन जनयुद्घकालको र त्यसपछिको लेखनको एउटा ठुलो हिस्सा हुन पुगेको छ भने तत्पश्चात् जनयुद्घको शान्तिपूर्ण अवतरणपछि प्रस्तुत सीमान्तकृतहरूका पहिचानका मुद्धा नेपाली साहित्यिक लेखनको एउटा प्रमुख विषय बनेको देखिन्छ । वर्गीय पहिचानको खोजी पहिलेदेखिकै प्रगतिवादी लेखनमा स्पष्ट आएको भए पनि वि.सं २०६०।२०६२ पछिको लेखनमा नश्लीय अर्थात् जाति जनजातीय पहिचान, लैङ्गिक पहिचान, क्षेत्रगत, संस्कृति, धर्म, भाषा आदिको पहिचान टड्कारो रूपमा देखापरेको छ । जनयुद्ध कालमा र जनयुद्धको शान्तिपूर्ण अवतरणपश्चात् पनि विभिन्न रूपमा यसले नेपाली समाजलाई प्रभावित गरेको छ जसको कलात्मक प्रतिबिम्बन नेपाली साहित्यका सबैजसो विधामा भएको पाइन्छ । तीमध्ये सर्वप्रथम कविता विधामा परेको प्रभावका केही थोरै साक्ष्य यसरी प्रस्तुत गर्न सकिन्छ । 

२ं.१ नेपाली कवितामा जनयुद्घको परिणामप्रतिको विश्वास र सुन्दर भविष्यका सपना

२.२ नेपाली कवितामा जनयुद्घको प्रतिबिम्बन

क) सकारात्मक दृष्टियुक्त यथार्थ प्रतिबिम्बन

ख) विद्रुपीकृत प्रतिबिम्बन

२.१ नेपाली कवितामा जनयुद्घको परिणामप्रतिको विश्वास र सुन्दर भविष्यका सपना

तत्कालीन सरकारले आफ्ना मागप्रति पूर्णतस् अन्धो र बहिरो बनेर सुनुवाइ नै नगरेर उपेक्षा गरेपछि ने.क.पा. माओवादीले २०५२ फागुन १ गतेबाट जनयुद्घ सुरु गर्दा साधनस्रोतजन्य आधार तयार नभए पनि युगौंदेखि किनारीकृत भएका विभिन्न जाति, जनजाति, क्षेत्र, वर्ग, लिङ्ग, भाषा र सांस्कृतिक क्षेत्रका निम्नवर्गीय उत्पीडित व्यापक जनसमुदायको विकल्प एवम् सुन्दर संसारको सपनामा त्यो ग्रीष्मले टाक्सिएका पोथ्रामा वर्षाजस्तै बनेर सिञ्चन भयो । परिणामतस् व्यापक जनता आफ्ना सपना फुलाउन र फलाउन धनजनसहित समर्पित भए । यसले गर्दा जनयुद्घ लड्ने योद्घाहरू देशी विदेशी साधन सम्पन्न शक्तिसँग वीरतापूर्वक युद्घ लडेर सफल हुन सके । त्यतिबेलाको जनताको आस्था र विश्वासको प्रतिबिम्बनस्वरूप त्यतिबेलाका केही काव्यात्मक बिम्बहरूलाई अगाडि सार्न सकिन्छ, जस्तोः 

जनयुद्घलाई सफल परिणामसम्म पु¥याउन टाउकोमा कफन बाँधेर अगि बढेका क्रान्तिकारीहरूमा क्रान्तिका नायकप्रति अटल र अगाध विश्वास हुन्छ । जस्तो सांस्कृतिक सहिद कृष्णसेन इच्छुकको कविताको एउटा अंशमा छः

तिमी बिउझाउँछौ र हामी बिउझिन्छौँ

हाम्रो बिउझनु र बिउझाउनुको क्रम यसरी अझ अगाडि बढ्दै जानेछ

तिमी तयारी गर्छौ र हामी तयार हुन्छौँ 

हाम्रो सङ्घर्ष र मुक्तिका दिन यसरी अझ नजिक हँुदै जानेछन्

कामरेड हामी विश्वस्त छौ

हाम्रो क्रान्ति र विजयको दिन यसरी अझ सुनिश्चित बन्दै जानेछ । (इच्छुक, जनादेश, २०५६, पृ.८)

यसै गरी दिल साहनी पनि वर्तमान अँध्यारो भए पनि भविष्य उज्यालो हुने सपना यसरी देख्छन््स् 

यसैले त निर्धक्क भन्न सकिन्छ 

वर्तमान अँध्यारो अँध्यारोजस्तो देखिए पनि 

भविष्य त उज्यालो छ 

यस्तै दिनेश दुलालको आस्था पनि त्यतिकै अटल छ । यसैले शान्ति सुरक्षाका नाममा सत्ताले जतिसुकै अमानवीयतापूर्वक यातना दिए पनि आफ्नो आस्था नडगमगाउने दृढता उनी यसरी व्यक्त गर्दछन्ः

  मेरा आँखामा तेजाव खन्याऊ

प्रत्येक औँलाहरूमा पिन रोप

          प्रत्येक अङ्गहरूमा करेन्टको झड्का लगाऊ

          या शरीरका प्रत्येक भागहरू टुक्राटुक्रा पार

        तर महाशय किमार्थ सक्ने छैनौ

          मेरो जाज्वल्यमान आस्थालाई गलाउन

स्वाभिमानलाई ढलाउन (दुलाल,  मानव यातनाशाला, पृ.३)

यिनै दृढ विश्वासहरूमा उभिएकाले जनयुद्घको सगरमाथा आरोहण सफल भएको हो । 

२.२ नेपाली कवितामा जनयुद्घको प्रतिबिम्बन

नेपाली साहित्यमा जनयुद्धलाई हेर्ने भिन्नभिन्न दृष्टिकोण भएअनुसार ती सबै कोणबाट त्यसको कलात्मक रूपान्तरणको प्रयत्न भएको छ । त्यसलाई निम्नलिखित उपशीर्षकमा विवेचना गर्न सकिन्छ ।

क) सकारात्मक दृष्टियुक्त यथार्थ प्रतिबिम्बन

वि.सं २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्धले नेपाल र नेपाली समाजका प्रत्येक तह, तप्का र पक्षलाई प्रत्यक्ष प्रभाव पा¥यो । त्यो प्रभावको कलात्मक प्रतिबिम्बन नेपाली कला, साहित्य र संस्कृतिमा सशक्त रूपमा देखा प¥यो । त्यसमध्ये नेपाली साहित्यको कविता विधामा त्यसको प्रभाव सशक्त रूपमा पर्न गयो । त्यो प्रभावलाई एकथरीले सकारात्मक रूपमा त्यसको कार्यकारण शृङ्खलासहित लिएको पाइन्छ भने अर्कोथरीले नकारात्मक रूपमा लिएको पाइन्छ । 

त्यसरी सुरु भएको जनयुद्धको आरम्भमा जनसेनासँग पर्याप्त हात हतियार थिएनन्, रासनपानी, लत्ताकपडा र पैसा थिएनन् । जनयुद्घ र परिवर्तनप्रति अटल आस्था र विश्वास मात्र थियो, त्यस अटल आस्था र विश्वाससँगै जनसमूहको साथ थियो । त्यही जनसमूहले सकेको सहयोग गरे र त्यो अगाडि बढ्यो । त्यो साधन, स्रोत र अनुभवविहीन समूहलाई देखेर तत्कालीन सत्तासिनहरूले त्यसलाई चियाको ग्लासमा आएको भुँवरीको संज्ञा दिए, तर जब त्यो भँुवरीले ठुलो जनसमुदायलाई समेट्दै लग्यो र सरकारका स्थानीय प्रतिनिधि प्रहरी चौकीहरूमा आक्रमण गरेर कब्जा गर्न थाल्यो त्यसपछि सत्तासिनहरू विस्तारै तर्सिन थाले । किलो सेरा टुलगायत अप्रेशन थाले । धरपकड र हत्या, हिंसा आदि अनेक प्रयत्न सुरु भयो । यसबाट पनि दोहोरो हिंसा, हत्या र काटमार रोकिएन । जनसेनाले सरकारका स्थानीय प्रतिनिधि, सिपाही, आफूलाई खतरा भएका सरकारी पक्षधर जननिर्वाचित प्रतिनिधि तथा सुराकी गर्ने शिक्षक, कर्मचारी र जनतालाई भौतिक कार्बाही गर्न थाले भने सरकार पक्षधरले माओवादी र माओवादीका नाममा निर्दोष सर्वसाधारण जनतालाई समेत यातना तथा हत्या, अपहरण, बलात्कारसमेत गर्न थाले । यो क्रम बढदै गयो । वि.सं २०५९ को दरबार हत्या काण्डपश्चात् सेना पनि परिचालित भयो । उक्त नेपाली सेनालाई अमेरिकी सेनाद्वारा तालिम पनि दिइयो तर त्यसरी तालिम प्राप्त सेना, प्रहरी, सुराकी कसैको जोर चलेन । 

यसै क्रममा भएका चरम यातना, आतङ्क र हत्यालाई परिवर्तन र जनताको मुक्तिका सिलसिलामा भएका र हुने स्वाभाविक घटनाका रूपमा सकारात्मक रूपले हेर्ने र यसलाई नितान्त हत्या, हिंसाका रूपमा लिने नकारात्मक दृष्टिकोण दुवै नेपाली कविता, कथा र अन्य विधाका लेखनमा देखा परे । जनयुद्धविरोधी सत्ताधारी र कैयौँ वामपन्थीहरूसमेतले जनयुद्धकर्मीमाथिको हिंसा, हत्या र दमनमा सहयोग पु¥याए, सुराकी गरे र सरकारी पक्ष शान्ति सुरक्षाका नाममा चरम अमानवीय पाशविक क्रूर हिंसा, हत्या र दमनमा उत्र्यो । कोठामा बसेर सल्लाह गरिरहेका वा कुनै सांस्कृतिक, साङ्गीतिक कार्यक्रमको अभ्यास गरिरहेका सबलाई नृशंस ढङ्गले हत्या ग¥यो । यसै क्रममा वि.सं. २०५५ चैत्र ५ गते अनेकोटमा जनताको गीत गाउने अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना जनकलाकारहरूलाई जिउँदै जलाएर निर्मम हत्या ग¥यो । यसै घटनाबाट प्रेरित कवि पूर्ण विरामले त्यसैको बिम्ब आफ्नो ‘मञ्जुको पट’ शीर्षक कवितामा यसरी प्रस्तुत गरेका छन्;

अनेकोटमा मलाई जिउँदै जलाएको

तिमीले देख्यौ कि देखेनौ ?

म झ्यालमा उभिरहेको समयमा

मेरो शरीरमा जालन्धरको इशारामार्फत्

बर्सेका गोलीका आवाजहरू

तिमीले सुन्यौ कि सुनेनौ ? (पूर्णविराम, २०६४, पृ. ४९)

यस्तै मुक्तान थेवाको यही विषयबिम्बयुक्त ‘प्रिय अनेकोट’ शीर्षक कविता पनि त्यत्तिकै शक्तिशाली छ । यस्तै प्रतिबिम्ब वि.सं २०५४ साउन १४ गतेको जनादेश साप्ताहिकमा प्रकाशित ‘गोलघरको आवाज’ शीर्षक कवितामा गंगा श्रेष्ठले यसरी प्रस्तुत गरेका छन्;

उनीहरूले मलाई कसाइखानामा कोचे

र आफ्नो मुठ्ठीको माखो भएको घोषणा गरे

मैले कसाई खानाभित्र पनि जीवन खोजें

जीवनको गीत गाएँ

मृत्युको विरोधमा नारा लाएँ

र आफूलाई जिउँदै भएको परिचय दिएँ । (श्रेष्ठ, जनादेश, २०५४, पृ. ४)

हिजो सामन्तवादी राज्य संरचनामा सामन्त शासक र तिनका मतियार प्रतिनिधिका हिटलरी प्रवृत्तिको कहालीलाग्दो अन्याय, अत्याचार, शोषण, दमन, हत्या, लुट र बलात्कारमा पिल्सिएका गाउँ जनयुद्घमा गएपछिको एउटा बिम्ब जनादेश साप्ताहिकमा प्रकाशित शिव श्रेष्ठ भावुकको ‘हाम्रा गाउँ बस्तीहरू’ शीर्षक कवितामा यसरी निर्माण भएको छ;

आजभोलि काँधमा बन्दुक बोकी

आमूल परिवर्तनको क्रान्तिमा

जीवन अर्पण गरी

दुश्मनसँग लड्न थालिसकेका छन्

पचासौं वीर शहीदहरूको वीरता बोकी

हाम्रा गाउँबस्तीहरू ......। (भावुक, २०५३, पृ.४)

वि.स. २०५४ मंसिरतिरकोे सामाजिक अवस्थाको बिम्ब अङ्कित ईश्वरचन्द्र ज्ञवालीको ‘आजकल’ शीर्षक कविताको एउटा अंश यस्तो छ; 

भर्खर रातो मुना जन्माएकी तीनदिने सुत्केरी

वसन्तकी कलिली चन्दनकी कलीलाई

आजभोलि गाउँहरूमा रागेपाटे चितुवाहरू

सरासर खोरबाट निस्केर घरघरमा पस्दै

लामा लामा सङ्गीनका नङ्ग्राले रोप्छन्

रातो लालीसँगै ज्युँदै आगोमा पिरल्दै

शिकार गर्छन् । भत्तेर गर्छन् ।। (ज्ञवाली, २०५४, पृ.४)

हत्या, हिंसाले पानी बग्ने नदीमा रगत बग्न थालेको स्थितिको बिम्ब कवि गणेश भण्डारी यसरी प्रस्तुत गर्दछन्;

सधैं पानी बग्ने नदीहरूमा 

आज रगत किन बगिरहेछ

गाई चराउने पाखाहरूमा 

मान्छे किन मरिरहेछ । (भण्डारी, २०५५, पृ..)

एकातिर हत्या, हिंसा, धरपकड र अपहरण उत्कर्षमा पुग्दै जान्छ, स्थिति भयावह हुँदै जान्छ, अर्कोतिर सर्वसाधारण किसान, मजदुर जनताको लहर जनयुद्घमा होमिदै जान्छ, परिवर्तनको यो नियमलाई सत्तासिनहरू बुझ्दैनन्, त्यसैले कवि मातृका पोखरेल उनीहरूलाई चुनौती दिँदै यो कसरी रोक्न सक्छौ भन्दै २०५६ भाद्र १५ गतेको ‘जनादेश’मा प्रकाशित ‘क्रमभङ्ग’ शीर्षक कवितामा लेख्छन्;

तिमी आँधीवेरी कसरी रोक्छौ ?

के कुनै पर्खालले

या कुनै त्रिपालले रोक्छौ ?

नदीको भेललाई कसरी थुन्छौ ?

कुनै माटोको डल्लाले

या ढुङ्गाले थुन्छौ !

त्यस्तै यो पनि एउटा नियम हो

........ इतिहासको एउटा नियम हो 

भन, यो खतरालाई कसरी रोक्छौ ?

यो सत्यलाई कसरी थुन्छौ ? (पोखरेल, २०५६, पृ.४)

राष्ट्रियस्तरको साहित्यिक माहोलमा त्यति चर्चामा नआएका जनयुद्घमा होमिएका एकजना कवि मायाप्रसाद आचार्यले खगराज लम्जेलका नामबाट वि.स.२०५७ सालको सुर्खेती साहित्य कोसेलीमा प्रकाशित मलाई याद आँउछ आकासमा बाज उडेको देख्दामा जनयुद्धका क्रमका प्रायः लेखनमा देखिनेजस्ता भय र आक्रोशभन्दा भिन्न सरकारी पक्षका सेना र प्रहरीलाई हिंस्रक चील, बाज र गिद्घका प्रतीकद्वारा र असहाय निमुखा, गरिब जनताको मुक्तिका लागि लडने माओवादी जनसेनालाई गौथली, मालचरी, परेवा, ढुकुर आदिको प्रतीक प्रयोग गरेर त्यतिबेला भएका नरसंहारलाई सुन्दर बिम्बात्मक ढङ्गले यसरी प्रस्तुत गरेका छन्;

मालचरी उदाएकै बेला

मेल्गैरीमा आधा दर्जन गौँथलीहरूलाई एकै चिहान बनायो

नलगाडमा जुरेली चरीलाई डोरीले बाँधेर नदीमा खसाल्यो

चारो खुवाउने बुढी जुरेलीलाई पनि

बाजको बथानमा लुछी लुछी खायो

पान्द्रङमा पनि भँगेरीको गेललाई

चुच्चाले ठुँगेर मा¥यो

.... परेवाको हुलले गीत गाउँदै रमाइरहेको बेला

गिद्घका साथमा बाजहरूले ...रगत तनतनी

सिम्रुतु, सुवाकोट, चुनावाङ, कोटजहारी

डाँडागाउँ र कल्यानमा

चिराघाट, झिम्पे, पदमघाट.....

धावा बोले, धेरै बाजहरूको देहावसान भयो

अँधेरी खोलाको बीचमा गौँथलीहरूले जम्मा पारेको धरापमा 

बाजको नाइके टाँसियो

हिजो बाजको पछिपछि लाग्ने काग अछाममा ढल्यो 

अब आकासमा उड्ने बाजलाई खसाउन

...सदाको लागि आकाशलाई स्वच्छ, सफा, सुन्दर र शान्त बनाउन

सबै सानासाना चरीहरू एकजुट हुँदैछन््

बाज, चील र गिद्घको स्वर्गमा यो भन्दा ठुलो भूकम्प ल्याउँदैछन् । (लम्जेल, २०५७, पृ.)

यस्ता असङ्ख्य कविताहरू छन् जनयुद्घको प्रभाव र प्रेरणाले जन्माएका । ती सबको चर्चा यो सानो पत्रमा सम्भव भएन । जनयुद्घको शान्तिपूर्ण अवतरण तथा गणतन्त्रको स्थापनाका विन्दुबाट नेपालको इतिहासले अर्को युगको आरम्भ ग¥यो । गणतन्त्र आगमनको संघारमा उभिएर यसपछिका असङ्ख्य चुनौतीहरूतर्फ सङ्केत गरेर सचेत गराउने काम कवि सत्य पहाडी आफ्नो जनादेश (२०६३, भाद्र १३)मा प्रकाशित यसपालि शीर्षक कवितामा यसरी गर्दछिन्;

तर ए ! रातो तातो भूमिका खोला, नाला, नदी वन पखेरीहरू

सङ्घर्षशील भुक्तभोगी मुटुहरू

फेरि यसैमा रमाउनु ठुलो भुल हुनेछ

...............................

यो बसन्तको सङ्केतमा 

विषालु सर्पहरूले काँचुली फेरेका पनि छन्

हरिया पालुवाहरूका बीचमा हरिया सर्पहरू

यत्रतत्र सलबलाइरहेकै छन्

फेरि विप्लवको वीरतापूर्ण राँको सल्काएर खोज्नु पर्ला

पुनः अर्को तयारी गर्नु पर्ला

किनकि अझै घाम छिप्पिएको छैन । (पहाडी, जनादेश, २०६३ भाद्र १३, पृ.४)

यसपछि नेपाली समाजमा जस्तै नेपाली साहित्यमा र अझ कवितामा पहिचानको खोजीको युग आरम्भ भयो । यस क्रममा मूलतस् पहिलेबाटै चलिरहेको वर्गीय पहिचानको निरन्तरताका साथै लैङ्गिक, नश्लीय, क्षेत्रीय पहिचानका स्वरहरू तीव्र रूपमा उर्लिन थाले । साक्ष्यस्वरूप तिनका केही नमुना यसपछि उपशीर्षक ९ मा प्रस्तुत भएका छन् ।

२.२ (ख) जनयुद्धको विद्रुपीकृत प्रतिबिम्बन

विश्व कम्युनिष्ट आन्दोलनमा जस्तै नेपाली वामपन्थी राजनीतिको वि.सं. २००६ सालदेखि आजसम्मको इतिहासमा पनि विचारधारात्मक मतान्तर भएका कारण कार्यदिशामा पनि भिन्नता देखिँदै आएको छ । एकथरी मार्क्सवादका मूलभूत सैद्धान्तिक स्थापनालाई यथावत राख्नुपर्ने मान्यतामा अडिग देखिन्छन् भने अर्कोथरी माक्र्सवादलाई अपरिवर्तनीय शास्त्रीय रुढ नभई समय र परिस्थितिको परिवर्तनसापेक्ष आफूलाई बदल्दै जान सक्ने गतिशील विज्ञानका रूपमा लिन्छन् । यी दुई विचारधारात्मक अन्तरअनुसार एकथरी आज पनि सशस्त्र क्रान्तिकै मार्गबाट सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिमा विश्वास गर्दछन् र त्यसैअनुरूप सङ्गठित छन् भने अर्कोथरी सशस्त्र क्रान्तिका हिंसा, हत्याको मार्गको विकल्प सामाजिक, सांस्कृतिक, वैचारिक आदि ढङ्गले जनतालाई सुसूचित गरी मन जितेर सर्वहारा वर्गको राज्यसत्ता प्राप्त गरी साम्यवादतर्फको यात्रा अगि बढाउन सकिने विचारअनुरूप संसदीय प्रतिस्पर्धा गरिरहेका छन् ।

यी दुवै थरी विचारका वृत्तमा विभाजित धारहरू जनयुद्धलाई सकारात्मक रूपमा हेर्दछन् भने त्यसपछि संविधानसभाबाट संविधान निर्माण कार्य प्रारम्भ भएपछि उक्त संविधानका प्रावधानदेखि त्यसअनुसार निर्वाचनलगायत भए गरेका कार्यप्रति सशस्त्र क्रान्तिका पक्षधरहरू तीब्र आक्रोश व्यक्त गर्दछन् । यिनीहरू जनयुद्धलाई विद्रुपीकरण गर्दैनन्, त्यसपछिका संसदीय गतिविधि एवम् त्यसद्वारा सिर्जित विकृति विसङ्गतिमाथि तीब्र प्रहार गर्दछन् । जस्तो कि कवि मित्रलाल पंज्ञानी लेख्छन्;

पद पाएपछि छोड्नै नहुने

साधारण सिरक ओढ्नै नहुने

बीसौँ वर्ष आफै खाने

तीसौँ वर्ष आफै खाने   (कस्तो संविधान बनाउने, पृ. ७)

यस कवितामा भाग नपाएको भनेजस्तो देखिए पनि मूलतः यस धारका कवि लेखकहरूबाट सशस्त्र क्रान्तिको वैकल्पिक मार्गका रूपमा संसदीय प्रतिस्पर्धा चयनलाई संशोधनवादी आदि आरोप लगाउँदै आलोचना गर्ने काम चर्को रूपमै भएको पाइन्छ । यस पक्षका कविहरू निभा शाह, राजकुमार कुँवर, अशोक सुवेदी, कुशल बोगटी आदि थुप्रै छन् । यी नाम लिइएका बाहेक कतिपय संसद उपयोग गर्नु पर्छ भन्ने बाटोमा पनि आइसकेका छन् ।

यही धारका कवि हीरामणि दुःखी पनि लेख्छन्;

मैले जुठे कामीसँग

उसको छोरो मागेको थिएँ

विधवा सुन्तली दमिनीसँग

उसकी हेत्तरी मागेको थिएँ

नन्दकली पुनसँग

उसको लोग्ने मागेको थिएँ

र जिम्दारको खेत जोत्दै गरेको

बुझौना थारुलाई बन्दुक बोकाएको थिएँ

मैले माटोको कसम खाएर भनेको थिएँ

ती सबै सबैलाई–

“म तिमीहरूका पसिनाको मोल

दिलाउने छु...” (दुःखी, कान्तिपुर, २०७३।१०।८, पृ. ग)

यसबाहेक जनयुद्धलाई वास्तविक रूपमा विद्रुपीकरण गर्नेहरू प्रगतिवादेतर सामन्तवादी, पुँजीवादी, साम्राज्यवादी उच्च वर्गका पक्षधर उक्त वर्गका शान्ति, प्रगति र समृद्धिका पक्षधर कवि, लेखकहरू छन् भने वामपन्थीभित्रकै क्रान्ति र विद्रोह नचाहने यथास्थितिवादी प्रगतिशीलहरू पनि छन् जो जनयुद्धलाई हिंसा, हत्या र आतङ्ककका रूपमा लिँदै फासीवादीसम्म भन्न पछि पर्दैनन् । उनीहरूमा ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए÷ बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’को चेतना छैन । अर्को थरी सशस्त्र क्रान्तिको बाटोमा विश्वास गर्नेहरू सशस्त्र क्रान्तिको शान्तिपूर्ण अवतरणपश्चात् उक्त संसद उपयोगको बाटोमा आएकाहरूलाई दक्षिणपन्थी भासमा स्खलित भनेर आरोप लगाउने गर्दछन् । यसरी जनयुद्धलाई हिंसा, हत्या र आतङ्कका रूपमा लिँदै फाँसीवादी भन्ने दक्षिणपन्थी कवि लेखकहरूको पनि निकै ठुलो समूह क्रियाशील छ । यीमध्ये पहिला पक्षकाहरू भाषा, रूप र संरचनादि भासमै रुँग्छन् र आज कतिपय घोर शून्यवादी उत्तरआधुनिक अराजकतावादमा पुगेका छन् भने माक्र्सवादी पृष्ठभूमिबाट विद्रुपीकरण गर्नेहरू समाज र जीवनका कुरा गर्दछन् तर तिनको लक्ष्य र लक्ष्य प्राप्तिको मार्ग चयनमा उदासीन छन् ।

समष्टिमा यी दुवै थरी सुरुदेखि नै जनयुद्धप्रति चरम घृणा र विरोध गर्दै र यसलाई विद्रुपीकरण गर्दै आएका छन् । हजारौं वर्षदेखि शोषक, सामन्त वर्गले निर्धा, निमुखा, निर्धन निम्न वर्गमाथि प्रत्यक्षपरोक्ष गरेको अमानवीय शोषण, दमन र उत्पीडन तिनीहरूका लागि स्वीकार्य छ, जनयुद्धका क्रममा सरकार पक्षबाट भएका हत्या, हिंसा र बलात्कारलाई पनि आँखा चिम्लन्छन्, दोष देख्दैनन् । तिनले जनयुद्धको क्रममा केन्द्र सरकारका प्रतिनिधि र सुराकीलाई भौतिक कार्बाही गर्ने क्रममा भएका हत्या, हिंसालाई बढाइचढाई गरी मानवताको उल्लङ्घन भएको भनी प्रचार गर्दै आएका छन् । यस प्रकारको शोषक, सामन्त, पुँजीपति वर्गको पक्षधरता एकातिर छ भने अर्कोतर्फ जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराई पार्टी, जनसेना र त्यसका पक्षधरमाथिको सम्भावित खतराबाट सुरक्षा गर्दै त्यतिबेलासम्मका उपलब्धिलाई सुरक्षित गर्ने उद्देश्यले संसदीय बाटोबाट समाजवाद हुँदै साम्यवादतर्फ अगि बढ्ने बाटो विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले र कामबेसी आफैभित्रका अनुभवहीनता तथा मानवजन्य कमी, कमजोरीका कारण जानुपर्ने दिशामा अपेक्षित ढङ्गले अगि बढ्न नसकेको स्थिति यथार्थ हुन गएको छ । 

त्यसप्रकारको विद्रुपीकरण आख्यानमा पनि त्यत्तिकै देखिन्छ । उदाहरणका रूपमा माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणपछिका नकारात्मकता सङ्केतक ओमप्रकाश निरौलाको ‘विद्रोहीको सपना’ (२०६९) जस्ता उपन्यास पनि छन् र जनयुद्ध मात्र होइन प्रगतिवाद र प्रगतिवादीप्रति नै अत्यन्त घृणाका दृष्टिले हेर्दै साम्राज्यवादीहरूको सांस्कृतिक हतियार उत्तरआधुनिकतावादका प्रवक्ता बनेका विचार, चिन्तन पनि छन् । यसक्रममा समाजलाई अगाडि बढाउने अन्तर्वस्तु भन्दा भाषा, शिल्प र कथन ढाँचाको फरिया नवीन हुनुलाई प्रगतिशील ठान्ने चर्चित समालोचक गोविन्दराज भट्टराईले ‘उत्तरआधुनिक विमर्श’ (२०७१)को वाममार्गी सर्जकहरू ठोकिने भीर...मा वाममार्गी लेखनका धुरी मानेका प्रदीप नेपाल (भट्टराई, २०७१, पृ. ३३२)को ‘स्वप्निल सहर’ (२०६४) जस्ता जनयुद्धलाई विद्रुपीकरण गर्ने उपन्यास पनि छन् । यस्तो लेखनको प्रेरणा पनि जनयुद्ध नै हो । यी मात्र होइन ‘जनयुद्ध वर्गवैरीका विरुद्ध लक्षित युद्ध थियो’

(भट्टराई, २०७७, पृ. १२९) भन्दै समालोचक रमेशप्रसाद भट्टराईले वि.सं. २०६७ को नेपाली उपन्यासमा जनयुद्धको प्रभाव शीर्षक लेखमा कतिपय दृष्टिले जनयुद्ध एवम् क्रान्ति र परिवर्तनविरोधी देखिने उपन्यासका सन्दर्भमा वरिष्ठ समालोचक चैतन्यको भनाइलाई उध्दृत् गर्दै तिनमा राजेन्द्रकुमार सङ्ग्रौलाको ‘दृष्टि’, नारायण ढकालको ‘दुर्भिक्ष’ (सन् २००४), खगेन्द्र सङ्ग्रौलाको ‘जूनकीरीको सङ्गीत’ (२०५६), प्रदीप नेपालको ‘आकाश गङ्गाको तीरैतीर’ (२०५७), राजेश्वर देवकोटाको ‘डबली’ (२०६०), नारायण वाग्लेको ‘पल्पसा क्याफे’ (२००५), गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’, राजेन्द्र पराजुलीको ‘अनामिका’ (२०६६)को चर्चा गरेको पाइन्छ ।


३. नेपाली कथा र उपन्यासमा जनयुद्धको प्रभाव 

नेपाली उपन्यास लेखनमा जनयुद्घको टड्कारो प्रभाव परेको पाइन्छ । जनयुद्घका दश वर्षका र त्यसपछिका कतिपय उपन्यासमा कतिपय जनयुद्घकै मोहोरीका प्रत्यक्ष द्रष्टा एवम् भोक्ताले भोगेका र अनुभव गरेका जनयुद्घका रक्तिम महाबिम्ब एवम् टुक्रे बिम्बहरू आएका छन् भने कतिपयमा स्रोताले सुनेका भरमा आफ्ना कल्पनाको समेत समिश्रण गरेर लेखेको पाइन्छ । 

त्यसरी सुनेका आधारमा आफ्ना कल्पनालाई मिसाएर औपन्यासिकीकरण गर्ने कतिपयले आस्थावान भएरै प्रस्तुत गरेका छन् र कतिपयले पूर्वाग्रहपूर्ण ढङ्गले जनयुद्वलाई विदु्रपीकरण गरेर कतिपय उपन्यास तथा कथा लेखेका छन् । ती प्रायले आजको उपभोक्तावादी बजारको मागबमोजिम बङ्ग्याएर उक्त उपभोक्तावादी बजारका पाठकको रूचि अनुकूुल बनाएर पनि प्रस्तुत गरेका छन् किनभने आज प्रायः कला साहित्य कला साहित्य नभएर ठुला प्रकाशन गृहको पैैसा कमाउने साधन भएको स्थिति छ । यसैले सुदूर पश्चिम तथा पुरानो मध्यपश्चिम र आजको कर्णाली प्रदेशका पहाडी जिल्लाहरूका जनताको गरिबी, अशिक्षा र पछौटेपनका साथै जनयुद्व पनि बिक्ने वस्तु बनेको छ । यति मात्र होइन यो मदन पुरस्कारजस्ता ठुला ठुला पुरस्कार पाउने माध्यम पनि बनेको छ जस्तो ‘छापामारको छोरो’ (कथा सङ्ग्रह), ‘पल्पसा क्याफे’ (उपन्यास), ‘खलङ्गामा हमला’ (संस्मरण) आदि । 

जनयुद्वलाई सकारात्मक दृष्टिले हेर्दै चित्रण गरिएका उपन्यासहरूमा घनश्याम दकालको ‘रातो आकाश’ (२०६०), आहुतिको ‘स्खलन,’ (२०५९), हरिहर खनालको ‘समयको रेखाचित्र’ (२०६५), सूर्यनाथ सापकोटाको ‘आगोभित्रका मान्छे’ (२०५८), रणेन्द्र बरालीको ‘इतिहासको एक पैका’ (२०६६), रामचन्द्र भट्टराईको ‘ज्वाला’ (२०६०), भास्करको ‘समर्पण’ (२०५७), नदीराम के.सीे.को. ‘विद्रोहको गीत’ 

(२०५८), ऋषिराज बरालको ‘समरगाथा’ (२०६४), कमल निओलको ‘मुक्तिमार्ग’ (२०६४), केशव नेपालको ‘चिथोरिएको देश’ (२०६३), दलबहादुर साउदको ‘जून फुलेको देशतिर’ (२०६५), विश्वबन्धु डि.सी.को ‘नयाँ संसार’ (२०६५), विष्णु भण्डारीको ‘पहेँलो घाम’ आदि पर्दछन् ।

यी बाहेक जनयुद्वको प्राप्तिस्वरूप विभिन्न क्षेत्र, वर्ग, लिङ्ग, जातिजनजाति, नश्ल, भाषाभाषी आदिमध्ये जनजातीय पहिचानका मुद्दालाई विषयवस्तु बनाएर पनि केही उपन्यास लेखिएका छन्, जस्तो युग पाठकको ‘उर्गेनको घोडा’, राजन मुकारूङका ‘हेत्छाकुप्पा’ र ‘दमिनी भीर’ (२०६९) आदि । जनयुद्धका बिम्बयुक्त थप कृतिमा सरला रेग्मी तथा इन्द्रबहादुर भण्डारी आदि थुप्रै लेखकका थुप्रै उपन्यास र कथाहरू प्रकाशित भएका छन् । यस्तै सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ले पूर्वस्मृतिका रूपमा ठाउँठाउँमा जनयुद्वका बिम्ब प्रस्तुत गरेको छ । जनयुद्वको शान्तिपूर्ण अवतरणपश्चात् सत्तामा सहभागी हुँदा धेरैजसो सत्ताको गुलियोमा महको माखो भएको सत्यको उद्घाटन गरेको छ । यसका साथै यसमा क्यान्टोनमेन्टमा झण्डै २ वर्ष कैदीजस्तै जीवन बिताउन बाध्य भएका जनसेनाको चित्रण गरिएको छ र तिनमाथिको शोषणको आरोपसहित जनयुद्वरूपी एउटा सगरमाथा आरोहण गरिसकेपछि उक्त सगरमाथा आरोही प्राकृतिक सगरमाथा चढ्न गएको छ । उसको उद्देश्य जनयुद्ध मात्र होइन हामी प्राकृतिक सगरमाथामा पनि चढन सक्छाँै भन्ने देखाएर क्यान्टोनमेन्टका जनसेनामा उत्साहको प्राण संचार गर्नु रहेको छ । यसरी यसमा स्वयम् सगरमाथा आरोहण गरेर त्यसैको अनुभवको अभिलेखन गरिएको छ । जनयुद्वरूपी सामाजिक क्रान्ति र परिवर्तनको सगरमाथा आरोहणबाट गणतन्त्र, सङ्घीयता, समानुपातिकता र समावेशी पद्दति ल्यायजस्तै प्राकृतिक सगरमाथाको शिखरबाट पनि छोरी अर्थात् भविष्यलाई चिनोका रूपमा शिखरको ढुङ्गा ल्याएको प्रतीकात्मक प्रस्तुति छ । त्यसै गरी ऋषिराज बरालको समरगाथामा जनयुद्वका क्रमका बलिदानी गाथाका साथै शान्तिपूर्ण अवतरणका सेरोफेरोका केही विकृति विसङ्गतिका साथै वैचारिक विमर्श पनि प्रस्तुत गरिएको छ । त्यस्तै कतिपय नेतृत्वको वैचारिक एवम् व्यावहारिक स्खलनको टिप्पणी आहुतिको स्खलनमा छ । 

नेपाली भाषामा मात्र नभएर मगर भाषामा पनि लोकबहादुर थापा मगरको जनयुद्वकै गाथाको एउटा पाटोको चित्रणयुक्त आरमिट्च मामरी (२०६६) प्रकाशित छ । 

कथातर्फ जनयुद्वका बिम्ब प्रस्तुत गर्ने कथाकारका कथाहरूमा ऋषिराज बरालको ‘वनमान्छेको कथा’ (२०५४), ‘सैन्य उपहार’ (२०५८) र ‘पैँयु फुल्न थालेपछि’ (२०६३), घनश्याम ढकालका ‘आजको महाभारत’ (२०५५), ‘सहिदको सालिक’ (२०६६), गंगा श्रेष्ठको ‘महासमरका यात्रीहरू’ (२०५६), रोहित दाहालको ‘स्पातले बनेका मान्छेहरू’ (२०५६) र ‘पैतालाले थिचेको देवता’ (२०७३, अन्जान विरहीको ‘अन्जान विरहीका कथाहरू’ (२०५५), अशोक सुवेदीका ‘मैले रोजेको बाटो’ (२०६२), ‘नयाँ बस्ती’ (२०६२), रामप्रसादको ‘सिसमहल’ (२०७१), कमल निओलका ‘नयाँ इतिहास’ (२०६३) र ‘बहादुर गाउँ थवाङ’ (२०६३), मातृका पोखरेलको ‘सन्त्रस्त आँखाहरू’ (२०६१), ‘घाम झुल्किनु अघि’ (२०६७) र ‘मातृका पोखरेलका प्रतिनिधि कथाहरू’ (२०६८), सरला रेग्मीको ‘चुडाल्दै बन्धनहरू’ (२०६३) र ‘लालविधवा’ (२०६९), सि.पी. गजुरेलको ‘प्रतिरोध’ (२०६०), पुण्य कार्कीको ‘मखमली’ (२०६४), शशिकिरणको ‘फूलमती घर फर्किनै पाइन’ (२०६६), सौगात आचार्यको ‘संकल्प यात्रा’ (२०६६), हीरामणि दुस्खीको ‘युद्वका कथाहरू’ (२०६७), सरल सहयात्रीको ‘क्रान्तिका कथाहरू’ (२०६४), झक्कुप्रसाद पुनको ‘अभ्यस्त सिपाही’ (२०६२) (सुवेदी, २०६७, पृ. ५४०–५४१), पुण्य कार्कीको ‘मध्यरात’ (२०६२), इस्मालीको ‘घाम घामजस्तो छैन’ (२०५८), हरिशरण रामको ‘पुनरागमन’, क्षितिज मगरको ‘सुन छहरीको ऐनामा’, नवीन विभासको ‘आधा बाटो हिँडेपछि’ (२०५७), ‘रोल्पा सुइना’ (२०७१), उदयबहादुर चलाउने ‘दिपक’को ‘समरयात्रा’ (२०६७), दिल साहनीको ‘खरानी गाउँ’ (२०५७), ‘क्यान्टोनमेन्ट’ (२०६७) तथा हरिहर खनालको कथा सङ्ग्रह ‘युद्धको पीडा’ (२०७२), भगवानचन्द्र ज्ञवालीको ‘सङ्घर्षको बाटो’ (२०७३), के.पी. ढकालको ‘जुठेको नयाँघर’; (२०५८), रणेन्द्र बरालीको ‘दलितको दैलो’ (२०६८), कुमार शाहको ‘मार्रा’ (२०६९), सरोज दिलुको ‘अभिशप्त स्वरहरू’ (२०६२), हर्क खडायतको ‘देशले हारेको युद्ध’ (२०६९), लोकनाथ पोखरेलको ‘झस्को’ (२०६३) छन् भने फुटकरमा आन्विका गिरीको ‘कम्युनिष्ट’, हरिहर खनालको ‘थवाङको आकाशमुनि’, ऋषिराज बरालको ‘खत्री बालाई आजभोलि निद्रा लाग्दैन’, घनश्याम ढकालको ‘पीडा प्रतीक्षाको’ उल्लेखनीय छन् । 

प्रस्तुत कथा सङ्ग्रहहरूबाहेक अरू थुप्रै सङ्ग्रहहरू र फुटकर कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् जसमा जनयुद्वका लक्ष्य, उद्देश्य र प्राप्तिलाई आस्थापूर्वक सकारात्मक रूपले प्रस्तुत गरिएको छ भने केहीमा सरकारी पक्ष र जनसेनाको दोहोरो च्यापमा परेका जनताको दुरवस्थाको चित्रण पनि छ । जनयुद्वका क्रममा जनसेनाले वीरतापूर्वक युद्व लडेको पराक्रम र त्यस क्रममा जनसेना र सर्वसाधारणमाथि सरकारी पक्षबाट भएका उत्पीडनका यथातथ्य बिम्ब दिने प्रयाश गरिएको छ । यी बाहेक समालोचक डा.गोपीन्द्र पौडेलले चर्चा गरेजस्तै कैयन प्रतिध्रुवीय चिन्तनका कथाकारहरूले जनयुद्वलाई विदु्रपीकरण गर्ने, योद्वाहरूलाई खुइल्याउने गरेका कथा पनि थुप्रै छन् । यस्ता सम्पूर्ण रचनाको खोजगरी सूक्ष्म र विहङ्गम अध्ययन विश्लेषण गर्दा निकै ठुलो ग्रन्थ बन्ने स्थिति छ । 

४. नेपाली निबन्धमा जनयुद्वको प्रभाव 

निबन्ध विधाअन्तर्गत पर्ने ललित निबन्ध, वस्तुपरक निबन्ध, संस्मरण, जीवनी, व्यङ्ग्य आदिमध्ये जनयुद्वको संस्मरण गरी लेखिएका निबन्ध सबैभन्दा धैरै छन् । संस्मरणमध्ये समग्र नेपाली साहित्यमा यात्रा संस्मरण बढी पाइने भए पनि यस अवधिमा जनयुद्वका संस्मरणात्मक निबन्ध बढी छन् जसमा जनयुद्व लड्दाका कठिनाइ, चुनौती, कष्टपूर्ण जीवन, भय, त्रास र मृत्युसँगको लाप्पा खेलाइ, सरकारी दमनको पराकाष्टाका घटनादिका अनुभवका बिम्बहरू पाइन्छन् । यस्ता संस्मरणमा गणेश भण्डारीको ‘बन्दी आकाश विरूद्व’ (२०६३), उमा भुजेलको ‘बन्द पर्खालदेखि खुला आकाशसम्म’ (२०६३), खिलबहादुर भण्डारीको ‘कलमहरू जंगल पसेपछि’ (२०६३), कृष्ण के.सी.को ‘मानव वधशालाको यात्रा’ (२०६३), लेखनाथ न्यौपानैको ‘तिमी अमर भयौ’, ‘मेरो मन चुडियो’ (२०६३), नन्दकिशोर पुन पासाङको ‘इतिहासका रक्तिम पाइला’ (२०६३), उदयबहादुर चलाउनेको ‘लाल मोर्चाका किल्लाहरूमा’ (२०६४), श्यामकुमार बुढाको ‘ती आँधीमय दिनहरू’ (२०६४), सिन्धु शर्माको ‘नसरिनलाई चिठी’, राजु क्षेत्रीको ‘गजुरीको व्यारेक ब्रेक’ (२०६४), अजय शक्तिको ‘आँधीसँग खेल्दा’, आर.पी. तिमिल्सिनाको ‘जेल र ज्वालामुखी’, लक्ष्मीप्रसाद चौलागाईको ‘जनसेवाको जीवन’ (२०६४), बालकराम बुढाको ‘जनक्रान्तिको दशक भाग–१’ (२०६४), हेमन्तप्रकाश ओलीको ‘काराबासभित्रका दिनचर्याहरू’ (२०६४), सुरेश पहाडीको ‘युद्व मोर्चाका डोबहरू’ (२०६४) छन् भने २०६५ मा प्रकाशित मायाप्रसाद आचार्य ‘पारशमणिको मुक्ति यात्रा’ र ‘सङ्कल्प अभियान’, गोविन्द आचार्यको ‘युद्व पत्रकारिताको अनुभूति’, मोहित श्रेष्ठको ‘जिउँदो सपना’, गंगाबहादुर लामाको ‘दशवर्षे जनयुद्व स् स्मृतिका डोबहरू’, ऋषिराज बरालको ‘प्रियजनहरूको सम्झनामा’, अनिल शर्माको ‘सम्झनामा भारतीय जेल’, झकबहादुर मल्लको ‘सुर्खेत जेल ब्रेकको अन्तर्कथा’, (२०६६)मा उत्तम कँडेलको ‘जोखिमका पाइला’, अजय शक्तिको ‘आँधीसँग खेल्दा’, २०६७ मा सत्य पहाडीको ‘मृत्युञ्जयी यात्रा’, सीता वि.क.को ‘युद्वभित्र सस्ंमरण’ (२०६८), गंगराज सेजुवालको ‘म रोएको त्यो दिन’ (२०६८), २०७० मा शोभा कट्टेलको ‘समरका स्मृतिहरू’, दीपेन्द्र रोकायाको ‘नाफाको जिन्दगी’, जीवन हमालको ‘यातना शिविरका क्षणहरू’, नवीन विभासको ‘रात पनि ऐठन परेको रातमा’ (२०६०), पृथ्वीबहादुर सिंहको ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ (२०७४), एटमको ‘गौरवशाली इतिहास र युद्धमोर्चाका अनुभूतिहरू’, गङ्गा श्रेष्ठको ‘गढी दरबारदेखि सिंहदरबारसम्म’, गोविन्द आचार्यको ‘युद्ध र पत्रकारिताका अनुभूति’, धनेश्वर पोख्रेलको ‘वेनी मोर्चाको स्मृतिः शब्दचित्र’, बालकराम बुढामगरको ‘जनक्रान्तिको एक दशक’, मोहित श्रेष्ठको ‘ज्युँदो सपना’, श्यामकुमार बुढामगरको ‘ती आँधीमय दिनहरू’, सुरेश पहाडीको ‘युद्ध मोर्चाका डोबहरू’ आदि छन् भने फुटकर रूपमा पत्रपत्रिकामा फुटकर संस्मरण प्रकाशित गर्नेहरूमा सी.पी. गजुरेल, कृष्णसेन इच्छुक, अनन्त, अविनाश, ईश्वर, खुसीराम पाख्रिन, चुनु गुरुङ, शक्ति लम्साल, जयपुरी घर्ती, माइला लामा, जीतमान पुन, दशरथ चौधरी, देवकुमार आचार्य, डी कौडिल्य, नेत्रबहादुर के.सी. ‘परिवर्तन’, वैकुण्ठहरि श्रेष्ठ, यज्ञराज प्रसाई, युवराज चौलागाई, राजु क्षेत्री, रामदीप आचार्य, रितबहादुर खड्का, विवेक, विश्वेश्वरप्रसाद पोखरेल, आर.सी., श्यामकुमार बुढा, मगर ‘चिन्तन’, शङ्कर तमु, शरद, शिव श्रेष्ठ ‘रक्तिम’, सागर पुन, हरिबहादुर चुमान, हिमशिखर, ज्ञानप्रसाद चालिसे ‘आयाम’ आदि छन् भने कतिपयका थप सङ्ग्रह र पत्रपत्रिकामा प्रकाशित फुटकर संस्मरणहरू छन् । यी प्रायःमा आफूले सर्सती देखेका र भोगेका अनुभवहरूको प्रस्तुतिका रूपमा छन् भने केहीमा कलात्मकता तथा प्रभावोत्पादकता पनि पाइन्छ । ललित तथा व्यङ्ग्य निबन्ध लेखकहरूमा गोपीन्द्र पौडेल, रविकिरण निर्जीव, रुद्र खरेल, सुधा त्रिपाठी आदिको सशक्त उपस्थिति छ । 

५. जनयुद्धको प्रभावयुक्त नाटक एकाङ्कीको मोटामोटी नामिक सर्वेक्षण

वि.सं. २०४६ पछिको  नेपाली समाज र राजनीतिका सम्बन्धमा समालोचक कपिल लामिछानेको भनाइ यथार्थपरक छ । उनी लेख्छन्, २०४६ पछि खुला परिवेशमा राजनीतिक र अभिव्यक्तिगत स्वतन्त्रता भए पनि नेपाली जनमतले आधारभूत अधिकार भने पाएनन् । बहुदलको प्राप्तिसँगै नेपाली काङ्ग्रेसको सर्वसत्तावादी प्रवृत्ति राजनीतिमा हाबी हुन पुग्यो । त्यसकै निरङ्कुशताले माओवादी विद्रोहलाई जन्म दियो (लामिछाने, २०७८, पृ. ९७) । प्रस्तुत घटनाको कार्यकारण शृङ्खला खोज्दा माओवादी जनयुद्धरूपी कार्यको उपरी कारण लामिछानेले पहिल्याएकै कारण हो जसमा सत्ताको मात लागेका तत्कालीन शासकहरू जनता र तिनका प्रतिनिधिका कुरै नसुन्ने पूर्णतः अन्धा र बहिरा बन्न पुगे । तिनलाई सुनाउन रामायणका कुम्भकर्णलाई ब्युझाउन दमाहादि अनेक वाद्यवादनका चर्का आवाज कानैनेर दिँदा पनि नभएजस्तै चक्काजाम, नेपाल बन्ददेखि रेलिङ भाँच्ने, तोडफोड गर्ने कार्यले पनि नभएपछि अन्तिम विकल्प जनयुद्ध थालिएको  थियो ।

प्रस्तुत जनयुद्धका भित्री जगमा युगौँदेखिका क्षेत्रीय, जातीय, लैङ्गिक आदि सामाजिक विभेद थियो । यसैकारण वि.सं. २०५२ फागुन १ गतेबाट आरम्भ भएको जनयुद्धको हतियार विभिन्न शस्त्रास्त्रभन्दा शक्तिशाली सांस्कृतिक हतियार थियो, विचार र त्यसैका केन्द्रद्वारा प्रशिक्षित विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटक अपेरा आदि थिए । यस क्रममा देशका थुप्रै ठाउँमा संस्कृतिकर्मीहरूले नाटक, एकाङ्की मञ्चन तथा प्रदर्शन गरेर जनयुद्धप्रति नेपाली जनतालाई आकर्षित गर्दै एकप्रकारको मनोवैज्ञानिक युद्ध लड्ने काम पनि गरेको पाइन्छ । त्यसक्रममा लेखिएका तथा प्रायः मञ्चित एवम् प्रदर्शित भएका नाटक, एकाङ्की (नाटक तथा गीतिनाटक)को सामान्य सर्वेक्षणात्मक टिपोट यसप्रकार छ; जीवन शर्माको ‘ठुली’ (२०५१), देवी पन्थीको ‘जनताको अदालत’ (२०५२), शरद पौडेलका ‘मेचीकाली एक्सप्रेस’ (२०५३), ‘कुर्सीलीला’, ‘सडक–२०५८’, ‘अँध्यारो÷उज्यालो’ (२०५७), ‘काइते नं. १७’, ‘मन्त्रीको कुकुर’, केशव नेपालको ‘जेल तोडियो’ (२०५४), सुधा त्रिपाठीको ‘निःश्वासका गुजुल्टाहरू’ (२०५५), रणेन्द्र बरालीको ‘आफ्नै व्यथा’ (२०५६), आहुतिका ‘अँध्यारोमा छटपटाएकाहरू’, ‘झुक्न मान्दैन हिमाल’ (२०६४), दिल साहनीको ‘निर्विकल्प’ (२०६२), हरिमाया भेटवालको ‘सहिद हराएको देश’ (२०५५), ‘इतिहासको पुनरागमन’ (२०५७), ‘मृत्यु–पत्र’ (२०६३), ऋषिराज बरालको ‘उनीहरू यात्रामा छन्’ (२०५५), उदयबहादुर चलाउनेको ‘हामी पनि बन्दुक बोक्छौँ’ (२०५७), दानसिंह बिक ‘शङ्कर’को ‘बाटो’ (२०५८), जनार्दन शर्मा प्रभाकरको ‘क्रान्तिको छोरो’ (२०५८), नरबहादुर महराका ‘बादल फाटेपछि’ (२०६३) र ‘नयाँघर’ (२०६३), मौसम रोकाको ‘बदलिएको बाटो’ (२०६२), विजय साङपाङको ‘दुःख मेटाउने सपना’ (२०६२), खेम थपलियाका ‘युद्ध र शान्ति’ (२०६४), ‘दाना’ (२०६४), ‘क्रान्ति जारी छ’, ‘उनी मरेका छैनन्’, ‘बालुवाटारमा धृतराष्ट्र’ आदि नौ एकाङ्कीको सङ्ग्रह ‘नागार्जुन एक्सप्रेस’ (२०६६), ‘सपनाका सपना’ (२०७०) आदि, धर्मलाल भुसालको ‘ऊ कियाङ नाङवा’ 

(२०६७), नन्दलाल आचार्यको ‘सांस्कृतिक सहिद’; कृष्णसेन इच्छुकको सहादतीको बिम्बयुक्त ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (२०६७), मणि थापाका ‘मुर्दावाद लेखिएका पर्खालहरू’, ‘भूकम्पले थिचिएका बस्तीहरू’, ‘सात थुँगा’, कुमार शाहको ‘उत्सव’ (२०६०), इन्द्रबहादुर भण्डारीको ‘भुङ्ग्रोभित्रको मान्छे’ (२०६४), पूर्णजित पुनको ‘गाउँघरतिर’ (२०६३), भरत लामाको ‘अब विद्रोह हुन्छ’ (२०६४), ‘तिम्रो आकाङ्क्षाको  जगमा’ (२०६५), ‘बन्धक स्वाधीनताको’ (२०६६), सुशील ठकुरीको ‘अवशेष’ (२०६४), विजय विस्फोटका ‘कागजको किल्ला’ (२०६४), ‘बुर्की’, लोकेश पुनमगरको ‘अधुरो यात्रा’ (२०६४), शोभित नेपाल सिकारुको ‘अमर मृत्यु’ (२०६४), सरल सहयात्रीका ‘क्रान्तिवीर’ (२०६४), ‘शिरीषको रातो किताब’ (२०६७), बलराम तिमिल्सेनाको ‘मुक्तियोद्धाको घोषणा’ (२०६७), किशोर अनुरागको ‘जङ्गेपिलर’ (२०६७), पुरु लम्सालको ‘ठुलीका सपनाहरू’ (२०६७), सुशीलासिंह ठकुरीको ‘अवशेष’ (२०६४) आदि । 

यी केही नाटक, एकाङ्कीले जनयुद्ध र परिवर्तनका निमित्त मनोभूमि निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् भने केहीले जनयुद्धलाई आफूले देखेको, भोगेको र बुझेको अनुभव र अनुभूति व्यक्त गरेका छन् । यसबाहेक कतिपयमा समाजका विविध क्षेत्रका विविध प्रकारका यथार्थको चित्रण छ । समग्रमा यी सबैको प्रत्यक्ष परोक्ष प्रेरक जनयुद्ध नै हो भन्न सकिन्छ । 

६. गीत सङ्गीतमा जनयुद्वका प्रभावको टिपोट 

गीत सङ्गीतले मानिसका मनमा तुरून्तै प्रभाव पार्ने हुँदा क्रान्ति र परिवर्तनका वाहकहरूले गीत, सङ्गीत र गीत सङ्गीतयुक्त सांस्कृतिक कार्यक्रमहरूलाई परिवर्तनको चेतनाको वाहक बनाएको पाइन्छ । नेपालको प्रस्तुत जनयुद्वमा पनि विभिन्न सांस्कृतिक संगठनहरूद्वारा जनवादी गीत सङ्गीतयुक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको पाइन्छ । त्यस्ता संगठनहरूमा सामना सांस्कृतिक परिवार, सेनच्याङ, प्रतिरोध, चुनु शिल्पा, क्षितिज, सुखानी, चोमोलुङ, भेरी कर्णाली, इच्छुक, रारा, हिमाली, कान्जीरोवा, शेफोेक्सुण्डो, जुनी, नौमुले, कञ्चनजङ्घा, विसु प्रगतिशील, थान्का, वेदना, जुनेली, मङ्का दवु, रक्तिम, इन्द्रेणी आदि सांस्कृतिक परिवार र समाजजस्ता संघ संगठनद्वारा विभिन्न कार्यक्रम गर्नुका साथै जलजला, अभिवादन, हुरी चल्दैछ, आँधी आउदैछ, नयाँ नेपाल, रणमैदान आदि गीति एल्वमका साथै भि.सी.डी.निकाल्ने काम गरेको पाइन्छ । कतिपय भि.सि.डी. जनयुद्धका घटनाका बिम्ब र त्यसपछिका सांस्कृतिक, सामाजिक गतिविधिसँग सम्बन्धित देखिन्छन् । त्यस्ता गीत, सङ्गीत र सांस्कृतिक गतिविधिबाट आत्तिएको सरकारले अनेकोट, भावाङ आदि स्थलमा संस्कृतिकर्मीहरूलाई हृदयहीन अमानवीय ढङ्गले पशुवत सामूहिक हत्या ग¥यो । सरकार पक्षको यस्तो आत्तिएको त्रासदिपूर्ण मनोविज्ञानको निर्माणमा पनि जनयुद्ध नै कारक रहेको देखिन्छ ।

७. नेपाली समालोचनामा जनयुद्धको प्रभाव

नेपाली समालोचना छिटफुटबाहेक वि.सं. २०४५ सम्म परम्परागत पद्धतिबाटै अगाडि बढिरहेको थियो । प्रगतिवादी र प्रगतिवादेतर पूर्वीय एवम् पाश्चात्य सैद्धान्तिक एवम् प्रायोगिक समालोचनाका दुई धार प्रतिस्पर्धी रूपमै अगाडि बढिरहेका थिए । माक्र्सवादमाथि विश्वव्यापी रूपमै प्रहार भएजस्तै प्रगतिवादी नेपाली साहित्यमाथि परोक्ष रूपमा आलोचना भए पनि प्रत्यक्ष लिखित रूपमा अरुबाट खासै प्रहार हुन सकेको थिएन । प्रवासबाट भने आयामेली आन्दोलनका एकजना हस्ती इन्द्रबहादुर राईद्वारा व्यक्तिगत रूपमै सन् १९७९ (तदनुसार वि.सं. २०३६)मा ‘साहित्यको अपहरण’ लेखेर ठाडै आक्रमण सुरु गरिएको थियो । यसपछि माक्र्सवादमाथि प्रहार गर्ने वैश्विक अभियानमा संलग्न हुँदै उत्तरआधुनिकतावादको नेपाली संस्करण लीला लेखनको उनले आरम्भ गरे । यसै क्रममा उनले केही नेपाली कथाको विनिर्माण गरे भने समालोचनामा पनि ‘अर्थहरूका पछिल्तिर’ (सन् १९९४) लेखे ।

त्यसो त इन्द्रबहादुर राईको ‘अर्थहरूको पछिल्तिर’ भन्दा अगाडि कृष्ण गौतम, अभि सुवेदी, गोविन्दराज भट्टराई आदि केहीले उत्तरआधुनिकतावादभित्रै पर्ने नारीवाद, विनिर्माणवादलगायतका समालोचनात्मक लेखन अगाडि बढाउन आरम्भ गरेका थिए । सन् १९८७ मै शैलीवज्ञानको प्रथम संस्करण प्रकाशित गरी वि.सं. २०४५।०४६ तिरबाटै घनश्याम नेपालले शैली वैज्ञानिक पद्धतिबाट शोधकार्य आरम्भ गरे पनि पुस्तकाकार रूपमा सर्वप्रथम नेपालबाट आधिकारिक ग्रन्थ मोहनराज शर्माको ‘शैलीविज्ञान’ वि.सं. २०४८ मा प्रकाशित भयो र यसै साल घनश्याम नेपालको पनि ‘शैलीविज्ञान’को पुस्तक पनि प्रकाशित भयो । त्यसो त फुटकर रूपमा अभि सुवेदीद्वारा शैलीविज्ञान लेखन २०३५÷०३६ तिरबाटै थालिएको थियो । ‘शैलीविज्ञान’ र ‘संरचनावाद’ समालोचनाका परम्परागत पद्धतिभन्दा भिन्न कृतिभित्रै त्यसका भाषिक समानान्तरता, विचलन आदिको खोजी गर्ने वस्तुपरक पद्धति भए पनि ती केन्द्रभग्नी, शून्यवादी उत्तरआधुनिक अराजकतावादी पद्धति थिएनन् । न त मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइटेलले अपनाउने प्रयत्न गरेको संरचनावाद नै उत्तरआधुनिक थियो । कृष्ण गौतमको ‘आधुनिक आलोचना ः अनेक रूप अनेक पठन’ (२०५०) आएपछि बहुकोणीय, बहुविषयात्मक, बहुअनुशासनात्मक समालोचनाको आरम्भ भयो । सामाजिक व्यवस्थामा वि.सं. २०४६ को परिवर्तनपश्चात् पुनस्र्थापित प्रजातान्त्रिक स्वतन्त्रताको गलत प्रयोगले राष्ट्रियस्तरमा मात्र स्वच्छन्दता व्याप्त भएन पाश्चात्य उत्तरआधुनिक हावा पनि शक्तिका साथ भित्रिन थाल्यो । उत्तरआधुनिकतावादलाई उद्देश्यमूलक प्रायोजित रूपमै भित्र्याउनेमा गोविन्दराज भट्टराई नै देखिन्छन् भने यसलाई पश्चिमको बौद्धिक क्षेत्रको नयाँ प्रवृत्तिका रूपमा लिँदै प्राज्ञिक ढङ्गको सैद्धान्तिक एवम् प्रायोगिक विवेचना गर्नेमा कृष्ण गौतम नै अग्रपङ्क्तिमा देखिन्छन् । यसका विभिन्न शाखा, नश्लीय, लैङ्गिक आदि क्षेत्रका विवेचक अभि सुवेदी, मोहनराज शर्मा, अभि सुवेदी, लक्ष्मणप्रसाद गौतम, कुमार कोइराला, ज्ञानु अधिकारी, कृष्ण धरावासी, जीवन जीवन्त, अम्बिका अर्याल हुन् । उत्तरआधुनिकतावादको उद्देश्य र कार्यको बोध र प्रतिरोध गर्ने स्थिति यसपूर्व खासै नदेखिए पनि यस चरणमा आएर यो  उल्लेखनीय रूपमा विकसित भएको देखिन्छ ।

नेपाली समाजमा हजारौँ वर्षदेखि व्याप्त जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक आदि स्तरका विभेद र असमानता तथा वि.सं. २०४६ पछि व्याप्त भ्रष्टाचार र स्वच्छन्दताका विरुद्ध वि.सं. २०५२ देखि थालिएको जनयुद्धपश्चात् त राष्ट्रिय सामन्तवादी तथा यथास्थितिवादी र अन्तर्राष्ट्रिय साम्राज्यवादी, विस्तारवादी शक्तिको तारो जनयुद्धका साथै यसका पक्षधर कवि, लेखक, समालोचक एवम् संस्कृतिकर्मी पनि भए । प्रस्तुत उद्देश्ययुक्त साहित्य लेखनको सामाजिक मूल्यवत्ताको मूल्याङ्कन र प्रस्तुत राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रहारको प्रतिरोध गर्नुका साथै तिनका उद्देश्यलाई जनसमक्ष उदाङ्गो पार्न नेपाली प्रगतिवादी समालोचना शक्तिका साथ अगाडि बढ्यो । पश्चिमी साम्राज्यवादी शक्तिको सांस्कृतिक हतियारका रूपमा चर्चा गर्ने गरिएको केन्द्रभग्नी, शून्यवादी, अराजक, विध्वंशक प्रकृतिको उत्तरआधुनिकतावादको प्रतिकार गर्दै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित प्रगतिवादी समालोचना वि.सं.२०४९÷०५० पछि विशेष शक्तिका साथ अगाडि बढ्यो ।

नेपालको दशवर्षे जनयुद्ध जसरी भौतिक रूपमा देशी सामन्तवाद र विदेशी साम्राज्यवादका विरुद्ध सङ्घर्ष एवम् क्रान्ति गर्दै अगाडि बढ्यो त्यसैगरी प्रगतिवादी नेपाली चिन्तन र चिन्तनयुक्त समालोचना पनि उत्तरआधुनिकतावादको प्रतिरोध गर्दै जीवनवादी, अग्रगामी मार्ग अँगाल्दै अगि बढेको पाइन्छ । यसै क्रममा यस कार्यमा सम्बद्ध चिन्तक, समीक्षक र तिनका कृतिका सर्सर्ती नाम नामेसी यसप्रकार रहेका छन् ।

प्रगतिवादी दर्शन र चिन्तनको पुरानै पृष्ठभूमि र जनयुद्धको ताप र रापले अझ उत्प्रेरित हुँदै प्रगतिवादी नेपाली समालोचनालाई अगाडि बढाउनेहरूमा पुरानै पिँढीका तर यस चरणमा बढी सक्रिय ‘सैद्धान्तिक चिन्तनमा द्वन्द्वात्मक भौतिकवाद के हो ?’ (२०४२), ‘समीक्षकको आँखामा’ (२०५०), ‘माक्र्सवादी कलादृष्टि र समीक्षा’ (२०५४), ‘क्रान्ति सौन्दर्य’ (२०६४), ‘सङ्घर्षको दर्शन’ (२०६०), ‘नेपाली समाज र संस्कृति ः एक सङ्क्षिप्त अध्ययन’ (२०६१), ‘समीक्षा र सौन्दर्य’ (२०६५), ‘माक्र्सवादी दर्शन’ (२०६७), ‘हिमाली दर्शन’ (२०७४), ‘माक्र्सवादी समालोचना’ (२०७७) जस्ता पुस्तक लेख्ने मोहन वैद्य किरण (चैतन्य नामबाट पनि), ‘प्रगतिवाद र नेपाली उपन्यास’ (२०४०), ‘प्रगतिवाद’ (२०४९), ‘माक्र्सवाद र उत्तरआधुनिकता’ (२०५२), ‘उपन्यासको सौन्दर्यशास्त्र’ (२०५६), ‘सङ्गीत र सौन्दर्य’ 

(२०६३), ‘सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद’ (२०६३), ‘उत्तरआधुनिकतावाद र समकालीन यथार्थ’ (२०६३), ‘साहित्य र समाज’ (२०६४), ‘साहित्य र सौन्दर्य’ (२०६४), ‘सत्ता र संस्कृति’ (२०६६), ‘सवाल्टर्न अध्ययन’ (२०७३), ‘आजको समालोचना’ (२०७७) लेख्ने ऋषिराज बराल, ‘यथार्थवादी रचनादृष्टि र विवेचना’ (२०५१), ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’ (२०५४), ‘सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण’ (२०५९), ‘उत्तरआधुनिकता ः भ्रम र वास्तविकता’ (२०६१), ‘माक्र्सवादी साहित्य चिन्तन’ (२०६७), ‘सांस्कृतिक रूपान्तरण’ (२०६७), ‘माक्र्सवाद र सङ्गीत’ (२०६७), ‘माक्र्सवादी समालोचना पद्धति’ (२०६७), ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ (२०६६), ‘पूर्ववाद र सइदेली विचार’ (२०६७) आदि लेख्ने निनु चापागाईजस्ता हस्तीहरू सशक्त रूपमा अगाडि बढेका छन् ।

यसैगरी ‘माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना’ (२०५४) नामक माक्र्सवादी सैद्धान्तिक समालोचनाको पुस्तक लेखन एवम् यथार्थवादी नेपाली समालोचना (२०६२), ‘पोखरेली समालोचना’ (२०६५) र ‘माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ (२०६७) सम्पादन गर्ने घनश्याम ढकाल, वि.सं. २०४९ मै ‘प्रगतिवाद ः परम्परा र मान्यता’जस्तो प्रगतिवादको सैद्धान्तिक जग बसाल्ने सैद्धान्तिक समालोचनाको पुस्तक लेख्ने देवीप्रसाद गौतम, प्रगतिवाद र नेपाली साहित्य, २०७० मा ‘नेपाली साहित्य ः पहिचान र प्रतिनिधित्व’ (२०७०), २०७७ मा ‘सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ’ तथा २०७७ मै ‘नेपाली उपन्यासको सांस्कृतिक अध्ययन’ लेख्ने रमेशप्रसाद भट्टराई, वि.सं. २०५३ मा ‘कला, साहित्य भूमिका र मूल्याङ्कन’, २०५६ मा ‘प्रगतिवाद र कविता’, २०६५ मा ‘समकालीन कविताको संरचना’, २०७३ मा ‘अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध र माक्र्सवादी सांस्कृतिक अध्ययन र समाजशास्त्र’ लेख्ने ताराकान्त पाण्डेय, वि.सं. २०५० मा ‘साहित्यः चिन्तन र विवेचना’, २०५५ मा ‘प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण’, २०६० मा ‘पृथक सिर्जना ः पृथक निरूपण’, २०६५ मा ‘सौन्दर्यको भूमिका लेखन’ तथा २०६८ मा ‘प्रतिनिधि नेपाली समालोचनाको सम्पादन’ गर्ने जगदीशचन्द्र भण्डारी, यस्तै ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ (२०७३), ‘समाज र संस्कृति’ (२०७४), ‘भूमण्डलीकरण र साहित्य’ (२०७४), ‘साहित्य विमर्श’ (२०७५), ‘कवितामा वर्गद्वन्द्व’ (२०७५) लेख्ने अमर गिरी, ‘दृष्टि चौतारी’ (२०५८), ‘नारीवादका कठघरामा नेपाली साहित्य’ (२०६७), ‘नेपाली उपन्यासमा नारीवाद’ (२०६८) र ‘नारीवादी सौन्दर्य चिन्तन’ (२०६८) जस्ता मूलतः लैङ्गिक पहिचानकेन्द्री समालोचनाको लेखन गर्ने सुधा त्रिपाठी, ‘प्रगतिवादी नेपाली कविता’ (२०४४), ‘नेपाली समालोचनाको रूपरेखा’ (२०५१), ‘प्रगतिवादी नेपाली समालोचना’ (२०५६) आदि लेख्ने रविलाल अधिकारी, ‘साहित्यिक अवलोकन’ लेख्ने कृष्णराज अधिकारी आदि पनि त्यत्तिकै सक्रिय रहेका छन् ।

यसैगरी जनयुद्धसँग सम्बन्धित साहित्यमाथि समालोचना गर्ने प्रगतिवादी नेपाली सक्रिय समालोचकहरूमा ‘कलममाथिको कलम’ (२०५८, ‘चिन्तन र सौन्दर्य’ (२०४६) आदि लेख्ने विष्णु प्रभात, ‘यथार्थवादी समालोचनाको गोरेटोमा’ (२०५८), ‘पारिजातको साहित्यिक मूल्याङ्कन’ (२०६२), ‘साहित्य सङ्ग्रामको सङ्क्षिप्त इतिहास’ (२०६४), ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’ (२०७३) लेख्ने डी.आर. पोखरेल, ‘युद्धप्रसाद मिश्र र उनका कविता’ (२०६५ आदि लेख्ने पशुपतिनाथ तिमिल्सिना, ‘सौन्दर्य बोध र समीक्षा विविध’ (२०५९), ‘कथाको सौन्दर्यशास्त्र’ (२०६५), ‘कथाको सिंहावलोकन’ (२०७०) आदि लेख्ने गोपीन्द्र पौडेल, ‘प्रगतिवादी दृष्टिमा कवि र कविता’ (२०६५), ‘सन्दर्भपरक समालोचना’ (२०७०), ‘जनकप्रसाद हुमागाई ः स्रष्टा एक द्रष्टा अनेक’ (२०६७) आदि लेख्ने हेमनाथ पौडेल, ‘समीक्षा र सन्दर्भ’ (२०६५), ‘समय र सन्दर्भ’ (२०७०) लेख्ने तेजविलास अधिकारी, ‘नेपाली उपन्यासमा आञ्चलिकता’ (२०५६), ‘किराती सौन्दर्यशास्त्र’ (२०६६) आदि लेख्ने धनप्रसाद सुवेदी ‘श्रमिक’, ‘नेपाली हाइकु ः परम्परा र प्रवृत्ति’ (२०६८) नामक पुस्तक र थुपै्र फुटकर समालोचनालगायत लेख्ने मधुसूदन गिरी, ‘कवि इच्छुक ः कविताका सन्दर्भमा’ (२०६०) र ‘पारिजातका कविताको अध्ययन’ (२०६२), ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ (२०६६) लेख्ने सुकुम शर्मा, ‘काव्य परिशीलन’ (२०६०) लेख्ने जगत्प्रसाद उपाध्याय प्रेक्षित, ‘नेपाली साहित्येतिहास लेखन ः सर्वेक्षण र विश्लेषण’ (२०६६), ‘साहित्यशास्त्र, नेपाली समालोचना र शोधविधि’ (२०६९), ‘नेपाली साहित्यको कालविभाजन ः ऐतिहासिक दर्शन’ (२०७७) आदि लेख्ने बालाकृष्ण अधिकारी, ‘टिपन समालोचना’ (२०७६) र ‘कला साहित्यमा दुई लाइन सङ्घर्ष’ (२०७०) र ‘माक्र्सवादी समालोचना सिर्जना र सङ्घर्ष’ (२०७५) लेख्ने खेम थपलिया आदि सक्रिय ऊर्जायुक्त समीक्षक साधानारत प्रतिभा हुन् । यीबाहेक कतिपय पुस्तकाकार कृतिसहित र कतिपय फुटकर रूपमा यस्ता समालोचना लेखनमा सक्रिय प्रतिभाहरू हुन्, ईश्वरचन्द्र ज्ञवाली, अच्युतशरण अर्याल, पुरुषोत्तम रिजाल, भगवानचन्द्र ज्ञवाली, दिल साहनी, टीकाराम उदासी, अनिल शर्मा, राजन मुकारुङ, पूर्ण भण्डारी पङ्कज, अशोक सुवेदी, सुशान्त गुरुङ, माधव ढुङ्गेल, भरत रोदन साउद, प्रभात सापकोटा, छायादत्त न्यौपाने, शिवप्रसाद पौडेल आदि । यी मात्र होइन पुरानै पुस्ताका मोहनविक्रम सिंहको ‘साहित्य समालोचना र सौन्दर्य’ (२०७६) र शक्ति लम्सालको ‘माक्र्सवाद, समाज र साहित्य’ (२०६१) पनि यसै चरणमा प्रकाशित भएर बजारमा आएका छन् ।

८. विचारमूलक प्रबन्धात्मक लेखन 

आजको विश्वमा देखिएका अनेक विचार र दर्शनहरूमध्ये यही भूखण्डको पूर्वीय संस्कृत वाङ्मयमा विकसित षड्दर्शन र त्यसका विकल्पमा त्यतिबेलै विकसित चारवाकलगायतका भौतिकवादी दर्शन एवम् पश्चिमका पुराना र नवीन उत्तरआधुनिक चिन्तनको वैज्ञानिक विश्लेषण एवम् अर्थराजनीतिक व्याख्या र विश्लेषण तथा नेपालको जनयुद्वलगायतका विषयमा वस्तुपरक, तथ्यपरक, वैचारिक विश्लेषण भएका पुस्तकहरू बजारमा आएका छन् । यस्ता पुस्तक र लेख लेख्नेहरूमा चैतन्य, मोहन वैद्य किरण, पुष्पकमल दाहाल प्रचण्ड, मोहनविक्रम सिंह, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, घनश्याम भूषाल, लेखनाथ न्यौपाने, ईश्वरीप्रसाद दाहाल असारे, धर्मेन्द्र बास्तोला कञ्चन, हस्तबहादुर के.सी. आदि थुप्रै छन् ।

९. जनयुद्धको परिणामपश्चात्को प्रभाव

जनयुद्धमा दुवै पक्षले आफ्नो सफलताको दाबी गरे पनि दुवै पक्ष कसैले कसैलाई भौतिक र मनोवैज्ञानिक रूपले समेत परास्त गर्न नसकेपछि यो शान्तिपूर्ण सम्झौतामा अवतरित भयो । यसपछि भने चाहेजस्तो पूर्ण रूपमा नभए पनि गणतन्त्र, सङ्घीयता, समानुपातिकता र समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता आफ्ना मुद्धाका सन्दर्भमा माओवादी पक्ष सिद्धान्ततः धेरै हदसम्म सफल भयो । सोहीअनुसारको संविधान निर्माण गरी कार्यान्वयनको चरणमा गएपछि भने यसलाई असफल पार्न अनेक राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको चलखेलले अप्ठेराहरूको सामनाकै चरण चलिरहेको स्थिति छ । 

यति भए पनि युगौँदेखि सीमान्तीकृत विभिन्न क्षेत्र, वर्ग, लिङ्ग र जाति जनजाति जनसमुदाय आज पहिचानको खोजीमा सशक्ततापूर्वक अगाडि बढिरहेको स्थिति छ । संविधानले पनि उनीहरूलाई यो अधिकार उपलब्ध गराएको छ । पहिचानको खोजीको यही आवाज गणतन्त्र स्थापनाको विन्दु (२०६३) को सेरोफेरोबाटै सशक्त रूपमा अगाडि बढिरहेको छ । यो सामाजिक, राजनीतिक रूपमा मात्र नभई साहित्यिक रूपमा पनि त्यसरी नै अगाडि बढेको छ । यसलाई हामी निम्नलिखित शीर्षक, उपशीर्षकहरूमा हेर्न सक्छौँ ।

९.१ लैङ्गिक पहिचान 

मानव सभ्यताको आरम्भमा समाज मातृसत्तात्मक रहेको समाजशास्त्रीहरूको मत छ । कृषि युगको आरम्भ र विकासँगसँगै मानवको यायावरीय जीवनले निश्चित स्थानमा बस्न र आर्जित वस्तुको  उपभोगवाट बचेको उत्पादनको सञ्चयसँगै उत्पादनका साधन, उत्पादित बस्तुमाथिको स्वामित्वको आरम्भ भएको देखिन्छ । त्यसै विन्दुबाटै एकनिष्ट पतिपत्नी अर्थात् सम्बन्धको परम्परा पनि सुरु भएको देखिन्छ । क्रमशः समाजको विकास अगि बढ्दै जाँदा समाज मातृसत्तात्मकबाट पितृसत्तात्मकमा रूपान्तरण भएको देखिन्छ । हाम्रा पौराणिक ग्रन्थका नवदुर्गा–असुर युद्घ मातृसत्तात्मकवाट पितृसत्तात्मक चरणमा सामाजिक रूपान्तरणपूर्वका वा आरम्भतिरका घटनाहरूको प्रतीकात्मक प्रस्तुतिका रूपमा रहेका देखिन्छन्् । समाज पितृसत्तात्मक चरणमा प्रवेश गरिसकेपछि नारीमाथि विभिन्न प्रकारका शोषण उत्पीडन विकसित हँुदै गए । उनीहरूलाई कतिपय देश र समाजमा मताधिकारसमेतबाट बञ्चित गरेर सामान्य नागरिकका कोटिमा समेत राखिएको थिएन । 

पुरुषप्रधान समाजको प्रस्तुत शृङ्खला युगयुगान्तर कायम रह्यो । सन १४३१ मा फ्रान्समा जोन अफ आर्कले स्वविवेकको प्रयोग गरेको र त्यसवापत बोक्सीको आरोप लगायर जिउँदै जलाइएदेखि १९औं र अझ बीसौं शताव्दीको छैंटाँै दशकसम्मको पृष्टभूमिपछि पश्चिममा आरम्भ भएको नारी मुक्ति एवम् सशक्तिकरणका विभिन्न धारा, प्रवृति र दृष्टिकोणयुक्त नारीवादी आन्दोलन हामीकहाँ पनि प्रत्यक्ष आरम्भ भएको छ । त्यस्तो आन्दोलन अत्यन्त कमबाहेक प्रायः सहरी शिक्षित महिलाहरूले सहरमा बसेर गर्ने एक प्रकारको फेसन, सौख र कतैकतै लैङ्गिक इष्र्याभन्दा बढी दुरदराजका अठार घण्टा पारिवारिक दलनको जाँतोमुनि पिल्सिएका महिलासम्म पुग्नै पाएको छैन जसलाई नारीवादको अत्यन्त खाँचो छ । 

चौरासी वर्षे मृत लोग्नेसँग सोह्रवर्षे तरुनी श्रीमतीले जिउँदै चितामा जलेर जीवनलीला समाप्त गर्नु पर्ने सती प्रथाबाट पञ्चायत कालसम्मै पनि ठुला महलका कोठेरानी भैरहेको अवस्थासम्म आइपुग्दा एकातिर पछिल्लो चरणमा आएर उपभोक्तावादी बहुराष्ट्रिय  कम्पनीहरूले महलबाट तल विभिन्न डबलीमा ओरालेर सुन्दरी प्रतियोगिताका पैसा कमाउने साधन बनाए तर त्यसबाट सर्वसाधारण नारीलाई कुनै फरक परेन । सर्वसाधारण नारीलाई जनयुद्घका मोर्चामा काँधमा बन्दुक बोकाएर महिलाहरू अरु कुरामा मात्र होइन युद्घमा पनि पुरुषभन्दा कम छैनन् भन्ने प्रमाणित गर्ने काम जनयुद्घले ग¥यो । यो समग्र नारीको स्थानलाई माथि उठाउने र सम्मान प्रदान गर्ने काम थियो । त्यसैको प्रभावस्वरूप नेपाली साहित्यमा पनि शान्ति प्रक्रियापश्चात्का नारी कविहरूले समाजमा नारीको पहिचानका पक्षमा प्रशस्तै साहित्य रचना गर्न थालेको पाइन्छ । त्यसमा कविता विधा सर्वाधिक अगाडि रहेको छ । 

त्यसो त पारिजातको ‘मानुषी’, कुन्ता शर्माको ‘पोथी बास्नु हँुदैन’ जस्ता नारी पहिचान र विद्रोहात्मक स्वरयुक्त कविता तथा प्रगतिवादेतरमा वानिरा गिरिको ‘झुम्राका पुतली’ यसपूर्व नै आइसकेका थिए । प्रस्तुत शान्ति प्रक्रियापश्चात् लैङ्किक पहिचानको लेखन एक धारकै रूपमा अगि बढेको देखिन्छ । यसप्रकारको लेखनमा प्रगतिवादी, प्रगतिवादेतर सबै सक्रिय देखिन्छन् । जस्तो प्रतिसरा सायमी आफ्नो ‘पे्रशरकुकर’ शीर्षक कवितामा घरपरिवार र समाजरूपी प्रेशरकुकरभित्रको पानीजस्तै भक्भकी उम्लनु पर्दाको असह्य पीडा र त्यसबाट मुक्तिका लागि प्रेशरकुकरको सिट्ठीजस्तै चीत्कार फ्याकिरहेकी नारीका अवस्थाको चित्रण यसरी गर्दछिन्; 

प्रेशरकुकरको  चीत्कार सुनेँ मैले 

नअटाई नअटाई कोचिएर गुम्सिनु परेको

उसका कठोर बन्धन र मुक्तिका चीत्कार

तप्त शरीरको जलन पढेँ

मानौँ आफैलाई पढेँ मैलै

असहाय पीडाले आत्तिएर फुत्किन खोजीरहेको 

तातोले वाफिएर पनि 

एउटा मुक्त आकाशको खोजीमा बाहिरिने आतुरताले भौतारिरहेको छ 

उही तप्त पानी म । (जनमत कविता–१)

यस्तै प्रगतिशील कवि लक्ष्मी मालीको रोबोट प्रश्नैप्रश्न, उषा हमालको हराइछ मेरो गाउँकी कान्छी, अनागरिक, प्रगतिवादेतर कवि अरुणा वैद्यको कुमारी हिमालहरू, मोमिलाको तिमी र म नारीवादी कविता हुन् । यी जनयुद्धका पक्षधर नभए पनि जनयुद्धले प्रदान गरेको लैङ्गिक अधिकार र सशक्तिकरणका चेतनाकै प्रतिफलस्वरूप यिनीहरूमा लैङ्गिक पहिचानको चेतना आएको हो भन्न सकिन्छ ।

पश्चिममा नारीवाद उदारवादी, समाजवादी, माक्र्सवादी, मनोवैज्ञानिक, अस्तित्ववादी, उत्तरआधुनिक, खाँटी (रेडिकल) आदि धारयुक्त भए पनि हामीकहाँ उदार नारीवादीकै सङ्ख्या धेरै देखिन्छ भने थोरैथोरै माक्र्सवादी नारीवादी पनि छन् । प्रगतिवादी कवि, समालोचक तथा निबन्धकार सुधा त्रिपाठी माक्र्सवादी नारीवादी कवि पनि हुन् । उनी आफ्नो जिराहा वर्तमान (२०६७) शीर्षक कविता सङ्ग्रहभित्रको आँखा खोलेरै मुर्छित छु शीर्षक कवितामा लेख्छिन्;

र त्यसलाई हैकमको प्रतीकका रूपमा बुझेपछि

मसँग न त सिन्दूर र पोते नै छ 

न त तिनको आँखै तिरमिराउने रातोपन नै छ

र मसँग मनका आँखाहरूले नियाल्ने गरेको 

त्यस्तै शुभ्र, स्निग्ध र पवित्र

आस्थाको एउटा सगरमाथा पनि छ । (त्रिपाठी, २०६७, पृ.११)

माक्र्सवादी नारीहरू चुलोचौको र घरबारमै अल्मलिनु पर्दा ती आत्मनिर्भर भई तिनको उन्नति, प्रगति हुन नसकेकाले त्यो केवल साम्यवादी कम्युन पद्घतिमा मात्र सम्भव हुने विचार प्रस्तुत गर्दछन् । त्यस्तै विचार र त्यसको कार्यान्वयनमा सक्रिय हुने क्रममा चुलो, चौको र घरबार छोडेर जनयुद्घमै होमिएकी कवि तथा लेखक सत्य पहाडी आफ्नो चुलो र चौको कुर्दिनमा लेख्छिन्;

आधा आकाश आधा धरती

टुटेको सारा जोड्ने हामी 

दुःखको सागर पचाएर

साहसको कथा लेखाउने हामी

दमन र अत्याचार सहन हुन्न

चुलो र चौकोमा हराउनु हुन्न

बन्दुक बोकी लडेर

संसार हल्लाउन सक्ने वीर हामी । (पहाडी, २०७३, पृ.२९)

यस्तै कतै अत्यन्तै विद्रोही, कतै खाँटी उग्र नारीवादीजस्ती, कतै पुरुष द्वैषीजस्ती, कतै माक्र्सवादी र अझ ‘घुर’ शीर्षक कवितामा त विचारविहीनताको आवश्यकताको वकालत गर्दै माक्र्सवादको पनि कुनै आवश्यकता नै छैन भन्ने चरम अराजक उत्तरमाक्र्सवादीजस्ती पनि देखिने सशक्त विचारका बिम्बात्मक एवम् तीव्र अनुुभूतियुक्त कविता लेख्ने कवि सरिता तिवारी आफ्नो ‘हे देवी !’  शीर्षक कवितामा लेख्छिन्;

हे देवी !

देखाइदेऊ

      यो दैत्यहरूको साम्राज्यमा 

तिम्रो विराट काली रूप

दुई हातमा चन्चमाइरहेका त्रिशूल

क्रोधले धप्धपाइरहेका आँखा 

रगत लत्पताइरहेको जिब्रो 

घुँडा घुँडा छुने खप्परको माला

भष्म पोतिएको अर्धनग्न जिउ । (तिवारी, २०७३, पृ.३६)

यस्ता उनका थुप्रै कविता छन् जसमा पितृसत्तात्मक पुरुषप्रधान सत्तामाथि सशक्त प्रहार गरिएको छ । 

यसपछि थुप्रै केही प्रगतिवादी र प्रगतिवादेतर कविहरू अत्यन्त सशक्त बिम्ब र प्रतीकयुक्त नारीवादी कविता लिएर देखापरेका छन् । 

जस्तो ‘डमी बजार विरूद्घ’, ‘मौलोको बली’, ‘वौलाही आमाको बयान’ जस्ता त्यतिकै सशक्त प्रभावोत्पादक कविता लेख्ने कवि शकुन्तला जोशी । त्यस्तै प्रखर प्रगतिवादी तथा नारीवादी कवि निभा शाहका ‘बसुधा’, ’छिनाल’, ‘भिरफूल’, ‘म पार्वती हु’, ‘कामरेडको मनुस्मृति’ जस्ता कविता पनि सशक्त नारीवादी कविता हुन् । यस्ता अन्य सशक्त नारीवादी स्वरयुक्त कविहरू हुन्, ओकलदोक्कल पिपलपात शीर्षक कविता रचना गर्ने कवि विन्दु शर्मा, सरस्वती प्रतीक्षा, सविता गौतम, सुनिता खनाल, सीमा आभास, चन्द्रा शर्मा, गौरा दाहाल, हरिदेवी कोइराला, देवकी अभिलाषी, राखी गौचन, विना थिङ, अमृता स्मृति, गीता त्रिपाठी, रामेश्वरी पन्त, दीपा राई, पदमा अर्याल, सरस्वती श्रेष्ठ, सरु के.सी.आदि । यी सबै नारीवादभित्रका विभिन्न उपधारामा कविता लेखनमा सक्रिय छन् । यिनीहरू केहीबाहेक सबै माक्र्सवादी नारीवादी होइनन् र पनि यिनीहरूमा लैङ्गिक चेतना जागृत गराउन कतै न कतै जनयुद्धले प्रदान गरेको नारी अधिकार र सम्मानले लैङ्गिक पहिचानप्रति आकर्षित गर्न बल पु¥याएको छ ।

९.२ नश्लीय पहिचान 

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालको सामाजिक संरचनामा विविधता भए पनि साधन, स्रोतको वितरण समानुपातिक हुन नसकेकाले र त्यो वितरणका केन्द्रमा सबै जाति जनजातिको पहुँच हुन नसकेको र ती सधैँ सीमान्तकृत हुन पुगेको, इतिहासमा प्राप्त अस्तित्व पनि अपहरित भएको भन्दै जनयुद्घ र जनआन्दोलनमा सहभागी हुन गएका सीमान्तकृतहरू देशमा नयाँ संविधानको निर्माण भई त्यसैअनुरूप सीमान्तकृतहरूका मुद्घा सम्बोधन गर्न आज नेपाल सङ्घीय गणतान्त्रिक समावेशी, समानुपातिक संरचनामा गएको छ । यसका निमित्त आर्येतर विभिन्न जाति जनजातिले आफ्ना आवाजहरू उराल्दै आएका छन् । ती आवाज सडक तथा विभिन्न संघ, संगठनमार्फत् मात्र नभएर कला साहित्यद्वारा पनि उराल्दै आएको पाइन्छ । यस प्रकारको नश्लीय पहिचानको खोजी गर्ने स्रष्टाहरू प्रगतिवादी मात्र नभएर प्रगतिशील प्रकृतिका तथा प्रगतिवादेतर प्रजातन्त्रवादी सबै देखिन्छन् । यी केहीले संगठित रूपमै सिर्जनशील अराजकता, रङ्गवादजस्ता नामबाट संगठित प्रयास पनि गरेका छन् र आफ्नै सौन्दर्यशास्त्रको निर्माण गर्ने कसरत पनि गरेका छन् । 

यस प्रकार नश्लीय पहिचानको खोजी गर्ने स्र्रष्टाहरूमध्ये कवितातर्फ भूपाल राई, युग पाठक, रावत, मुक्तान थेवा, स्वप्निल स्मृति, छम गुरुङ, फूलमान बल, नवीन प्रकाश श्रेष्ठ, सुन्दर कुरूप, अनिल वान्तवा, प्रकाश दिप्शाली राई आदि थुपै छन्् । यी मध्ये साक्ष्यस्वरूप एकदुई नमुना यसप्रकार रहेका छन् । कवि भूपाल राई आफ्नो राष्ट्रिय जनावरको देशमा शीर्षक अन्नपूर्ण फुर्सदमा प्रकाशित कवितामा लेख्छन्;

केही दैनिक वाणीहरू खसेर ब्रद्मबाणीबाट

बन्दछ मुलुकी ऐन

र केही जनावरहरू

निस्किएर धर्मसभाको चेपबाट

गर्छन् मान्छेमाथि रजाँइ

फहराउँदै एकसाथ

गणतन्त्र दिवसको विजय पताका

र मक्किदै गरेको पुर्खाको भोटो 

खेपिरहेछु एक सय ६४ वर्ष पुरानो जंगबहादुरको अपराध संहिता

जंगबहादुरको सनातन गोठबाट

नयाँ नयाँ उत्पादन भएर

धर्मयुद्घका नयाँ नयाँ साँढेहरू

जसले खोसेका छन् 

मात्र एक थान आधुनिक हिन्दुस्तानाको लागि

हजारौँ वर्ष पुरानो मेरो प्राकृतिक न्याय

र ठोकेका छन् मेरो थाप्लोमा पुस्तैनी दण्डस्वरूप

गोरुको बाध्यकारी मेक्चन । (राई, २०७५, पृ.ग)

अन्ततस् गणतन्त्रात्मक सङ्घीय, समानुपातिक,समावेशी व्यवस्था लागू भएपछि पनि तामाङहरूको तिमालको सत्ता फर्किएन, उनीहरूको अवस्था सुध्रिएन र सबैभन्दा ठुलो तिनमा चेतना फर्किएन । त्यसैले आज पनि तिनीहरू त्यसरी नै जाँड रक्सी र अझ रुस्लान भोड्का पिएर लठ्ठिनमै हराएको स्थितिको बिम्ब प्रस्तुत गरिएको राजु स्याङतानको कविता रुस्लान सालिङ जिन्दावादमा यसरी प्रस्तुत भएको छ;

यसपालि ल्होसारमा पनि

टुँडिखेलमा देखियो 

नयाँ अवतारमा पेङ्दोर्जे

आधुनिक जमानाको पेङदोर्जे

भोडका खाँदै नाच्न थाल्यो

नाच्दा नाच्दै टोपी खस्यो

नाच्दानाच्दै 

बिर्सिदियो घोरलको छाला

बिर्सिदियो कोइरालाको काठ

बिर्सिदियो सेलोको प्राचीन भाका

बिर्सिदियो, माभार डाँडाको चिसो कुहिरोभित्र

आँसुले बाटो नाप्दै कुरिरहेकी मैच्याङ

बिर्सिदियो लुङ्दार खोसिएको

सैलुङको सय थुम्का

भुलिदियो, साढे दुई शताब्दीदेखि हरेक रात

तेमाल डाँडामा न्याय खोज्दै

भौतारिरहने हेन्जेन दोर्जेको आत्मा (फुर्सद, ४ फागुन, २०७५)


यस्तै अन्नपूर्णमै प्रकाशित सभ्यताको बाह्रखरीमा मुक्तान थेवा लेख्छन्;

खोरको माउ तान्न आउने

बाघको गर्धन छप्काउने

बाघसिंह आँखाको खुकुरी छ मसँग

खुसुखुसु करेसाको पिँडालु चोर्न आउने

बन सँुगुरको भाले ढाल्न

आप्पाले दर्जन थाप्ने गरेको, जोरनाले छ मसँग

दिनर दहाडै जिम्वाल काजीको साँढेले छोप्दा

जुरो खसाल्ने

मेरी बज्यैको खुर्पा नि छ मसँग

राम नवमी मेलामा 

प्रधान घरको व्वासोले झम्टिँदा

जाँधमा लात हानेर उम्किएकी

आमा सन्जली डोल्माको साहस पनि

उस्तै छ मसँग (थेवा, २०७३, माघ ८, पृ.ग)

नश्लीय पहिचानका अन्य उत्कृष्ठ कविका कविता हुन, गिरी श्रीस मगरको मौनताको अर्थ, स्वप्निल स्मृतिको ए ! सुनुयुमा ए ! आदि । प्रस्तुत नश्लीय पहिचानसँगै केही विरोध, विद्रोह र पहिचानका कविता पनि प्रकाशित भएका पाइन्छन् । जस्तो अनन्त वाग्लेको जुलमा मुसहरको जाडो, जनक रसिकको जोखनीदेवीलाई अनिलसिंह कार्कीको दलनपारिको नयाँ मान्छे आदि । 

९.३ क्षेत्रीय पहिचान 

राजनीतिक र सामाजिक रूपमा नेपालको मधेश, पूर्वी पहाड, सुदूरपश्चिम एवम् कर्णाली प्रदेश क्षेत्रका प्रायः पहाडी भूक्षेत्र पनि पछि परेको भन्दै आवाज उठाउन थालेका भए पनि नेपाली कविता एवम् अन्य विधामा भने मधेशको पहिचानको खोजी मात्रै जसो बढी देखिन्छ । जस्तो निमेश सापकोटाको ‘एउटा योद्घा’ शकुन्तला जोशीको ‘दशगजामा उभिएर’ आदि सीमारक्षक मधेशबासीसँगको रङ्गभेदको चित्रण र त्यसका कारण अस्तित्व र अझ अर्को शब्दमा पहिचानको झण्डा उठाउनुका बाध्यताको चित्रण शकुन्तला जोशी उक्त कवितामा यसरी गर्दछिन्;

तिम्रो आशंका चामल र दालको रङमा हो कि

मेरो अनुहारको रङमा ?

मेरो मेहनत र पसिनामा हो कि

मेरो नागरिकतामा ?

राजधानी, तिमीले बाध्य पा¥यौ र उठाए आज

अस्तित्वको झण्डा (जोशी, अन्न्पूर्ण, २०७२, फागुुन १, पृ.ग)

क्षेत्रीय पहिचानको चेतना र संवैधानिक प्रावधान पनि जनयुद्धकै देन हो । जसले प्रगतिवादलाई मात्र होइन प्रगतिवादेतरलाई पनि यसप्रकार प्रेरित र प्रभावित गरेको छ ।

९.४ दलित पहिचान

वैदिक युगमा विभेदरहित कर्मका आधारमा निर्धारित वर्णव्यवस्था पौराणिक युगमा आएर विभेदपूर्ण जन्मका आधारमा सुरु भएपछि शूद्र भनेर छुट्याइएका जातिमाथि दलन र उत्पीडन सुरु भएको देखिन्छ । त्यो विभेद र दलन आज पनि यथावत् छ, यद्यपि जातका आधारमा विभेद गर्न नपाउने वैधानिक व्यवस्था छ । आज आएर दलित भनिएका जाति र अझ समुदाय पनि क्रमशस् सचेत हँुदै गएका छन््  र आफ्नो पहिचान खोज्दै अगाडि बढेका छन् । जनयुद्घले यो विभेदलाई धेरै हदसम्म हटाउने कोसिस गरे पनि पूर्णतस् हट्न सकेको छैन, केही कम भने अवश्य भएको छ । नेपाली साहित्यमा यस्तो विभेदको चित्रण उल्लेखनीय रूपमै भएको पाइन्छ । यसप्रकारका काव्यात्मक लेखनमा आहुतिको ‘गहुँगोरो अफ्रिका’ नामक कविता सङ्ग्रह, केवल विनावीको ‘छोइडुम’ कविता आदि उल्लेखनीय छन् । यसका साथै श्रवण मुकारुङको नेपाललाई गणतन्त्रात्मक देशका रूपमा संसदद्वारा गरिएको निर्णयकै समयतिर ‘बिषे नगर्चीको बयान’ सर्वाधिक चर्चित कविता हो । यसको रचनामा पनि कविका अन्तरचेतनामा जाति, जनजाति, दलित पहिचान र अस्तित्वको यही चेतना प्रेरणाका रूपमा रहेको अनुभव हुन्छ । कवि आहुति आफ्नो ‘गहुँगोरो अफ्रिका’ शीर्षक कवितामा लेख्छन्;

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ

ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ

आँखा जुधाउने आँट गर धर्माती मान्छे

कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर

कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई 

च्यात्ने वा जलाउने देवता बनाउने कामी हुँ

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ

म अपमानित इतिहासको हिसाब चाहन्छु

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।  (आहुति, २०७१, पृ.३–५)

यस्तै छोइडुम कवितामा केवल विनावी नेपाली समाजको जाति भेदको मार्मिक चित्र प्रस्तुत गर्दछन्, जुन विभेदपूर्ण परम्पराले जातपात नमान्ने कि त क्रिश्चियन बढाउन मद्दत गरेको छ कि हतियार उठाउन बाध्य पारेको छ; 

मसँग सोध्ने गर्छे,

बा,

किन छोइडुम खेल्दा

म डुम बनेकै बखत 

खित्का छाडी छाडी 

हाँस्छन् साथीहरू

वर्षौंपश्चात् आज 

प्रश्न सोधिरहिछ

अबोध छोरी

बाबा,

किन तुलसीको मोठ छेउ खेल्दै गर्दा

बेस्सरी रिसाउँछन्

घरबेटी बा र आमाहरू

बाबा,

किन प्रायस् मलाई नै भुल्ने गर्छन्

जन्मदिनमा मेरा साथीहरू  (विनावी, कान्तिपुर, २०७२ असोज ९, पृ.४)

दलित पहिचानकै क्रममा कवि प्रथा लेख्छन्;

आफू पिपको आहालमा डुबेको छ

तररपनि किन होला सुनकली !

यो बाजे त –

सुकिलो पिरामा बसेर

उनकै सुरुवाल सिलाई रहेकी

मेरी आमालाई अछूत भन्छ !  (प्रथा, २०७४, पृ. १८०)

९.५ साम्राज्यवादका विरूद्ध  राष्ट्रिय पहिचानको खोजी 

जनयुद्घ र समग्र राष्ट्रिय परिवेशले नेपाली जनता र तिनका कवि लेखकलाई देशी सामन्तवादका साथै विदेशी साम्राज्यवादी हस्तक्षेपको विरोध गर्न पनि पे्ररित र प्रभावित गरेको छ, चाहे त्यो उत्तरआधुनिकतावादका रूपमा आएको होस्, चाहे उदार आर्थिक प्रणाली, उदारीकरण, उपभोक्तावाद अर्थात् भाषिक सांस्कृतिक साम्राज्यवादका रूपमा आएको होस् । उदाहरणका लागि विनोदविक्रम के.सी.को २०७३ साउन २९ को अन्नपूर्णमा प्रकाशित ‘डेन्जर जोन’ शीर्षक कविता । यसमा के.सी.ले प्रत्यक्ष राजनीति नगर्ने, मात्र विचारको राजनीति गर्ने एक सिधासादा जनतालाई आजको कमिशनतन्त्री दलाल पुँजीवादी र अझ साम्राज्यवादी व्यवस्थाका सर्वोत्कृष्ठ उदाहरण घरजग्गा कारोवारी अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व राजनीतिदेखि टोले गुण्डाको गुण्डागर्दी सबैतिरबाट खतरा भएको भाव यसरी व्यक्त गरेका छन्;

डेन्जर जोनमा हुनुहुन्छ तपाई

र खेलिरहनु भएको छ क्यान्डी क्रस

यो असाध्यै खतरनाक कुरो हो 

चौतर्फी घेराबन्दीमा हुनुहुुन्छ

समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुण्डा

राष्ट्रवादको प्रेत र मुकुटको पिशाच

माफियाजस्तो सरकार र सरकारजस्तो माफिया 

कर्पोेरेट कल्चर र आदिम लुटशास्त्र

चडका आइटम डान्स र हल्काफुल्का कमेडी

विषाक्त तरकारी र जीवनद्वेषी विचार

सबै सबैले घेरेका छन् तपाईलाई

एउटै जुनिमा तपाईलाई सयौचोटी मार्न

उद्दत छन् तिनका अस्त्रहरू । (के.सी., २०७३ साउन २९, पृ.४ )

आजको भूमण्डलीकृत विश्वमा सम्पूर्ण केन्द्र, सत्य र परम्परा भत्काउँदै शून्यवादी अराजकताको ताण्डव नाचिरहेको उत्तरआधुनिकतालगायतका राष्ट्र, समाज, परिवार र स्वयम् आफैप्रतिको उत्तरदायित्वबाट च्युत राजनीति आदि सबै कुरालाई अनावश्यक भन्ने विचारहीन विश्वभरिका विचार थुपार्ने कन्टेनर बनेको आजको मानिसको मष्तिस्कलाई कन्टेनरको प्रतीकद्वारा कवि केशव सिलवालले यसरी प्रस्तुत गरेका छन्;

भूमण्डलीकरणले भिराइदिएको छ मगजमा

मनमोजी भोटो

नाघ्नु छ देशको सीमित घेराबन्दी

र बन्नु छ 

असीमित ग्लोवल नागरिक

यो ग्लोबल टाउको हो कि 

ग्लोबल कन्टेनर

जहाँ थुप्रिरहेछन् संसारभरिका फोहर

स्क्यान गर्नुहोस् नयाँ फेसवुके केटाको टाउको

प्रोनो फिल्मकी नायिका छिन् त्यहाँ

अङ्गुर खाइरहेकी

भन्छ–घृणा गर्छु राजनीतिलाई । (राजनीति जो छ घृणालायक)


ग्लोबल दादाले पारिबाट छोडेको

अपाचवायुले भरिएर

बेलुनझँै फुलेको छ मानिसको टाउको

प्याट्ट प्याट्ट फुट्छ समय समयमा

र फैलिन्छ दुर्गन्ध यत्रतत्र देशभरि । (सिलवाल, कोसेली, २०७६ साउन ४, पृ.ग)


पृथ्वीको कसैको होइन

फेरि एकपटक गर्नुपर्छ 

न्यायोचित अंशवण्डा । (बानिया, २०७३, पृ. ५७))

आजको उपभोक्तावादी भूमण्डलीकृत डिजिटल बजारको यथार्थ प्रस्तुत गरिएका यस्ता थुप्रै कविताहरू छन् जसमा कल्पना चिसुुवालको ‘आजको बजार’, विनोदविक्रम के.सी.कै ‘तपाई सी.सी. टी.भी.को निगरानीमा हुनुहुन्छ’ आदि आदि रहेका छन् ।

जनयुद्धले यसरी फुटकर कविता लेखनमा मात्र प्रेरणा र प्रभाव पारेको होइन महाकाव्य लेखनलाई पनि प्रेरित गरेको छ । जनयुद्धको बिम्बयुक्त महाकाव्यहरूमध्ये एउटा हो विष्णु भण्डारीको उत्सर्ग । यसमा कवि भण्डारीले जनयुद्धलाई नेपालको इतिहासको एउटा अपरिहार्य आवश्यकताका रूपमा लिँदै यसले निर्माण गर्ने सुन्दर नेपालको आशावादी बिम्ब यसरी प्रस्तुत गरेका छन्;

(क) यो आँसुले सिञ्चिएको तिम्रो धरती

रङ्गीन फूलहरूले सजिने छ

यो रगतले रङ्गिएको तिम्रो काख

सुन्दर बिहानमा चम्किने छ । (भण्डारी, २०६७, पृ. २७५)

(ख) सुन्दर युग जन्माउने महान लक्ष्य

समानताको यो महान लक्ष्य

समानताको यो महान युद्ध

हामी कदापि हार्ने छैनौँ । (भण्डारी, २०६५, पृ. २८२)

त्यो विश्वास निर्माणक्रमको जनयुद्धका थुप्रै बिम्बमध्ये एउटा यस्तो छ;

फेरि लड्दा लड्दै

कमरेड आकाश ढल्यो

जनताको प्यारो तारा

कमरेड निर्मल ढल्यो । (भण्डारी, २०६७, पृ. १२८)

यी सबको सम्पूर्ण चर्चा गर्न सम्भव भएन, यस्ता शक्तिशाली थुप्रैथुप्रै कवि र तिनका कविता सङ्ग्रह तथा फुटकर कविता पनि छन् । जनयुद्धको बिम्बयुद्ध महाकाव्यमै पनि रामप्रकाश पुरीको ‘सङ्कल्प’ (२०६९), ‘विचरण’ (२०६३) र ‘अक्षुण्ण’ (२०६८) छन् भने ‘ग्रहण नलागोस्’ (२०६७) नामक खण्डकाव्यमा सङ्घीय संरचनाप्रतिको असहमति छ । जस्तो मुक्तान थेवाको ‘अखण्ड आलाप’ (२०६५), बलराम तिमिल्सिनाको ‘युद्धभूमिका गीतहरू’ (२०६३), हरिगोविन्द लुइटेलको ‘निर्माणाधीन कविता’ (२०६३), खुसीराम पाख्रिनको ‘रक्तक्रान्तिका गीतहरू’ (२०६३), सीता शर्माको ‘अस्मिताको खोजी’ (२०६६), चेतकान्त चापागाईको ‘राता फूलहरू’ (२०६३), सङ्गीत स्रोताको ‘म काठमाडौं आइपुगेँ’ (२०६३), कुशल बोगटीको ‘श्रीपेचमाथि उभिएर’ (२०६५, लोकेन्द्र बिष्टको ‘मेरा सुन्दर लालीगुराँसहरू’ (२०६५), गौरी दाहालको ‘मुक्तिको क्यानभासमा’ (२०६०), राजबहादुर कुँवरको ‘युद्धरत सगरमाथा’ (२०६६), मनोहर लामिछानेको ‘लुटिएका सीमाहरू’ (२०६७), शोभा दुलालको ‘ज्वालामुखी फुटेपछि’ (२०६८), भीम क्षेत्रीको ‘मझेरीमा झरेको बिहानी’ (२०६९), सजिना मोक्तानको ‘महासमरका यात्राहरूमा’ (२०६९), कुमार दिङ्लालीको ‘लालपाती’ (२०६९), तेजविलास अधिकारीको ‘उच्छ्वास’ (२०७३), हरिलाल महताराको ‘खोजी’ (२०७३), विन्दु शर्माको ‘ओक्कल दोक्कल’ (२०७५), वैरागी जेठाको ‘घुर्मी’ (२०७०), नारायण नेपालको ‘विद्रोही मनहरू’ (२०७३) आदि ।

गणतन्त्र प्राप्ति र अझ नयाँ संविधान बनेर देश सङ्घीयतामा गएपछि पनि सत्तामा जानेहरूको भ्रष्ट संस्कार, सोच र असक्षमताको अपेक्षित उपलब्धि हुन नसकेर विकृति विसङ्गतिका थाक लागेपछि त कवि लेखकहरू विसङ्गतिका बाहकहरूमाथि अझ बढी खनिन थालेका छन् । तीमध्येको एउटा सानो मुक्त मात्र यहाँ प्रस्तुत छ;

सत्तामै रहनको एकापस दोहोरी छ

भत्तामै मिलेनछ एकापस दोहोरी छ

जनता जनार्दन नडराएरै भन्छन् त

के को सफा खाना भान्छे नै फोहोरी छ । (तेजविलास, २०७८, पृ. १२)

९.६ जनयुद्धसँग सम्बन्धित थप सामूहिक साहित्यिक गतिविधि 

गणतन्त्र स्थापनापूर्व नै वि.सं. २०६१ मा ‘गणतन्त्र कविता आन्दोलन’ नामबाट एउटा आन्दोलन भएको चर्चा यसपूर्व उल्लेख भइसकेको छ । त्यस क्रममा रुसी सांस्कृतिक केन्द्र कमलपोखरी काठमाडौंमा कविता गोष्ठीसहित गरी घोषणा जारी गरिएको थियो । कवि, पत्रकार तथा समीक्षक विक्रम सुब्बाद्वारा लिखित उक्त घोषणापत्र कवि श्यामलद्वारा वाचन गरी गणतन्त्र कविता आन्दोलनको सुरुवात भएको थियो । निरन्तर रूपमा चलेको यस आन्दोलनका क्रममा वाचित कविताहरू सङ्कलन गरी एउटा कविता सङ्ग्रह पनि प्रकाशित गरिएको छ, “गणतन्त्रको खेती” (२०६०) ।

यद्यपि यस आन्दोलनसँग सम्बद्ध सबै कविहरू सशस्त्र जनयुद्धको बाटोप्रति सहमत थिएनन् तर गणतन्त्रप्रति भने सबै एकमत थिए । कतिपय जनयुद्धप्रति र कतिपय गणतन्त्रप्रति मात्र सहमत कवि लेखकहरूको यस अगिको एउटा समूह पनि उल्लेख्य छ, सिर्जना चैत्र ३, अभियान (२०५४) । प्रजातन्त्र पुनस्र्थापनाक्रमको द्वन्द्वको चरम उत्कर्षावस्थामा २०४६ चैत्र ३ मा जसरी देशका पक्षमा नेपालका लेखकहरू संयुक्त रूपमा अगाडि बढे आज पनि त्यसरी नै अगाडि बढ्नु पर्छ भन्ने अठोटका साथ  खगेन्द्र सङ्ग्रौला, रामेश, नारायण ढकाल, विमल निभा, राजकुमार के.सी., खगेन्द्र अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइटेल आदिले लोकतान्त्रिक स्रष्टाहरूलाई एक ठाउँमा ल्याउन यो समूह गठन गरेका थिए । यो पनि लोकतान्त्रिक साहित्य सङ्घ हुँदै लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त सङ्घ दुई संस्थामा अगि बढेको देखिन्छ । 

यस्तै भारतीय हस्तक्षेपविरुद्ध माओवादी पार्टीको भातृ सङ्गठन जनसांस्कृतिक महासङ्घ र त्यसको एउटा घटक एकीकृत अखिल नेपाल लेखक सङ्घ तथा क्रान्तिकारी सांस्कृतिक सङ्घसँग सम्बद्ध संस्कृतिकर्मीहरूले भारतीय च्यानलहरू बन्द गर्ने, सार्वजनिक स्थल, यातायात, रेडियो, टेलिभिजन च्यानल, सार्वजनिक समारोह आदिमा हिन्दी गीत बजाउन बन्द गर्ने, विदेशी विज्ञापन बन्द गर्ने र राष्ट्रिय स्वाधीनताको चेतना जागृत गर्न सबै सञ्चार माध्यममा नेपाली राष्ट्र भाषामा देशभक्तिपूर्ण गीत बजाउन अनुरोध गर्ने, भारतीय विस्तारवादी र भूमण्डलीकरणको ठाडो हस्तक्षेपविरुद्ध अन्तर्राष्ट्रिय मान्यता र विधि एवम् भूपरिवेष्ठित राष्ट्रमाथि नाकाबन्दीविरुद्धको अभियान अर्थात् चेतनाको विस्तार गर्ने अभियान सुरु गरेका थिए । काठमाडौंको शान्तिबाटिकाबाट वि.सं. २०७२ मा सुरु भएको यस अभियानको राष्ट्रवादी चेतनामा पनि धेरथोर कतै न कतै माओवादी जनयुद्धको सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको विरोध र राष्ट्र र राष्ट्रियताको चेतनाको विकास तथा विस्तारको प्रभाव रहेको थियो भन्न सकिन्छ । यी मात्र होइन गैरकम्युनिष्टहरूका कतिपय संस्थागत सामाजिक, सांस्कृतिक एवम् साहित्यिक संस्था एवम् कार्यक्रम अर्थात् कार्यमा पनि जनयुद्धको प्रतिरोधी चेतनाको भूमिका थियो भन्न सकिन्छ । 

१०. निष्कर्ष 

नेपालको एक दशकव्यापी जनयुद्वले नेपाल र नेपाली समाजका सानादेखि ठुलासम्म सम्पूर्ण पाटाहरूमा प्रभाव पारेको छ । नेपालको पुरानो संरचनालाई संङ्घीयतामा लगी यसलाई धर्मनिरपेक्ष गणतान्त्रिक समावेशी समानुपातिक पद्दतिमा लैजानेदेखि यसका सामाजिक र्सांस्कृतिक प्रत्येक फाँटलाई जनयुद्धले प्रत्यक्ष प्रभावित गरेको छ । यसैअनुरूप आजका मान्छेको सोच्ने दृष्टिकोण, विश्वास, जिउने कला, अपनाउने संस्कृति, लेखिने साहित्य, गरिने समालोचनालाई सनातन प्रकृतिका सट्टा वस्तुगत ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । सोहीअनुरूप साहित्यका प्रत्येक विधामा रूपमा माक्र्सवादी चेतना र सौन्दर्य शास्त्रको प्रभाव देखिन्छ । जीवन र जगत्लाई हेर्ने दृष्टिकोण पनि सोही भौतिकवादी विश्वदृष्टिकोणअनुरूपको हुँदै गएको छ । यसको श्रेय जनयुद्वलाई छ । 


सन्दर्भ सामग्री सूची

किरण (२०६३) . संघर्षको दर्शन (दोस्रो संस्क.) . काठमाडौ स् जनदिशा प्रकाशन

गिरी, अमर (सम्पा. ः२०७२ ) . काव्य विमर्श . काठमाडौ स् नेपाल प्रज्ञा प्रतिष्ठान ।

चापागाई, निनु (२०६१) . उत्तरआधुनिकतावाद स् भ्रम र वास्तविकता . काठमाडौ स् सहस्राब्दी प्रकाशन । 

ढकाल, घनश्याम र अन्य (२०६७) . माक्र्सवादी साहित्य र जनयुद्वको सौन्दर्य .अखिल नेपाल लेखक संघ केन्द्रीय समिति ।

त्रिपाठी, सुधा (सन् २०१२) . नारी सौन्दर्य चिन्तन . काठमाडौं स् भृकुटी एकेडेमी पब्लिकेशन । 

थपलिया, खेम (२०७६) . टिप्पन समालोचना . काठमाडौ स् भुँडी पुराण प्रकाशन ।

प्रचण्ड (२०६३) . संस्कृति र सौन्दर्य चिन्तन . काठमाडौ स्

प्रधान, मनसुन (२०६३) . मातृसत्तात्मक समाजको सिद्वान्तबारे . नेपाल स् राचेल योग प्रकाशन । 

पाण्डे, ताराकान्त (२०६६) . उत्तरचेतनाको विभ्रम विरूद्व . काठमाडौ स् वाङ्मय प्रकाशन ।

सुवेदी, पुरुषोत्तम र अन्य (२०७०) . प्रज्ञा समकालिन नेपाली कविता (भाग १ र २) .काठमाडौ स् नेपाल प्रज्ञा प्रतिष्ठान

अधिकारी, तेजविलास (२०६५) . समीक्षा–सन्दर्भ . काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।

    ”        ”  (२०७०) . समय–सन्दर्भ . काठमाडौं ः त्रिशूली वाङ्मय प्रतिष्ठान ।

अधिकारी, नन्दीश (सम्पा. २०६७) . जनयुद्धका संस्मरण . काठमाडौं ः इच्छुक सांस्कृतिक प्रतिष्ठान ।

अधिकारी, बालाकृष्ण (२०७६) . नेपाली साहित्यको इतिहास लेखनका आधार . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

आहुति (२०७७) . जातवार्ता . काठमाडौं ः बेला पब्लिकेसन्स ।

किरण (२०६५) . नेपाली समाज र संस्कृति ः एक सङ्क्षिप्त अध्ययन . काठमाडौं ः विवेक सिर्जनशील प्रा.लि. ।

किरण, मोहन वैद्य (२०७६) . हिमाली दर्शन (तेस्रो संस्क.) . समी साहित्य प्रतिष्ठान ।

खनाल, हरिहर (अनु., २०७२) . माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरू . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

गिरी, अमर (२०७५) . साहित्य विमर्श . काठमाडौं ः भृकुटी पब्लिकेसन्स ।

गौतम, कृष्ण (२०५०) . आधुनिक आलोचना ः  अनेक रूप अनेक पठन . ललितपुर ः साझा प्रकाशन ।

”  (२०६४) . उत्तरआधुनिक जिज्ञासा . काठमाडौं ः भृकुटी पश्लिकेसन्स ।

”  (२०७१) . उत्तर सिद्धान्त . काठमाडौं ः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

गौतम, देवीप्रसाद (२०४९) . प्रगतिवाद ः परम्परा र मान्यता . काठमाडौं ः श्रीमती मुना गौतम ।

चापागाई, निनु (२०५१) . यथार्थवादी रचना दृष्टि र विवेचना . काठमाडौं ः ललितपुर ः मृदुल चापागाई, महिम चापागाई ।

”  (२०५४) . माक्र्सवादी चिन्तनमा सौन्दर्य . दिल बरदान, महिम चापागाई ।

चैतन्य (२०५४) . माक्र्सवादी कला दृष्टि र समीक्षा . चिन्तन प्रकाशन ।

(२०६५) . समीक्षा र सौन्दर्य . घण्टाघर ः पाठ्य सामग्री पसल ।

तेजविलास, (२०७८) . उच्छेद . भगवती अर्याल ।

थपलिया, खेम (२०७०) . कला साहित्यमा  दुई लाइन सङ्घर्ष . काठमाडौं ः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. ।

धराबासी, कृष्ण (२०६३) . तेस्रो आयाम र वैरागी काइँला . काठमाडौं ः पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर ।

प्रचण्ड (२०६३) . संस्कृति, कला र सौन्दर्य चिन्तन . काठमाडौं ः केन्द्रीय सांस्कृतिक शाखा, नेकपा (माओवादी) ।

प्रभात, विष्णु (२०७०) . साहित्यकार कलाकार परिचयकोश . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

पाण्डे, ताराकान्त (२०५३) . कला साहित्य भूमिका र मूल्याङ्कन . काठमाडौं ः चिन्तन प्रकाशन प्रा.लि. ।

” (२०५६) . प्रगतिवाद र कविता . काठमाडौं ः शीला योगी ।

” (२०६५) . अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध . काठमाडौं ः वाङ्मय प्रकाशन तथा अनुसन्धान केन्द्र ।

पूर्णविराम (२०६५) . लालीगुराँसको फेदमा ।

पोखरेल, डी.आर. (२०७४) . नेपाली उपन्यासमा गणतान्त्रिक चेत . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

पौडेल, हेमनाथ (२०६५) . प्रगतिवादी दृष्टिमा कवि र कविता . काठमाडौं ः पैरवी प्रकाशन ।

बराल, ऋषिराज (२०४९) . प्रगतिवाद . विराटनगर ः हाम्रो साहित्य सदन ।

” (२०६३) . उत्तरआधुनिकतावाद र समकालीन यथार्थ . काठमाडौं ः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।

” (२०६३) . सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद . काठमाडौं ः ऐरावती प्रकाशन ।

” (२०६४) . साहित्य र समाज . ललितपुर ः साझा प्रकाशन ।

” (२०७७) . आजको समालोचना . ललितपुर ः साझा प्रकाशन ।

भण्डारी, जदीशचन्द्र (२०५५) . प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण . काठमाडौं ः मुन्नी भण्डारी ।

भण्डारी, गणेश (२०५५) . अन्तिम विजय . सुर्खेत ः राजकुमार बी.सी. ।

भट्टराई, गोविन्दराज (२०६४) . उत्तरआधुनिक विमर्श . काठमाडौं ः ओरियन्टल पब्लिकेसन हाउस ।

” (२०६९) . समयबोध र उत्तरआधुनिकता . काठमाडौं ः ओरियन्टल पब्लिकेसन प्रा.लि. ।

भट्टराई, रमेश (२०७७) . सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ . काठमाडौं ः भुँडीपुराण प्रकाशन ।

मुकारुङ, राजन (२०७१) . फेरिदो सौन्दर्य . काठमाडौं ः फिनिक्स बुक्स ।

राई, भूपाल र अन्य (२०७०) . किराती सौन्दर्यशास्त्रको अवधारणा . नेपाल ः किरात एकेडेमी ।

शर्मा, विन्दु (२०७४) . समकालीन प्रगतिवादी नेपाली कविता . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

शर्मा, सुकुम (२०६२) . पारिजातका कविताको अध्ययन . कीर्तिपुर ः सनलाइट पब्लिकेसन ।

शर्मा, मोहनराज (२०४८) . शैलीविज्ञान . ललितपुर ः साझा प्रकाशन ।

” (२०५५) . समकालीन समालोचना सिद्धान्त र प्रयोग . काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

सिंह, मोहनविक्रम (२०७६) . साहित्य समालोचना र सौन्दर्य . काभ्रे ः जनमत प्रकाशन ।

ज्ञवाली, ईश्वरचन्द्र (२०५४) . हुरीका स्पन्दनहरू . ।


000 


(जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा २०७८ फागुन १ गते आयोजित गोष्ठीमा प्रस्तुत विचारपत्र )


No comments: