हामीकहाँ एउटा चलन छ– मान्छेको मरेपछि सम्मान गर्ने । यस्तो चलन किन चल्यो/चलाइयो, भन्न गाह्रो छ । मानिस बाँच्दासम्म परिवर्तित हुन सकेन, आफूले बनाएको इतिहास आफैंले भाँच्न सक्ने, पलायन वा जे पनि हुनसक्ने सम्भावनाका कारण यसो गरिएको हो वा यसभित्र इर्ष्या , आग्रह र द्वेषभावको मनोविज्ञानले काम गरेको छ, खुट्याउन सजिलो छैन । तर, मृत्युपछि यी सबै समाप्त हुन्छन् । दार्शनिक अन्दाज र भावपूर्ण मुद्रामा मानिसको योगदानको बखान गर्छ मानिस । सालिक ठड्याउँछ, नाममा संघसंस्था खोल्छ, अर्थ जुटाउँछ, योगदानको प्रचार–प्रसार गर्छ, पुस्तक लेख्छ, पुरस्कार थाप्छ । जीवनमा बेखबरजस्तै बनेको मानिस मृत्युपछि चर्चाको शिखरमा पुग्छ, पुर्याइन्छ । छक्कलाग्दो लाग्छ मलाई यो चलन । मानिसले आफ्नो कर्मको फल आफ्नो जीवनमै खान पाउनुपर्छ भन्ने ठान्छु म ।
विस्तारै बदलिंदैछ यो चलन । साहित्यकार, लेखक, कलाकार, वैज्ञानिक, समाजसेवी या भनुँ , जीवनमा दुःखकष्ट झेलेर समाज, राष्ट्र र सिंगो मानवताका निम्ति योगदान दिनेलाई उसकै जीवनकालमा कदर गर्ने, पुरस्कार र सम्मान प्रदान गर्ने, गाह्रोसाह्रो पर्दा भरथेग गर्ने बानी बसाल्दैछ हाम्रो समाजले तर यो परिवर्तन साह्रै तारिफ गर्ने विन्दुसम्म पुगिसकेको छ, यथार्थचाहिं त्यस्तो होइन । कुरा यत्ति हो, समाज यसो गर्न सिक्तै छ, उसको मानसिकतामा परिवर्तन आउँदैछ । जुन गतिमा यस्तो परिवर्तन भइरहेको भए पनि यो प्रशंसा गर्नलायक विषय भने पक्कै हो । भोलि यसको मात्रामा वृद्धि हुनेछ, समाज र राष्ट्रका निम्ति केही सोच्ने र गर्ने मानिसले आफूलाई असुरक्षित अनुभव गर्नपर्ने छैन । असुरक्षित जीवनको भयावह तस्बिर सम्झेर मानिस आफ्नो कर्मबाट विचलित हुनुपर्ने अवस्था आउने छैन ।
प्रसिद्ध साहित्यकार जनकप्रसाद हुमागाईंले आइतबार साँझ एउटा मार्मिक प्रसंग कोट्याउँदै भन्नुभयो– ‘साहित्यकारले बेवारिसे मृत्यु मर्न नपरोस् ।’ प्रसंग थियो कवि युद्धप्रसाद मिश्रको तर कुरा जोडिएको थियो जनक दाइसंग पनि । जनक दाइ यतिबेला बिरामी हुनुहुन्छ । काममा निरन्तर खटिरहने उहाँ अचेल घरमै आराम गरिरहनुभएको छ । घर–अस्पताल, अस्पताल–घर उहा“को दिनचर्या भएको छ अचेल । क्यान्सरले छोएको छ जनक दाइलाई । क्यान्सर कस्तो रोग हो, मैले भनिरहन पर्दैन । रोगहरूमा मायाको रोग मानिन्छ यो । तर, दह्रो मानसिकता लिएर रोगसंग जुधिरहनुभएको छ उहाँ । कोमियो थेरापी गराइरहनुभएको छ भक्तपुर अस्पतालमा ।
जीवन साहित्यलाई दिनुभयो– जनक दाइले । जनताका निम्ति साहित्य लेख्ता लेख्तै, बालबालिकाका निम्ति साहित्यिक कोसेली तयार पार्दापार्दै र साहित्यिक संघसंस्थाहरूमा रहेर काम गर्दागर्दै उहाँ बुढ्यौलीमा प्रवेश गर्नुभयो । इमानदार रहनुभयो देश र जनताप्रति, परिवर्तनप्रति र आफैंप्रति । त्यसैले जीवनमा भनेजस्तो अर्थोपार्जन गर्न सक्नुभएन, सक्ने कुरा पनि भएन । पैसा यस्तो मानिसले कमाउँदैन । पैसा कमाउन अर्कै बाटो रोज्नुपर्छ । त्यस्तो बाटो यस्तो मानिसले रोज्न सक्तैन । एउटा स–सानो घर बनाएर बस्नुभएको छ जसतसो कोटेश्वरमा । सामान्य आर्थिक स्थिति र आयस्रोत अनि क्यान्सरजस्तो रोग, मानिसको ढाड सेक्न पर्याप्त छ यो स्थिति । जनक दाइको यो स्थितिप्रति संवेदनशील भए साहित्यकार र साहित्यिक संघसंस्थाहरू । प्रगतिशील लेखक संघ, राष्ट्रिय जनसांस्कृतिक मञ्च, साहित्य सन्ध्याजस्ता साहित्यिक संस्थाहरूले उहाँलाई सहयोग पुर्याउन जम्मा गरेको रकम पुर्याउन र भेट्न एक दर्जनभन्दा बढी साहित्यकारहरू गएका थिए आइतबार साँझ उहाँ कहाँ । त्यही समूहमा थिएँ म पनि । आनन्ददेव भट्ट, राजेन्द्र सुवेदी, निनु चापागाइँ , रुद्र खरेल, जगदीशचन्द्र भण्डारी, हरिगोविन्द लुईंटेल, राम विनय, सुधा त्रिपाठी, रमेश भट्टराई, मातृका पोखे्रल, सीता शर्मालगायतका साहित्यकारहरू थिए त्यस समूहमा ।
जनक दाइलाई अरूले पनि सहयोग गरेका छन् । प्रज्ञा–प्रतिष्ठानले केही सहयोग गर्यो , बाल साहित्य समाज र साहित्य सन्ध्याले सहयोग गरे । अरू संंस्था र सहृदयीहरूले पनि सहयोग गर्नेछन् । समाज र राष्ट्रका निम्ति केही गर्नेले सहयोग पाउनुपर्छ र ठूलो छाती बनाएर हिंड्नुपर्छ । यसो गर्नु उसको योगदानको कदर, असल संस्कृतिको निर्माण र मानवताको परिचय सबै हो । बाँच र बचाऔंको संस्कृतिको जगमा नै एउटा समाज र राष्ट्र सभ्य र सुन्दर बन्दै अघि बढ्न सक्छ । समाजलाई कसैले केही दिन्छ भने उसले केही पाउनुपर्छ । पसिनाको प्राप्ति हुनुपर्छ जीवनमै । यसो गर्नुपर्छ समाजले । उसको दायित्व हो यो । जनक दाइले भनेजस्तै बेवारिसे मृत्यु मर्नु हुन्न कसैले । हामीसँग देवकोटाको पीडा छ, पीडा छ गोकुल जोशी र युद्धप्रसाद मिश्रको । धेरै मरेका छन् जीवनमा दुःख पाएर । राज्यले, समाजले र व्यक्तिले पी“ठ फर्काएका छन् उनीहरूप्रति । लाखौं रुपियाँ भोगविलासमा खर्च गर्न सक्ने व्यक्ति, लाखौं रुपियाँ फजुल खर्च गर्ने राज्य मौन बसिदिन्छन् । गोकुल जोशीले सानो पीडाले भनेका होइनन्– ‘भोकभोकै मर्न थाले कवि कलाकार, तड्पाएर नमारिदेऊ, झुन्डाएर मार ।’
जनक दाइ मात्र होइन, कुनै पनि स्रष्टा बेवारिसे मर्ने स्थिति आउन हुन्न । उसलाई समाजले, राष्ट्रले सोध्नुपर्छ, खोज्नुपर्छ । कृतघ्न समाजको भलो कहिल्यै हुन्न । त्यो ओरालो लाग्छ, क्षय हुन्छ त्यसको । विचार गर्छु, हाम्रो समाजमा बढ्दै गएको अत्यधिक स्वार्थीपना पनि एउटा कारण हो हाम्रो त्रासदीको । जनक दाइलाई सहयोग जसरी जुट्दैछ, यो खुसीको विषय हो । कुमारबहादुर जोशी, यज्ञनिधि दाहालहरूले पनि राम्रै सहयोग पाएका हुन् समाजबाट । मैले माथि भनेझैं परिवर्तन आउँदैछ सुखद विषय हो यो । अहिले कामना यत्ति छ, जनक दाइलाई हामी पुनः सक्रिए सिर्जनात्मक जीवनमा पाउँ, उहाँलाई सहयोगको कमी नहोस्, उहाँले गर्नु धेरै छ ।
बुधबार साप्ताहिक
२०६३ कार्तिक अंकबाट साभार
No comments:
Post a Comment