Wednesday, December 14, 2022

माओवादी पार्टी निर्माणमा जुटेका युवाहरूले थप अन्तरक्रिया र छलफल गर्ने

 


नेकपा माओवादी केन्द्र तेस्रो शक्ति त्यसमा पनि संसदीय अंकगणितमा निकै तल पुगेपछि युवा नेताहरू तातेका छन् । भर्खरै गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई चुनौति दिएपछि पार्टीका युवा नेताहरू झस्किएका हुन् ।

माओवादीलाई १० वर्षे जनयुद्ध गरेर आएको, अहिलेका सबै परिवर्तनका एजेन्डा ल्याएको हक दिने गरेपनि उल्टै जनताबाट खुम्चिँदै गएपछि युवा नेताहरू थप सक्रिय हुन थालेका हुन् । सोही चिन्ता र पहलकदमी स्वरूप पार्टीका युवा नेताहरूले आफूले आफैंलाई प्रश्न गरेर पार्टी निर्माणमा जुट थालेको पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले बताए ।

पार्टीका युवा नेता सापकोटासहित लेखनाथ न्यौपाने, रापदीप आचार्य, हिमाल शर्मा, डिपी ढकाल, मातृका पोखरेल लगायतका नेताहरू बसेर मन्थन गर्न थालेका हुन् । उनीहरूले पार्टीका अधिकांश युवा नेताहरूलाई जोडेर पार्टी पराजयको कारण खोज्न थालेका छन् । केही दिनअघि युवा नेताहरूको पहिलो बैठक रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको थियो ।

उनीहरूले विद्यार्थी, युवा मजदुर, पत्रकार, वकिल, कर्मचारी लगायत विविध पेसा र व्यवसायमा लागेका व्यक्तिहरूसँग छलफल गर्ने तयारी गरेका छन् । पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्तासँग बसेर पुनः निर्माणमा लाग्ने तयारी उनीहरूको छ । पार्टीभित्र समस्या आउनुमा केन्द्रलाई मात्रै दोष दिएर नहुने भन्दै उनीहरूले टुप्पोदेखि फेदसम्म रुपान्तरणको आवश्यकता भएको कुरालाई औंल्याउँदै आएका छन् ।

‘हामीले आफूले आफैंलाई प्रश्न सोध्नुपर्छ । अब कसैलाई धारे हात लगाएर हुँदैन । हामीले अहिलेसम्म के गर्यौं ? आफैंतिर प्रश्न फर्काएर उत्तर खोज्न थालेका छौं’ सापकोटाले भने– ‘हामी समग्र रुपान्तरण गर्ने नीति बनाएर जानुपर्छ । यदि रुपान्तरण गरिएन भने एक ठाउँमा जमेको पोखरी जस्तै हुने भयो ।’

कुनै गुट वा समूहको भेलाको रुपमा नभइ पार्टी निर्माणको जग बसाल्न पहल लिएको नेताहरूले बताएका छन् । ‘हामीले गुटको भेला होइन । कसैलाई नेता वा कार्यकर्ता बनाउन होइन । पार्टीको जुन पोजिसन छ । त्यसैमा बसेर चल्ने कसैको समर्थन वा विरोध गर्ने होइन । हामीले आफ्नो धारणा राख्ने, छलफल गर्ने भई रहेको छ’ सापकोटाले भने । यस्तै अर्का केन्द्रीय सदस्य मातृका पोखरेलले पार्टीको धरातल खोज्न थालेको बताए ।

‘हामी कसैका विरुद्ध वा समर्थनमा भेला गर्दैनौँ । अहिले पार्टी कहाँ र कस्तो ठाउँमा छ ? त्यसको छलफल र बहसमार्फत खोजी गर्छौ’ पोखरेलले भने, ‘पार्टीका तमाम समस्याहरू पहिल्याएपछि पुनः निर्माणमा जुट्नेछौँ । अब हामीहरूले पहल नलिएमा पार्टी बन्न सक्दैन ।’ आफूहरूले लिएको पहलले पार्टी निर्माणमा सकारात्मक दिशा लिने पोखरेलले विश्वास व्यक्त गरे ।

www.ratopati.com  बाट साभार 

No comments: