Tuesday, July 8, 2025

कमरेड वैकुण्ठ दाहालप्रती भावपूर्ण श्रद्धाञ्जली : केपी बराल

 मेरा अनन्य मित्र कमरेड वैकुण्ठ दाहालको निधन भएको खबरले म अत्यन्त दुखित भएकोछु । ने.क.पा.(चौम) बाट राजनीति सुरुगर्नुभएका कमरेड वैकुण्ठ दाहाल नेकपा (एकता केन्द्र ) उदयपुरका संथापक जिल्ला सदस्य , संयुक्त जनमोर्चा नेपालका जिल्ला सचिव हुँदै माओवादीको दस बर्षको जनयुद्धमा पनि भूमिगत परिवेशमा खुला संघर्षमा भागलिँदा प्रहरी हिरासतमा यातनाभोग्दै पटकपटक जेलनेल भोग्दै आउनुभएका दाहाल एक समय कमरेड प्रचण्डको निक्कै निकट रहेको बताउनुहुन्थ्यो । पछिल्लो चरण उहाँमा राजनीतिमा विचलन आयो र नेकपा (माओवादी केन्द्र ) सिंगो पार्टी र अध्यक्ष कमरेड प्रचण्डको विरुद्धमा लाग्नु भयो । आफू एमाले पार्टीमा आबद्ध रहेको बताउन थाल्नु भएको थियो । उहाँको स्वभाव क्रान्तिकारी त थियो तर निम्न पुँजीवादी चिन्ततन बाट अलग भने हुनसक्नु भएन । घमण्डपनको स्वभावले पनि उहाँमा राजनीतिक समस्या आएको उहाँ निकट शुभ चिन्तकहरु बताउँदथे । वि.सं. २०४३/४४ साल तिर कमरेड मातृका पोखरेलले काठमाडौबाट मलाई खबर गर्नुभयो र भन्नुभयो - 'गाइघाट गएर वैकुण्ठ दाहालसँग भेट गरी पार्टी संगठनमा आबद्ध गर्नुहोला ।' म त्यतिखेर नेकपा (चौम) उदयपुर जिल्ला समितिमा थिएँ । मैले भेट गरेर कुरागर्दा आफू मोहनबिक्रम सिंह निकट मसालमा संगठित रहेको बताउनु भएको थियो । केही घण्टाको छलफल पछि हाम्रो बीचमा ने.क.पा.चौमको कमिटीमा रहने सहमति भयो र मैले पार्टी सदस्यता फर्म भराएँ । त्यसपछि त्यो फर्म हाम्रो कमिटीबाट माथि पठाइयो । केन्द्र बाट स्वीकृत भएर आएपछि करिब तीन महिना पछि जिल्ला कमिटीको बैठक बसी उहाँलाइ उदयपुर जिल्ला कमिटीको सदस्यमा चयन गरिएको थियो । त्यसबखत पार्टी भूमिगत थियो भने देशमा पञ्चायती निरंकुश तानाशाही व्यवस्था थियो। त्यस बखतमा पनि उहाँ निडरतापूर्वक पञ्चायती व्यवस्था को खुलमखुल्ला बिरोध गर्नुहुन्थ्यो । पेसामा उहाँ कानुन व्यवसायी हुनुहुन्थ्यो । म सुरुदेखिनै आरोह -अवरोहमा राजनीतिक सहकार्यमा जोडिएकोले उहाँको निधनले म अति स्तब्ध भएको छु । उहाँको कमजोरीलाई म भन्ने पनि गर्थें - उहाँ पैसालाई निकट मान्ने म त्यस्को बिरोध गर्ने । उहाँले मेरो बासस्थान भएको गाउँ कटारी एक कालीखोला गाउँमा धेरै साल अगाडिदेखि बसोबास गर्दै आएका जनताको विरुद्धमा केही सिदासादा मानिसलाई उच्क्याएर झुठो मुद्दा चलाएपछि भने मेरो र उहाँको सम्बन्ध बिग्रन गयो । उहाँ पार्टी छाड्ने ठाउँसम्म पुग्नुभयो । सो मुद्दा पछि बरिस्ठ अधिवक्ता शम्भु थापाले हेरि दिनुभयो र जग्गा जोतभोग गर्ने पक्षको जित भयो । यो केशमा मुद्दा दिने पक्ष पनि आर्थिक रुपमा बिग्रन पुगे भने जग्गा भोग्ने व्यक्ति आर्थिक घाटा सहित दुःख पाए । यसैबाट उहाँमा निम्न पुँजीवादी चिन्तन क्रान्तिकारी बिचार बाट बिचलन आएको पुष्टि हुनगयो ।

वैकुण्ठ दाहाल
जेहोस सबै मानिसमा गुण अवगुण राम्रो नराम्रो हामी सबैमा हुन्छ । कमजोरी लाई आत्मालोचना गर्नसक्नु र त्यसबाट शिक्षा लिएर रुपान्तरण हुँदै सच्चिन सक्नु मुख्य कुरा हो । कमरेड वैकुण्ठ दाहाल मेरो अनन्य मित्र हुनुहुन्थ्यो । हिजो निरंकुशताका कालाबादलसित पौठेजोरी खेल्दै आमूल परिवर्तनको पहरेदार भएर पुलिस सेनाको कष्टडी मा रहेर सामन्ती राजतन्त्रको विरुद्धमा लागेर भोगेको यातनाका कारण नै आज उहाँको निधन हुन पुग्यो भन्ने मेरो अनुमान छ । यो दुःखको घडीमा केपी बरालले आलोचना सहित किन लेख्यो भनेर मेरो टिप्पणी पनि होला । सच्चा मित्र त्यो हो जसले राम्रो नराम्रो दुवै कुरा औंल्याउँदछ र आत्मीय मित्रभावले सहयोग गर्छ । भारतका एक विद्वान राहुल सांस्कृतियान ले लेखेको किताब अध्ययन गरेर थुप्रै व्यक्ति कम्युनिस्ट बने तर उहाँका केही कमजोर पक्षले गर्दा उहाँ जिवित रहुन्जेल कम्युनिस्ट पार्टीको सदस्यता पाउनु भएन । उहाँको निधनपछिमात्र भारतीय कम्युनिस्ट पार्टी ले सम्मान गर्दै पार्टी सदस्यता दिएको थियो । तसर्थ मनिसको राम्रो नराम्रो दुवैपक्षको मूल्याङ्कन हुन जरुरी छ । कमरेड वैकुण्ठ दहालले परिवर्तनको पक्षमा गर्नुभएको योगदान सधैं स्मरणीय रहनेछ । यो देसले बिर्सने छैन । उहाँको निधनले यो मुलुकलाई घाटा भएको छ । म अति दुःखित भएकोछु । कमरेड वैकुण्ठ दाहालप्रती भावपूर्ण श्रद्धाञ्जली !

000

No comments: