Sunday, September 26, 2021

तराई कथामा उपन्यास


काठमाडौ, जेष्ठ ८ – दोस्रो जनआन्दोलनको केही वर्षपछि तराई पनि तात्यो । धनजनको क्षति भयो । योसँगै तराईका अनेकौं मुद्दाहरु सतहमा आए । यस्तो अवस्था बन्यो कि, जीवनका स-साना पक्ष पनि जटिल बन्दै गए । प्रेम, सद्भाव र सहकार्य टुट्न थाल्यो । रंगकर्मी रमेशरञ्जन झाले यिनै पक्षहरु समेटेर तीन वर्षअघि मैथिली भाषामा नाटक लेखे- ‘सङोर’ । यही उपन्यासको नेपाली संस्करण ‘उमस’ बुधबार सार्वजनिक गरियो । ‘उमस’ भनेको गर्मीपछि उत्पन्न हुने अन्तरताप या छटपटी हो,’ किताब लोकार्पण समारोहमा रमेशले भने, ‘तराई आन्दोलनको पृष्ठभूमि, यसपछि उत्पन्न अन्तरताप र छटपटी समेटेर उपन्यास लेखेको हुँ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा किताब लोकार्पण गरेका हुन् । अध्यक्ष दाहालले ‘रमेशरञ्जन नाटक लेखन, मञ्चन, निर्देशनदेखि कविसम्मको छवि बनाएका बहुआयमिक व्यक्तित्व रहेको उल्लेख गर्दै जनयुद्धपछिको मिथिला समाजलाई जीवन्त रूपमा किताब उतारिएको’ दाबी गरे । उनले सशस्त्र युद्धपछि समाजमा त्यसको विकृत पक्षको रूपमा थुप्रै स-साना सशस्त्र समूहहरु निर्माण हुने र तिनले समस्या उब्जाउने बताउँदै उपन्यासमा त्यस्ता विषयलाई पनि उठाइएकोमा रमेशले धन्यवाद दिए । उपन्यासमाथि निनु चापागाईं, रामचन्द्र झा, मात्रिका पाखेरेल, रमेश भट्टराई, बलराम तिमिल्सिना लगायतले टिप्पणी गरे । ‘मिथिला क्षेत्रको राजनीतिक सामाजिक पक्षको गम्भीर कलात्मक प्रस्तुति उपन्यासमा पाएँ,’ रामचन्द्रले भने । निनुले चाहिँ ‘मधेस मुद्दामा धेरै लेखकले कलम चलाएको भए पनि त्यही समाजलाई मिहीन ढंगले बुझेको आधिकारिक साहित्यको रूपमा रमेशको उपन्यास रहेको’ दाबी गरे ।



www.ekantipur.com बाट साभार
प्रकाशित मिति: २०७१ जेष्ठ ८




No comments: