अर्थात् यो पैंतिस वर्ष अघितिरको कुरा हो ।
अर्थात् यो पैंतिस वर्षअघि तिरको कुरा हो ।
पुरानो घटना भए पनि हिजो जस्तै लाग्छ । यो घटना फेरि पनि सम्झनुको एउटा कारण छ । हिजो मात्र शर्मा अङ्कलको सेकुवा कर्नरमा बसेर बुद्धिकृष्ण काका सडकतिर हेरिरहनुभएको देखेँ मैले । मलाई हतार भएकोले उहाँसँग भेटघाट गरेर सन्चोबिसन्चो सोध्न पाइनँ । सेकुवा कर्नरमा बुद्धिरत्न काकालाई देखेपछि मलाई ती पुराना दिनका यादहरू फेरि बल्झिए ।
त्यसवेला बुवाले लेखिदिनु भएको एउटा चिट्ठी बोकेर काठमाडौं गएको थिएँ म । मैले बुवाले नचाहँदा नचाहँदै पनि कलेज पढ्ने निधो गरेको थिएँ ।
काठमाडौं आएको एक महीना नाघिसकेको थियो । काडमाडौं पुग्ने बित्तिकै ‘यो चिट्ठी लगेर बुद्धिकृष्णलाई दिनू’ भन्ने बुवाको निर्देशन थियो । तर उहाँकहाँ पुग्न मलाई एक महीना लाग्यो । काठमाडौं पुग्ने बित्तिकै कलेजमा भर्ना हुने काम, डेराको खोजी गर्दागर्दै एक महीना त्यसै बित्यो मेरो ।
संयोग भनौं वा के भनौं म पढेको विद्यालयबाट म मात्र एसएलसीमा पास भएँ त्यसवेला । पच्चिस जनाले परीक्षा दिएका थियौं । मेरो घरको आर्थिक अवस्था खर्च खेपेर कलेजमा पढ्न पठाउन सक्ने खालको थिएन । गाउँ नजिकैको विद्यालयमा यतिसम्म पढाउन बुवाले गरेका सङ्घर्षका कथा मैले राम्ररी बुझेको छु । एसएलसी पास गरेको समाचार सुनेपछि बुवा योजना बनाउन थाल्नुभएको थियो, ‘गाउँका स्कूलहरूमा मास्टर बनाउने ।’ त्यसपछि अभावका दिनहरू टाढा भाग्छन् भन्ने बुवाको विश्वास थियो ।
घर छाडेर बाहिर नपठाउन मलाई निकै कोशिश गर्नुभएको थियो बुवाले ।
विद्यालयबाट एसएलसी पास गरेको एक्लो विद्यार्थी भएको र शिक्षक, साथीभाइको उक्साहटले मलाई पनि नजानिँदो एउटा महत्वाकाङ्क्षा जाग्यो ।
मेरो नियमित ढिपीका कारणले पनि बुवा आइए पढ्न काठमाडौं पठाउन तयार हुनुभयो । तर, जागीर खाएर पढ्ने शर्तमा ।
इच्छा नभईनभई केही खर्चसहित काठमाडौं पठाउनुभएको बुवाले हिंड्ने वेलामा मलाई दोहोर्याई दोहोर्याई भन्नुभएको थियो, ‘पुगेपछि बुद्धिकृष्ण काकालाई भेट्नू, पक्कै जागीर खोजिदिन्छन् ।’
बुवालाई बुद्धिकृष्ण काकाप्रति ठूलो भरोसा थियो ।
० ० ०
रात्रीबसबाट काठमाडौंको रत्नपार्क बसपार्कमा उत्रिएको बिहानै म सोध्दैखोज्दै बौद्ध पुगेको थिएँ अस्थायी आश्रयका लागि । बौद्धमा मेरा गाउँका थुप्रै साथीहरू गलैंचा कारखानामा काम गर्थे । मेरो घरसँगैको साथी पनि बौद्धको गलैंचा कारखानामा काम गर्थ्यो । उसको कारखाना पत्ता लगाउन मलाई साह्रै गाह्रो भयो । बल्लबल्ल एउटा कारखानाका एकजना साथीले बल्ल पत्तो लगाइदिए । दुईचार दिन मैले कारखानाभित्र उसैसँग बिताएँ ।
रत्नराज्य क्याम्पसमा भर्ना हुन गएकै दिन जाजरकोट तिरका एकजना साथीसँग भेट भयो । उनी पनि म जस्तै डेराको खोजीमा रहेछन् । ऊसँगै मिलेर मैले पनि घट्टेकुलोको एउटा गल्लीमा डेराको प्रबन्ध गरें ।
चिट्ठीको बाहिरपट्टि बुवाले बुद्धिकृष्ण काकाको फोन नम्बर पनि लेखिदिनु भएको थियो । ‘काठमाण्डु पुग्ने बित्तिकै बुद्धिकृष्ण काकालाई फोन गर्नू ! डेरा पनि उनैले खोजिदिन्छन् । जाने बित्तिकै जागीर पनि खानुपर्छ । जागीर पनि खोजिदिन्छन् । यहाँबाट खर्च खेपेर शहरमा पढ्न सकिंदैन !’ बुवाले चिट्ठी मेरा हातमा दिंदा भन्नुभएको कुरा खूबै सम्झिएको थिएँ मैले ।
कलेजमा पढाइ पनि शुरू हुन थालिसकेको थियो । डेरा पनि लिइसकेको थिएँ । घरबाट ल्याएको खर्चले बनाएको बजेट अनुमान पूरै फेल खाइसकेको थियो । करीब डेढ-दुई महीनासम्म मात्र पुग्थ्यो बाँकी पैसाले । घरबाट फेरि सहयोग आउने अवस्था थिएन । आखिर मलाई काठमाडौं पठाउने खर्चको व्यवस्था गर्न बुवाले धेरै आफन्तहरूसँग गुहार माग्नुपरेको घटनाको म राम्रै साक्षी थिएँ । अब मेरो सहारा बुवाको एउटा चिट्ठी थियो । मैले बुद्धिकृष्ण काकालाई भेट्न जाने सोचाइ बनाएँ ।
चिट्ठीको बाहिर लेखिएको नम्बरमा फोन गरें । बुद्धिकृष्ण काकाले नै फोन उठाउनुभयो । उहाँको घर कोटेश्वरमा रहेछ । बुद्धिकृष्ण काकालाई सानोमा दुई पटक मात्र देखेको झझल्को छ मलाई । गाउँमा जाँदा उहाँको रबाफ नै बेग्लै हुन्थ्यो । नेपालका प्रधानमन्त्री, मन्त्रीहरू, न्यायाधीशहरू सबै आफ्ना साथी भएको बताउनुहुन्थ्यो उहाँ । उहाँका कुरा मेरा पिताजी सहित तल्लाघरे ठूलोबुवा, मताने भिनाजु, खाल्लेपानीका फुपाजु लगायत गाउँका सबै जना ट्वाल्ल परेर सुनिरहेको याद छ मलाई । उहाँ गाउँमा बसुन्जेल गाउँका मानिसहरू उहाँका निम्ति कुनै न कुनै सेवामा जुटिरहन्थे ।
बुद्धिकृष्ण काका बसुन्जेल गाउँमा एक किसिमको पर्व आएझैं हुन्थ्यो । बेलुकापख मताने भिनाजुको घरको आँगनमा सानोतिनो बजार लागे जस्तै हुन्थ्यो । आगो ताप्ने निहुँमा गाउँका धेरै मान्छे आउँथे । आगो ताप्न त निहुँ मात्र हुन्थ्यो, बुद्धिकृष्ण काकाका कुरा सुन्ने उद्देश्यले आउँथे । आगो ताप्दै गर्दा प्रसङ्गवश कुनै प्रधानमन्त्री र मन्त्रीहरूको कुरा उठिहाल्यो भने उहाँ उनीहरूको वंशावली मात्र सुनाउनु हुन्नथ्यो । प्रधानमन्त्री होस् वा मन्त्रीसँग आफूले गरेका सहकार्य र खानेपिनेका सम्पूर्ण वृत्तान्त सुनाउनु हुन्थ्यो । उहाँले सुनाएका वृत्तान्त सही वा गलत जे हुन्थ्यो, गाउँका सिधासाधा मानिसहरू उहाँको कुराप्रति अविश्वास गर्दैनथे ।
टेलिफोनमा मैले आफ्नो परिचय दिएपछि काकाले पुतलीसडकस्थित शर्मा अङ्कलको सेकुवा कर्नरमा भेट्न बोलाउनु भयो । उहाँले दिनुभएको समयमै शर्मा अङ्कलको सेकुवा कर्नरमा पुगेँ ।
शर्मा अङ्कलको सेकुवा कर्नरमा म पुग्दा काका पुगिसक्नु भएको थिएन । सेकुवा कर्नरमा काम गर्ने एकजना कामदार भाइले बुद्धिकृष्ण काका आएर बस्ने विशेष कोठामा पुर्याइदिए । एकछिन पछि काका केही मानिसहरूका साथ आउनुभयो । भेट्ने बित्तिकै काकाले मेरो अनुहारतिर हेरेर सानोतिनो अन्तर्वार्ता जस्तो लिनुभयो ।
गाउँतिरको हालखबर के छ ?
घरबाट कहिले आइस् ?
कहाँ बस्छस् ?
कहाँ पढ्छस् ?
कतिमा पढ्छस् ?
आदि इत्यादि ……..
मैले सानैमा देखेको उहाँको हुलिया यतिका वर्ष पछि पनि उस्तै रहेछ ।
म बसेको टेबुलमा पनि सेकुवा लगायत का परिकार आइपुग्यो । परिकारहरू देख्ने बित्तिकै मलाई डर लाग्यो । ‘यसको पैसा मैले तिर्नु पर्यो भने’ एकछिन अकमकाउँदै थिएँ । काका आफ्ना अघिल्तिर आएका प्लेटतिर ध्यान नदिईकन आफूसँग आएका मानिसहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो । काकाले मतिर हेरेर खान सङ्केत गर्नुभयो ।
पञ्चायत विरोधी आन्दोलनको हुङ्कार कलेजहरूमा मात्र होइन बाहिर शहरका सडकमा फैलिन थालिसकेको थियो । म पनि साथीहरूको सङ्गतले केही दिनअघि मात्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कार्यक्रमहरूमा सहभागी हुन थालेको थिएँ । मसँगै कोठामा बस्ने साथीले मलाई सदस्य पनि बनाइसकेको थियो । कलेजबाहिर तिरका जुलूसमा पनि साथीहरूसँग हिंड्न थालिसकेको थिएँ ।
‘हिजोआज कलेजमा अराष्ट्रिय तत्वको बिगबिगी छ । तँलाई पनि त्यसैको जालोमा पार्लान्, जोगिनुपर्छ । अहिलेका पढ्ने धेरैजसो विद्यार्थीहरू बिग्रिसकेका हुन्छन् । पढ्नु भन्दा राजनीति गर्न थाल्छन् । तँलाई पनि त्यही हूलमूलमा राजनीतितिर लाउलान् नि ! अराष्ट्रिय तत्त्वसँग घुलमिल नगर्नू ! अहिले व्यवस्था विरोधीहरू खुबै चलमलाउन थालेका छन् । यो देश राजाको हो । यहाँ अरू कसैको केही लाग्दैन ।’ काकाले बग्दै नाकको डाँडीसम्म आइसकेको चश्मा फेरि माथितिर सार्दै भन्नुभयो, ‘यो गणेशमान सिंह, पुष्पलाल भन्ने नेवारहरू, मोहनविक्रम सिंह भन्ने एउटा घर्ती छ अरे, निर्मल लामा भन्ने अर्को भोटे पनि छ अरे ! यिनीहरूले सोझासाझा जनता र विद्यार्थीलाई भड्काएर राजाको व्यवस्थामाथि आक्रमण गर्ने कोशिश गर्दैछन् ।’
पञ्चायत जोगाउन काकाले राम्रै ठेक्का पाएझैं गरेर मलाई उपदेश दिनुभयो ।
कुनै प्रतिक्रिया नदिईकन मैले काकाको कुरा सुनिरहें ।
मैले अखिलको सदस्यता लिएको कुरा काकाले थाहा पाउनुभयो भने जागीर नपाइएला भन्ने डर लागिरहेको थियो । अब काठमाडौं बसेर पढ्नसक्ने आधार भनेको मेरो लागि बुद्धिकृष्ण काका मात्र हुनुहुन्थ्यो ।
‘काकाले जागीर खोजिदिनु भयो भने मात्र म आफ्नो पढाइ अघि बढाउन सक्छु ।’ बुवाले पठाउनुभएको चिट्ठी दिएपछि आफ्नो बाध्यता उहाँसँग राखें ।
एकजना मानिस काकासँग केही साउती गर्दै थियो । एक छिनपछि काकाले त्यस मान्छेलाई मलाई देखाउँदै भन्नुभयो, ‘यो मेरो भतिज हो । जागीर खान्छु भन्छ । केही दिनपछि तपाईंहरूकैमा पठाइदिन्छु ।’
‘भइहाल्छ नि’ उसले पनि सजिलो कुरा गर्यो ।
ऊ बिदा भएर निस्कियो । ऊ निस्किए पछि उनको परिचय दिंदै काकाले भन्नुभयो, ‘उनी चाहिं गृहमन्त्रीका सल्लाहकार हुन् । तेरो जागीरका लागि मैले उनैलाई भनेको छु ।’
त्यसपछि काकालाई भेट्न टाईसुट लगाएका, ब्रिफकेश बोकेका मानिसहरू आइरहे । उनीहरू काकासँग केही गोप्य जस्तो कुरा गर्थे । अनि तुरुन्त फर्किन्थे ।
‘ल, अर्को दिन फेरि आउनू ! म तेरो जागीरका लागि भन्दै गर्छु । मलाई सम्झाउँदै गर्नू !’
काकालाई भेट्न अरू मानिस पनि आउन थाले । काका मलाई बिदा गरेर फेरि अरू मानिसहरूसँग कुरा गर्न थाल्नुभयो ।
बुद्धिरत्न काका राजनीतिलाई पनि घृणा गर्ने मान्छे हुनुहुँदो रहेछ । मलाई भने राजनीतिको आकर्षण बढ्दै थियो । विद्यार्थी राजनीतिको म राम्रै कार्यकर्ता बनिसकेको थिएँ । उहाँको कुरा सुनेपछि मलाई उहाँसँग गएर जागीरका लागि हारगुहार नगरौं जस्तो नलागेको होइन । तर आफ्नो बाध्यता बेग्लै थियो । अभावको शिखर क्रमशः अग्लो हुँदै थियो । अब केही काम नखोज्ने हो भने मलाई काठमाडौं जस्तो मेरा लागि विरानो ठाउँमा निर्मित अभावको त्यो शिखर चढ्न सम्भवै थिएन । त्यसैले पनि कलेजका साथीहरूसँग कतैतिर ट्युशन वा अरू काम खोजिदिन आग्रह पनि सँगसँगै गरिरहेको थिएँ ।
० ० ०
जनआन्दोलनको उत्कर्षका कारण बुद्धिकृष्ण काकालाई भेट्ने कार्यक्रम त्यसै टाढियो । दैनिक जसो जुलूस, नेपाल बन्द, कर्फ्यु आदिका कारण लामो समय भेट्ने अनुकूल भएन । पञ्चायत ढलेपछि मलाई एक मनले लागिरह्यो बुद्धिकृष्ण काकाको शक्ति पनि अब त धेरै कमजोर भएको हुनुपर्छ । उहाँको शक्ति पञ्चायती व्यवस्थाको जगमा निर्मित भएको मैले ठानेको थिएँ ।
साथीहरूलाई धेरै हारगुहार गरेपछि ट्युशन पढाउने काम भेट्टाएँ । तर त्यसले गुजारा चलाउन निकै हम्मे परिरहेको थियो ।
जागीरको आशाले त होइन, तर केही दिनपछि बुद्धिकृष्ण काकाको हालचाल बुझ्न मन लाग्यो ।
काकालाई फोन गरेँ । पहिलेकै जस्तै उहाँले मलाई भोलिपल्ट बेलुका पाँच बजे पुतलीसडकस्थित उही शर्मा अङ्कलको सेकुवा कर्नरमै बोलाउनुभयो ।
म सेकुवा कर्नरमा पुग्दा काका आइसक्नु भएको थियो । म सिधै काका बस्ने गरेको कोठातिरै गएँ । उहाँलाई भेट्न आउने मानिसहरू उत्तिकै थिए । भेट्दै-जाँदै गर्दै थिए ।
राजनीतिक परिवर्तनका कारण बुद्धिकृष्ण काकाको बारेमा मैले गरेको अनुमान पूरै गलत निस्क्यो । आएका मानिसहरूलाई काका सुनाउँदै हुनुहुन्थ्यो, ‘गृह मन्त्रीज्यूले सल्लाहकारको जिम्मेवारी लिइदिन कर गर्दै हुनुहुन्थ्यो । मैले केही दिन सोचेर मात्र उत्तर दिने कुरा गरेको छु ।’
उहाँको कुरा सुनेर म छक्क परेँ । अस्तिसम्म काका काँग्रेस, कम्युनिष्टको ठूलो विरोधी हुनुहुन्थ्यो तर आज काँग्रेसको महत्त्वपूर्ण मन्त्रालयको सल्लाहकार ! यस्तो कसरी हुन्छ ?
काकाले पहिले गाउँमा गएर मेरा बुवा , फुपाजुहरूलाई सुनाएझैं यहाँ पनि भेट्न आएका मान्छेलाई बुद्धिरत्न काका सुनाउँदै हुनुहुन्थ्यो, ‘साथीहरूसँग सल्लाह गरेर मात्र म आफ्नो बारेमा निर्णय गर्छु ।’
‘कलेजमा कम्युनिष्टहरूले जालमा पार्लान् नि ! गाउँबाट आएका सोझा विद्यार्थीहरूलाई उनीहरूले धेरैलाई जालोमा पारेका छन् ।’
कोठामा अरू मानिस नभएको वेलामा बुद्धिरत्न काका एकोहोरो मलाई अर्ति उपदेश दिइरहनुहुन्थ्यो । पहिले भेट्दाजस्तो अराष्ट्रिय तत्व भनेर गाली गर्न छाड्नुभएछ । वेलावेलामा आउने उहाँको त्यो शब्द यसपटक एकपटक पनि प्रयोग भएन ।
बाहिरबाट सेकुवा कर्नरको स्टाफ हस्याङफस्याङ गर्दै हामी बसेको कोठाको ढोका खोल्यो र काकालाई भन्यो, ‘हजुरलाई गृहमन्त्रीज्यूको क्वाटरबाट फोन आएको छ ।’
काका अत्यन्तै हतारोमा फोन रिसिभ गर्न दौडिनु भयो । त्यसपछि उहाँ तुरुन्तै कोठामा आउनुभयो र हामीहरूसँग भन्नुभयो, ‘मलाई गृहमन्त्रीले भेट्न बोलाउनुभयो । म अहिले जान्छु ।’
‘भोलि बिहान मलाई फोन गर्नु है ।’ हिंड्दै गर्दा उहाँले मलाई भन्नुभयो । सेकुवा कर्नरको स्टाफलाई ट्याक्सीको व्यवस्था गर्न अह्राउँदै उहाँलाई भेट्न आएका अरूलाई पनि पछि भेटौंला भन्दै काका हतारो भाव प्रदर्शन गर्दै निस्कनुभयो ।
काकालाई भेटेर फर्कंदा बाटोमा आफैँभित्र मलाई खुल्दुली भइरह्यो । मभित्र केही प्रश्नहरू खेलिरहे ।
‘बुद्धिकृष्ण काकाको वास्तविकता चाहिं के हो ? पञ्च हो भनौं भने पञ्चायतलाई फाल्ने काँग्रेसको महत्वपूर्ण मानिस कसरी बन्नुभयो ?’ बाटाभरी यस्तैयस्तै प्रश्नहरूले घेरिंदै म कोठा पुगेँ ।
०००
‘मलाई आज फुर्सद छैन । गृह मन्त्रालयमा भोलि एघार बजेतिर भेट्न आउनू !’ बुद्धिकृष्ण काकाको स्वर सदाको भन्दा रवाफिलो लाग्दथ्यो ।
मैले हुन्छ भन्न नपाउँदै काकाले फोन राखिसक्नु भएको थियो ।
काकाले दिनुभएको समयमै म गृह मन्त्रालय पुगें । मानिसहरूको भीडको त कुरै नगरौं । हाटबजार जस्तो । टाढैबाट काकालाई अभिवादन गरेँ ।
‘अफिस समयपछि उतै आउनू’ देख्ने बित्तिकै मलाई भन्नुभयो काकाले ।
‘धेरै गाह्रो गरी मैले तपाईंहरूको काम गरिदिएँ । मेरो जीवनमै तपाईंहरूको काम गर्नजस्तो सकस कहिल्यै भएको थिएन ।’ म शर्मा अङ्कलको सेकुवा कर्नर पुग्दा काकालाई भेट्न आएका चार जना मानिसहरूसँग उहाँ भन्दै हुनुहुन्थ्यो ।
म प्रति शङ्काको दृष्टिले हुनसक्छ । चारै जनाले काकालाई कानेखुसी गर्दै तानेर अर्को खाली कोठातिर लान खोज्दै थिए ।
‘यो मेरो आफ्नै भतिजो हो । यसका अघिल्तिर कुरा गर्दा कुनै अप्ठ्यारो हुँदैन ।’ काकाले मतिर हेर्दै उनीहरूलाई भन्नुभयो ।
‘हजुरले हाम्रो धेरै ठूलो काम गरिदिनु भयो ।’ उनीहरू पनि काकासँग अनुगृहीत भएर कुरा गर्दै थिए ।
‘विधि नबनाईकन कसैको सरुवा नगर्ने सरकारको नीति थियो । मैले मन्त्रीज्यूलाई धेरै अनुरोध गरेर तपाईंहरूको सरुवा मिलाइदिएको छु । मन्त्रीज्यू एकदमै नयाँ हुनुहुन्छ । उहाँलाई खुशी पार्न कोसेलीपातको राम्रो व्यवस्था गर्नु पर्यो नि !’ बग्दै नाकको डाँडीनेर आइसकेको चश्मालाई माथि सार्दै काकाले भन्नुभयो ।
एकै छिनपछि सेकुवा लगायतका पारिकारहरू हाम्रो टेबुलहरूमा आउन थाले ।
० ० ०
म कलेज पढ्दै लोकसेवाको तयारी पनि गर्दै थिएँ । केही समयपछि मेरो नाम पनि निस्कियो । त्यसपछि बुद्धिकृष्ण काकासँग मेरो भेट पातलो हुनथाल्यो । मेरो गाउँ, आफन्त र मेरो परिवारलाई बुद्धिकृष्ण काकाको शक्तिसँग उत्तिकै विश्वास थियो । कहिलेकाहीँ बाटो पर्दा उहाँलाई भेट्न जान्थेँ ।
बुद्धिकृष्ण काका शर्मा अङ्कलको सेकुवा कर्नरभित्रको एउटा कोठामा बसेर पुतलीसडकको बाटो हुँदै ओहोरदोहोर गर्ने धेरै राजनेता र प्रशासकहरूको चियोचर्चो नियमित गर्नुहुन्छ । त्यति मात्र होइन पुतलीसडक चोक हुँदै चारैतिरबाट गुज्रने जुलूसहरूको पनि विश्लेषण गर्नुहुन्छ । खासैमा भन्ने हो भने बुद्धिकृष्ण काका जुनसुकै नाराजुलूसको पूरै विरोधी हुनुहुन्छ । बुद्धिकृष्ण काका जुनसुकै नाराको पनि विरोधी हुनुहुन्छ ।
अचेल बुद्धिकृष्ण काका बुढो भइसक्नुभयो । बुढ्यौली लाग्दै गएपछि दाँतका कारणले ठोस कुरा खान पनि गाह्रो हुन थाल्यो । केही समयदेखि उहाँका अघिल्तिरका दाँतहरू हल्लिएपछि अहिले नयाँ दाँत राख्नुभएको छ । सेकुवा चपाउन गाह्रो हुन थालेपछि शर्मा अङ्कलको सेकुवा कर्नरले उहाँलाई गाह्रो नपर्ने कबाफको व्यवस्था गरिदिएको छ ।
शर्मा अङ्कलको सेकुवा कर्नरमा बुद्धिकृष्ण काकालाई भेट्न आउने मानिसको भीड अझैसम्म पनि घटेको छैन । बुद्धिकृष्ण काका हाकाहाकी सबैसँग उसैगरी भन्नुहुन्छ, ‘सिंहदरबारसँग कसरी सम्बन्ध राख्नुपर्छ मलाई राम्ररी थाहा छ ।’
धेरैपछि हिजो मात्र शर्मा अङ्कलको सेकुवा कर्नरमा बसेर बुद्धिकृष्ण काका सडकतिर उसैगरी हेरिरहनुभएको देखेँ मैले । शर्मा अङ्कलको सेकुवा कर्नरबाट पोलेको सेकुवाको वासनाले सडकमा हिंड्ने राजनेता, प्रशासक र सर्वसाधारण मानिसहरूको नाकलाई पहिले जस्तै उसैगरी स्पर्श गरिरहेको थियो ।
000
२०८१ पुष ९ गते प्रकाशित
No comments:
Post a Comment