अखिल नेपाल लेखक सङ्घको आयोजनामा २०८० जेठ ६ गते बातलाबाको २९ औं शृङ्खला अन्तर्गत भ्रष्टाचार विरूद्ध सिर्जना प्रस्तुति अन्तर्गत कविता वाचन कार्यक्रम ।
टोपबहादुर रायमाझीको मुस्कान
- मातृका पोखरेल
विचार प्रति आस्था थियो
त्यसैगरी आस्था पलायो मानिसहरूको आदर्शप्रति
प्रतिबद्धताप्रति पनि
प्रेम, सद्भावप्रति पनि
मानिसहरूको खुसीप्रति
निश्चल मुस्कानप्रति
सबैसबै प्रति आस्था थियो ।
टेलिभिजनका पर्दाहरूमा
समाचारपत्रका रङ्गिन पानाहरूमा
टोपबहादुर रायमाझीको मिठो मुस्कान हेरेपछि
सबैभन्दा ठुलो कुरो
मुस्कानप्रति
मेरो विश्वास
गर्ल्यामगुर्लुम्मै ढलेकै हो ।
अहँ फेरि विश्वास लागेन
आँखा मिचेर हेरेँ
निर्धक्क मुस्कुराइरहेका थिए ऊनी
सायद उनले देशको वर्तमान बुझेकै थिए
शासन बुझेकै थिए
सत्ता बुझेकै थिए
हाम्रो न्यायप्रणाली बुझेकै थिए
टोपबहादुर रायमाझीको मिठो मुस्कान हेरेपछि
मलाई अचेलभरी मुस्कानसँग पनि
विश्वास लाग्न छाडेको छ ।
प्रेमिल मुस्कानहरू हेरेर
दुख बिर्सिएका कथाहरू थिए ,
विदेशिएको छोरालाई धेरै वर्षपछि
घरमा स्वागत गर्दा आउने आमाको मुस्कान हेरेर
मैले पनि थुप्रै आस्थाहरू उमारेको थिएँ
अनगिन्ती थिए मुस्कानका कथाहरू
त्यसदिनबाट सबैसबै हराए ।
मुस्कान प्रेम पनि हो
मुस्कान आत्मविश्वास पनि हो
मुस्कान दृढता पनि हो
तर जब टेलिभिजनका पर्दाहरूमा
समाचारपत्रका पानाहरूमा
न्यायिक हिरासतको भूगोलबाट
टोपबहादुरको मुस्कान आत्मविश्वासका साथ प्रकट भयो
मलाई त्यसपछाडि मुस्कानसँग पनि
विश्वास टुट्न थाल्यो ।
मुस्कान धोका पनि हुन सक्दोरहेछ
मुस्कान विश्वासघात पनि हुन सक्दोरहेछ
मुस्कान कहिलेकाहीँ अपराधको घोडा चढेर हाम्रो समाजमा सवार हुँदो रहेछ
म अचेलभरी बाटोमा भेटिने
आफन्तजन, साथीहरूका मुस्कान
सँग पनि खुबै त्रसित हुन थालेको छु ।
000



































No comments:
Post a Comment