Thursday, July 29, 2021

मित्रताको आकाशमा विचरण गर्दा : डा. पुष्करराज भट्ट

 समालोचना


१. आरम्भ

मातृका पोखरेल (२०२३) प्रगतिवादी नेपाली कविता लेखनका क्षेत्रमा सुपरिचित हस्ताक्षर हुन् । यिनले वि.स. २०४४ सालमा समीक्षा साप्ताहिकमा सूर्य उदाउ अब कविता प्रकाशनसँगै आफ्नो कविता लेखनको प्रारम्भ गरेका हुन् । स्रष्टा मातृका पोखरेलका हालसम्म सेतो दरबारको छेउबाट (२०५६), यात्राको एक दृश्य (२०६०), अनुहारहरू (२०६४) एवम् मित्रताको आकाश (२०७६) गरेर चार कृति प्रकाशित छन् । मित्रताको आकाश कृति पोखरेलको पछिल्लो कविता कृति हो । यस कृतिमा वि.स. २०६४ पछिको नेपाली समाजलाई विभिन्न कोणबाट हेर्ने कार्य गरिएको छ । यस कृतिमा रहेका रचनामा रचना प्रकाशित पत्रिका, वर्ष, अंक समेत उल्लेख गरिएकोले रचना प्रकाशनको समय र सो समयमा लेखकको जीवनजगतप्रतिको दृष्टिकोणलाई चिन्न मद्दत पुगेको छ । कतिपय अनलाइनमा प्रकाशित रचनामा अनलाइनको मात्र नाम रहनुले सो रचना प्रकाशन समय थाहा पाउन नसकेपनि सामान्यतया वि.स. २०६२–०६३ पछिको नेपाली समाज नै यी कविताको लेखन अवधि हुनुपर्छ भनेर हामीले अनुमान लगाउन सक्छौं । यस अध्ययनमा कवि मातृका पोखरेलको मित्रताको आकाश कविता कृतिको अध्ययन गरिएको छ । यस कृतिमा अभिव्यक्त दोस्रो जनआन्दोलनपछिको नेपाली समाजमा अभिव्यक्त चेतना र सो चेतनाले निर्माण गरेको जीवन संस्कृतिलाई अध्ययनको मूल विषय बनाइएको छ ।

२. मित्रताको आकाश कृतिको अध्ययन

यसअध्ययनमा मूलतः कृतिमा व्यक्त भएको विषय सन्दर्भ र त्यसमा अभिव्यक्त विचार पक्षको अध्ययन गरिएको छ । त्यसबाहेक कृतिमा व्यक्त शिल्प पक्षका बारेमा समेत चर्चा गरिएको छ । कृति अध्ययनका निमित्त विषयवस्तुगत सन्दर्भ अन्तर्गत परिवर्तनको चाहना भएका कविता, राजनीतिक विकृति विरोधी चेत, सामन्तवादी संस्कृति र पथविचलनप्रतिको चिन्ता, सङ्कीर्णता विरोधी चेतना, विस्तारवादी विरोधी चेतना, सिद्धान्तहीनता एवम् आस्थाबिम्बको प्रस्तुति रहेको छ । त्यस्तै कविताको शिल्प पक्षको बारेमा समेत संक्षेपमा चर्चा गरिएको छ ।

२.१ परिवर्तनको चाहना व्यक्त भएका कविता

कवि मातृका पोखरेलका कविता लेखनको मूल पक्ष भनेको परिवर्तनको चाहनाको अभिव्यक्ति हो । उनका रचनामा राजनीतिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रका विकृतिको विरोध, जनअधिकारको अपेक्षा एवम् समाजमा गुणात्मक एवम् सकारात्मकको चाहना व्यक्त भएको छ । उनका यस प्रकारका रचनामा पहिरो, नयाँ प्रभातको खोजीमा, भरखरै जस्तो लाग्छ, बूढो घोडा, नयाँ आँधीको स्वागत, मान्छेहरूको भर्याङ रहेका छन् । यी रचनामा नेपाली समाजको परिवर्तनको धारलाई पुरानो जिर्ण भइसकेको संस्कार, संस्कृति र त्यस किसिमको संस्कृतिको पक्षधर नेतृत्वले गर्न नसक्ने भएकोले नवपुस्ता जागृत हुनुपर्ने विचार व्यक्त भएको छ ।

सामाजिक परिवर्तन आफै हुने होइन, यसका लागि परिवर्तनको चेतना बोकेका सचेत वर्गले सदैव झक्झकाइरहनुपर्ने हुन्छ ।

सामाजिक परिवर्तन आफै हुने होइन, यसका लागि परिवर्तनको चेतना बोकेका सचेत वर्गले सदैव झक्झकाइरहनुपर्ने हुन्छ । पहिरो कवितामा विसङ्गतिपूर्ण विगतबाट मुक्त भएर सङ्गतिपूर्ण जीवनको खोज गरिएको छ । यस कवितामा विगतका खराब पक्षलाई हटाएर वर्तमानलाई सङ्गतिपूर्ण बनाउन लागिपर्नुपर्ने विचार आएको छ । कवितामा नयाँ प्रभातको खोजी मा परिवर्तनको नवचेतनालाई स्वागत गरिएको छ । भ्रष्ट र स्वार्थपूर्ण जीवनप्रतिको विमतिभाव सशक्त किसिमले अभिव्यक्त भएको छ । भरखरै जस्तो लाग्छ कवितामा नयाँ विचारप्रतिको समर्थन र नयाँ परिवर्तनको चेतनाको आव्हान आएको छ । बूढो घोडा कवितामा परम्परागत चिन्तन, दृष्टिकोण भएका मानिसले सामाजिक परिवर्तनको नेतृत्व गर्न नसक्ने र समाजको अग्रगमनको चेतनाभन्दा प्रतिगमनको चिन्तनलाई अघि सार्ने गर्दछन् । यसर्थमा बूढो घोडा अकर्मण्यताको शिकार भएको दिशाविहिन बूढो नेतृत्वको प्रतीक हो । नयाँ आँधीको स्वागतमा परिवर्तनको गतिलाई आत्मसात गर्दै सकारात्मक चिन्तनको आँधीलाई सदैव स्वागत गरिरहने भावको अभिव्यक्ति भएको छ । मान्छेहरूको भ¥याङ निमुखा जनताको खुनपसिना र रगतमाथि टेकेर आफ्नो स्वार्थसिद्ध गर्ने शासकको जनविरोधी कार्यप्रतिको विमतिभावको कविता हो । उदाहरणका लागि केही कवितांश प्रस्तुत गरिएको छः

(१) तिमी जतिसुकै छडीले हिर्काऊ

जतिसुकै लगाम खैँचेर

घोडाको पेटमा खुट्टाले ठोक

यो जिर्ण कालो घोडा

रातो लुगा लगाएका मान्छेलाई बोकेर

सभ्यताको उकाली चढ्न पटक्कै मन पराउँदैन ।

(बूढो घोडा, पृ. ७३)

(२) इतिहासको यो कुइनेटोमा

एक हुल हामी मान्छेहरू

पुनः निर्माण गर्न खोजिरहेका छौं

हिजो अस्तिकै जस्तो

त्यो चौतारोको रहरलाग्दो बैंस ।

(भरखरै जस्तो लाग्छ,, ६८)

माथिको उदाहरण (१) मा बूढो घोडा पुरानो राज्यसत्ताको प्रतिक हो, रातो लुगा लगाएको मानिस कम्युनिष्ट शासक हो । यस कवितामा पुरानो राज्यसत्तामा शासनमा पुगेको कम्युनिष्ट शासकलाई पुरानै सत्ताका मानिसले चलारहेको, सामाजिक परिवर्तनको गतिलाई अघि बढाउनमा अवरोध सिर्जना गरेको र शासक पनि सत्ता र भत्तामा मोहित भएर बाँचिरहेको कटु यथार्थको अभिव्यक्ति पाइन्छ । कविताले नयाँ परिवर्तनका लागि परिवर्तनको नयाँ चेतना बोकेका परिवर्तनधर्मी सचेत नागरिकको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । उदाहरण (२) मा राजनीतिक परिवर्तनसँगै सामाजिक–सांस्कृतिक परिवर्तन हुन नसकेको र समाजको गति यथास्थितिमा रुमल्लिएको हुँदा अग्रगमनको गतिलाई स्वर प्रदान गर्न एक हुल मान्छेहरू अर्थात परिवर्तनका वाहक सचेतजनहरू लागिरहेको यथार्थ व्यक्त भएको छ । यहाँ चौतारो अर्थात जनताको संगठित समूह, पार्टीलाई जनाइएको छ । जनताको आवाजलाई स्वर प्रदान गर्न राजनीतिक संगठन वा पार्टीमा अग्रगमनको चेतना हुनुपर्ने र यस चेतनाले समाजको अग्रगमनको नेतृत्व गर्ने भएकोले पार्टीहरूमा गतिशीलता र वैचारिक परिपक्वता हुनुपर्ने सन्देश व्यक्त भएको छ ।

२.२ राजनीतिक विकृतिविरोधी चेतना र सिद्धान्तहीनताको विरोध

कवि मातृका पोखरेलका कवितामा राजनीतिक विकृतिको विरोध गरिएको पाइन्छ । त्यसरी नै सिद्धान्तहीन गतिविधिप्रतिको आलोचना उनका कविताको प्रमुख पक्ष हो । उनका यस विचार प्रवृत्तिको प्रतिनिधित्व गर्ने कवितामा प्रश्नहरूको बाढी, सहरमा माक्र्स, मैले उतिबेलै भनेको थिएँ, लेख्नै बाँकी छ, बाटो छोडेपछि, ऐना, उपाध्याय बाजेको मम पसल रहेका छन् । प्रश्नहरूको बाढी राजनीतिक क्षेत्रमा देखापरेका विकृत एवम् विसङ्गत जीवनयथार्थप्रतिको आलोचनात्मक चेतना बोकेको कविता हो । कवितामा राजनीतिलाई व्यापार ठान्ने, देश र जनताप्रतिको जिम्मेवारीबाट टाढा भाग्ने सुविधाका दास राजनीतिकर्मीप्रतिको गलत चिन्तन र क्रियाकलापप्रतिको आलोचनात्मक चेत व्यक्त भएको छ ।

कवितामा जनताको पक्षमा भन्दा जनविरोधीको चिन्तन बोकेर हिँडने प्रवृत्तिप्रतिको आलोचना गरिएको छ ।

हिजोको दिनमा कठोर सङ्घर्ष गरेर आउनेहरू कालान्तरमा जनविरोधी चिन्तन र व्यवहारका बाहक बनेकोमा कवि चिन्तित छन् यसर्थमा यी कविताले इमान्दर र जनप्रतिबद्ध राजनेताको खोजी गरेका छन् । सहरमा माक्र्स आफ्नो आस्थाको व्यापार गरेर सिद्धान्तहीन आचरण गर्ने राजनीतिकर्मीप्रति लक्षित छ । कवितामा जनताको पक्षमा भन्दा जनविरोधीको चिन्तन बोकेर हिँडने प्रवृत्तिप्रतिको आलोचना गरिएको छ । मैले उतिबेलै भनेको थिएँ कवितामा अतिआस्था र अति घृणा व्यक्त गर्ने प्रवृत्तिको विरोध छ । नेतृत्वको देवत्वकरण गर्ने, निजी लाभको अपेक्षा गर्ने र लाभ प्राप्त नभएपछि, विचार भिन्न भएपछि राक्षसीकरण गर्ने प्रवृत्तिप्रतिको आलोचनात्मक भाव व्यक्त भएको छ । लेख्नै बाँकी छ कवितामा राजनीतिक एवम् सामाजिक क्षेत्रका विकृतिलाई प्रस्तुत गरिएको छ । कवितामा राजनीतिक सिद्धान्तहीनता, सुविधाभोगी राजनीति, पारिवारिक एवम् सामाजिक क्षेत्रमा हुने गरेका अपराध लगायतका विषयका बारेमा लेख्न बाँकी रहेका भावका माध्यमबाट समाजमा गलत चिन्तन र प्रवृत्ति थुप्रिएको र त्यसको विपक्षमा, सकारात्मक चिन्तनको पक्षमा लेख्न बाँकी रहेको यथार्थबोध आएको छ । बाटो छोडेपछि कविता आस्थाको विचलनप्रतिको चिन्ता भएको कविता हो । यस कवितामा आफ्नो आस्था बेच्नेहरूको अनुहारको चमक हराउने, उसको स्वभाव फेरिने, बोलीव्यवहार, चालचलन परिवर्तन फेरिने, मानिसको संवेदना हराउने यथार्थको अभिव्यक्तिबाट आस्था बेच्नेहरु आफैमा आत्मग्लानिमा पुग्ने र यथार्थको सामना गर्न नसक्ने हुन्छ । ऐना कवितामा कविले ऐनामा हेर्दा आफ्नो नभई अरुको अनुहार देखिने अभिव्यक्तिका माध्यमबाट वर्तमानको विसङ्गतिबोध उजागर गरेका छन् । समय र मान्छे यति विशाक्त भइसकेको छ की अब ऐनामा आफ्नो अनुहार हेर्दा पनि अर्कै मानिस देखिने भइसक्यो भनाइका माध्यमबाट वर्तमानको विसङ्गतिको चरम अवस्थालाई दर्शाएको पाइन्छ । उपाध्याय बाजेको मम पसल अवसरवादिताप्रतिको आलोचनात्मक चेत भएको कविता हो । यस कविताको मूल पात्र उपाध्याय बाजे एकातिर आफै पठाएर खाने कार्य गर्दछ भने अर्कोतिर भैंसी र कुखुराको मम बेचेर छिटोभन्दा छिटो धनी हुने सपना पनि देख्छ । ऊ एकातिर आफूलाई धार्मिक देखाउन खोज्छ भने अर्कोतिर अत्यधिक धन सङ्ग्रह गर्ने कार्यमा लागिरहन्छ । यो दोहरो चरित्र एवम् अवसरवादिताको चरम रुप हो । यस किसिमको प्रवृत्ति बोकेका केही कविताका अंशलाई यहाँ प्रस्तुत गरिएको छः

(३) सहरमा माक्र्स हराएको केही समयपछि

मैले उनलाई आज एक्कासी इन्द्रचोकको एउटा पुरानो

गल्लीमा भेटेँ

उनी बिर्के टोपीको दुकान खोज्दै थिए (सहरमा माक्र्स, ३८)

(४) मैले उतिबेलै भनेको थिएँ

मान्छे देवता हुनै सक्दैन

मान्छेलाई देवता बनाउनु पनि हुँदैन

कहिलेकाँही मान्छे देवता भएपछि

उहिलेको रुसको जारजस्तो पनि हुनसक्छ

हाम्रै देशको राणा र शाहजस्तै पनि हुनसक्छ (मैले उतिबेला भनेको थिएँ, पृ. ६२)

यहाँ उदाहरण (३) मा सिद्धान्त र व्यवहारबिचको भिन्नतालाई प्रस्तुत गरिएको छ । आफूलाई क्रान्तिकारी ठान्ने कम्युनिष्ट पार्टीको नेता बिर्के टोपी खोज्दै हिँडेको प्रसंग आएको छ । बिर्के टोपीले परम्परागत चिन्तन र परम्परागत व्यवहारलाई इंगित गर्दछ । यस कवितामा सिद्धान्तहीन प्रवृत्तिप्रति आलोचनाभाव आएको छ । उदाहरण (४) मा मानिसलाई प्रारम्भमा देवत्वकरण गर्ने र पछि राक्षसीकरण गर्ने प्रवृत्तिप्रतिको आलोचना व्यक्त भएको छ । कवितामा मानिसको देवत्वकरणले उसमा विचलन आउने र त्यसले सिंगो समाजलाई दुषित पार्ने भएकोले दुवै खाले अतिवादले समस्या उत्पन्न गर्ने विचार प्रक्षेपण भएको छ । यस कवितामा सैद्धान्तिक मतभिन्नताभन्दा पनि व्यवहारिक पक्षका कारण दृष्टिकोण निर्माण गर्ने प्रवृत्तिप्रतिको आलोचना छ । कवितामा सिद्धान्तभन्दा स्वार्थ प्यारो भएकोले स्वार्थमा साधक हुँदा देवता र बाधक हुँदा राक्षस मान्ने प्रवृत्तिप्रतिको आलेचनाको भाव सशक्त किसिमले आएको छ ।

२.३ सामन्तवादी संस्कृति र पथविचलन

कवि मातृका पोखरेलका कविताका रचनामा सामन्तवादी संस्कृतिले निम्त्याएको खराब पक्षको बारेमा चर्चा गरिएको छ । त्यसरी नै आफ्नो आस्थामा विचलन आएपछि मानिसले गलत चिन्तन बोक्ने र त्यसै किसिमका खराब गतिविधि गर्ने गरेको पाइन्छ । कवि मातृकाका यस प्रवृत्तिका रचनामा जङ्गबहादुर, चश्मा, युद्धको नाट्यशाला, सपना र टर्चलाइट, सडकको शिकार, नरेश शाक्यका आँखा, ऋषिकुटीमा फर्केर हेर्दा, नागार्जुनको सर्प, नक्कली हावा रहेका छन् । जङ्गबहादुरमा सामन्तवाद जिउँदै रहेको, यो मानिसको मनमस्तिष्कमा जिउँदो रहेको र यसले समाजमा दुषित प्रभाव पारेको सन्दर्भको चर्चा गरिएको छ । चश्मा कवितामा न्याय र अन्याय, सत्य र असत्यका बिचमा भिन्नता नदेख्ने, सत्यको विपक्षमा आगो ओकलिरहने प्रवृत्तिप्रतिको आलोचना आएको छ । असत्यलाई ढाकछोप गर्न सबै उस्तै हुन् भन्ने प्रवृत्तिले सत्यको अस्तित्व नामेट गर्न खोज्ने र आफ्नो स्वार्थसिद्ध गर्ने गरेको पाइन्छ । युद्धको नाट्यशाला कवितामा जनताको न्यायको लडाँईलाई लान्छित गर्ने प्रवृत्तिप्रतिको आलोचना छ भने अर्कोतिर शक्तिराष्ट्रले हातहतियारको सिर्जना गरेर, विपन्न राष्ट्रमाथि दमन गरेर निरिह जनताको जीवनप्रति खेलवाड गरेको विषयसन्दर्भलाई उठाइएको छ । यस कवितामा ठूलाले जे गरेपनि ठिक हुने र कमजोरले आफ्नो आत्मरक्षागर्न खोज्दा आतंकवाद भनिने प्रवृत्तिप्रतिको विरोध आएको छ । सपना र टर्चलाइट कवितामा विगतमा जनताको पक्षमा लाग्ने राजनीतिकर्मी सत्तामा पुगेपछि राजधानी पुगेर जनताको बेवास्ता गरेको, सामन्तवादी संस्कृतिको बाहक बनेको र जनताको अधिकारप्रति उपेक्षा गर्ने कार्य गरेकोमा निजलाई विगतको सम्झना दिलाउने र जनताको पक्षमा लागेका दिनको सम्झनाका माध्यमबाट जनताप्रति इमान्दार बन्न आव्हान गरिएको छ ।

एकातिर कविको जीवनको त्रासदीको वर्णन छ भने अर्कोतिर राजनीतिक नेतृत्ववर्गको पथविचलन र सामन्ती संस्कृतिप्रतिको अनुरागप्रतिको आलोचनात्मक चेतना व्यक्त भएको छ ।

सडकको सिकार कवितामा जनताको न्यायपूर्ण आन्दोलनप्रतिको ऐक्यबद्धता प्रकट गरिएको छ । यस देशका शासकवर्गले जनताको आवाज नचिनेमा सडकको आवाजले तिनलाई सचेत बनाइरहने र अति भएमा परिवर्तन पनि ल्याउने भाव कविताको मूल स्वर बनेको छ । नरेश शाक्यका आँखा कवितामा एक निष्ठावान कविको जीवनको त्रासदी चित्रण गरिएको छ । कवितामा विगतमा सामाजिक सांस्कृतिक रुपान्तरणको आन्दोलनमा आफ्नो जीवन लगाएको स्रष्टा जीवनको पछिल्लो कालखण्डमा एक्लो हुनुपरेको, उसको विचार बोक्ने मानिस सत्ता र भत्तामा भुलेपनि उसको कुनै वास्ता नभएको सन्दर्भ आएको छ । एकातिर कविको जीवनको त्रासदीको वर्णन छ भने अर्कोतिर राजनीतिक नेतृत्ववर्गको पथविचलन र सामन्ती संस्कृतिप्रतिको अनुरागप्रतिको आलोचनात्मक चेतना व्यक्त भएको छ । ऋषिकुटीमा फर्केर हेर्दा कवितामा पनि राजनीतिक नेतृत्वको पथविचलन, सिद्धान्तहीन गठबन्धन, लोभलाभप्रतिको आशक्ति, सामन्ती चिन्तनप्रतिको अगुराग जस्ता विषयलाई मूल कथ्यसन्दर्भ बनाइएको छ । कवितामा विसङ्गतिविरोधी चेतको प्रस्तुतिका साथै परिवर्तनप्रतिको आस्था दृढतापूर्वक आएको छ । नागार्जुनको सर्प कवितामा निरंकुश राजतन्त्रका वाहक शक्तिको गतिविधि, परिवर्तनका पक्षधर राजनीतिक शक्तिको अकर्मण्यता र राजनीतिक दिशाहीनताप्रति चिन्ता व्यक्त गरिएको छ । परिवर्तनको नेतृत्व गर्नेले परिवर्तनको आभास गराउन नसकेको, लुछाचुँडी र भागबन्डामा समय खर्चेको, राष्ट्र र जनताप्रतिको प्रतिबद्धतामा ह्रास आएको कारण कहीँ निरंकुशतन्त्रका हिमायतीले फाइदा उठाउने त हैनन भन्ने चिन्ता पलाएको सन्दर्भ कविताको मूल कथ्यसन्दर्भ हो । नक्कली हावा कवितामा परिवर्तनप्रति अविश्वास हुनेले गलत प्रचार गर्ने गरेको र समाजमा भ्रमको खेती गर्ने गरेकोमा त्यसप्रति सचेत बन्नुपर्ने विचार व्यक्त गरिएको छ । यस किसिमको प्रवृत्ति बोकेका केही कविताका अंशलाई यहाँ प्रस्तुत गरिएको छः

(५) तपाईँले उज्यालोको सपना

देख्न छाडेको खबर आइरहेछ गाउँमा

हराएको टर्चलाइट सम्झेर,

कमरेड कञ्चन !

तपाईँको अनुहारमा कुनै कालो बादल देखिएन,

यस्तै खबर आइरहेछ गाउँमा,

अब हामी झनै चिन्तामग्न छौं (सपना र टर्चलाइट, पृ. ५७)


(६) आत्महत्या मानिसहरूले मात्र गर्दैनन्

सपनाहरूले पनि गर्छन्

अचेल नरेश शाक्य अनौठो नमानिकन हेर्छन्

प्रत्येक दिन र प्रत्येक रात

सपनाहरूको लामो लस्करको दृश्य

भीरबाट सामूहिक आत्महत्या गरिरहेको (नरेश शाक्यका आँखा, ६६)

माथिको उदाहरण (५) मा विगतमा जनताको पक्षमा लागेका कमरेड कञ्चन वर्तमानमा आएर जनताको पक्षमा भन्दा पनि आफ्नो स्वार्थको पक्षमा लागेको, जनताको बेवास्ता गरिरहेको र परिवर्तनको चिन्तनबाट टाढा भएकोमा गाउँका जनता अर्थात निम्नवर्गीय सोझासाझा जनता चिन्तित भएको प्रसंगलाई प्रस्तुत गरिएको छ । उदाहरण (६) मा विगतमा जनताको पक्षमा काम गर्ने र आफ्नो जीवन नै जनपक्षीय राजनीतिको पक्षमा लगाउने नरेश शाक्य जस्ता कवि वर्तमानमा आइपुग्दा घरबारविहिन भएर बाँच्नुपरेको, उनले विगतमा देखेका सपना र आदर्शहरुले आत्महत्या गरेको यथार्थका माध्यमबाट वर्तमानको वामपन्थी राजनीतिमा अवसरवाद हावी भएको र असल पात्रको अपहेलना बढ्दै जान थालेको सन्दर्भको पुष्टि गरिएको छ ।

२.४ देशभक्तिको चेतना, राष्ट्रियताबोध एवम् स्वाभिमानको अभिव्यक्ति

कवि मातृका पोखरेलका कवितामा देशभक्तिको चेतनाका साथै राष्ट्रियताबोध एवम् स्वाभिमानको अभिव्यक्तिका दृष्टिले महत्वपूर्ण रहेका छन् । उनका यस किसिमका विचार प्रवृत्तिको प्रतिनिधित्व माटोको गन्ध, मित्रताको आकाश, दिल्लीका मच्चडहरू कविताले गरेका छन् । माटोको गन्ध कवितामा लेखकले आफ्नो माटोप्रति आफू प्रतिबद्ध रहेको भाव व्यक्त गरेका छन् । यस कवितामा समाजमा उत्पन्न भएको जातिय, क्षेत्रीय चिन्तनप्रतिको आलोचनाका साथै सामाजिक सद्भाव र वर्गीय एकताको पक्षको आवाज बुलन्द गरिएको छ । मित्रताको आकाश कवितामा ध्वंसात्मक चेतनाको विरोध र निर्माणको चेतनाको पक्षधरता आएको छ । लेखकले कवितामा आफू सदैव सकारात्मक परिवर्तन र निर्माणको पक्षमा रहेको विचारका साथ ध्वंसमुखी प्रवृत्तिप्रति असहमत रहेको बताएका छन् । दिल्लीका मच्छडहरू कवितामा देशको पक्षमा भन्दा पनि विदेशीको भक्तिगानमा रहने देशविरोधी तत्वका क्रियाकलापप्रतिको आलोचना व्यक्त भएको छ । यस किसिमको प्रवृत्ति बोकेका केही कविताका अंशलाई यहाँ प्रस्तुत गरिएको छः

(७) आऊ, यो हल्लाको जङ्गलबाट टाढा,

आऊ, म तिमीलाई

हाम्रा जिन्दगीका सुरुवातका कथाहरू भन्छु,

तिमी सँगसँगै मैले पनि भेटेको छु,

मेरा पुर्खाहरूको पसिनाको गन्ध (माटोको गन्ध, पृ. ६१)


(८) यो युग अझै

स्वाभिमानको युग होइन जस्तो,

यो युग अझै

स्वतन्त्रताको युग होइन जस्तो,

यो युगलाई

निर्धक्क÷निर्लज्ज हमला गरिरहेका छन्

दिल्लीका मच्छरहरू (दिल्लीका मच्छरहरू, पृ. ४८)

माथिको उदाहरण (७) मा जातियताको हल्लाबाट मुक्त भएर मानवीय प्रेम, सहिष्णुता र सद्भावका पक्षमा लाग्नुपर्ने विचार व्यक्त भएको छ । एउटै धर्ती, आकाशमा रहेका मानिसमा जातिय, क्षेत्रीय चिन्तनभन्दा पनि आपसी प्रेमभाव हुनुपर्ने भाव कवितामा व्यक्त छ । उदाहरण (८) मा युग परिवर्तन भइसकेपनि सामन्ती युगकोजस्तो चिन्तन बोक्ने भारतीय शासकवर्गको मनोवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । आफ्नो देशको पक्षमा भन्दा पनि विदेशीको चाकरी गर्ने दलालवर्गको चिन्तनप्रति समेत छेड प्रहार गरिएको छ । कवितामा यो युग स्वतन्त्रता, स्वाभिमानको भएको हुँदा यस अवस्थामा पनि हाम्रो स्वाधिनतामाथि हमला गर्ने दिल्लीका मच्छरहरू अर्थात भारतीय शासकवर्गका भरौटेहरूप्रतिको आलोचना व्यक्त भएको छ ।

२.५ आस्थाबिम्बको प्रस्तुति

कवि मातृका पोखरेल वामपन्थी राजनीतिमा रहेर त्यसलाई नजिकबाट देख्नेभोग्ने स्रष्टा हुन् । पोखरेलले नेपालको माओवादी पार्टी र यससँग सम्बन्धित आन्दोलनलाई नजिकबाट हेरेको पाइन्छ । यसै सन्दर्भमा अनेकोटले हेर्ने आँखा उनको यही विश्वास र आस्थाको चिन्तन बोकेको कविता हो । यस कवितामा अनेकोटले सहिदको सम्झना गरेको, सहिदको सपना र आदर्शको रक्षाको माग गरिरहेको सन्दर्भ व्यक्त भएको छ ।

२.५ मित्रताको आकाश कविताकृतिमा शिल्पगत पक्ष

यो कृति गद्य कविताको संगालो हो । यसमा प्रायः सरल र सहज बिम्बको प्रयोग पाइन्छ । कवितालाई रोचक बनाउन पद, पदावली, शब्द र वाक्यको पुनरावृत्तिका माध्यमबाट गद्यलयको सिर्जना गरिएको पाइन्छ । यसै गरी आफ्नो विचारलाई प्रभावकारी बनाउन प्रश्नवाचक चिन्हको माध्यमबाट जिज्ञासा, कौतहुलता र आलोचनात्मक भावलाई प्रभावकारी किसिमले प्रस्तुत गरिएको पाइन्छ । कवि मातृका पोखरेल इतिहासका तथ्यप्रति जानकार छनृ, वर्तमानका घटना, पात्र र प्रवृत्तिसँग परिचित भएको हुनाले त्यससँग सम्बन्धित बिम्ब प्रतीकको प्रयोग गर्नमा कुशल छन् । उनका कवितामा कसरी समान शब्दको पुनावृत्तिका माध्यमबाट गद्यलय, बिम्ब र प्रतीकको सिर्जना गरिएको छ भन्ने तथ्यको पुष्टिका लागि यो उदाहरण प्रस्तुत गरिएको छः


(९) हामी सबै जङ्गबहादुरहरूबाट शासित

जताततै सडकमा,

सरकारी कार्यालयहरूमा,

नीति निर्माणका तहहरूमा

पार्टीको पोलिटब्युरो र स्थायी समितिहरूमा

कहाँ छैनन् जङ्गबहादुरहरू ? (जङ्गबहादुर, पृ. ३०)


माथिको उदाहरणमा जङ्गबहादुरहरू, सडकमा, कार्यालयहरूमा, स्थायी समितिहरूमा शब्दमा समान किसिमका वर्णका माध्यमबाट गद्यलयको सिर्जना भएको छ । यसले कविता पठन र यसको आस्वादनमा मिठास उत्पन्न गरेको र कवितालाई शक्तिशाली बनाएको छ । लेखकले भन्न खोजेको विचारलाई अझ प्रभावशाली बनाएको छ । यस कवितामा प्रस्तुत जङ्गबहादुर कुनै गाउँको सामान्त सामन्त हैन, यो त नेपालको इतिहासको एक पात्र जङ्गबहादुर हो । जङ्गबहादुर निरंकुशताको बिम्ब हो । हामीले जङ्गबहादुर भन्ने सुन्नेबित्तिकै अरु जङ्गबहादुर नसम्झेर राणा शासक जङ्गबहादुरलाई बुझ्ने गर्छौं । जङ्गबहादुर निरंकुशताको प्रतीक पनि हो । जङ्गबहादुरले जसरी कार्य गरे, त्यसको प्रतिबिम्ब हामी वर्तमानमा सामाजिक जीवनमा र व्यक्ति पात्रका क्रियाकलापमा खोज्दा जङ्गबहादुर व्यक्ति पात्रबाट एक प्रवृत्तिको समुच्यय रुप बनेर आउँछन् यसर्थमा जङ्गबहादुर नाम रुढ बनेर नेपाली समाजमा र लेखनमा प्रचलित भइसकेको छ ।


३. निष्कर्ष


कवि मातृका पोखरेलले चालिसको दशकको मध्यदेखि प्रारम्भ गरेको कविता यात्रा निरन्तर जारी छ । यस अवधिमा पोखरेलका चार कविता कृतिको प्रकाशन भइसकेको छ । यी कविता कृति नेपाली समाजको राजनीतिक, सामाजिक एवम् सांस्कृतिक परिवर्तनका घटना र त्यससँग जोडिएको पात्र र प्रवृत्तिसँग साक्षात्कार गर्दछन् । इतिहासका घटना र पात्रप्रतिको दृष्टिचेत यी कविताको मूल पक्ष बनेर आएको छ । कवि पोखरेल राजनीतिसचेत कवि हुन् । नेपालको वामपन्थी आन्दोलन, यस आन्दोलनसँग जोडिएको नेपालको राजनीतिक–सामाजिक जीवनका सङ्घर्षको इतिहास, त्याग, बलिदान, नेतृत्व तहमा पुगेका र राज्यको विभिन्न तहमा पुगेका पात्रको जीवन यात्राका विभिन्न मोड, घुम्ती र आदर्शको राजनीतिमा तिनको स्थानको खोजी यी कवितामा विश्लेषण गरिएको छ । उनका कविता राजनीतिक, सामाजिक एवम् सांस्कृतिक परिवर्तनको पक्षमा उभिन्छन् । सामन्तवादी चिन्तन, प्रवृत्ति र पात्रको आलोचना गर्दछन् ।

सामन्ती संस्कृति, पूँजीवादी आडम्बर र शासकवर्गका गलत कार्यप्रति आलोचनात्मक चेत राख्दछन् । यी कवितामा राष्ट्रियताबोध, क्षेत्रीय विस्तारवाद विरोधी चेतना, स्वाभिमानी चिन्तन पाइन्छ ।

राजनीतिक एवम् सामाजिक विकृतिविरोधी चेतना प्रस्तुत गर्दछन् । राजनीतिक नेतृत्वमा रहेका नेताहरूका गलत कार्यप्रति खबरदारी गर्दछन् । सामन्ती संस्कृति, पूँजीवादी आडम्बर र शासकवर्गका गलत कार्यप्रति आलोचनात्मक चेत राख्दछन् । यी कवितामा राष्ट्रियताबोध, क्षेत्रीय विस्तारवाद विरोधी चेतना, स्वाभिमानी चिन्तन पाइन्छ । यसर्थ यी कविताले नेपाली प्रगतिवादी कविता लेखनका क्षेत्रमा आफ्नो मौलिक पहिचान स्थापित गरेका छन् । परिवर्तनधर्मी चेतनाको पक्षमा आवाज बुलन्द गरेका छन् । कवि पोखरेलमा विकृतिविरोधी चेत मात्र नभएर आफ्नो आस्थाप्रतिको प्रतिबद्धता, सामाजिक परिवर्तनको उत्कट चाहना र राष्ट्रको समृद्धिको माग व्यक्त भएको छ । पोखरेलका कवितामा जसरी विकृतिविरोधी चेत आएको छ, त्यसको साथसाथै समाजका सकारात्मक पात्र, प्रवृत्ति र चिन्तनको पक्षमा समेत अझ व्यापक रुपमा आवाज आउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । कवितामा प्रायः सरल बिम्बको प्रयोग भएपनि केही कविता जटिल पनि पाइएका छन् । कवितामा आम जनसमुदायका जीवनका कथाव्यथाको सशक्त प्रस्तुति पाइन्छ, यसलाई अझ सुन्दर बनाउनका लागि विचारमा गहनता र प्रस्तुतिमा सरलता आउन सकोस्, यही शुभकामना छ ।

OOO 

सन्दर्भ पुस्तक

पोखरेल. मातृका (२०७६). काठमाडौंः रामकृष्ण सिर्जना अभियान ।


www.lekhapadhi.com  बाट 

No comments: