Thursday, December 21, 2023

हत्तेरिका !! - लीलाधर रिमाल

 कविता :


हत्तेरिका !!
- लीलाधर रिमाल

प्रचण्डलाई श्रमजीवी पत्रकारहरूको डर छैन
प्रचण्डलाई कैलाश सिरोहियादेखि डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

प्रचण्डलाई लेखनाथसँग डर छैन
प्रचण्डलाई रामदीपसँग पनि डर छैन
प्रचण्डलाई दुर्गा प्रसाईं र ल्यारक्यालदेखि डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

प्रचण्डलाई सरल सहयात्रीसँग डर छैन
प्रचण्डलाई दिपसीखासँग पनि डर छैन
प्रचण्डलाई दीपक मनाङ्गेसँग डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

प्रचण्डलाई रेखा शर्मासँग डर छैन
प्रचण्डलाई माधव सापकोटा सुबोधसँग पनि डर छैन
प्रचण्डलाई ज्ञानेन्द्र शाही र रविसँग डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

प्रचण्डलाई विद्रोही, मोहीत, प्रगति, कुस्मितासँग डर छैन
प्रचण्डलाई ईश्वरचन्द्र, मातृकासँग पनि डर छैन
प्रचण्डलाई आफ्नै नातिनी स्मितासँग डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

प्रचण्डलाई पार्टीसँग डर छैन।
प्रचण्डलाई जनवर्गीय संगठनसँग पनि डर छैन
प्रचण्डलाई आफ्नै परिवारसँग डर छ
किनकि प्रचण्डका दुःख छन्
दुःखका कारण छन् ।

जहाँ प्रचण्डका दुःखका डर छन् त्यहाँ प्रचण्ड वार्ता गर्छन्
जहाँ प्रचण्ड डराउँदैनन् त्यहाँ प्रचण्ड वार्ता गर्दैनन् ।

कुनै एक दिन प्रचण्डको ओजन तहमा भ्वाङ् पर्छ
तब प्रश्नहरूमा भुइँचालो आउँछ
त्यतिबेला उत्तर सुन्ने उत्कण्ठा हुँदैन
ती प्रश्नहरू होइनन्
ती त ज्वारभाटाहरु हुन्
ज्वारभाटाले सुनामी ल्याउँछ
र अर्को नयाँ समाजको चित्र कोर्छ।
०००

लीलाधर रिमालको फेसबुक वालबाट


No comments: