Thursday, June 20, 2024

कंचनपुरको महेन्द्रनगरमा आख्यान सम्बन्धी वृहत् राष्ट्रिय साहित्यिक गोष्ठी सम्पन्न ।

 नेपाल प्रज्ञा प्रतिष्ठान र रमाकृष्ण सृजना प्रतिष्ठानको आयोजनामा कंचनपुरको महेन्द्रनगरमा आख्यान सम्बन्धी  वृहत्  राष्ट्रिय साहित्यिक गोष्ठी सम्पन्न  भएको छ । रमाकृष्ण सृजना प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा आख्यान बिभाग प्रमुख मातृका  पोखरेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रुपमा भीमदत्त नगरपालिकाका मेयर  सुरेन्द्र बिष्ट  हुनुहुन्थ्यो ।

कार्यक्रमको आरम्भमा रमाकृष्ण सृजना प्रतिष्ठानको नवौं वार्षिकोत्सव तथा स्रष्टा सम्मान समर्पण समारोहको अयोजना गरियो। स्थानीय शिक्षक लक्ष्मी प्रसाद भट्टको संयोजनमा स्वागत गानबाट शुभारम्भ गरिएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी उप्रेतीले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नुभयो भने स्थानीय संस्थाहरुका तर्फबाट उप.प्रा.  खगेन्द्र  जोशीले स्वागत गर्नुभयो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन विद्वान प्रा.  डा.  टेकराज पन्तले सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयन उपसमितिका संयोजकका हैसियतले निर्णय सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा  कवि भवानी स्मृति रमाकृष्ण साहित्य सम्मान – २०७४  प्रा. कृष्णदत्त चटौत, डा. हर्क गुरुङ स्मृति रमाकृष्ण विज्ञान प्रविधि पुरस्कार -  २०७४  उप प्रा.  मदनसिंह बोहरा र बीर झागल गुरुङ स्मृति रमाकृष्ण जनजाति उन्नयन पुरस्कार -  २०७४ बाट  प्रेमवती रानालाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि मातृका  पोखरेल तथा संस्थाका अध्यक्ष महेन्द्र बहादुर गुरुङद्वारा बिभिन्न विधाका उपरोक्तव्यक्तित्वहरुलाई सम्मानपत्र, दोसल्ला, खादा एवम् रकम रासीद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभयो।

सो कार्यक्रममा डा. पद्मराज कलोनीद्वारा लिखित 'प्रादेशिक संविधान एवम् मानस प्रदेश' , कर्ण दयालद्वारा लिखित गजल संग्रह  कृतिहरु प्रमुख अतिथि मातृका  पोखरेलद्वारा विमोचन गर्नुभयो । 

कार्यक्रमको दोस्रो चरणमा साहित्यकार श्री ईन्द्र बहादुर भण्डारीले 'उपन्यास विश्लेषणको शैली वैज्ञानिकआधार' र  महेन्द्रनगरका साहित्यकार श्री पञ्चमराज भट्टले 'डोटेली संस्कृतिका विविध पक्ष'विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। सो कार्यपत्रहरुमाथि  क्रमश: साहित्यकार श्री लक्ष्मी उप्रेती तथा समालोचक डा.पद्मराज कलोनीले टिप्पणी गर्नुभएको थियो। 
कार्यक्रममा अतिथि एवम् स्थानीय कविहरुद्वारा पच्चीस वटा कविता एवं  गजलहरु प्रस्तुत गरिएका थिए । कविता  प्रस्तोताहरुमा युवाहरुको सहभागिता उत्साहवर्धक थियो । रचना वाचन गर्ने स्रष्टाहरूमा विवश पोखरेल, डा. टेकराज पन्त, मित्रराज भट्ट, खेम प्रकाश, सीता शर्मा, पार्वती भट्ट,पुष्पा, सीताराम गुरुङ , सिध्दनारायण आचार्य, किशोर कृष्ण, कविराज भट्ट,  भूपि सरोवर,प्रमोद ठगुन्ना, दिलिप कुमार सडौला, आशा साँकी, चन्द्रकला पन्त, बिसा रावल, लक्षमी प्रसाद भट्ट, कल्याण ओझा लगायत हुनुहुन्थ्यो । 

कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथिको आसनबाट भीमदत्त नगरपालिकाका नगरप्रमुख श्री सुरेन्द्रबहादुर बिष्टले देशको समृध्दि साहित्य र संस्कृतिको समृध्दि भए मात्र पूर्णता हुने धारणा व्यक्त गर्दै साहित्य संस्कृतिको उन्नयनका लागि गरिने पहलमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो।

सो अवसरमा प्रमुख अतिथिको आसनबाट नेपाल प्रज्ञा प्रतिष्ठानका आख्यान बिभाग प्रमुख मातृका पोखरेलले नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा रमाकृष्ण प्रतिष्ठानद्वारा सम्पादित कार्यको स्मरण गर्दै तीन वर्ष अगाडी पूर्वाञ्चलको ईलाममा यस्तै गोष्ठीको आयोजना गरिएको र आज यस सुदूरपश्चिमाञ्चल प्रदेश नं. ७ को महेन्द्रनगरमा यस प्रकारको गोष्ठी आयोजनामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो। स्रष्टा सम्मानको कार्य त्यति सजिलो हुने गर्दैन तर यहाँको चयन उचित भएको विचार प्रकट गर्दै सम्मानित एवम् पुरस्कृत तीनै बिधाका अग्रणी स्रष्टाहरुलाई बधाई दिनु भयो।

प्रस्तुत भएका कार्यपत्रहरु र टिप्पणीहरुमा आएका धारणालाई सराहना गर्दै अगाडी थप्नु भयो, साहित्यकोश्रीवृध्दिका लागि चिन्तनको संस्कृति प्रारम्भ गर्नु जरुरी छ। उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठान आख्यान विभाग  अहिले आधुनिक नेपाली  कथा कोश र उपन्यास कोश प्रकाशन गर्न लागिपरेको जानकारी दिनुभयो। आख्यान विकासका लागि प्रतिष्ठान प्रयत्नशील रहे पनि सोचेजति गर्न अझै बांकी रहेको भनाई राख्दै उहाँले मोफसलका पहलहरुलाई प्रज्ञाले सहयोग गर्ने वचन दिनु भयो।

सभापतिको आसनबाट संस्थाका अध्यक्ष महेन्द्र बहादुर गुरुङले सहयोग पुर्याई मार्गदर्शन दिने एवम् प्रोत्साहित गर्ने नेपाल प्रज्ञा प्रतिष्ठान, स्थानीय साहित्यिक संस्थाहरु तथा विद्वान अग्रजहरुप्रति धन्यवाद प्रकट गर्नुभयो।
धनगढीमा हुर्के बढेको र जागिरे जीवन पनि सुदूर पश्चिमाञ्चलबाट शुरु भएको र उल्लेखनीय अवधि यतातिर नै बिताएको प्रसङग प्रस्तुत गर्दै उहाँले आज पुनस् यहाँ आएर यसरी स्रष्टाहरुलाई सम्मानित, पुरष्कृत गर्न पाउँदा विशेष खुशी लागेको बताउनु भयो।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

=========================================










No comments: