Friday, February 4, 2022

तीन लोकतान्त्रिक स्रष्टालाई नागार्जुन सम्मान दिइने

 


काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा योगदान दिने तीन साहित्यकारलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

सो प्रतिष्ठानले साहित्यकार वासुदेव अधिकारी, डा बेञ्जु शर्मा र मातृका पोखरेललाई यही २०७८ पुस २४ गते आयोजना हुने २१ औँ वार्षिकोत्सव र १२औँ अधिवेशनका अवसरमा सम्मान गर्ने निर्णय गरेको हो । 

उहाँहरूले आफ्ना साहित्यिक विधाका साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेर दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सो सम्मान दिन लागिएको जनाइएको छ ।

सो प्रतिष्ठानका सल्लाहकार एवं प्रज्ञा डा.देवी नेपालका संयोजकत्वमा गठित चयन समितिको सिफारिसलाई प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा बुधवार भएको बैठकले अनुमोदन गरेको संस्थाका महासचिव माधव निर्दोषले जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारीका समयमा स्थगन भएको उक्त सम्मान कार्यक्रमलाई प्रतिष्ठानले पुनः निरन्तरता दिने जनाइएको छ । 

सो प्रतिष्ठानले गत अधिवेशनमा लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चका तत्कालीन अध्यक्ष मण्डलका सदस्य वैरागी काइँला, निनु चापागाईँ, आनन्ददेव भट्ट, डा तुलसीप्रसाद भट्टराईलाई सम्मान गरेको थियो । रासस 

www.chakrapath.com बाट साभार 

No comments: