Wednesday, October 2, 2024

कवि विमल निभाको कवितासंग्रह ‘सत्र भोका काग’ सार्वजनिक


काठमाडौँ — कवि, व्यग्यंकार, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको नयाँ कविता–संग्रह ‘सत्र भोका काग’ २०८१ साल असोज १५ गते मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू नयनराज पाण्डे, रेशम विरही, नारायण ढकाल, पुरुषोत्तम सुवेदी, अमर गिरी, मातृका पोखरेल, शार्दूल भट्टराई र कवि स्वयंले किताब विमोचन गरेका थिए । 

कार्यक्रममा विमलका कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए पुरुषोत्तम सुवेदीले । ‘विमल निभाको जीवनको अधिकांश समय जनताका र भुइँमान्छेका आवाज बनेर बिते,’ उनले भने, ‘सरल, असरदार कविता लेख्ने सचेत राजनीतिक कवि हुन् निभा । उनले नेपाली कवितालाई नयाँ स्वरूप प्रदान गरेका छन् ।’ सुवेदीले विमल निभालाई ‘जनकवि’ उपाधि प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा निभाले ‘रेल’, ‘सुझाव’ र ‘मृत्यु’ शीर्षकका तीन कविता वाचन गरेका थिए । ‘सत्र भोका काग’ कविता संग्रहमा कथाकार/कवि राजवले लेखेका छन्, ‘कविता कुन हदसम्म कलात्मक रूपले सहज, सम्प्रेष्य र सुस्वादु बन्नसक्छ, जनपक्षधर हुनसक्छ भन्ने दुर्लभ उदाहरणमा पर्ने कवि हुन् विमल निभा ।’

यसअघि कवि निभाका ‘आगोनेर उभिएको मानिस’, ‘डेगेन्द्र राजवंशीको आत्महत्या’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन् । ‘सत्र भोका काग’ रेड पाण्डा पब्लिकेशनले प्रकाशित गरेको हो ।

https://ekantipur.com बाट साभार 

000






No comments: