Sunday, September 26, 2021

फेसबुकमा पाका स्रष्टा – फूलमान वल

यो पहाडले धर्म नछोडिदिए हुन्थ्यो
यो नदीले बाटो नमोडिदिए हुन्थ्यो
धर्ती आकाश सबैका पूजक हौं हामी
विश्वासले विश्वास नतोडिदिए हुन्थ्यो…

साठी वर्ष टेक्नै लागेका साहित्यकार सरुभक्तले सुनकोशीको पहिरोपीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार साँझ पौने नौ बजे आफ्नो फेसबुक भित्तामा उपर्युक्त पंक्ति लेखे। यसको दुई मिनेटमा उनले तीनवटा प्रतिक्रिया प्राप्त गरे, १४ वटा लाइक। चौथो मिनेटमा अर्की साहित्यकार उषा शेरचनले सरुभक्तकै सिर्जना अंश कपी गरेर कमेन्ट बक्समा पेस्ट गरिन्। पन्ध्रौं मिनेटमा कवि तीर्थ श्रेष्ठले भावुक प्रतिक्रिया लेखे- ‘जब निरुपाय हुन्छ मान्छे, त्यस बेला सुन्दर प्रार्थना जन्मिन्छ। सरुभक्तको यो सुन्दर प्रार्थना हामी सबै नेपालीको साझा प्रार्थना बनेको छ। हे ईश्वर, तिमी कतै छौ भने करुणा र दयाको माध्यम आफ्नो उपस्थितिको अनुभूति गराऊ।’

सोमबार दिउँसोसम्म सरुभक्तको काव्यिक अभिव्यक्तिले १ सय ३३ लाइक र १० कमेन्टसहित ६ वटा सेयर पाइसकेको छ। त्यसमा कमेन्ट गर्नेहरू प्रायः साहित्यकार, लेखक या साहित्यपारखीहरू छन्। ‘अब अहिले प्रविधिप्रति मैत्रीपूर्ण नभई नहुने समय आयो,’ ‘पागल बस्ती’, ‘समय त्रासदी’, ‘चुली’, ‘अधुरो कथा’ सहित कयौं कृतिका लेखकले सोमबार फोनमा भने, ‘फेसबुक त झन् एउटा खुला किताब जस्तो बनेको छ। कुनै पनि नयाँ सिर्जना अब सबभन्दा पहिले फेसबुकमार्फत नै सार्वजनिक हुने अवस्था आएको छ।’ त्यही भएर पनि मदन पुरस्कार विजेता यी पोखरेली स्रष्टाले घरमै वाइफाई राखेका छन्। साँझ कम्तीमा पनि डेढ घन्टा इन्टरनेटमा बिताउँछन्। इमेल चेकिङ सँगसँगै उनको प्राथमिकता हुन्छ फेसबुक।

सरुभक्त घरमा ल्यापटपमा फेसबुक चलाउँछन्, कार्यक्रमतिर निस्कँदाचाहिँ मोबाइलमा। प्रायः उनी युनिकोडबाटै पोस्ट गरिरहेका हुन्छन्। ‘अंग्रेजीबाट अलिक लामै केही लेख्नुपर्‍यो भने मात्रै ल्यापटप युज गर्छु, नत्र बाहिर हुँदा प्रायः मोबाइल नै हो,’ उनले भने। आफैं पनि विज्ञान र प्रविधि सम्बन्धी साहित्य सिर्जना गर्ने भए पनि अरू युवापुस्ता जसरी प्रविधिप्रति मैत्रीपूर्ण चाहिँ हुन नसकेको उनले बताए। ४ हजार ५ सय १४ जना फेसबुक प|mेन्डस्का यी धनी हरेक दिन नबिराईकन फेसबुक भने चलाउँछन्। ३० मे २०११ देखि फेसबुक चलाउन थालेका उनका वाल पोस्टिङहरू विश्लेषण गर्दा उनी मुख्यतः दुई उद्देश्यले फेसबुक चलाउँछन् : कुनै पनि राष्ट्रिय घटना, उत्सव, कार्यक्रमहरूप्रति आफ्नो विचार प्रकट गर्न तथा आफ्ना नयाँ सिर्जना सार्वजनिक गर्न। अरूले के गरिरहेका छन् भन्ने अपडेटका लागि त छँदै छ।

२८ जुलाईमा उनले ‘विचार मान्नेहरू एकअर्काका शत्रु हुन सक्छन् तर विचारहरू कहिल्यै पनि एकअर्काका शत्रु हुँदैनन्’ भन्ने महत्त्वपूर्ण उक्ति पोष्ट गरेका छन् भने २६ जुलाईमा नेवार समुदायको घण्टाकर्ण संस्कृतिमा आएको परिवर्तनबारे लेखेका छन्। राजधानीको त्रिचन्द्र क्याम्पसको घटनालाई लिएर २३ जुलाईमा उनले गरेको पोस्ट ‘विद्यार्थीहरूले पुस्तकालय जलाउँछन्, नेताहरूले देश जलाउँछन्। स्रष्टाहरूले नैतिकता जलाउँछन्। गुरुहरूले आदर्श जलाउँछन्। व्यवसायीहरूले इमान जलाउँछन्। धर्मका ठेकेदारहरूले धर्म नै जलाउँछन् अनि अहंकारपूर्वक महानताको उद्घोष गर्छन्… के गर्ने?’ ले पछिल्लो महिना निकै चर्चा पायो। यसले २३ वटा सेयर, ३१२ लाइक र ३३ कमेन्ट पाएको छ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालहरूमा नेपाली तन्नेरी पुस्ताको पहुँच अनपेक्षित रूपमा भइरहेको बढोत्तरीसँगै यसले पुरानो समय बेहोरेर हुर्केका पाका पुस्तालाई पनि ‘राम्रैसँग’ छोएको देखिन्छ। उमेरले ६० को हाराहारी पुगेकादेखि ८५ वर्षसम्मका स्रष्टाहरू प्रविधिको हिसाबले तन्नेरीसँगै उभिन आइपुगेका छन्। ८५ वर्षीय कमलमणि दीक्षित रोचक उदाहरण हुन्। चौध वर्षअघि नै कान्तिपुर दैनिकले उनीबारे छापेको थियो— ‘७१ वषर्ीय हजुरबा न्युयोर्कमा नातिनीसँग च्याट गर्छन्।’ त्यसयता थुप्रै वर्ष बिते, सूचना प्रविधिसँग उनको पनि संगत बढ्ै गयो। उनी बिहान साढे सात बजेदेखि साँझ पाँच बजेसम्म इन्टरनेट पहुँचमा हुन्छन्। आफ्नै नामबाट वेबसाइट बनाएका छन्। ‘इमेलमा त दिनमा म २५ देखि ३० पटकसम्म अपडेट हुन्छु,’ उनले भने, ‘१०/११ वर्ष भयो होला, हातले लेख्नै छाडिदिएँ।’

उनको फेसबुक एकाउन्टको भने रोचक कथा छ। सर्च गर्दा उनको नाममा फेसबुक एकाउन्ट भेटिन्छ, ढाका टोपी, चस्मा, दौरा-सुरुवाल र कोट लाएर कुर्सीमा ढल्किरहेको प्रोफाइल पिक्चर र तन्नेरी छँदा पत्नीसँग खिचिएको श्यामश्वेत कभर फोटोसहित। यो एकाउन्टमा गएको २० जुलाईसम्म उनी अपडेट भएको देखिन्छ। यो मितिमा उनले एउटा अनलाइनमा छापिएको ‘यी हुन् नेपालका १५ धनी जाति’ लिंकमा ‘आँखै खोल्ने तथ्यांक पढ्न पाइयो त’ भन्दै कमेन्ट गरेका छन्। २८ अपि्रल २०१३ मा उनले कभर फोटो चेन्ज गरेका छन् पत्नी अञ्जु दीक्षितसँगको पुरानो तस्बिरसहित, जसले ३३ लाइक, ४ कमेन्ट, ४ सेयर पाएको छ। उनकै छोरी रूपा दीक्षित जोशीले ‘आई थिंक देवीजी इज फिफटन एन्ड प्रेगनेन्ट विद दाजी कुन्दा…’ लेखेकी छन्। ६ अगस्ट २००९ देखि नै सक्रिय देखिएको यो एकाउन्ट भने छोरी रूपाले नै खोलिदिएको उनले खुलाए। ‘इमेल, इन्टरनेटको म हदैसम्मको युजर हुँ,’ मदन पुस्तकालय मार्फत नेपाली साहित्यका कृतिहरूको डिजिटलाइजेसनमा समेत सक्रिय उनले भने, ‘तर फेसबुक भने चलाएको छैन। सबै छोरीकै काम हो।’

७१ वषर्ीय स्रष्टा यादव खरेल पनि फेसबुकका नियमित पारखी हुन्। यसको प्रयोगबारे उनको भने बेग्लै मान्यता छ। उनी फेसबुकचाहिँ दिनहुँ या अवस्था नमिल्दा दिन बिराएर अपडेट हुन्छन्, तर ‘जे पायो त्यही पोस्टचाहिँ’ गर्दैनन्। ‘घन्टैपिच्छे यहाँ गएँ, यो खाएँ, यसो गरें भनेर फोटाहरू राख्नु वाहियात हो जस्तो लाग्छ,’ उनले भने, ‘अलिक वेट हुने सामग्री छ भने पोस्ट गर्छु नत्र अपडेट मात्रै हुने हो।’ पछिल्लोपटक उनले २६ जुलाईमा कान्तिपुर दैनिकमै प्रकाशित ‘जय होस्’ शीर्षकको आर्टिकल पोस्ट गरेका छन्। ७ नोभेम्बर २०११ मा एकाउन्ट खोलेका उनले महिनामा तीन या चारभन्दा बढी पोस्ट गरेको देखिँदैन। ‘प्रविधिप्रति मैत्रीपूर्ण हुनु राम्रो हो, तर एडिक्ट नै हुनुचाहिँ खराब,’ उनले भने, ‘त्यही भएर आफूलाई चाहिएको बेला यसको प्रयोग गर्छु। कम्तीमा ३० या ४५ मिनेट घरमै इन्टरनेटमा बस्ने गर्छु।’

पछिल्ला वर्षहरू इलाममा रहेर रेडियो फिक्कल चलाउँदै आएका ६७ वर्षीय स्रष्टा गणेश रसिक पनि खरेलकै मार्गमा छन्। उनले २०१० मै फेसबुक एकाउन्ट खोले। एक्टिभ पनि भए। अहिले पनि उनको एकाउन्ट खुला नै छ। फ्यानहरूले टयाग गर्नेदेखि लिएर म्यासेज सबै पठाउन मिल्छ। तर, उनी आफैं भने त्यत्ति एक्टिभ छैनन्। पछिल्लो पटक उनले ३० नोभेम्बरमा पोस्ट गरेका छन्— ‘मागी मिठो खाँदैन। चोरी राम्रो लाउँदैन। सधैं आफ्नो पाखुरीले खान्छ सिठो पिठो, यो नेपाली ठिटो…।’ यो पोस्टमा उनले १० लाइक र ४ कमेन्ट मात्रै पाएका छैनन्, क्यानाडा बस्ने उनका फ्यान भोला सुवेदीले लेखेका छन्- ‘गणेश सर नमस्कार छ नै। दया गरेर एकचोटि क्यानाडा घुम्न आउनुहोला है।’ यसअघि ३० अक्टोबरमा गरेको रसिकको पोस्ट पनि रसिक नै लाग्छ— ‘घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रै’छ…।’ उनले इलामबाट फोनमा भने, ‘यो फेसबुक भनेको कस्तो रैछ भने धेरै चलाउँदै जाँदा एडिक्ट नै भइने। एडिक्ट भइन्छु कि भन्ने डरले अचेल चलाउन छाडेको छु, तर अपडेटचाहिँ हुन्छु।’

कुनै बेला साहित्यिक रचना छाप्नुपर्‍यो भने महिनौं कुर्नुपर्ने, सम्पादक चिनेको हुनुपर्ने, हुलाकबाट पठाउँदा रेस्पोन्स नगर्ने अवस्था थियो। राणाकालीन इतिहास बोकेको साहित्यक पत्रिका ‘शारदा’ देखि मुलुकबाहिरबाट निस्कने ‘उदय’ हुँदै ‘मधुपर्क’ सम्मले नेपाली साहित्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए। अहिले पनि दर्जनौं साहित्यिक पत्रिका नियमित छन्। तर, तिनले पनि आफ्नो विज्ञापन फेसबुकबाट नगरी नहुने अवस्था सिर्जना भएको छ। पत्रिका छापिने संख्याभन्दा बढी फेसबुकमै साथी बनाउन मिल्ने भएकोले पनि अचेल साहित्यिक रचना फेसबुकमै छाप्नेहरू थुप्रै छन्। तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, राजेन्द्र सुवेदी, मातृका पोखरेल, मञ्जुल, सुधा त्रिपाठी, ज्ञानुवाकर पौडेल, उषा शेरचन, कृष्ण धरावासी, रमेश क्षितिज, शारदा शर्मा, विधान आचार्य, लक्ष्मण गाम्नागे, राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, एस्पी कोइरालादेखि पूर्वका विवश पोखरेल, मधु पोखरेल, कुन्ता शर्मा, राधिका गुरागाई, भवानी क्षेत्रीसम्मका पाका स्रष्टाहरू फेसबुकमा नियमित रचना पोस्ट गरिरहेका हुन्छन्।

‘अब प्रविधिलाई जीवनबाट छुट्टयाएर हेर्नै मिल्दैन,’ पाका स्रष्टा कमलमणिको निष्कर्ष छ, ‘त्यही साहित्य पनि प्रविधिप्रति मैत्रीपूर्ण हुनुपर्छ।’

000

कान्तिपुर दैनिक 
२०७१ श्रावण २० बाट साभार

No comments: