जहाँको पो होस्, माछो ठिमीमा आएपछि ‘जनकपुर’को भइहाल्छ । अझ ‘जलकपुर’ भनिहाल्ने पनि भेटिन्छन् विक्रेता ।
सुन्तोला जहाँको पो होस्, बजार छिरेपछि ‘गोर्खा’को भइहाल्छ । कुरा बुझ्दै लाँदा फर्फिङतिरबाट आउँदो रैछ ।
मातृका पोखरेल सरले कुरो आजसम्म खस्काउनुभएको छैन र बाँचेको छु । एउटा घटना । ढाकाबाट फर्कने दिन । किनमेल गर्ने गर्ने भन्दाभन्दै भ्याउँदै भ्याइएन । कमसेकम चकलेट त ल्याउनू भन्लान् तर भ्याइएन । काठमाडौँ झरेपछि आइडिया लगाइयो । ‘फुर्यो’ भनुम् न । दुर्गा डिपार्टमेन्टल स्टोरमा छिरियो । बाहिरको खोलमा उर्दूका क-याङकुरुङ अक्षर लेखेका चकलेट किन्यौँ, दुर्गा डिमार्टमेन्टल स्टोरको स्टिकर हटायौँ र घर लग्यौँ । खूब मिठो मानेर खाए घरमा । छरछिमेकमा पनि बाँडे । भनेँ पनि— ‘क्या दाम्मी हुँदोरछ बाइ बङलादेशको चकलेट !’
एकजना प्राध्यापकले काठमाडौँ विश्वविद्यालयमा आमन्त्रित प्राध्यापकको रूपमा बोल्दै भने— ‘अमेरिका इज मेड इन चाइना ।’ एकछिन त कुरो बुझिएन ! पछि दृष्टान्त दिए । अमेरिकाबाट ‘अमेरिकन वस्तु’ भनेर विश्वभरि पठाइने ब्रान्डेड सामानजति सबै चीनमा बनेका हुँदा रहेछन् ।
थकाली भान्साघरका साहुजी नै ‘बाहुन’ परेजस्तो ।
नसकिने भो बाबै !
जनकपुरका माछा, गोर्खाका सुन्तोला, बङ्लादेशको चकलेट र अमेरिकी गिफ्ट — यिनको मिलनविन्दु मैले लैङ्गिकताको विमर्शमा भेट्टाएको छु । यो कुमालकोठीको जरो अथवा सञ्जीवनीको बुटी भेट्टाएजस्तो भयो कि भएन?
लेखकलाई काम लाग्न सक्छ । नलाग्न पनि सक्छ ।
अचेल फेसनमा छ ‘लैङ्गिकता’ । सिर्जनात्मक लेखनमा मात्रै हो र? सैद्धान्तिक तथा अनुसन्धानात्मक लेखनमा पनि आइरहन्छ । यो आएपछि अलि मोडर्न हुँ भन्न पनि सजिलो ।
जुन जुन नाम दिइए पनि कुरो फेरि नारीवाद वा पुरुषवादकै भासमा पु-याएको देखेको छु । माछा जनकपुरकै । सुन्तला गोर्खाकै । चकलेट…भो, सुगर बढ्छ !
गाउँतिर खन्यूँको रुख खूब हुन्थ्यो । चोप आउने । बेलुका ढुङ्गाले हानेर चोटैचोट पार्थिम् हामी । बिहान जाँदा चोटबाट निस्केको चोप जमेर चुइगमजस्तै हुन्थ्यो । अनि त्यो चुँडेर देशी चुइगम खान्थिम् र फुर्ति लाउँथिम् । साना मान्छे हुँदैनथिम् । निकै तन्किन्छ त्यो चुइगम । लैङ्गिकता पनि त्यस्तै, इलास्टिक । जता तान्दा पनि हुने । चुट्टिइरहन्छ । तै पनि… हुँदा हुँदा धर्म–दर्शनको अध्ययनमा पनि लैङ्गिकता । सबाल्टर्नको अध्ययनमा पनि लैङ्गिकता । एकजना मित्रले त काँक्राको बेलो पनि भाले र पोथी हुने ठहर गरे । फेसकुबमा आयो ।
कुरो बुझ्दै लाँदा आलुजस्तो रहेछ लैङ्गिकता — जता पनि मिल्ने ।
कि पानीजस्तो पो?
हो, पानीजस्तो । तरल । ठोसता नभएको । लोटा — पिँध नभएको ।
कुरो बुझिएन ।
कुरो अब बुझिन्छ । बुझिने बेला भइगयो । एक सेकेण्ड ।
लैङ्गिक विषय छुने जुनै विषय पो होस्, गाँठीगुँठी कुरो लप्सीकै फेदमा पुग्छ । पु-याइन्छ । घुमाइफिराइ माछा जनकपुरकै । सुन्तोला गोर्खाकै । चकलेट ?
अलमल्याउन बानी परेका बेमानहरू !
यसमा समस्या के छ र?
छ समस्या । छ । तर देखिँदैन पनि । मान्न पनि तयार छैनन् मानिसहरू ।
समस्या (क) — महिलाले महिला हुनुका कोणबाट बढी सोच्छन् । पुरुष दोषी ।
समस्या (ख) — पुरुषले पुरुष हुनुको कोणबाट बढी सोच्छन् । महिला दोषी ।
समस्या (ग) — अधिकारकर्मीले पद र डलरको कोणबाट बढी सोच्छन् । लालच दोषी ।
समस्या (घ) — नेताले भोटको कोणबाट बढी सोच्छन् । पद दोषी ।
लैङ्गिकताको परख, लेखन र अध्ययनले महिला र पुरुषको कुरा गर्दैन भन्ने होइन । बाजा बजाएर गर्छ । तर नारीकै मात्र कोणबाट कुरा गर्न त नारीवाद छँदैछ त । पुरुषकै कुरा गर्न पुरुषवाद छ नि । मिसमास पारेर अचेल ‘फेमिनिन म्यास्कुलिनिटी’ भन्ने एउटा वर्णशङ्क सिद्धान्त पनि आएको छ । म आफैँचाहि त्यस्तो वर्णशङ्करको निर्माणभित्र पनि लैङ्गिक असमानताको पुट देख्छु ।
जो जे हो, त्यसलाई आफ्नो प्रकृतिप्रदत्त शरीरलाई उत्सवमय बनाउने प्रेरणा हामीले दिएनौँ । फ्रान्सेली चिन्तक लुसी इरिग्यारीको कुरा बुझौँ — ‘शरीर लेख । शरीर लेख ।’ उनको भनाइ ।
जस्तो छ शरीर, आवरण र स्वभावमा, त्यसको उत्सव मनाउन सिक्नु–सिकाउनु जरुरी । अर्काको शरीर आवरण र स्वभावमा जस्तो छ, त्यसलाई स्वीकार गर्नु, सम्मान गर्नु जरुरी छ ।
यो अनिवार्य छ तर जटिल हामीले बनायौँ । युगौँ पो भयो त !
यो लैङ्गिकताको अध्ययन किन चाहियो र?
कुरा गम्भीर ।
यसरी पनि सोचौँ न—
‘संसारमा दुई जात — पुरुष र महिला !’ हामीले यसो भनेको शताब्दिऔँ भयो । अझ भनौँ, यसो भनेर हामीले हिंसा गरेको शताब्दिऔँ भयो । यी दुई जातको विमर्शका बीच कतिपय कुरा किचिएका छन् । तिनमा दृष्टि जानुपर्छ ।
यो पुरुष र महिलाको विमर्शका बीच कोको किचिए ?
धेरैजसो सन्दर्भमा त यतातिर दृष्टि जानुपर्छ जस्तो नै लाग्दैन हामीलाई । आआफ्ना दम्भको पर्दाभित्र हामी मस्ताराम । हामी श्रेष्ठ । हामी । हामी मात्र । अरू? आवश्वकता र इच्छाअनुसार विपरीत लिङ्गीलाई मान्ने । आवश्यकता र इच्छा पूरा भएपछि फेरि उही डम्फु — चौभिनिज्म । हामी श्रेष्ठतम लिङ्गी । अरूको नकुरा अरम अहिले ।
‘संसारमा मान्छेका दुई जात’ भन्ने वाक्यांशले गरेको हिंसा काहालीलाग्दो छ । लेखनमा पनि त्यसको ग्रहण खग्रास बनेर पल्टेको छ । यस्तो ग्रहण, जसलाई जुन राशीका मान्छेले हे-यो, उसैलाई जलबिन्दु । हैट !
कुरो हो । अन्याय भयो । संसारमा मान्छेका दुई जात मात्रै छैनन् लैङ्गिकताका हिसाबले । सबै माछा जनकुरकमा भन्दिँदा नुवाकाटेका ट्राउटको के हुन्छ? कोशीका भोटीको? हिलोमा भेटिने बाम माछाको? लोपुन्मुख मागुरको? राराका असलाको? हैट ।
सुन्तोलाको? मौसमै सकियो, कुरा नगरौँ ।
तर हो ।
एउटा तर्क आउला — यो फरक लैङ्गिकताको कुरा, जो आफ्नो अनुभवमा छैन, त्यो कसरी लेख्नु?
उत्तर — अम्लेट खानलाई अण्डा पार्नैपर्ने हुन्छ र?
उत्तर अलि हल्का भयो । विषय गम्भीर ।
स्वर्ग लेख्ने मिल्टन स्वर्ग पुगे र? नर्क लेख्ने दाँते, नर्क पुगे र? ‘तीन गँजेडीको चन्द्रलोक यात्रा’ लेख्ने शिवकुमार राई चन्द्रलोक कहिले पुगे? मोहनराज शर्मा वैकुण्ठ पुगेको खै कसले देख्यो । अँ नाचिकेता जिउँदै यमलोक पुगे । कसले माग्यो र भिजा–पासपोर्ट ?करिब करिब स्वर्गै पुगेर फिर्ता ल्याइन् सत्ववान्लाई सावित्रीले ।
कमल रिजालको उपन्यास आयो ‘सुकर्म’ । निकै चर्चा कमायो । हराएको साथी सुकर्मको खोजी गर्दै उसको साथी सुभद्र पृथ्वी सकेर चन्द्रलोक, मङ्गललोक, बुधलोक, बृहष्पतिलोक हुँदै सप्तर्षिलोक पुग्छ । कल्पनाशीलताले पु-याउन सक्छ नभोगेको लोकमा पनि । त्यसलाई लोकहितमा प्रयोग गर्न सक्छ लेखकले । कल्पना भनेको, साहित्यमा, केवल ‘मास्टरबेशनल फ्यान्टसी’ हुनु भएन । यसको प्रयोजनलाई लोकहितकारी बनाउन सकिन्छ नि !
कल्पनाशीलता । सिर्जनाशीलता । थपौँ— ती ‘वर्जित’ मानिएका क्षेत्रमा अनसुन्धान गर्न पसौँ । ‘आउट अफ द बक्स’ सोचौँ न । परानुभूति भन्ने कुरा पनि छ नि । इम्पेथी भन्छन् क्यार । त्यो लेखकहरूको गहना हो । गहना लगाऔँ न !
हामीले शास्त्रलाई पनि एकाङ्गी तवरले, पुरुष वा महिला हुनुको कोणबाट मात्रै पढ्यौँ अथवा व्याख्या ग-यौँ । लेख्नेले पनि सायद उसै गरी लेखे । तर बुद्धि पु-याएका लेखक पनि छन् । हामीले लिङ्गकै बलले तिनलाई दबायौँ ।
उदाहरणका लागि, रामायण । राम वनबास जाँदा उनलाई पम्पा नदीसम्म साथ दिए अयोध्यावासी नर, नारी र किन्नरले । नर र नारी त घर फर्किए, किन्नर फर्किएनन् । त्यहीँ बसिरहे । बसिरहे । एक दिन, दुई दिन हो र? चौध वर्ष । रामसीता फर्केर आउँदा पनि त्यहीँ थिए । साथै आए अयोध्या ।
यो कुन तहको समर्पण हो? भक्ति हो? प्रेम हो?
भनिन्छ— रामले नै यिनलाई विशेष पर्वहरूमा जनसाधारणलाई आशीर्वाद दिने अधिकार दिएका रे !
यी किन्नर रामायणमा नायक त के, महत्त्वपूर्ण पात्रमा पनि गनिएनन् । दोष रामायणका रचयिताको त्यति होइन यसमा । दोष व्याख्याताको । ‘पण्डित’ हरूको हो । पाठकको हो । हाम्रो हो । ‘किन्नर रामायण’ लेख्नुजस्तो नि !
जोडदार सिफारिस— अर्चना थापाको कथासङ्ग्रह ‘कठपुतला’ । यसका केही कथाले ‘पुरुष’ र ‘महिला’ को महला लगाएकाहरूलाई सोच्न बाध्य पार्छन् पार्छन् । सोच्न लगाउँछन् — मर्द त थाहा भो, यो ‘विमर्द’ भनेको को हो?
कमला दासले एउटा कविता लेखिन्— ‘द डान्स अफ द युनक’ । यानि, हिजडाहरूको नाच । ‘हाहा’ गर्न सजिलो होला, यो कविताको मित्री मर्म बुझेर आँखामा आँसु रोक्न गाह्रै पर्छ ।
कुमार ज्ञवालीको कथा छ ‘नियोग’ । पुरुषमा पुंशत्व छैन । चाहिएको छ सन्तान । श्रीमतीले बच्चा जन्माउँछिन् छिमेकीका । भाडामा ल्याइयो भनौँ न । ‘नियोग’ विधि । शास्त्रमा उल्लेख छ नियोगको । पंशुत्वको प्रश्न समाजमा थिएन भने शास्त्रले नियोगको विधि किन लेख्यो?
हामीले हिजडामा ‘अमान्छे’ देखेको शताब्दिऔँ भयो । तिनीभित्रको मानवता कहिल्यै नदेखेको ठिक साँचो हो । कतिपय पुराना कथा वा शास्त्रले यस्तो विभेदको बिउ रोपे । हामीले व्याख्या पनि उस्तै ग-यौँ । उदाहरणमा जाऔँ न ! देउताका राजा जियस पनि कस्ता पापी । कसैलाई क्रूर सजाय दिनुपर्दा ‘नपुंशक हुनू’ भनेर दिए । उदाहरण छँदैछन् बूढा ग्रिसेली द्रष्टा टाइरेसियस । लिङ्गविहीन । पुंशत्वविहीन । हुन त त्यस्तो श्राप लिएर तिनलाई गाडेका हुन् माटोमा राजाले । थाहा छ । तर, माटोमा गाडिएको त्यो मानिस ‘बिउ’ थियो, उम्रियो । फैलियो ।
अर्जुनकै कुरो पनि श्रापकै कुरा हो । उर्वशीको ‘अनैतिक’ आग्रह नमान्दा उनले पुंशत्व गुमाउनु परोस् भनेर श्राप दिएको कुरा हामीले पढेकै हौँ । त्यसले उनलाई पनि बृहन्नला बनायो ।
कुरा नि, शास्त्रले जे भन्यो त्यही ब्रह्मसत्य मान्दिदा कुरा बिग्रिन्छ । शास्त्र पनि हामीजस्तै अग्रही मान्छेले लेखेको हो । त्यसमाथि प्रश्न गर्नुपर्छ ।
एउटा पुरुष बृहन्नला भयो । यसलाई ‘श्राप’ को उपज मान्नु गलत हुने छ । कुनै फरक किसिमको लैङ्गिकतालाई श्रापको उपज मान्ने दम राख्छ कोई माईबापले आजको मितिमा ? शास्त्रको पुनर्व्याख्या गरौँ । भनौँ— अर्जुनभित्र थियो बृहन्नला हुनुको गुण । जब उपयुक्त वातावरण आयो, प्रकटित भयो । बस् !
वैवस्वत मनु र उनकी श्रीमती श्रद्धालाई सन्तान पाउने तीव्र इच्छा थिएछ । मनुलाई छोरा चाहिएको, श्रद्धालाई छोरी । श्रद्धाकै इच्छाअनुसार छोरी इला जन्मिछिन् । यसबाट राजा त्यति खुसी भएनछन् । त्यो बुझेर गुरु वशिष्ठले हरिको विशेष आराधना गरेर इलालाई ‘सुद्युम्न’ नाम गरेको पुत्र बनाइदिए ।
कथा अगाडि पो रोचक छ यो । घोडा चढेर शिकार खेल्न निस्केका सुद्युम्न, अलि पर जङ्गलमा शिवपार्वतीले वनविहार गर्दैगरेको ठाउँमा पुगेछन् । शिवपार्वतीलाई देख्नासाथ उनी पनि महिला भए रे, उनको घोडा पनि घोडी भयो रे ! हैट् !
यसरी वनमा घुम्दै गरेकी सुन्दरीलाई देखेर चन्द्रपुत्र बुध आकर्षित भए रे ! अनि तिनी दुईको समागमबाट पुरुरवाको जन्म भयो रे !
आफ्नै तरल लैङ्गिकताबाट अचम्मित भएर सुद्युम्नले गुरु वशिष्टलाई पुकारेछन् । वशिष्ठले शिवलाई गुहारेछन् । शिवले विधि सञ्च्याएछन् — ‘एक महिना पुरुष, एक महिना महिला बनाएर संसार घुमाइदिन्छु ।’
ती घुम्दै हिँड्ने पुरुरवा हामी हौँ । हामी नै हौँ । अथवा, हामी पुनि हुन सक्छौँ ।
भागवत् पुराणको नवौँ स्कन्ध ।
आज अलिकति पँणित्याइँ पनि छाँटियो ।
हाम्रै भूगोलसँग जोडिएको अर्को एउटा रमाइलो कथा छ । इन्द्रलाई ब्रह्मापुत्री अहिल्या सारै मन पर्ने । ब्रह्माले भने अहिल्यालाई गौतम ऋषिसँग बिहे गरिदिए । इन्द्रलाई उखरमाउलो ! गौतम नभएको बेला आएछन् र सुटुक्क अनैतिक कार्य गरेछन् । ऋषिले थाहा पाए, र श्राप दिए । इन्द्रका जिउभरि हजार योनि । पछि पनौतीमा तपस्या गर्दागर्दा शिव–पार्वती प्रकट भएर पार्वती–स्वरूप रुद्रावती, पद्यमावती र लीलावती नदीको सङ्गमका नुहाउन लगाएछन् । श्राप चट् । योनि गायब । इन्द्र सकुशल । छुमन्तर । पनौतीमा मेला आजपर्यन्त जारी छ ।
पुरुषको पुरुषत्व ठोस हो वा होइन? नारीको नारित्व नि?
मान्छे मान्न बाध्य भए — लैङ्गिकता तरल कुरा हो । यो ठोस मात्रै हुँदैन ।
मान्छे मान्न बाध्य भए— मान्छेका दुई जात मात्रै छैनन् । अरू पनि छन् । र यो धरती तिनको पनि हो ।
हामीले ‘आम्मै नि’ भन्नु चैँ आवश्यक छैन । यो फरक पहिचान त्यसैगरी टाँसिएको हुन्छ, जसरी पुरुष वा महिलामा पुरुष वा महिला हुनुको पहिचान टाँसिएको हुन्छ । कतिपय तेस्रो लिङ्गीहरू कल्पनामै पनि पुरुष वा महिला हुन पाए हुन्थ्यो भनेर सोच्दैनन् । कैलाश श्रेष्ठका रूपमा जन्मेका (जन्मेकी) भूमिका श्रेष्ठले एउटा अन्तरवार्तामा भनेकी छन्— साथीहरूले अर्को जन्ममा छोरा वा छोरी के भएर जन्मन चाहन्छौ भनेर सोध्छन् । ‘म त अर्को जन्ममा पनि तेस्रो लिङ्गी नै भएर जन्मन पाऊँ,’ उनको भनाइ ।
यसलाई समान्य भनाइ मान्नुको विकल्प छैन । नमानी सुक्खै छैन ।
स्वाभाविक हो । पुरुष हुनु वा महिला हुनु भनेको के हो भन्ने जसले अनुभव नै गरेन, उसलाई पुरुष वा महिला हुनुमा के मोह हुन्छ र?
एउटा सिफारिस छ— अरुन्धी रायको उपन्यास ‘मिनिस्ट्री अफ अटमोस्ट हेप्पिनेस’ । पाइन्छ नेपालमा । कथा मूलतः अन्जुम नाम गरेको एउटा ‘हिजडा’ को हो जो समाजका अन्य पक्षमा वर्जित छ, तर कतिपय पर्वमा अपरिहार्य छ । समाजको दोहोरी नीति? उपन्यासको सार यति सरल र सपाट कुराले मात्रै चाहिँ समेट्दैन । एक ठाउँ त ‘हिजडालाई मार्दा पाप लाग्छ’ भनेका कारणले ठूलो धार्मिक दङ्गामा पनि ऊ बाँच्छ । हुन त लेखकले हिजडा हुँदा यसरी बाँचिन्छ भनेर वकालत गरेकी होइनन्, तर हिजडा हुनुको पनि एउटा विशिष्ट पहिचानको धरातल हुन्छ भन्नेचाहिँ पक्कै हो ।
के गर्न सक्छन् त पुरुषले र महिलाले यस प्रश्नमा?
फरक लिङ्गीलाई तिनले फेर्न र आफूजस्तै बनाउन सक्छन्? सक्दैनन्? र, जुन काम मान्छेले गर्न सक्दैन, त्यसमा उसको कानुन लाद्न पनि मिल्दैन । विलियम बटलर यिट्सले उनको एउटा नाटक ‘पर्गेटरी’ मा देखाएका छन्— यी पातकीको वंश नै नाश गरिदिएर स्वर्ग सुधार्छु भन्ने एउटा सन्काहाले बाउ पनि मार्छ, छोरो पनि । तर पनि, जागित्रको छाया आउन छोड्दैन । अन्त्यमा हार खाएर भन्छ— मान्छेको संसारभन्दा परको कुरामा मान्छेले केही गर्न सक्दैन । ‘म्यान क्यान डु नथिङ’ ।
यी फरक लैङ्गिकताका सन्दर्भमा पुरुष वा महिलाले शारीरिक अथवा मनोवैज्ञानिक प्रश्नमा केही गर्न सक्दैनन् । केही पनि गर्न सक्दैनन् ।
गर्न के सक्छन् त?
यसो हुँदा के हुन्छ?
धेरै हुन्छ । धेरै नै ।
मान्छेको प्रकृतिप्रदत्त स्वभावलाई कानुनले परिवर्तन गर्न सक्दैन । त्यसको अस्तित्व स्वीकार गर्नु, र त्यसको व्यवस्थापनका लागि स्वस्थ वातावरण निर्माण गर्दिनु सभ्य समाजको दायित्व हो । होइन र ?
000
https://sahityapost.com बाट साभार
No comments:
Post a Comment