मतदातामाझ पुगिरहेका चुनावी गीतमा न कुनै विचार छ, न एजेन्डा, न जनताको आवाज नै, छन् त केवल नेताको गुनगान, झुट र उडन्ते सपनाको आश्वासन
गीत १
गीतको बोल छ, ‘गाउँ सहरमा ओली’ जहाँ देउतैसरह प्रस्तुत भएका छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले बनाएको यो गीतले भन्छ, ‘सहरसहरमा ओली, गाउँगाउँमा ओली । झुपडी र महलमा ओली, ठाउँठाउँमा ओली । सूर्यको जित छ भोलि, आउँदै छन् केपी ओली ।’ गायक रामप्रसाद अवस्थी र गायिका पूर्णकला बिसीले गाएको त्यस्तै अर्को गीत छ, ‘सूर्य चिह्न सुनौलो भोलिलाई, यो पाँच वर्ष दिऊँ केपी ओलीलाई ।’ गीतमा सत्तागठबन्धनलाई गाली नै गाली छ, तर देशको मिचिएको भूमि फिर्ता ल्याएकोदेखि दमकमा भ्यु टावर बनाएको जस लिँदै ओलीलाई ताली नै ताली । यतिसम्म कि गीत आफँै भन्छ, ‘विस्तारवादको जग हल्लिन्छ केपीको नाम सुन्दा...।’
गीत २
०७४ को निर्वाचनमा ‘सै पनि एमाले, मै पनि एमाले’ गाएर एमालेका लागि भोट मागेका गायक बद्री पंगेनीले यसपटक गाएका छन्, ‘अघिअघि प्रचण्ड, पछिपछि हामी नेपाली ।’ नेपाली जनप्रगतिशील मञ्च जापानको प्रस्तुतिमा बनेको यो गीतमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्तिगान छ । गीतमा प्रचण्डकै नातिनी स्मिता दाहालले पनि स्वर भरेकी छिन् । अनि लोकदोहोरी कलाकारहरू करिष्मा ढकाल, लोमस शर्मादेखि चेतन गोतामेसम्म नाचेका छन् । गीतमा नेपाल अहिलेको अवस्थामा प्रचण्डकै नीतिका कारण आइपुगेको दाबी गरिएको छ । प्रचण्डकै कारण देशले छुवाछुत र भेदभावबाट मुक्ति पाएको ‘अस्वाभाविक दाबी’ पनि छ । थाहा छैन कति सत्य हो, तर गीतले यो पनि भन्छ, ‘जनतासँगै रुन सक्ने, जनतासँगै हाँस्ने, हिमाल, पहाड, तराईलाई एक सूत्रमा गाँस्ने, प्रचण्ड नै हुन् ।’
गीत ३
घोषणापत्रमा स्वयम्भुभन्दा माथि रवि लामिछानेको तस्बिर राखेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पनि चुनावी गीतहरू सार्वजनिक भएका छन् यसपालि । ‘भोट दिनुस् घन्टीमा’ भन्दै गाइएका ती गीतले पनि भन्न छाडेको छैन, ‘नेपाली जनता के भन्छ, रवि दाइलाई ले भन्छ, रवि दाई हाइहाई, भ्रष्टाचारी बाइबाई ।’ गीतलाई सुनिता बुढा क्षेत्री र चन्द्रमान तामाङले गाएका छन् ।
गीत ४
गगन थापाको गुनगानमा पनि गीत घन्किरहेका छन्, यसपटक । कृष्ण रेउले र टीका पुनले गाएका गीत छन्, ‘गगन दाइ हाई हाइ, गगनकै खाँचो छ, अब कांग्रेसलाई ।’ ‘गगन आऊ, कांग्रेस बचाऊ’ भन्ने यो गीतले गगनलाई एक युगमा एकपटक जन्मिएको नेताको रूपमा परिभाषित गरेको छ । देउसीभैलो शैलीमा चक्र, जल र कविता श्रेष्ठले गाएको अर्को गीत पनि छ, ‘मंसिर ४ को लगन, आएआए गगन ।’ यसमा गगनको हाइहाई त हुने नै भयो, अचम्म त उनी स्वयंले यसमा मोडलिङ पनि गरेका छन् ।
०००
देश प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनकोे सम्मुखमा छ । नेता तथा उम्मेदवारहरू मतदाताको घरदैलोमा छन् । निर्वाचनको ‘सौन्दर्य’ नै भनौँ, सधैँ सत्ता, सदन र महलमा उभिइनेहरू पनि पाँच वर्षमा एकपटक हात जोड्दै गाउँ, सडक र मतदाताको घरघर पुगिरहेका छन् । आफ्नो जितका लागि अनेक शैली अपनाइरहेका छन् । र, त्यसकै एउटा बलियो माध्यम बनेको छ, गीतसंगीत ।
माथि प्रस्तुत केही गीत चुनावी प्रचारकै लागि निर्माण गरिएका प्रतिनिधि उदाहरण मात्रै हुन्, जसले दल र उम्मेदवारको एजेन्डा कम, स्तुतिगान बढी गाएका छन् । अहिले बजारमा सार्वजनिक भएका दुई सयभन्दा बढी चुनावी गीतमध्ये अधिकांश यही चरित्रका छन् । अहिले मतदातामाझ पुगिरहेका यी गीतहरूमा न कुनै विचार छ, न एजेन्डा, न जनताको आवाज नै । केवल नेताको गुनगान, झुट र उडन्ते सपनाको आश्वासन र विपक्षीको गालीमै सीमित छन् ।
त्यसैले त गायक–संगीतकार आभास यस्ता गीतलाई खास संगीत नै भन्न रुचाउँदैनन् । ‘अहिले चुनावी गीत भनेर सार्वजनिक भइरहेकाहरू खासगरी कोकाकोला र फेन्टाको विज्ञापनजस्तै हुन् या गणेशको भजन गाएजस्तै हो,’ उनी भन्छन्, ‘जहाँ सबैले हाम्रो ब्रान्ड राम्रो छ भनेर जबर्जस्ती स्थापित गर्न खोज्ने मात्रै हो । यो एक किसिमको अन्धभक्ति नै हो । कलाकारहरू त सिर्जनात्मक र आलोचनात्मक हुनुपर्ने हो, तर चुनावी गीतमा त्यो चेत पाइँदैन । त्यसैले मचाहिँ यसलाई संगीतको विधालाई लिएर गरिने विज्ञापनका रूपमा लिन्छु । सुरुमा कम्युनिस्टहरूले यस्ता गीत बनाउन सुरु गरे । पछि कांग्रेसले पनि सिक्यो । आफ्नो आस्थाको गुनगान गाउन त पाइन्छ, तर संगीतका हिसाबले म यसलाई उच्चस्तरको मान्दिनँ ।’
डिजिटल समय सुरु भएसँगै चुनावी गीत निर्माणको लहर नै सुरु भएको छ । एक समय थियो जतिवेला विशेष गरी कम्युनिस्टहरू राजनीतिक आन्दोलनका क्रममा होस् या चुनावी गतिविधि, जनवादी सर्जकको सहारा लिन्थे । जसले जनवादी गीत मात्रै गाउँथे, अर्थात् जनताको बोली बोल्ने गीत । राजनीतिक भाषामा प्रगतिशील भनिने यस्तो गीत विशेष गरी पञ्चायती व्यवस्थाविरुद्ध बलियोसँग गुन्जिएको थियो । भनिन्छ, ०३६, ०४६ र ०६२/६३ का आन्दोलनहरू सफल हुनुका विविध कारण होलान्, तर यसपछाडि जनवादी गीतहरूको योगदान पनि कम थिएन । ‘गाउँगाउँबाट उठ’, ‘मान्छेमान्छे एउटै हो नि फरक किन हो’, ‘गरिबको चमेली’, ‘सँगै हिँडौँ साथी, सँगै लडौँ साथी’जस्ता विद्रोहीचेतसहितको जनवादी गीतहरूले जनतामा जागरण मात्रै दिएनन्, ऊर्जा पनि जगाएका थिए ।
मतदातामाझ पुगिरहेका चुनावी गीतमा न कुनै विचार छ, न एजेन्डा, न जनताको आवाज नै, छन् त केवल नेताको गुनगान, झुट र उडन्ते सपनाको आश्वासन
कुनै वेला माओवादीको एउटा सांस्कृतिक समूहको नेतृत्व गरेका र हाल नेकपा एमालेको स्थायी समिति सदस्य मणि थापा स्वयं पनि अहिले चुनावमा प्रयोग भइरहेका दल तथा उम्मेदवारका चुनावी गीतसँग सन्तुष्ट छैनन् । ‘चुनावमा गीत आउने कुरा स्वाभाविक हो । तर, अलि बढी ‘कमर्सियल’ हुन खोजेको देखिन्छ,’ उनी भन्छन्, ‘उम्मेदवारले पनि गीत बनाउन थालेपछि उनीहरूको स्वार्थअनुसार गीत बनिरहेका छन् । कलाकारले आफ्नो विवेकले भन्दा पनि उम्मेदवारको चाहनाअनुसार बनाइदिने हुँदा पनि बढी भक्तिगान गाएको देखिन्छ । यसले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ । भोलि गीतमा बोलेअनुसार गर्न सकेनन् भने त्यसले उल्टै ‘ब्याकफायर’ हुन सक्छ । जनताको बीचमा सन्देश सम्प्रेषण गर्दा सही तवरले नै गर्नुपर्छ । अतिरन्जित गर्नुहुँदैन । तर, यहाँ चुनाव जित्नका लागि अलि बढी नै भइरहेको छ ।’
यस्ता चुनावी गीत निर्माणबाट कलाकार, संगीतकार, वाद्यवादक र स्टुडियोको व्यापार राम्रै भए पनि उम्मेदवार र दललाई नोक्सान पुर्याउन सक्ने थापाको बुझाइ छ । ‘चुनावी गीतमा जनताले पचाउने खालको कन्टेन्ट हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘जनताको परिस्थिति एउटा, गीतको भाव अर्को हुनुभएन । जनताले सोचेको नेता, घोषणापत्र र गीतको तादात्म्यता मिल्नुपर्छ । गीतले एउटा बोल्छ, उम्मेदवार एउटा छ, घोषणापत्र अर्को छ भने त्यो त फगत डान्सिङ गीत मात्रै हुन्छ । रमाइलोका लागि मात्रै गीत बनाउने हो भने त्यो चुनावी गीत हुनै सक्दैन । चुनावी गीतले त दल र उम्मेदवारको घोषणापत्र बोल्न सक्नुपर्छ ।’
थापाको अनुभवमा सुरु सुरुका चुनाव प्रचारप्रसारमा कम्युनिस्टहरूले जनवादी र जनपक्षीय गीत नै बजाउँथे । ‘त्यतिवेला जनवादी कलाकारले नै गीत गाउँथे । पछिल्लो समयचाहिँ पुँजीवादको प्रभाव हुन सक्छ, व्यावसायिक र चल्तीका कलाकारलाई नै बढी प्रयोग गर्न खोज्दा यस्तो विकृति बढी देखिएको हो । विशेष गरी कम्युनिस्टहरूले जनतामाझ चेतना र जागरणका लागि जनवादी कलाकारलाई नै अगाडि सार्नुपर्ने हो । तर, विडम्बना त्यस्तो हुन सकेको छैन,’ कुनै वेला जनवादी गीत गाउँदै हिँड्ने थापाले भने ।
संगीतकार आभासलाई पनि पहिलेभन्दा अहिलेका चुनावी गीतमा नेताको भक्तिगान बढेको भन्ने लाग्छ । ‘चुनावी गीतमार्फत नेताहरू आफ्ना कार्यकर्तालाई हनुमान बनाउन खोज्छन्, अनि हनुमानले त रामभक्ति नै गर्ने हो,’ उनी भन्छन्, ‘पहिलेपहिले चुनावी गीत सामाजिक चेतनाका हिसाबले पनि गाइन्थ्यो । सामाजिक चेतनाले राजनीतिलाई पनि फाइदा पुर्याउँछ भन्ने विश्वास थियो । त्यसैले भक्तिगान कम थियो । प्रश्न गरौँ भन्ने मान्यता थियो । तर, अहिले प्रश्न नगरौँ, हाम्रै मात्र राम्रा हुन्, अरू सबै खराब हुन् भन्ने हिसाबले मात्रै बनेको देखिन्छ ।’
विचारहीन गीत
आसन्न निर्वाचनमा जसरी एकातिर कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमुक्ति पार्टी र लोसपा, अर्कोतिर एमाले, राप्रपा र जसपाको विचारहीन गठबन्धन बनेको छ, उसैगरी विचारीहन देखिएका छन् तिनका चुनावी गीतहरू पनि । सत्तागठबन्धनलाई नै भोट मागेर थुप्रै गीत बनेका छन्, जसले एमालेको आलोचना र प्रतिनिधिसभा विघटनलाई कारण देखाउँदै गठबन्धनलाई जसरी पनि जिताउन आग्रह गरेका छन् । ‘मनैदेखि गठबन्धन’, ‘गठबन्धन एक जुट हौँ’, ‘गठबन्धन जिन्दावाद’, ‘देश बनाउन आयो गठबन्धन’, ‘आयौँ गठबन्धन, गठबन्धन एकजुट हौँ’ आदि बोलका गीत केही उदाहरण हुन् । अनि यसकै काउन्टरमा सत्तागठबन्धनलाई गिज्याउँदै एमालेका तर्फबाट गायक पुरुषोत्तम ‘पुर्खे बा’ले पनि अर्को चुनावी गीत निकालेका छन्, जसको बोल नै छ– ‘कठै गठबन्धन ।’
चुनावी गीतमार्फत नेताहरू आफ्ना कार्यकर्तालाई हनुमान बनाउन खोज्छन्, अनि हनुमानले त रामभक्ति नै गाउने हो । पहिले–पहिले चुनावी गीत सामाजिक चेतनाका हिसाबले पनि गाइन्थ्यो । सामाजिक चेतनाले राजनीतिलाई पनि फाइदा पुर्याउँछ भन्ने विश्वास थियो । त्यसैले भक्तिगान कम थियो । आभास, संगीतकार
जनवादी गायक रामेश श्रेष्ठ अहिलेका चुनावी गीतलाई व्यक्तिविशेषले आफूलाई माथि उठाउन प्रयोग गरिरहेको प्रचार अस्त्र ठान्छन् । ‘कसैले चुनावी मुद्दा पूरा गर्लान् भन्ने लाग्दैन, मात्रै जनतामाझ भ्रम छर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘एकअर्कालाई गाली र आलोचना गर्नमै सीमित देखिन्छन् यस्ता गीतहरू । यस्ता गीतको कुनै मूल्य र प्रभाव देखिँदैन । गीत एउटा गाउने, जीवन अर्को ढंगले जिउँदा त्यसको कुनै अर्थ हुँदैन । चाहे त्यो मान्छेको जीवन होस् या कुनै राजनीतिक दलको ।’
पार्टीको ‘मुखपत्र’जस्ता कलाकार
०७४ को निर्वाचनमा नेकपा एमालेको एउटा चुनावी गीत खुब हिट भयो, ‘मै पनि एमाले, सै पनि एमाले ।’ यसलाई गाएका थिए, लोकगायक बद्री पंगेनीले । हुन त उनले यसअघि पनि थुप्रै चुनावी गीत गाएका थिए, तर यसबाट उनी बढी नै ‘नोटिस्ड’ भए । उनीमाथि एमालेको ‘मुखपत्र’कै ट्याग लाग्यो । ०७८ असोजमा यही प्रसंगलाई लिएर जिज्ञासा राख्दा ग्यालेक्सी टिभीमा प्रसारित हुने रमेश प्रसाईंको कार्यक्रम ‘लालमोहर’मा उनले कुनै राजनीतिक पार्टीप्रति आस्था राख्नु या विचार रोज्न पाउनु संवैधानिक अधिकार भएको तर्क गरे । त्यसपछि उनले गाएको गीतको तथ्यमाथि प्रश्न उठ्यो । प्रस्तोता प्रसाईंको प्रश्न थियो, ‘विचार र तथ्यमा केही फरक त होला । तपाईंले यो गाउँदा एमालेले एउटा गाउँमा एउटा डाक्टर कार्यक्रम ल्यायो भन्नुभयो । दूरदराजको एउटा गाउँको नाम बताइदिनुस् जहाँ एमाले सरकारले एमबिबिएस डाक्टर पुर्यायो ?’
जवाफमा रातोपिरो हुँदै पंगेनीले गैरजिम्मेवार जवाफ थिए, ‘त्यो गरिसकेको र भइसकेको कामभन्दा पनि एउटा चुनावी नारा थियो । त्यो आयो होइन, आउँदै छ भन्या हो । मलाई गाउन लगाइयो, आशामा गाएँ । तर, भएन । मैले गाएको गीतमा दिएका आश्वासन पुरा नभएकोमा मलाई ग्लानि छ । मलाई दुःख छ, मलाई आक्रोश छ । राजनीति हामीले सोचेजस्तो सोझोबाटोमा नहिँड्दोरहेछ ।’
त्यसपछि धेरैले ठानेका थिए, पंगेनी चुनावी गीत गाउने मामिलामा अब सचेत भए । तर, यो चुनावको परिदृश्यले त्यस्तो देखाएन । यसपटक एमालेको होइन, उनले गाएको प्रचण्डको गीतको बढी चर्चा छ । ‘अघिअघि प्रचण्ड, पछिपछि हामी नेपाली’मा प्रचण्डको गुनगान गाएपछि यतिखेर उनी फेरि आलोचना खेपिरहेका छन् । तर, धेरैले ख्याल नगरेको अर्को रमाइलो के छ भने, यही वेला उनले एमालेका लागि पनि भोट माग्दै गीत गाएका छन्, ‘म त एमाले, अन्त भोटै दिन्नँ ।’ यसरी एउटै चुनावमा दुई दलका लागि भोट मागेका पंगेनीसँग यसबारे जिज्ञासा राख्न चाहँदा उनले चुनावी गीतबारे बोल्नै नचाहने बताए ।
पछिल्लो समय चुनावी गीत गाउने कलाकारहरूको संख्या बढेको छ । तर, यसपछाडि आर्थिक आम्दानीको पाटो मात्रै कारण छैन । नेताहरू रिझाउनकै लागि पनि कलाकारहरूले यसरी चुनावी गीत गाइरहेको संगीतकार आभासको बुझाइ छ । ‘कलाकारहरू अवसरवादी भएका छन्,’ उनी भन्छन्, ‘उनीहरूलाई अनेक राजनीतिक नियुक्ति खानुछ । त्यसकै लागि बिउ छरेजस्तो लाग्छ । जुन दलको पनि गीत गाउनु त वैचारिक हिसाबले स्खलन नै हो । माक्र्सवाद मान्छु या गान्धीवाद मान्छु भनेर आफू स्पष्ट भएर गाउनु एउटा कुरा भयो । तर, जसको पनि गीत गाउनु भनेको भोलि जो ठूलो हुन्छ, उसैसँग फाइदा लिन्छु भनेर सबैतिर अक्षता छरिरहेको हो ।’
जनवादी गायक रामेश भने यसलाई कलाकारको बाध्यताका रूपमा अथ्र्याउँछन् । ‘यहाँ कुनै पार्टीमा बसेन भने टिक्नै नसक्ने अवस्था सिर्जना गरेका छन् । त्यही भएर पनि कलाकार उनीहरूको गीत गाउन बाध्य छन् । त्यसैले कतिले पार्टीको नेताको दबाबमा गाएका छन्, कतिले नेता खुसी पार्न गाइरहेका छन्,’ उनले भने ।
कुन दलका कति गीत ?
यो निर्वाचनलक्षित गरेर एमाले, कांग्रेस, माओवादी, नेकपा एस, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायत अधिकांश दलले चुनावी गीत ल्याएका छन् । युट्युबमै सर्च गर्ने हो भने संख्याका हिसाबले एमाले, कांग्रेस, माओवादीका चुनावी गीत असंख्य भेटिन्छन् । दलका सांस्कृतिक प्रचारको जिम्मेवारीमा बसेका नेताहरू स्वयंलाई यसको ठ्याक्कै हिसाब थाहा छैन ।
नेकपा एमालेनिकट राष्ट्रिय जनसंगीत कलाकार संघका अध्यक्ष बैकुण्ठ महत अहिलेसम्म एमालेका ६० बढी चुनावी गीत निर्माण भएको बताउँछन् । ‘यो हामीसँग सम्पर्कमा आएको संख्या हो । यसबाहेक उम्मेदवारले नै बनाएका गीत टन्नै छन् । म आफैँले मात्र ६ वटा गीत गाएको छु,’ उनले भने ।
चुनावी गीत निर्माणका लागि एमालेनिकट ३७ वटा देशमा रहेका प्रवासी मञ्चबाट सहयोग मागेको उनले बताए । ‘कतिपय कलाकारले स्वतःस्फूर्त रूपमा सहयोग गरेका छन् । एउटा गीति भिडियो निर्माणमा सामान्यतः एक लाख त खर्च हुन्छ नै । यसरी हेर्दा एमालेको चुनावी गीत निर्माणमा कम्तीमा करिब ६० लाख खर्च भएको हुनुपर्छ,’ उनले भने ।
त्यस्तै माओवादी केन्द्रनिकट जनसांस्कृतिक महासंघका मातृका पोखरेलले आधिकारिक रूपमा महासंघका तर्फबाट आठवटा चुनाव गीत निकालेको बताए । ‘अझै दुई–तीनवटा भिडियो निर्माणका क्रममा छन् । बाँकी जति बनिरहेका छन्, त्यो स्वतःस्फूर्त रूपमा आ–आफ्नो ढंगले बनिरहेका हुन् । स्थानीय निर्वाचनमा १३ वटा बनाएका थियौँ । तर, दुई गीत मात्रै बढी प्रचारित भए । यसपटक राम्रै गीत छन् । गाउँगाउँमा पुर्याउन सकियो भने राम्रै प्रभाव पर्छ भन्ने छ ।’ पार्टीनिकट कलाकारहरूले निःशुल्क गाइरहेको उनले बताए । गायक–संगीतकार चेतन सापकोटादेखि प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल, विष्णु खत्री, टीका पुन, खेम सेन्चुरीलगायतले माओवादीको गीत गाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले संगठनका तर्फबाट पाँचवटा गीत निकालेको बताए । उनका अनुसार बाँकी सबै पार्टीनिकट कलाकार र उम्मेदवारले आ–आफ्नो हिसाबले निर्माण गरिरहेका छन् । ‘मंसिर ४’, ‘झ्याप्पै भोट हाल्ने हो रूखमा’, ‘सबै जिल्ला कांग्रेसको किल्ला’लगायतका चुनावी गीत संगठनले निकालेको हो,’ उनले भने, ‘एउटा गीत निर्माणमा कम्तीमा ८०–९० हजार खर्च भएको छ । अहिले चुनावी गीत प्रचारको सशक्त माध्यम बनेको छ । मतदातालाई नेताका भाषणभन्दा पनि यसले बढी जागरुक बनाउँछ । त्यही कारण दल र उम्मेदवारमा यसको प्रयोग बढेको हो ।’
पहिले र्यापरलाई थुन्ने,अहिले र्यापकै सहारा
प्रचण्डको समर्थनमा तत्कालीन केपी ओलीको सरकार हुँदा र्याप संगीतप्रति राज्यको हेयको दृष्टिकोण देखिन्थ्यो । ‘हामी यस्तै त हो नि ब्रो’ गीत गाएकै कारण र्यापर भिटेनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा थुनेको थियो । उनीमाथि आरोप थियो– समाजमा अपाच्य शब्द गीतमा प्रयोग गरियो । तर, आफू सरकारमा हुँदा र्यापरलाई थुन्ने तिनै एमाले र माओवादी पार्टीले अहिले चुनावी प्रचार गर्न र्याप संगीतको सहारा लिएका छन् । १० दिनअघि माओवादी केन्द्रले चुनावी र्याप गीत भन्दै ‘भोट फर प्रचण्ड’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतमा आदिवासी जनजाति, दलित, महिलालगायत सबै पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्ने प्रचण्ड नै हुन् भन्दै उनको गुनगान छ ।
यही र्यापको चर्चाबाट झस्किएर होला, शुक्रबार मात्रै त्यसको काउन्टरमा एमालेको नयाँ र्याप गीत आएको छ, ‘ओली बा’ । गीतमा पूरै ओलीको देवत्वकरण छ । उनको जस्तो दिमाग कसैको नभएको दाबी छ । हुलाकी राजगार्ग, मदन भण्डारी मार्ग, धरहरा निर्माणदेखि सुरुङ खुलाउने, दरबार स्कुल, हजारौँ पुल, ३९६ अस्पताल निर्माणलगायत विकास गरेर देशको मुहारै उनले फेरिदिएको दाबी छ । यतिसम्म कि गीतले भन्छ, ‘तिनको नलेजसामु कलेजको पिएचडी फेल खान्छ, बा’को अंग्रेजी सुनेर आएल्ट्स टिचरको सातो जान्छ ।’ र, यो गीतलाई ओलीले आफ्नो फेसबुकमा मख्ख पर्दै सेयर गरेर फलोअर्सलाई सोधेका छन्, ‘गीत संगीतमा नयाँ पुस्ताको बेग्लै लय छ । चुनावी ‘र्याप सङ’ मलाई राम्रो लाग्यो । तपाईंलाई कस्तो लाग्यो ?’
ओली र प्रचण्ड दुवैले खासगरी युवा पुस्तालाई आकर्षित गर्न यसरी चुनावी प्रचारमा र्याप संगीतकै सहारा लिएपछि अहिले उनीहरूमाथि प्रश्न उठिरहेको छ, ‘पहिले र्यापरलाई थुन्ने, अहिले र्यापकै सहारा ?’
000
www.jhannaya.nayapatrikadaily.com बाट साभार
No comments:
Post a Comment