Monday, October 25, 2021

आफूलाई अत्याचार गर्नेहरूको पछि लागेर हिँडेको देख्दा बडो नमिठो लाग्छ : प्रचण्ड


काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहनेहरूले माओवादीको विरोध गरेका बताउनुभएको छ । 

२०७८ साल कार्तिक ७ गते आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाण्डाैमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रूचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहनेहरूले माओवादी पार्टीको विरोध गरिरहेका बताउनुभयो ।

माओवादीले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उहाँले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरूको पछाडि लागेर हिँड्दा भने आफूलाई नमिठो लाग्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरूले देख्नुभयो नि, हिजोका सरकारका कर्मचारीतन्त्रका ठूला भन्नेहरू चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नुभएको छ नि हिजो/अस्ति मात्रै । को हुन् ती मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिद्ध्याएपछि हुन्छ के ? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदाय पनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेहरूको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ । के भएको होला भन्ने महसुस हुन्छ ।’

पूर्व अर्थसचिव खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’ भनी ट्वीट गर्नुभएकाे थियाे । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तरजातीय विवाह गर्ने क्रम सुरु भएको भए पनि अझै जातीय विभेद कायम रहेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले रोल्पा, रुकुममा अन्तरजातीय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गर्नुभयो । 

उहाँले कतिपयले जातीय विभेदको अन्त्य गर्न भनी भएको विद्रोहलाई बदनाम गर्न र सङ्घीयता उल्ट्याउन चाहेको पनि बताउनुभयो । 

उक्त बिशेष समारोहमा कवि रणेन्द्र बरालीको 'रातो बारुद ' कवितासङ्ग्रह माथि कवि एवं कथाकार मातृका पोखरेलले र 'ज्योति स्पर्श ' कवितासंकलन माथि समालोचक महेश पौडेलले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा नगद रू. पचास हजारसहित वरिष्ठ साहित्यकार रवीमान लम्जेललाई सम्मान गरिएको थियो । माध्यामिक तहमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत दलित समुदायका विध्यार्थीहरूकालागि रास्ट्रब्यापी कविता प्रतियोगिताको पनि आयोजना गरी पुरस्कृत तीन कविहरूलाई समारोहमा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।





पदम विश्वकर्माको फेसबुक वालबाट

No comments: