Sunday, October 15, 2023

तामाङ भाषा वैज्ञानिक सेमिनार सम्पन्न

 



काठमाडौं । तामाङ भाषाको स्तरीकरणको लागि “तामाङ भाषा बैज्ञानिक सेमिनार” काठमाडौंमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ भाषा, लिपि तथा साहित्य विभाग र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजनामा भएको एक दिने सेमिनारमा भाषा स्तरिकण सम्बन्धि विभिन्न ६ विषयका कार्यपत्रमाथि छलफल भएका छन् ।

प्रा.डा. हेमङ्गराज अधिकारीले तामाङ भाषा स्तरिकरणमा कोडिकरणका अवधारणा, भाषा वैज्ञानिक डा. तारामाणि राईले तामाङ भाषाका भौगोलिक भेदहरुबिचको सहजता सम्बन्ध र भाषावैज्ञानिक डा. कृष्ण प्रसाद चालिसेले तामाङ भाषाको स्तरिकरणमा तामाङ वर्णविज्ञानको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यस्तै भाषा वैज्ञानिक भीमनारयाण रेग्मीले तामाङ भाषाको स्तरिकरणमा ऐतिहासिक भाषाविज्ञानको भुमिका, आइटिविज्ञ डा. बालकृष्ण बलको तामाङ भाषाको स्तरिकरणामा आइटि प्रविधीको भुमिका र भाषा वैज्ञानिक रामराजा लोहोनीको नेपालका प्राचिनतम भाषाको खोजि शिर्षकको कार्यपत्रमा छलफल भएको छ ।

तामाङ भाषालई बागमति प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने विधेयक पारित गरेपछि तामाङ सरकोकारवाला संस्थाहरु यसको लागि आश्यक तयारी स्वरुप छलफलमा जुटेका हुन् । छलफलमा प्रा.डा.बलराम प्रसाई, डा. ओमकारेश्वर श्रेष्ठ, प्रा.डा दानराज रेग्मी, मगरभाषाविद लोकबहादुर थापा मगर, तामाङ मातृभाषी अभियन्ता, शैक्षिक तथा समाजिक अभियन्तालगायतले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डा. ठाकुरले भाषाभाषीलाई अझैपनि राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनुभयो । उहाँले सबैले सबैको भाषा तथा भेषभुषालाई सम्मान गर्न सकेमात्रै नेपाली नेपालीबिचको सदभाव बलियो हुने बताउनुभयो । भाषा र भेषभुषा सम्बन्धमा संविधानमै कतिपय विषय संशोधन गर्नु आवश्यक रहेको भन्दै उहाँले भाषा आयोगकोतर्फबाट सरकारलाई ध्यानकर्षण गराउने काम भइरहेको जनाउनुभयो । कामक्रममा अन्य अतिथिहरूमा भाषा आयोगका माननीय सदस्यहरू मातृका पोखरेल, गोपाल अश्क र डा. पुष्करराज भट्ट हुनुहुन्थ्यो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले तामाङ घेदुङको समन्वयमा तामाङ मातृभाषा शिक्षा विभिन्न स्थानिय तहका विद्यालयहरुमा सन्चान भइरहेको बताउनुभयो । तामाङ समाजका जबरजस्त रुपमा भाषा तथा लिपिमा विवाद भएको भनि हल्ला फैलाएपनि निरन्तर अभियान चलिरहेको र तामाङ भाषा स्तरिकरण गरी सरकारी कामकाजमा प्रयोगमा ल्याउन आश्यक तयरीका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

भाषा आयोगका माननीय सदस्य एवं तामाङ पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले बागमति प्रदेशमा सरकारी कामकाजको भाषा कार्यन्वयनका लागि धेरै कामहरु बाँकीरहेको भन्दै त्यसका लागि द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ooo











No comments: