Saturday, July 11, 2026

स्नेहलताको सम्झनामा नरबहादुर कर्माचार्य - मातृका पोखरेल

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले नरबहादुर कर्माचार्यको स्मृति ग्रन्थ तयार गर्ने जिम्मेवारी हामी केही साथीहरुलाई सुम्पियो । एकप्रकारले यो काम चुनैतिपूर्ण त छँदै थियो, तर हाम्रा लागि नेपालको कम्युनिष्ट आन्दोलनलाई अझ गहिरोसँग बुझ्ने मौका पनि थियो । त्यसै सन्दर्भमा हामीले कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तिहरुको सूची निर्माण गऱ्यौं । त्यो सूचीको प्राथमिकतामा ' स्नेहलता' को नाम पनि थियो । नेपालको महिला मुक्ति आन्दोलनको इतिहासप्रति रूची राख्नेहरूको लागि स्नेहलताको नाम कुनै अपरिचित नाम थिएन । वि.सं. १९८९ साल साउन शुक्ल द्वादशी तिथीमा काठमाण्डुको त्यौडमा जन्मिएकी स्नेहलता सानै उमेरदेखि विद्रोही स्वभावकी भएको कुरा उहाँको जीवन र कर्मबाट हामी बुझ्न सक्दछौं ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला अधिकारको इतिहास लेख्दा केही नामहरू यस्ता छन्, जसले आफूबारे धेरै नलेखी इतिहास लेख्न आधार तयार गरे । ती अग्रणी व्यक्तित्वमध्ये एक हुनुहुन्छ स्नेहलता । नेपालको पहिलो राजनीतिक महिला संगठनको संस्थापक सचिवका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका नेपाली महिला आन्दोलनको इतिहासमा सदैव स्मरणीय रहनेछ।
वि.सं. २००४ सालतिर नेपाल राणाशासनको कठोर नियन्त्रणमा थियो। राजनीतिक दलहरू प्रतिबन्धित थिए, नागरिक स्वतन्त्रता सीमित थियो र महिलाहरू सार्वजनिक जीवनबाट लगभग बहिष्कृत थिए । यस्तो समयमा महिलाहरूलाई संगठित गरेर लोकतन्त्र, समानता र अधिकारको आन्दोलनमा सहभागी गराउने कार्य आफैंमा एउटा साहसिक अभियान थियो ।
यही ऐतिहासिक आवश्यकताबाट वि.सं. २००४ साल साउन २२ गते काठमाडौंको म्हेपीमा वनभोजको बहानामा महिलाहरूको गोप्य भेला आयोजना गरियो । त्यस भेलाले नेपाल महिला सङ्घ स्थापना गर्ने निर्णय गर्यो । पछि भएको औपचारिक भेलाबाट मंगलादेवी सिंह अध्यक्ष, स्नेहलता महासचिव तथा श्रीमाया कोषाध्यक्ष रहेको कार्यसमिति गठन भयो । यो भेलाको उद्घाटन सहिद गङ्गालालकी श्रीमती हसिनादेवीले गर्नुभएको थियो । यस संगठनलाई नेपालको इतिहासमा राजनीतिक उद्देश्यका साथ स्थापना भएको पहिलो महिला संगठनका रूपमा लिइन्छ । राणा शासनकालको अन्तिम दशकदेखि नेपालमा राजनैतिक चेतनाको गतिले छलाङ मारेको तथ्य इतिहासमा हामी प्रसस्तै पढ्न पाउँछौं । त्यही राजनैतिक चेतनालाई जनताका बीचमा पुऱ्याउन स्नेहलताको ठुलो भूमिका छ ।
केही महिना अघि मैले स्नेहलताका बारेमा शान्ताकुमारी बश्यालको कृति 'स्नेहलता : जीवनकथाका पानाहरू' पढ्ने मौका पाएको थिएँ । उक्त कृतिमा स्नेहलताको भनाइ छापिएको छ - 'परिवर्तनको तीव्र चाहनाले ओतप्रोत जनता तीनै सहरबाट आई नक्साल भगवतीअगाडि भेला भएका थिए । उक्त ठाउँबाट आन्दोलनकारीलाई पक्राउगरी लहरी ( ट्रक) मा कोचेर महाराजगञ्ज लगिएको थियो। क. पुष्पलाललाई कसको भाइ हो भन्दै बन्दुकले छातीमा हानेको थियो भने शम्भुरामलाई जगल्टा लुछ्नुका साथै टंकविलासलाई पहिले पनि पक्रिएकोले 'अझै चेतेको छैन भन्दै' जुत्ताको गोटीले कुल्चेको थियो। नरबहादुर कर्माचार्यलाई जगल्टा लुछेको थियो । आन्दोलनकारीहरूको बैठकको निर्णय कसैमाथि हात नउठाउने भन्ने थियो तापनि नरवहादुर कर्मचार्यले जनरल नरशमशेरलाई टाउकोले हानेर 'तेरो बाउको गर्धनले' भन्दै घचेट्नुभएको थियो। त्यो बेला नरशमशेर पछि हटेका थिए। नरबहादुर कर्माचार्य त्यसरी शत्रुलाई परास्त गरेकोमा खुसी हुनुभएको थियो ।' यो पढे पछि स्नेहलतासँग नरबहादुर कर्माचार्यको बारेमा अरू प्रसस्तै सम्झनाहरू होलान भन्ने ठानेर हामी आदरणीय स्नेहलतालाई भेट्न पाटनढोका पुग्यौं । हामीसँग हुनुहुन्थ्यो नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका महासचिव प्रह्लाद बुढाथोकी, कार्यसमिति सदस्य सीता पोखरेल, लेखक राजेन्द्र महर्जन र प्रतिष्ठानका सचिव जनार्दन जोशी ।
खबर गरेर गएको हुनाले उहाँले हामीलाई पर्खिएर बस्नुभएको रहेछ । उहाँकोमा पुगेपछि हामीले भेट्न आएको उद्देश्य बतायौं । हाम्रो कुरा सुन्ने वित्तिकै उहाँले भन्नुभयो - 'म चौरानब्बे वर्ष पुगिसकेँ । धेरै लामो कुरा गर्न सक्दिन । छोटो कुरा गरौं है ।'
'तपाईंलाई जति सहज हुन्छ त्यति कुरा गरौंला नि' भन्दै हामीले कुरा सुरु गऱ्यौं ।
'नर बहादुर कर्माचार्यसँग तपाईँको पहिलो भेट कहिले भयो ?' यही प्रश्नबाट हामीले कुरा सुरू गऱ्यौँ ।
'मेरो पहिलो भेट त उहाँसँग २००४ सालको सत्याग्रहमा भएको हो । तर त्यो भन्दा अघि पुष्पलाल, शम्भुराम, राजाराम कर्माचार्य, कामाक्षादेवि, प्रेम बहादुर कंशाकारले सौगलमा राजाराम कर्माचार्यको घरमा एउटा कमिटी बनाएका थिए ।' उहाँले छुटेका नामहरू पनि सम्झँदै भन्नु भयो ।
'के कमिटी थियो त्यो ?' हामीमा पनि उत्सुकता थपियो ।
'कमिटीको नाम त म भन्न सक्दिन । तर त्यो कमिटीमा प्रजातन्त्रको निम्ति छलफल गर्ने भन्ने थियो । त्यो कमिटीले खासै काम गर्न सकेन । भिमसेन थापा लेख्ने चित्तरञ्जन नेपाली मेरो आफ्नै काका हुनुहुन्थ्यो । उहाँले मलाई २००३ सालमैं प्रेमबहादुर कंशाकारसँग भेट गराईदिनु भएको थियो ।'
स्नेहलता विगततिर फर्किँदै जानुभयो -
'नर बहादुर कर्माचार्यको एउटा उद्देश्य मलाई खुवै चित्त बुझेको थियो । उहाँ सङ्घर्ष गर्न खुव मन पराउने मान्छे तर फुट्न नचाहने मान्छे । उहाँको यो स्वभाव त्यसबेला देखि नै मलाई खुब मन पर्थ्यो ।'
'चार सालभन्दा पहिले नरबहादुर कर्माचार्यलाई तपाईँले चिन्नुहुन्नथ्यो ?'
फेरि उहाँलाई मैले विगततिर फर्काउन खोजेँ ।
'भेट भएजस्तो लाग्दैन । तर नाम चाहिँ पहिल्यै देखि सुनेको ।' धेरै सोचेर जवाफ दिनुभयो उहाँले ।
फेरि सोच्न थाल्नु भयो उहाँ । 'चार सालमा हामी सँगै थियौं नेपाली राष्ट्रिय कांग्रेसमा । डिल्लीरमण रेग्मी नै त्यसबेला हाम्रो अध्यक्ष हुनुहुन्थ्यो । नरबहादुर दाइ पनि हामी सँगै त्यसैमा हुनुहुन्थ्यो । त्यसैबेला हामीले सत्याग्रह गर्ने भनेर जुलुश लिएर नक्साल भगवती गएका थियौं ।'
स्नेहलताको पुस्तक पढिसकेको हुनाले नक्सालको सन्दर्भले मलाई आकर्षित गऱ्यो ।
'नक्साल पुगेपछि के भयो ?' उहाँलाई मैले सोधीहालें ।
'क. पुष्पलाललाई कसको भाइ हो भन्दै बन्दुकले छातीमा हानेको थियो भने शम्भुरामलाई जगल्टा लुछ्नुका साथै टंकविलासलाई पहिले पनि पक्रिएकोले 'अझै चेतेको छैन भन्दै' जुत्ताको गोटीले कुल्चेको थियो। नरबहादुर कर्माचार्यलाई जगल्टा लुछेको थियो । आन्दोलनकारीहरूको बैठकको निर्णय कसैमाथि हात नउठाउने भन्ने थियो तापनि नरवहादुर कर्मचार्यले जनरल नरशमशेरलाई टाउकोले हानेर 'तेरो बाउको गर्धन ले' भन्दै घचेट्नुभएको थियो। त्यो बेला नरशमशेर पछि हटेका थिए।' मैले पढिसकेकै सन्दर्भ उहाँले फेरि दोहोऱ्याउनुभयो ।
'त्यसपछि के भयो ।' अगाडिको घटना बुझ्न हामीलाई पनि कौतुहलता पैदा भयो ।
'त्यसपछि नरबहादुर दाइ र हामीलाई पक्राउ गऱ्यो । त्यसपछि मोहन शमशेरको दरबार महाराजगञ्ज लग्यो । एउटै कोठामा हामी सबैलाई थुन्यो । त्यहाँ सहाना दिदी र कनकलता पनि हुनुहुन्थ्यो । एक हप्ता हामीलाई त्यहीँ थुन्यो हामीलाई थुनेको खबर गोरखापत्रले पनि छापेको थियो । हामीलाई खसीको मासु र एक एक तोला घिउ राखेर खाना खुवाएको खबर छाप्थ्यो । तर हामीलाई गान्टे मुलाको तरकारी खुवाउँथ्यो । छुटे पछि गोरखापत्र पढेपछि हामीले थाहा पायौं ।'
हामी नरबहादुर कर्माचार्यका बारेमा उहाँलाई केन्द्रित गराउन खोज्थ्यौं । एउटा प्रसङ्ग सुरू भएपछि स्नेहलता स्मृतिका अन्य घटनातर्फ मोडिनु हुन्थ्यो ।
'छुटेपछि चाहिँ नर बहादुर कर्माचार्यसँग तपाईंको नियमित रूपमा भेट भयो ?' मैले उहाँलाई विषयवस्तुतिर केन्द्रित गराउने प्रयत्न गरेँ ।
'त्यसपछि उहाँसँग नियमित भेट भयो । हामीले चलाएको महिला सङ्घको सञ्चालनका लागि धेरै सल्लाह र सहयोग लियौं ।' २००४ सालमा गठित महिला नेतृ मंगलादेवि सिंह अध्यक्ष र उहाँ महासचिव रहेको महिला सङ्घको वैचारिक पक्षधरताको बारेमा बुझ्ने हाम्रो खुल्दुली बाँकी नै थियो ।
'नरबहादुर कर्माचार्यहरूले कम्युनिष्ट पार्टी बनाएको कुरा कहिले सुन्नु भयो ?' प्रह्लाद बुढाथोकीले केही खोतल्ने प्रयत्न गर्नुभयो ।
'मैले सुनीहालेँ । सहिद चिनिया लाल सिंहको छोरा मदनलोचन सिंहले पुष्पलालहरुले पार्टी बनाउनु भएको कुरा सुनाउनु भयो । म नेपाल महिला सङ्घको महासचिव भएको हुनाले मदनलोचन सिंहले कम्युनिष्ट पार्टीको चिठ्ठीपत्र ल्याइदिने गर्नुहुन्थ्यो ।'
'वि.सं .२००६ सालमा कम्युनिष्ट पार्टी बनाउँदा नरबहादुर कर्माचार्यले तपाईंलाई कम्युनिष्ट पार्टीमा सहभागी हुनुपर्छ भन्नुभएन ?' सीता पोखरेलले जिज्ञासा राख्नुभयो ।
'अहँ, भन्नु भएन । पुष्पलालले पनि भन्नुभएन । सहिद चिनियालाल सिंहको घरमा नेपाल महिला संघको कार्यालय थियो । पुष्पलाल आइरहनु हुन्थ्यो । एकदिन पुष्पलालले कम्युनिष्ट पार्टीको सदस्यता लिनुहोस् भन्नुभयो । मैले पनि खोजेकै त्यही थियो । पुष्पलालले भन्नुभएर मलाई झनै सजिलो भयो । एकदिन पुष्पलाल एउटा आलपिन बोकेर आउनुभयो । औंलाको टुप्पोमा आलपिनले रगत निकालेर सहिछाप गरेँ । अरूजस्तो होइन मेरो सदस्यता । मेरो सदस्यतामा आजन्म कम्युनिष्ट लेखेको छ । त्यसबेला मैले कविता पनि लेखेको थिएँ ।'
स्नेहलता कम्युनिष्ट पार्टीको सदस्य बनेपछि त्यसबेला आफूले लेखेको कविता वाचन गर्न लाग्नुभयो ।
' ...….............
न देव होस न दानव
यो गगन तिम्रो सारा
विश्व नै तिम्रो अविभारा ।'
'यो कविता कस्तो लाग्यो तपाईंहरूलाई ? नेपालमा मात्र होइन । विश्वभरी नै कम्युनिष्ट हुनुपर्छ ।' उहाँको सुरूको एक लाइन नबुझे पनि पछिल्ला तीन लाइन बुझेको भरमा हामीले राम्रो छ भन्यौं ।
'नेपाल महिला सङ्घका सदस्यहरू मध्ये तपाईं मात्र कम्युनिष्ट पार्टीको सदस्य बन्नु भयो कि अरू पनि बन्नुभयो ?' जनार्दन जोशीले जिज्ञासा राख्नु भयो ।
'अरू पनि लाग्नु भयो । तर पुष्पलालसँग मेरो एउटा कुरामा मतभेद भयो । पुष्पलालले नेपाल महिला सङ्घलाई कम्युनिष्ट पार्टीको भातृ संगठन बनाउँ भन्नुभयो । मैले भातृ संगठनले आन्दोलनलाई माथिसम्म पुऱ्याउन सक्दैन भनेँ । मैले नेपाल महिला सङ्घलाई भातृ संगठन बनाउन अस्वीकार गरेँ । तर मैले चाहिँ कम्युनिष्ट पार्टीकै सदस्य भएर काम गरिरहेँ ।'
'राजनैतिक काममा नरबहादुर कर्माचार्यले तपाईंलाई कत्तिको सहयोग गर्नुभयो ?' मैले फेरि उहाँलाई विषयवस्तुतिर केन्द्रित गर्न खोजेँ ।
'मैले एकपटक सरकारी कार्यालयमा पनि चारतारे झण्डा राख्ने कामको बिरोध गरेँ । सरकारी अफिसमा राष्ट्रको झण्डा राख्नु पर्छ भनेर आवाज उठाएँ । पछि मैले भने अनुसारै भयो पनि । मेरो यो अभियानसँग नरबहादुर दाइ धेरै खुसी हुनुभयो ।' नरबहादुर कर्माचार्यसँंगका पुराना सम्झनाको पोको विस्तारै खोल्दै हुनुहुन्थ्यो उहाँ ।
'नरबहादुर दाइ मसँग रिसाएको कहिल्यै थाहा छैन । पुष्पलाल चाहिँ एकपटक रिसाउनु भएको छ एउटा भोजमा । पुष्पलाललाई धेरै पिरो खानु पर्ने । पाटनमा एउटा भोजमा हामीले उहाँलाई बोलाएका थियौं । उहाँले धेरै पिरो खाँदा खेरी मलाई हाँस उठ्यो । म हाँसेको देखेर पुष्पलाल रिसाउनु भयो । तर नरबहादुर दाइ म सँग रिसाएको मलाई कहिल्यै थाहा छैन ।' चौरानब्बे वर्ष पुगिसक्नु भएकी स्नेहलताको स्मरणशक्ति अत्यन्तै शक्तिशाली रहेको पायौं हामीले । विगतका घटनाहरू तिथीमिति सहित तुरुन्त भन्न सक्नुहुन्थ्यो ।
'पञ्चायत कालमा नरबहादुर दाइसँग तपाईंको कतिको भेट हुन्थ्यो ?' प्रह्लाद बुढाथोकीले जिज्ञासा राख्नुभयो ।
'दाजु बहिनीको रूपमा कुराकानी भइरहन्थ्यो ।' संक्षिप्त जवाफ थियो स्नेहलताको ।
'नरबहादुर दाइ मेयर भएको कुरा तपाईंलाई जानकारी छ ?' प्रह्लाद बुढाथोकीले जानकारी लिन खोज्नुभयो ।
'उहाँ पञ्चायतविरोधी मान्छे । पञ्चायतमा उहाँजस्तो क्रान्तिकारी मान्छे मेयर हुने कुरै आउँदैन नि !' उहाँ मेयर भएको कालखण्ड उहाँलाई हामीले बुझाउन सकेनौं ।
'पञ्चायतको समयमा होइन । २०१६ सालमा हो भन्ने हामीले सुनेका थियौं ।' राजेन्द्र महर्जनले सम्झाइदिनु भयो ।
'ए सम्झेँ । चन्द्रशेखरको बुवा र आमा ९० वर्ष जति पुगिसक्नु भएको थियो । उहाँलाई बोकेर लगेर भोट हाल्न लगाइएको थियो । उहाँहरूले भोट हालेका कारण नरबहादुर दाइले दुई भोट बढ्ता ल्याएर जित्नु भयो । नर बहादुर दाइ मेयर भएको बेलामा धेरै राम्रो काम गर्नुभयो । तर लामो समयसम्म काम गर्न पाउनु भएन जस्तो लाग्छ ।' चौरानब्बे वर्षको उमेरमा पनि यसरी सम्झन सक्ने उहाँको खुबी देखेर हामी चकित परिरहेका थियौं ।
'नरबहादुर दाइको सहयोगले मैले मुर्तियाको जग्गा पाएको हुँ । टङ्कप्रसादसँग नरबहादुर दाइको राम्रो सम्बन्ध थियो । टङ्कप्रसादले क-कसलाई जग्गा दिनुपर्छ भनेर नरबहादुर दाइलाई सोध्नु हुन्थ्यो । मैले र मोतिदेविले जग्गा पाएको पनि नरबहादुर दाहले सहयोग गरेर नै हो ।
'हाम्रो पार्टीमा आउनुस्, सँगै काम गरौं भन्नु भएन नर बहादुर दाइले !' मैले अर्को जिज्ञासा थपेँ ।
'उहाँले त भन्नुभएन । तर देवेन्द्रलाल (काइँलाबा) दाइले भन्नु भयो । अनि मैले भनेँ सबै वाम एकठाउँ गर्नुस् अनि आउँछु । पुष्पलालको विचार पनि त्यही थियो भनेँ । सिसाझैं फुटेका कम्युनिष्टका पछि आउँदिन भनेँ ।' कम्युनिष्टहरूको एकता चाहनु भएको कुरा उहाँका प्रत्येक भनाइले पुष्टि गरिरहेका थिए ।
'चित्तरञ्जन नेपालीको दिदी काइँला बाको भाउजू ! चित्तरञ्जन नेपालीको भान्जा भान्जी अर्थात आफ्नै दाइका छोराले काइँला बा भनेर गरेको सम्बोधन व्यापक भयो ।' कुराकै शिलशिलामा उहाँले काइँलाबाका नामबाट देबेन्द्रलाल श्रेष्ठ प्रसिद्ध हुनुको कारण पनि बताउनु भयो ।
'तपाईँ सधैं स्वतन्त्र बस्नु भयो ।' मैले फेरि कुरा सुरू गरेँ ।
'होइन म पछि तुलसीलाल अमात्यको पार्टीको कार्यसमिति सदस्य भएँ ।' उहाँले भन्नुभयो ।
'कहिलेसम्म तुल्सीलालको पार्टीमा बस्नु भयो ?' प्रल्हाद बुढाथोकीले जिज्ञासा राख्नुभयो ।
'तुलसीलालले एमालेसँग एकता गरे पछि छाडिदिएँ । प्रचण्डलाई भेट्न खोजेको भेटै भएको छैन ।' उहाँले गुनासो गर्नुभयो ।
'नरबहादुर कर्माचार्यको स्वभावबारे बताइदिनुस् न !' उहाँसँगको सम्वादमा नरबहादुर कर्माचार्यकाबारे भन्दा अरू विषयहरू धेरै उठिरहेका थिए । आखिर उहाँका सबै कुराहरू इतिहासका महत्त्वपूर्ण सन्दर्भहरू नै थिए । उहाँसँग सम्वाद गर्न गएका हामी सबै वामपन्थी आन्दोलनकै विद्यार्थी भएका कारण हाम्रा लागि रूचीकर हुने नै भयो ।
'पाटनमा ठुलो भिमसेन जात्रा लाग्थ्यो । जात्रामा युवकहरूमा धेरै झगडा हुन्थ्यो । त्यो सबै झगडा नर बहादुर दाइले मिलाउनु हुन्थ्यो । झगडा हुन नदिने उहाँको स्वभाव । उहाँको यो स्वभाव मलाई धेरै मन पर्थ्यो ।' उहाँ पुराना कुराहरू सम्झिँदै बिचबिचमा नरबहादुर कर्माचार्यका बारेमा केही कुरा भन्नु हुन्थ्यो ।
'तपाईंहरूको समयमा महिलाहरूलाई भोट हाल्ने पनि अधिकार थिएन होइन र ?' विषयलाई अलिकति मोड्ने कोसिस गऱ्यौं हामीले ।
'हो नि ! हामीले वि.सं. २०१० को निर्वाचनमा महिलाले पनि मत हाल्न र उम्मेदवार हुन पाउनुपर्ने माग राखेर नेपाल महिला सङ्घकी अध्यक्ष मङ्गलादेवी सिंहको नेतृत्वमा सहाना प्रधान, साधना प्रधान, कनकलता श्रेष्ठ, म लगायत जुलुससहित प्रधानमन्त्रीलाई भेट्यौं । त्यसपछि स्वतन्त्र उम्मेदवारका रूपमा साधना प्रधानले ८ नं. वडाबाट उम्मेदवारी दिएकी थिइन् । उनले जितिन् । नेपालमैं पहिलोपटक साधना प्रधान महिला जनप्रतिनिधि बनिन् । नेपाल महिला सङ्घले सङ्घर्ष गरेर त्यस्तो भएको हो ।' यति भनेर आफू प्रफुल्ल देखिनुभयो स्नेहलता ।
स्नेहलताको स्मरणशक्ति ९४ वर्ष पुग्दा पनि तेज रहेको पायौं हामीले । विगतका घटनाहरू तिथीमिति सहित तुरुन्त भन्न सक्नुहुन्थ्यो । हामी उहाँसँगको सम्वाद सकेर बिदा हुन लाग्दै थियौं । हामी बिदा हुनै लाग्दा उहाँले भन्दै हुनुहुन्थ्यो ।
'नरबहादुर दाइ सङ्घर्षबाट कहिल्यै नथाक्ने मान्छे ।'
पछि भेट्ने बाचा गर्दै हामी उहाँसँग बिदा भयौं ।
ooo


वि.सं. २००४ सालमा गठित नेपाल महिला सङ्घको महासचिव स्नेहलतासँग । त्यसबेला उक्त सङ्घमा मंगलादेवि अध्यक्ष हुनुहुन्थ्यो भने स्नेहलता महासचिव हुनुहुन्थ्यो । २०८१ वैशाख ९ गते  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र ) का स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकी र मातृका पोखरेल उहाँको निवासमा।


वि.सं. २००४ सालमा गठित नेपाल महिला सङ्घको महासचिव स्नेहलतासँग । त्यसबेला उक्त सङ्घमा मंगलादेवि अध्यक्ष हुनुहुन्थ्यो भने स्नेहलता महासचिव हुनुहुन्थ्यो । २०८१ वैशाख ९ गते  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र ) का स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकी र मातृका पोखरेल उहाँको निवासमा।

वि.सं. २००४ सालमा गठित नेपाल महिला सङ्घको महासचिव स्नेहलतासँग मातृका पोखरेल

No comments: