Monday, September 13, 2021

पत्रकार तथा साहित्यकार कञ्चन प्रियदर्शीको शालिक अनावरण



२०७८ भाद्र २६ गते पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा सिन्धुपाल्चोकको पिपलडाँडामा शालिक एवं उद्यान निर्माण गरिएको छ । बाग्मती प्रदेशसभा सदस्य तथा बाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्न नहुने बताउनुभयो । कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, नेकपा माओवादी केन्द्रका युवानेता माधव सापकोटा, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी भारद्वाज मित्र, साहित्यकार बाबा बस्नेत लगायतले प्रियदर्शीकाे याेगदानकाे चर्चा गर्नु भयाे । साहित्यकार हेमन प्रधान, दिल कार्की, जितेन्द्र रसिक लगायतले आ–आफ्नो साहित्यिक सिर्जनासमेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शालिक एवं उद्यान निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुभएका प्रदेशसभा सदस्य दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र कलाकार कृष्णहरि शङ्खदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

सोही अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझी, सुष्मा तिमल्सिना र कृष्णप्रसाद धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

लामो समय बालसाहित्यमा योगदान पुयाएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ । मित्र प्रतिष्ठानका समन्वयमा दुःखी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशि नगद रु ११ हजार १११ पुरस्कार राशि सहित दोसल्ला र पुरस्कारपत्र छ । प्रदेशसभा सदस्य दुलालले भारतीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभयो । कार्यक्रमकै बीच दुःखी प्रकाशनले चार जेहेन्दार विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । कार्यक्रमकाे संयाेजन सर्जक तथा पत्रकार द्वय दिनेश दुलाल र सुरेश कसजुले गर्नु भएकाे हाे ।














































No comments: