Tuesday, July 18, 2023

अतृप्त पाण्डेय : समीक्षाको चौतारीमा हुर्किएका कवि - मातृका पोखरेल

कवि अतृप्त पाण्डेयसँग मेरो परिचय वि.सं. २०५७  सालतिर भएको हो । उहाँसँग मेरो परिचय जोडीदिने सुत्रधार  चाहिँ चर्चित कवि पूर्ण विराम हुनुहुथ्यो । उहाँलाई  धेरै पहिले देखि पढेको पाठक थिएँ म ।  समीक्षा साप्ताहिकमा उहाँका बाक्लै कविता छापिन्थे पञ्चायत कालमैं । मैले पनि समीक्षा साप्ताहिक बाटै प्रकाशनको पहिलो पाइलो टेकेर साहित्यमा बामे सर्न खोजेको कारण त्यसमा प्रकाशित सामाग्रीहरुमा तीनताका विशेष ध्यान पुग्थ्यो ।  एकदिन नेपाल विद्युत प्राधिकरणको कार्यालयमा कवि पूर्ण विरामले उहाँलाई लिएर आउनुभयो । त्यसपछि पनि कवि पूर्ण विराम उहाँसँग तत्कालिन मेरो कार्यालय नेपाल विद्युत् प्राधिकरणमा दुईतीनपटक आउनुभएको सम्झना छ । म नेपाल प्रज्ञा - प्रतिष्ठानमा गए पछि पनि उहाँ नियमितजसो आइरहनुहुन्थ्यो ।   त्यसपछिका दिनहरुमा मैले कवि अतृप्त पाण्डेसँग निकै नजिक रहेर संगत  गर्ने अवसर पाएको थिएँ ।

वि.सं. २००७ साल कार्तिक १२ गते पाको पोखलड्‌याङ, काठमाण्डौमा जन्मिनुभएका कवि अतृप्त पाण्डेयले वि.सं. २०२९ सालदेखि कविता लेखन आरम्भ गर्नुभएको थियो । सोही साल  कवि पाण्डेयको प्रथम प्रकाशित कविता ' विवशताका परिधिभित्र'  'समीक्षा साप्ताहिक'मा प्रकाशित भयो ।  आफ्नो जीवनकालमा अर्थात वि.सं. २०६७ सालमा मात्र साठी वटा कविताहरू सङ्ग्रहित गरिएको ' समयसित रुमाल छैन' शिर्षकको एउटा कवितासङ्ग्रह प्रकाशन गर्नुभयो । 'समीक्षा साप्ताहिक'मा प्रकाशित उहाँका कैयौं कविताहरू कृतिमा सङ्‌गालिएर आएका छैनन् । 'समीक्षा साप्ताहिक'मा कविता प्रकाशित गरेर नेपाली काव्य जगतलाई उर्वर बनाउने कविहरुको ठुलै जमात छ । कवि अतृप्त पाण्डेय पनि समीक्षाको चौतारीमा हुर्किएका कवि हुनुहुन्थ्यो भन्दा पक्कै अतिरन्जना गरेको ठहर्दैन भन्ने मेरो विश्वास छ । मूल विधा कविता भए पनि उहाँले कथा र गीतमा पनि कलम चलाउनुभयो । वि.सं. २०२९ सालदेखी   नै उहाँले कथालेखनमा हात हाल्नुभयो । उहाँको पहिलो प्रकाशित कथा थियो - 'पहिलो उसको अधुरो धोको' । करिव तिस वर्ष पछि  उहाँको २०६९ सालमा एघार वटा कथाहरुको सङ्ग्रह ' हुरी नचलेको भए . .' प्रकाशित भयो । सामाजिक जीवनका विषयवस्तुलाई आफ्ना कथामा कलात्मक ढंगले सजाउन  सक्ने सामर्थ्य राख्ने कथाकार हुनुहुन्थ्यो उहाँ । त्यसैगरी उहाँका गीतहरूको सङ्ग्रह 'अतृप्तज्योति' नामको  सिडी पनि प्रकाशित छ । उक्त सिडीमा नारायण भण्डारी 'जनकपुरी' को संगीत रहेको थियो । 

२०३१ सालमा कृषि खरिद बिक्री संस्थानमा जागिर सुरु गर्नुभएका कवि पाण्डेयले २०४२ सालदेखि  हिमाल सिमेन्ट कम्पनी लिमिटेडमा काम गर्न थाल्नुभयो । त्यहाँ उहाँको परिचय कवि पूर्ण विरामसित भयो । त्यसपछि  एकअर्कालाई एकअर्काले लेखेको कविताहरू देखाउने क्रममा क्रमश : कवि विरामसँग सामीप्यता पनि बढ्दै गयो । त्यही माध्यमबाटै उहाँ कवि पूर्ण विराम सँगै  विभिन्न साहित्यिक कार्यक्रममा समेत सरिक हुन थाल्नुभयो । साहित्यिक कार्यक्रमहरूमा भएको उहाँको सहभागीताले उहाँलाई कवि, कथाकार र गीतकारमात्रै बनाएन , साहित्यिक अभियन्ता समेत बनायो । उहाँले वि.सं. २०२९ सालमैं स्रष्टा समाज, काठमाण्डौको गठन गर्नुभयो र लामो समयसम्म त्यही संस्थाबाट साहित्यिक अभियान सञ्चालन गर्नुभयो ।

कवि अतृप्त पाण्डेय


जागिरे जीवनबाट अवकाशप्राप्त भएपछि पनि उहाँ सक्रिय किसिमले साहित्यिक गतिविधिमा लाग्नुभयो । 

कवि पाण्डेय आफ्ना साहित्यिक अभियानमा सत्ता संरचनाले निर्मित मनोदशाले किनारीकृत पारिएका र  लेखकीय सचेतता  भएका प्रतिभाहरुलाई अवसर दिने कोशिस गर्नुहुन्थ्यो । मूलत: उहाँ  प्रगतिशील चेतनाले समृद्ध साहित्यकार हुनुहुन्थ्यो । तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमका विरुद्ध स्रष्टाहरूको प्रतिरोध अभियानमा हामी साथसाथै सडकमा हिंडेका दिनहरूको सम्झना मलाई  यतिबेला भइरहेको छ । उहाँ आफू भन्दा पछिल्लो पुस्तालाई सामाजिक परिवर्तनमा अघि बढ्न प्रेरणा दिनुहुन्थ्यो । समाज रुपान्तरणमा स्रष्टाहरूको भूमिका हुनुपर्छ भन्ने उहाँको प्रष्ट दृष्टिकोण थियो । स्रष्टाहरुले समाजमा व्याप्त अन्याय, अत्याचार , शोषण, दमन आदिलाई डटेर सामना गर्नुपर्छ भन्ने बारेमा उहाँभित्र म कुनै द्विविधा देख्दिनथें ।

कवि अतृप्त पाण्डेय

उहाँसँग पछिल्लो भेट उहाँकै निवासस्थान गोल्फुटारस्थित प्याराडाइज कोलोनीमा  भएको थियो । यो भेट उहाँकी  जीवनसङ्गिनीको  निधन भएको दुइचार दिन पछिको थियो । म उहाँलाई समवेदना व्यक्त गर्न पुगेको थिएँ । जीवनसङ्गिनीको  निधनले उहाँ निकै मर्माहत बन्नुभएको मैले महशुस गरेको थिएँ । जीवनसङ्गिनीको  निधनको पीडालाई उहाँले सहजै पचाउन सक्नुभएन । उहाँको मानसिकतामा त्यसले गहिरो चोट पुर्‍यायो । नियमितजसो आफैं कार्यक्रमको आयोजना गरिरहने, अन्य कार्यक्रमहरुमा सहभागी भइरहने उहाँजस्तो गतिशील स्रष्टा कतै देखा नपरेपछि उहाँका बारेमा निकैजना साथीहरूसँग सोधीखोजी गरेँ । मैले देखेको घर भाडामा लगाएर  उहाँ छोरीहरूको संरक्षणमा कतै गइसक्नुभएको थाहा पाएँ  । त्यसपछि उहाँ सामाजिक सञ्जाल र टेलिफोन सम्पर्कबाट पनि टाढा रहन रुचाउने अवस्थामा पुगिसक्नुभएको जानकारी पनि प्राप्त गरेँ ।

'अतृप्त पाण्डे त जानु भएछ नि' कवि बलराम बिष्टले २०८० साल असार २७ गते राति फेसबुक मेसेन्जरबाट खबर दिनुभयो । 'कहिले ?' एक्कासी झसङ्ग भएँ र सोधें मैले ।

'तेह्र चौध दिन भइसकेछ ।' उहाँसँगको सूचना पनि पूर्ण थिएन ।

एकछिन पछि मैले फेरि फोन गरेर थप जानकारी लिने प्रयत्न गरें ।
'निधन भएको समय उहाँ कहाँ हुनुहुन्थ्यो ?' 
'छोरीको घर काठमाण्डौको सिनामंगलमा बस्नु हुन्थ्यो । ब्रेन ह्यामरेज भएर उहाँको निधन  भएको भनेर मैले सुनें ।' बलरामजीको प्रत्युत्तर संक्षिप्त थियो ।

'अनि कति गते रहेछ ?' बलरामजी सँग थप जानकारी लिन म जमर्को गर्दै थिएँ ।
'१३ गते भन्छन् !' बलरामजीको संक्षिप्त प्रत्युत्तर दिने बानी थियो ।

करिब एक घण्टा पछि बलरामजीको फोन आयो र फेरि भन्नुभयो ' १३ गते होइन रहेछ, १२ गते नै रहेछ । ' तिसको दशक देखि करिव सत्तरीको दशकसम्म निरन्तर कलम चलाउने स्रष्टाको बारेमा मैले पाएको सूचना यत्तिकै थियो ।

मैले भेट्न खोजिरहेको मान्छेको  निधन  १२ गते  भएको खबर आएपछि म उहाँसँग भेटघाट र सम्बन्धका विगत समयतिर फर्किएँ । उहाँसँगका वितेका समयहरु सम्झन थालें । उहाँले गर्नुभएका कार्यक्रमहरू   'हामी पढ्छौं पारिजातका कविता''हामी पढ्छौं इश्वरबल्लभका कविता',  'वितेका मानिसहरूको सम्झनामा कविता गोष्ठी' आदिको याद आयो ।

कवि पाण्डेयका एकताका अत्यन्तै निकट रहेर सहकार्य गर्नुभएका कवि बलराम बिष्टले दिनुभएको सूचनाअनुसार  मैले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिएँ । त्यो सूचनापछि उहाँका धेरै सहकर्मीहरू अचम्मित भए । त्यो सूचनापश्चात् उहाँका मित्र एवम् साहित्यिक समाचार र सूचना राख्नमा प्रसिद्धि कमाएको फेसबुक समूह 'शब्दपथ' बाट साहित्यकार मुरारी सिग्देलले उहाँको निधनको विस्तृत  समाचार राख्नका लागि धेरै प्रयत्न गर्नुभयो । कसैगरी पनि पर्याप्त सूचना प्राप्त गर्न नसकेपछि  'शब्दपथ' मा   उहाँले थोरै सूचनाका भरमा समाचार लेख्न बाध्य हुनुपर्‍यो ।

'कति लेखक कविहरूले कलम घिसार्दा घिसार्दै मृत्युको ढोका ढकढक्याउन पुगी हाल्दा रहेछन् ।  कसैलाई थाहा हुन्न ।  गइसकेका हुँदा रहेछन्। त्यस्तै भयो कवि अतृप्त पाण्डेको कुरा गर्दा पनि । आज बल्ल थाहा भयो उहाँको मृत्यु आजभन्दा १८ दिनअघि अर्थात् असार १२ गते भइसकेको रहेछ ।' 

केही दिन पछि मैले कवि पाण्डेयका निकट मित्र नारायण भण्डारी 'जनकपुरी'  सँग उहाँका बारेमा थप जानकारीका लागि सहयोग मागेँ । उहाँले धेरै मेहेनत गरेर कवि पाण्डेयकी छोरी प्रजिता जोशीको मोबाइल नम्बर फेला पार्नुभयो र हामी प्रजिता जोशीको घर सिनामंगल पुग्यौं । नारायणजी र मैले   छोरी प्रजिता जोशीबाट नयाँ जानकारी लियौं - उहाँको निधन २०८० साल असार १२ गते राति १२ : ५१ बजे निमोनियाको कारण भएको रहेछ । 

कवि पाण्डेयको कविताझैं समयसित रुमाल त थिएन थिएन , उहाँको निधनपछि हामी प्रष्ट भयौं हामीसँग अब आँसु पनि बाँकी थिएन । हामी आँसु सकिएका संवेदनहीन मानिसमा परिणत हुँदै थियौं । हामीसँग समाज रुपान्तरणका लागि योगदान दिने सचेत मानिसहरुको निधनलाई क्षति सम्झने चेतना कमजोर हुँदै नगएको भए अतृप्त पाण्डेय यसरी सुटुक्क जानु पर्दैनथ्यो । म यस्तैयस्तै सोच्न बाध्य भएँ ।

म कवि पाण्डेयकै एउटा कविताको अंश प्रस्तुत गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

र त तिमीहरूका आँसु पुछ्न
समयसित रुमाल छैन
समय हुनेहरूसित रुमाल छैन
रुमाल हुनेहरूसित समय छैन
र त भन्दै छु अझै पनि सपनामा नै अघाऊ /
रमाऊ बम्बईको मासुबजारमा बेचिएका दिदीहरू, बैनीहरू
पर्खाल, जो भत्कनुपर्ने थियो त्यो अझै भत्केको छैन
भत्काउन सकिएको छैन
तिमीहरूका आँसु पुछ्न समयसित रुमाल छैन ।

- समयसित रुमाल छैन

०००

--------------------------------------


कवि पाण्डेका प्रकाशित कृतिहरू




--------------------

मित्रहरूसँग कवि पाण्डेय





1 comment:

कला-साहित्य said...

कवि अतृप्त पाण्डेयको आयोजनामा आयोजित एउटा कार्यक्रमको भिडियो नेपाली कला साहित्यको युट्युव च्यानलमा उपलब्ध छ ।
https://www.youtube.com/watch?v=c1uLlC4HCCo