Monday, June 13, 2022

विद्युतकर्मी साहित्यिक समाजको सातौँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणकाे विद्युतकर्मी साहित्यिक समाजले स्रस्टा सम्मान, कृति विमोचन तथा रचना वाचनको कार्यक्रमसहित आफ्नो सातौँ अधिवेशन सम्पन्न गरेको छ ।

आइतबार प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंको सभाकक्षमा भव्यताका साथ अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल विध्युत प्राधिकरणबाट सेवा निवृत्त भएका प्रगतिवादी साहित्य साधक मातृका पोखरेल तथा साहित्य स्रस्टा रमेशप्रसाद न्यौपानेलाई प्रमुख अतिथि ज्ञवालीले ताम्रपत्रबाट तथा विद्युतकर्मी साहित्य समाजका अध्यक्ष कृष्णदेव रिमालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । अमरज्योति साहित्य सम्मान–२०७९ बाट सम्मानित व्यक्तिहरूको व्यक्तित्व र कृतिबारेमा अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णु आचार्य ‘अतृप्त’ले टिप्पणी गरेका थिए ।



समारोहमा अमरज्योति साहित्यिक त्रैमासिकको ५४ औं अङ्कका साथै प्राधिकरणका क्रियाशील स्रस्टा विष्णु आचार्य ‘अतृप्त’को ‘घर फर्कने तिर्खा’ कवितासङ्ग्रह लोकार्पणसमेत गरिएको थियो। विमोचित कवितासङ्ग्रहको शक्ति र सीमामाथि सङ्क्षिप्त टिप्पणी विशेष अतिथि व्यङ्ग्य निबन्धकार वाशुदेव गुरागाईँ ( पिँडालु पन्डित) ले गरेका थिए ।

कार्यक्रममा स्रस्टाहरु कृष्णप्रसाद पौडेल, शारदादेवी भट्टराई, मोहन बहादुर कायस्थ, पुण्य घिमिरे, शिशिर थापा, मदन तिम्सिना, रीता खनाल, मुकुन्द प्रसाद प्रसाईं , केशव रुपाखेतीलगायतले आआफ्नो रचना वाचन गरेका थिए भने कवि आविष्कार कला र कवि विष्णु आचार्य ‘अतृप्त’ले विमोचित कवितासङ्ग्रह ‘घर फर्कने तिर्खा’ बाट एक–एक वटा कविता वाचन गरेका थिए।

नयाँ कार्यसमिति सर्वसम्मत चयन

आजै सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको सातौं अधिवेशनले कृष्णदेव रिमाल ‘शब्दसेना’ को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपले चयन गरेको छ। समितिका अन्य पदाधिकारीतर्फ शारदादेवी भट्टराई पोख्रेल (उपाध्यक्ष), विष्णु आचार्य ‘अतृप्त’ (सचिव), शारदा पराजुली (सहसचिव), मुकुन्द प्रसाद प्रसाईं (कोषाध्यक्ष) रहेका छन् ।

यस्तै, सदस्यहरूमा सङ्गीता अधिकारी पौडेल, आविष्कार कला, रीता खनाल, भोला शर्मा, मनुकुमारी पुलामी र बलराम पुडासैनी रहेका छन् ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष रिमालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा समाजकी सदस्य सङ्गीता अधिकारी पौडेलले स्वागत मन्तव्य राखेका थिए । समाजका सचिव प्रकाश आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणमा साहित्यको जग बसाउन अहोरात्र खटिएका स्रस्टाहरू जुजुकाजी रन्जित, कुलप्रसाद पराजुली, पुन्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’, विष्णुबहादुर सिंह, कृष्णमोहन जोशी, मन्जुलाल श्रेष्ठ, मोहनकृष्ण उप्रेती, राजु शर्मा, विन्दु शर्मा, वाइ. आर. घलेलगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र निर्वाचक मण्डलका पदाधिकारीहरूलाई समाजको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

www.news24nepal.tv  बाट साभार 

---------------------------------------------

















No comments: