Tuesday, June 20, 2023

पँवरिआ नाच संरक्षणमा जोड



काठमाडौं । लोपोन्मुख अवस्थामा रहेको ‘पँवरिआ नाच’ को संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगोष्ठी गरेको छ । प्रतिष्ठानको नृत्य विभागले बाराको आदर्श कोतवाल गाउँपालिकामा ‘पँवरिआ नाच’ संगोष्ठी कार्यक्रम २०८०’ को आयोजना गरेको हो । प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख बखतबहादुर हमालको सभापतित्वमा सम्पन्न संगोष्ठीमा स्थानीय कलाकारले पँवरिआ नृत्य प्रस्तुत गरेका थिए । सो नृत्य हेर्न स्थानीयको बाक्लो उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले उक्त नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पँवरिआ नृत्यको उत्पत्ति, विकासक्रम, अहिलेको अवस्थाबारे चर्चा गर्दै संस्कृतिको जर्गेनामा प्रतिष्ठानले भुमिका खेल्नुपर्नेमा जोड दिए । उनको कार्यपत्रमाथि भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गरेका थिए ।

सो कार्यक्रममा भाषा आयोग सदस्य मातृका पोखरेलले लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रम देशैभरी गर्नुपर्ने धारणा व्यक्त गरे । उनले संस्कृतिको जर्गेना हुनसकेमा मात्रै देशको सभ्यता जोगिने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण) ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने मुस्लिम समुदायभित्रको पँवरिआ जाति विशेषको यो नृत्य जीवनयापनसँग जोडेर लैजान कठिनाइ भएकाले लोपोन्मुख अवस्थामा पुगेको जिकिर गरे । उनले यसको खोज, अनुसन्धान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आफुहरुले आदर्श कोतवाल गाउँपालिकामा कार्यक्रम गरेको जनाए ।

प्रतिष्ठानको तर्फबाट कर्मचारी संघका अध्यक्ष हिलारीबन्धु भुजेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । स्थानीय कलाकारले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेकाले यसलाई संरक्षण गर्नका लागि आयोजकसँग आग्रह गरे । कार्यक्रममा वक्ताले नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरी पुस्तान्तरण गर्न अभिलेखीकरण गर्नुपर्नेमा भनाई राखे । सो कार्यक्रमको सहजीकरण जयप्रकाश लाल दासले गरेका थिए ।

000

www.souryaonline.com बाट साभार 

No comments: