Monday, March 14, 2022

बालकृष्ण पोखरेललाई पहिलो पटक देख्दा तीनछक परें – मातृका पोखरेल

















-------------------------------------------------------------

बालकृष्ण पोखरेललाई पहिलो पटक देख्दा तीनछक परें

 - मातृका पोखरेल 



मातृका पोखरेल 


नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, चर्चित भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा २०७५ साल फागुन १२ गते निधन भएपछि मानिसहरुले उहाँको योगदानको बारेमा खुलेर बहस गरे । धेरैको एउटै मत थियो– ‘नेपाली भाषाले अपूरणीय क्षति बेहोर्‍यो ।’ एउटै पैत्रिक भूमि भएको कारणले मात्र नभएर नातामा काका भतिज पर्ने भएर पनि बालकृृष्ण पोखरेलको मूल्यांकन मेरो सर्वथा रुचि र चाखको विषय थियो । 

हुन त, बालकृष्ण पोखरेल उदयपुरको रुपाटारमा जन्मिनु भएन । वि.सं.को उन्नाइस बीस सालतिरको करिब एक डेढ वर्ष बाहेक त्यो ठाउँ उहाँको कर्मथलो पनि भएन । तर सानै उमेरदेखि बालकृष्ण पोखरेल हामीले सुनिरह्यौं विभिन्न कारणले । 

बालकृष्ण पोखरेलको मात्र चर्चा हुन्थेन त्यो समयमा । बालकृष्ण पोखरेलको भन्दा बढी चर्चा उहाँका बुवा शारदाप्रसाद पोखरेल र उहाँका जिजुबुवा डिट्ठा यज्ञप्रसादको हुन्थ्यो । त्यो चर्चा हुनुका पछि पनि केही कारणहरु थिए  डिट्ठा यज्ञप्रसाद नेपाल (काठमाडौं उपत्यकालाई हाम्रो गाउँघरमा ज्येष्ठ नागरिकहरुले नेपाल भन्नुुहुन्थ्यो) का प्रसिद्ध जागिरे मात्र थिएनन्, आयुर्वेदका प्रख्यात जानकार समेत थिए । उनको आयुर्वेद ज्ञान अत्यन्तै माथिल्लो कोटीको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई किशोरावस्थामा दमको रोगले छोएछ । मातृकाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले यसको राम्रो उपचार डिट्ठा यज्ञप्रसादले गर्छन् भनेर उदयपुरको रुपाटार पठाइदिएछन् । डिट्ठा यज्ञप्रसादले त्यसबेला आफ्नो निवृत्त जीवन रुपटारमै बसेर बिताइरहेका रहेछन् । मातृकाप्रसाद कोइरालाले उपचारको शिलशिलामा रुपाटारमा करिब एक वर्ष बिताएछन् । एक वर्षपछि स्वास्थ्यलाभ गरेर उनी बनारस फर्किए । मातृकाप्रसाद कोइराला उपचारका क्रममा रुपाटार बसेको बेलामा कमिलडाँडा, कुमालेतिर गाईबाख्रा चराउने काम पनि गरेछन् । यो एउटा घटनाको मात्र कुरा हो । यस्तै कारणले पनि डिट्ठा यज्ञप्रसादको चर्चा प्रशस्तै हुन्थ्यो । उनै डिट्ठाले पानीको अत्यन्तै दुःख भएको रुपाटारमा ठूलो धार्मिक कार्य सम्पन्न गरेर खनाएको ‘ डिट्ठाको कुवा’ अहिलेसम्म छँदैछ । रुपाटार पढ्न बस्दा त्यो कुवाको पानी मैले पनि धेरै पटक पिएको छु । यसरी बालकृष्ण पोखरेलको भन्दा उहाँहरुको चर्चा बढी नै हुन्थ्यो । तत्कालीन समाजका र भद्रभलाद्मीहरुको छलफल सभामा । जागिरे दुनियाँमा शारदाप्रसाद र नारायणप्रसादको झनै चर्चा हुन्थ्यो । त्यो समयमा दाजुभाइ राणाकालका बडाहाकिम र न्यायाधीश हुनुहुन्थ्यो । शायद बुवाहरुले आफ्ना छोराहरुले पढुन् र त्यस्तै बुनन् भनेर उत्प्रेरित गर्न पनि हुनसक्छ, उनीहरु भन्ने गर्थे ‘हाम्रै रुपाटामा जन्मिएका शारदाप्रसाद पोखरेल र नारायणप्रसाद नेपालमा ठूला जागिर थिए ।’ तर निरक्षर बाबुआमा कस्तो जागिरे छन् भन्न जान्दैनथे । अलिअलि जान्नेहरु बडाहाकिम, न्यायाधीश भन्थे । तर निरक्षर आफ्ना सन्तानको उन्नतिको सपना देख्न खोज्ने निम्छरा बाबुआमाहरु पनि छोराछोरीलाई उत्प्रेरित गर्न यी नामहरु कण्ठ गरेर बसेका हुन्थे । बालकृष्ण पोखरेलेका जेठादाजु भैरवीप्रसाद पोखरेलको चर्चा त झन् हुने नै भयो त्यसबेला । उहाँ पञ्चायती व्यवस्थाको आरम्भका पहिलो राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो र त्यस क्षेत्रको शैक्षिक क्षेत्रको उन्नयनमा उहाँको महत्वपूर्ण भूमिका थियो । हाल रुपाटारको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालय उहाँकै नेतृत्वमा स्थापना भएको थियो । मेरो बाल्यकाल र किशोरा कालमा पञ्चायती व्यवस्था उर्लंदो उमेरको थियो । त्यसबेलाको राष्ट्रिय पञ्चायत सदस्य भइसक्नुभएको मान्छे । उहाँको चर्चा विशेष हुनु स्वाभाविक पनि थियो । मेरो बालमस्तिष्कमा बालकृष्ण पोखरेलसँग यसरी परिचय भयो । 



बालकृष्ण पोखरेललाई मैले आफ्नो समयमा पाठ्यक्रममा पनि पढ्नुपर्थ्यो  । मैले दश कक्षा पढ्दा उहाँको एउटा निबन्ध थियो पाठ्यपुस्तकमा । त्यसबेला कटारी स्कुलमा हामीलाई नेपाली पढाउने गुरुले बालकृष्ण पोखरेलको परिचय दिने क्रममा ‘उनी उदयपुर तिरकै हुन् भन्ने सुनेको छु’ भन्नुभयो । त्यसपछि मैले उठेर बालकृष्ण पोखरेलको जानेसम्म परिचय दिएपछि गुरु छक्क पर्नुभएको घटना अहिलेसम्म पनि सम्झनामा ताजै छ । 

विराटनगरको स्थायी बासिन्दा बालकृष्ण पोखरेलको खेती सुनसरीको सीतागन्जमा थियो । म विराटनगर पढ्न गएपछि मेरो भतिजो तारानाथ पोखरेल पनि त्यहीँको वासिन्दा भएको कारणले म अक्सर सीतागन्ज गइरहन्थें । एकदिन म पुगेकै दिन बालकृष्ण काका पनि सीतागन्ज पुग्नुभएको रहेछ । भतिज ताराले उहाँ नै हो बालकृष्ण पोखरेल भनेर चिनाएपछि म छाङ्गाबाट खसेजस्तै भएँ । किताबमा छापिरहने नाम, आफूले पाठ्यपुस्तकमा पढेको नाम, सानै उमेरदेखि सुनिरहेको नाम बालकृष्ण पोखरेल । ठूलो ज्यान भएको, ठूलै टाउको भएको, हेर्दै हृष्टपुष्ट यस्तैयस्तै । मेरो कल्पनामा सजिएको बालकृष्ण पोखरेल र वास्तविक बालकृष्ण पोखरेलको कति भिन्नता । एटा सामान्य गन्जी र लुंगी लगाएर खेतका आलीमा हिँड्दै गरेको एउटा कालो वर्णको सामान्य गाउँले मान्छेजस्तो बालकृष्ण पोखरेल । म तीनछक परेको थिएँ त्यस दिन । 



विराटनगर पढ्न बस्दा बेलाबेलामा बालकृष्ण काकालाई भेट्न पुगिरहन्थें । विराटनगर छाडेपछि धेरै समय उहाँसँग टाढा भएँ । एकदिन साहित्यकार कमल सुवेदीले मेरो कार्यालय नेपाल विद्युत प्राधिकरणमा उहाँलाई लिएर आउनुभयो । मलाई भेट्टाइदिनका लागि उहाँले कमजीलाई भन्नुभएको रहेछ । त्यसपछि काठमाडौं आएको बेलामा उहाँ कहिल्यै नछुटाई मेरो कार्यालयमा भेट्न आउनुहुन्थ्यो । 

एकदिनको कुरा हो । बालकुष्ण काकालाई लिएर चिया पिउन बागबजारतिर निस्केको थिएँ । त्यसबेला प्रगति पुस्तक पसल भक्तपुर बसपार्कको अघिल्तिर थियो । हामी त्यो पुस्तक पसलमा निस्कियौं  त्यो पसल भूपनारायण पोखरेलको थियो । अहिले त्यो पसल पुतलीसडक चोकनेर सरेको छ । भूपनारायणको कुरा सुन्नेबित्तिकै बालकृष्ण काकाले सोध्नुभयो– ‘तपाईंको घर प्युठान हो ?’ भूपनारायणले सोध्नुभयो ‘कसरी थाहा पाउनुभयो ?’ तपाईंले प्रयोग गर्ने भाषा प्युठानबाहेक अन्यत्र प्रयोग हुँदैन । बालकृष्ण काकाको स्थानीय भाषिकालाई बुझ्न सक्ने सामर्थ्य   देखेर हामी छक्क परेका थियौं त्यो दिन । 



महेन्द्र रत्न उच्च मावि रुपाटारले स्वर्ण महोत्सव मनाउने भयो । मैले बाल्यकालको महत्वपूर्ण समय बिताएको विद्यालय । मेरा थुप्रै भावनात्मक सम्बन्धहरु गाँसिएका छन् त्यहाँ । त्यो स्वर्ण महोत्सवमा बालकृष्ण पोखरेल प्रमुख अतिथिको रुपमा निम्त्याइनुभएको थियो । कार्यक्रममा मेरा बालसखा एवम् उक्त विद्यालयका प्रधानाध्यापक तोयाबहादुर बुढाथोकीले मलाई पनि निम्तो दिनुभएको थियो । आफ्नो पैतृक थलोले सम्मान गरेर निम्त्याएकोमा बालकृष्ण काका निकै खुसी देखिनुहुन्थ्यो । कार्यक्रममा उहाँले त्यो क्षेत्रको ऐतिहासिकता बारेमा जति बोल्नुभयो; त्यो क्षेत्रमा बसोबास गर्नेहरुलाई आफ्नो मातृभूमि र कर्मभूमिप्रति आस्था विकास गराइ दिनुभयो । 

कार्यक्रम सकेर हामीसँगै फर्कियौं । बालकृष्ण काकालाई विराटनगर पु¥याइदिनका लागि तोयाजी पनि साथै आउनुभएको थियो । कुमालटारबाट डढुवाको उकालो लाग्नेबित्तिकै गाडी बिग्रियो । तोयाजीले कटारीबाट अर्को गाडी मगाउनुभयो । अर्को गाडी नआउन्जेल हामीले उकालो हिँड्ने विचार ग¥यौं, बालकृष्ण काकाकै प्रस्तावमा बाटोमा उहाँले उकालो हिँड्ने तरिका पनि हामीलाई सिकाउनुभयो । कुनै बेला तत्कालीन राजा वीरेन्द्रको सवारीमा कवि भूपिसँग धरानदेखि धनकुटासम्म हिँडर गएको रोचक संस्मरण पनि सुनाउनुभयो । डढुवाको थाप्लोमा रहेको मेघराज राईको पसलमा नपुगुन्जेल हाम्रा गाउँहरुको ऐतिहासिक कथाहरु सुन्दै गयौं हामीले उहाँबाट । मनमनै लागिरह्यो, ‘उहाँले कहिल्यै नजानेका गाउँहरुको इतिहास कसरी थाहा पाउनुभयो ?’ तोयाजी र म पछिल्तिर बसेर खुसुखुस कानेखुसी गथ्र्यौं । डढुवामा खाना खाँदाखाँदै हामीलाई लिन अर्को गाडी आइपुग्यो । हामी त्यस दिन कटारी गएर बस्यौं । 



बालकृष्ण पोखरेल पछिल्लो पुस्तालाई उत्प्रेरित गर्न अत्यन्तै उत्सुक र जागरुक हुनुहुन्थ्यो । म पनि केही घटनामा यसको साक्षी छु । ‘गरिमा’ पत्रिकाको कुनै अंकमा मेरो कथा छापिएको थियो ‘इतिहासको चिहानमाथि उभिएर’ भन्ने शीर्षकको । त्यो कथाको भावभूमि बालकृष्ण काका र मेरो पैत्रिकस्थल थियो । शायद राति नै पढ्नुभयो होला त्यो कथा उहाँले । बिहानको साढे तीन नबज्दै फोन गर्नुभयो र अत्यन्तै खुसी हुनुभयो । ‘एउटै कथा लेखेर तिमीले जन्मभूमिको ऋण तिर्‍यौ ।’ उहाँले ‘यस्ता अरु विषयहरु छन् भने खोजी गर र लेख’ भन्नुभयो । यस्ता थुप्रै प्रसङ्गहरु छन् उहाँसँग मेरा । मसँग मात्र होइन धेरै युवा लेखकहरुलाई उहाँले उत्प्रेरित बनाउनुभएको प्रसंग मैले सुनेको पढेको छु । 

बालकृष्ण पोखरेललाई मानिसहरुले भाषाशास्त्रीको रुपमा बुझे । मानिसले ठूलो योगदान जेमा ग¥यो, त्यसपछिका योगदानहरु छायाँमा पर्दा रहेछन् । भाषाको क्षेत्रको त उहाँ सिंगै सगरमाथा हुनुहुन्थ्यो । तर पनि कथा, कविता, उपत्यास, निबन्ध, समालोचना र अनुसन्धानलगायत नेपाली वाङमयका विविध विधामा उहाँको उपस्थिति प्रभावशाली छ । नेपाली कथा समालोचकहरुले ‘सोधाइ र जबाफ’ कथासङ्ग्रह जस्तो उत्कृष्ठ कृतिका बारेमा गर्नुपर्ने जति चर्चा नगरेको भन्ने मलाई बारम्बार लागिरहन्छ । 

बालकृष्ण काका मनोवैज्ञानिक ढंगले मलाई नजिक बनाउन खोज्नुहन्थ्यो । म प्रगतिशील साहित्यको विद्यार्थी हुँ भन्ने उहाँलाई राम्ररी थाहा थियो । धेरै पहिलेदेखि मेरो बारेमा भेटेका मानिसहरुबाट जानकारी लिइरहनुहुन्छ भन्ने कुरा मैले पनि सुन्थें । मलाई नजिक बनाउन उहाँ प्रगतिशील साहित्यको सहारा लिनुहुन्थ्यो । यो कुरो म राम्ररी बुझ्दथें । भेटेको बेलामा श्यामप्रसाद शर्मा, गोकुल जोशी, पारिजातहरुको खुबै चर्चा गर्नुहुन्थ्यो । उहाँको मुखबाट श्यामप्रसाद र गोकुल जोशी सम्बन्धी धेरै रोचक कुरा सुनेको छु मैले । यी प्रसंगहरु बेलाबेलामा उपयुक्त ठाउँमा चर्चा पनि गरेको छु । बालकृष्ण पोखरेल कुनै समयको प्रगतिशील साहित्यिक आन्दोलनको सक्रिय अभियन्ता हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घको संस्थापक सदस्य पनि हुनुभयो । यिनै कारणले पनि प्रगतिशील साहित्यिक आन्दोलनको प्रारम्भिक कालखण्डको बारेमा उहाँबाट मैले धेरै कुरा बुझ्ने मौका पाएको छु । 

जनकवि गोकुल जोशीसँग उहाँको भारतको कुनै रेल्वे स्टेशनमा भेट भएछ । कवि जोशी आफ्ना सानासाना रचनाका पुस्तिकाहरु बेच्दै हुनुहुँदो रहेछ । त्यसपछि कवि जोशीलाई उहाँले आफ्नो घर विराटनगर लिएर आउनुभएछ । उहाँसँग कवि जोशीका थुप्रै मीठानमिठा अनुभवहरु छन् । मसँगको भेटमा उहाँ बारम्बार भन्नुहुन्थ्यो ‘गोकुल जोशी नेपाल आमाको सपुत हो । उसलाई उपयुक्त सम्मान दिन नसकेकोमा म यति बेला दुःखी छु ।’ निकै पटक दोहो¥याएर भन्नुभएको थियो उहाले यो कुरा । कति कुराहरु छन् गोप्य जस्ता लाग्ने । शायद उहाँले विश्वास गरेरै वा किन हो भन्नुभयो । तर उहाँले भनेका कैयौं कुराहरु बाहिर भन्ने आँट गर्न पनि म सक्दिनँ । 



केही वर्षअघिकै कुरा हो । कोटेश्वरको डेरा जीवनबाट हामी भक्तपुरको सल्लाघारीमा छाप्रो हालेर सरिसकेको समयको कुरा । रत्नपार्क बसपार्कबाट बस चढ्ने तयारी गर्दै थिएँ । मोबाइलमा घण्टी बज्यो । हेरें, बालकृष्ण काकाको रहेछ । फोन नम्बर हेर्नेबित्तिकै उठाउँ कि नउठाउँ भन्ने दोधारमा परें । समयको चाप छ भने म उहाँको फोन उठाउँदिनथें । उहाँलाई थोरै समयले पुग्दैनथ्यो । त्यसै गरी फोन उठाउन मैले हच्किने अरु दुई जना विशिष्ट र आदरणीय व्यक्तित्वहरु हुनुुुहुन्छ । करिव एक डेढ घण्टाको खाली समय भयो भने मात्र म उहाँहरुको फोन उठाउँछु । नत्र घरमा बेलुका खाना खाएपछि आफैं फोन गर्छु । त्यसदिन पनि पहिले मोबाइलमा उहाँको फोन उठाउने आँट गर्न सकिनँ, किनकि म बसको यात्रामा थिएँ । मलाई बसबाट सल्लाघारी पुग्ने पौने घण्टा लाग्थ्यो । पहिलो पटकको कल उठाइनँ । उहाँले दोस्रो पटक तुरुन्तै पुनः फोन गर्नुभयो । जरुरी होला भन्ने ठानें र उठाएँ । 

‘भतिज ! आज मैले नयाँ कुरा पत्ता लगाएँ ।’ बालकृष्ण काकाको स्वरमा खुसीको भाव छचल्किरहेको थियो । 

‘के हो काका ?’ म पनि जिज्ञासु भएँ । 

‘मैले विद्यापतिको कुल पत्ता लगाएँ !’ काकाको खुसीको सीमा थिएन । 

‘को विद्यापति ?’ म त एकछिन द्विविधमामा परें । 

मेरो ध्यान मैथिली भाषाको महाकवि विद्यापतितिर गएछ । यो कुरामा उहाँमा यत्रो खुसी किन ? म भित्र प्रश्न खेलिरहेको थियो भने उहाँ फोनमा लगातार बोलिरहनुभएको थियो । एकछिनपछि कुरा बुझें मैले । उहाँले नेपाली भाषाको कथामा उल्लेख गर्नुभएको ‘विद्यापति’ को रहेछ । अर्थात् ‘गीत गोविन्द’, ‘गीतवाणी’, ‘सात राग’, र ‘सात नायिका’ का अनुवादक, रचयिता हीनव्याकर्णी विद्यापतिको रहेछ । यी रचनाहरुको मौलिक कृति नै बालकृष्ण पोखरेलसँग रहेको कुरा हामी साहित्यका विद्यार्थीहरुले पढ्दै आएका थियौं । बालकृष्ण पोखरेलले वि.सं. २०१९ सालमै रचना पत्रिकामा ‘विद्यापति र उनको गीत गोविन्द’ शीर्षक लेखमा विद्यापति को हुन् यो अझै खोजीको विषय छ’ भनेर लेख्नुभएको थियो । त्यो लेखमा उहाँले ‘गीत गोविन्द’ को अनुवाद वि.सं. १८८८ मा भएकोले उनी वि.सं. १८५० भन्दा अघि नै जन्मिएको अनुमान गर्नुभएको छ । 

मूलतः विद्यापतिको कुल फेला पार्ने सन्दर्भ बालकृष्ण पोखरेल र मेरा लागि निकै महत्वको विषय थियो । बालकृष्ण काकाको यो अनुसन्धान किन पनि सत्यको नजिक छ भने वि.सं. १८५० तिर विद्यापतिको जन्म भएको ठहर्नु र कान्छा जीवा विद्यापतिको पनि जन्ममिति मिल्नु, विद्यापतिले लेखेका सम्पूर्ण हस्तलिखित सामग्रीहरु कान्छा काका नारायणप्रसादको दराजमा फेला पर्नु नै हो । वि.सं. २०१९ सालमा रचना पत्रिकामै ‘विद्यापति र उनको गीतगोविन्द’ शीर्षकको लेख छापिएको ५२ वर्षपछि उहाँले रचनामा नै विद्यापति बारेको आफ्नै अनुसन्धानको लेख प्रकाशन गर्नुभयो । इतिहासको गर्तमा लुप्त भएका विद्यापतिको खोजी उहाँको र मेरो लागि त महत्वपूर्ण छँदै थियो, नेपाली साहित्यको लागि पनि महत्वपूर्ण विषय थियो । 



२०७५ साल माघ ५ गतेको राति कतार एयरपोर्टबाट मुनाल पोखरेल (दाइ) को फोन आयो । उहाँको फोन आउनुभन्दा अगाडि त्रिपुरा दिदीले सिलगुढीबाट काका बिरामी भएको जानकारी गराइसक्नुभएको थियो । त्रिपुरा दिदीको घर (सिक्किम, भारत) गएको बेला बालकृष्ण काका उहीँ बिरामी हुनुभयो । उहाँलाई सिलगुढी हुँदै काठमाडौंको नर्भिक अस्पताल ल्याइयो । उपचारपश्चात् केही सुधार देखिएपछि उहाँलाई विराटनगर नै फर्काइयो । विराटनगरमै रहेको बेला उहाँ फेरि बिरामी पर्नु भयो । २०७५ फागुन १२ गते बालकृष्ण पोखरेल हामीबाट सदाका लागि बिदा हुनुभयो । 

नेपाली भाषाका गुरुहरुका पनि गुरु प्रा. बालकृष्ण पोखरेलको निधन भाषा÷साहित्यमा अभिरुचि राख्ने सबैका लागि दुःखद थियो । भारतको बनारसमा पढ्न बसेको बेला उहाँको नेतृत्वमा सुरु भएको ‘झर्रोबादी आन्दोलन’ नेपाली भाषाको इतिहासमा कहिल्यै बिर्सन नसकिने घटना थियो । अर्थात्, बिटुलिएको नेपाली भाषालाई चोखो बनाउन उहाँले क्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपाली भाषालाई समृद्ध बनाउन बालकृष्ण पोखरेलले खेल्नुभएको भूमिकाको तुलना अरु कसैसँग हुनसक्छ भन्न मलाई लाग्दैन । वि.सं. २०३३ सालतिर त्रिविले अनिवार्य नेपाली विषयलाई समेट्नु, ‘नेपाली वृहत् शब्दकोष’ प्रकाशनको मूल नेतृत्व गर्नु, नेपाली भाषाको अभिलेखलाई व्यवस्थित गरेर ‘पाँच सय वर्ष’ जस्तो कृति तयार गर्नु, आदि धेरै कामको नेतृत्व उहाँले गर्नुभयो । हामीले अहिले पनि पढिरहेको नेपाली भाषाको कालक्रम र पाँच भाषिकाको वर्गीकरण बालकृष्ण पोखरेलको एक्लो योगदान हो । 

नेपाली भाषाको खोजीमेली गर्ने बालकृष्ण पोखरेलको तुलना अर्कोसँग अहिले हुन सक्दैन । हामी खस हवौं र हाम्रो भाषा खस हो भन्ने कुराको बोध हामीलाई गराउने योगदान उहाँकै हो । 

निधन हुनुभन्दा केही अघिसम्म पनि उहाँ सिर्जनामा तल्लिन हुनुहुन्थ्यो । आफ्नै पैत्रिक थलोलाई केन्द्रित गरेर लेखिरहनुभएको ‘रुपारानी’ महाकाव्य अधुरै रह्यो । मेरा लागि यो महाकाव्य सर्वाधिक चासोको विषय थियो । इतिहासमा ‘युगपुरुष’ हुने अवसर अत्यन्तै थोरैले पाउँछन् । बालकृष्ण पोखरेल नेपाली भाषा साहित्यका युगपुरुष हुनुहुन्थ्यो भन्न कसैले हिचकिचाइ रहनुपर्ने जरुरी छैन । नेपाल सरकारले अझै पनि यो तथ्यलाई बुझेको छैन । मलाई विश्वास छ, यो सत्य र तथ्यलाई नुबझ्ने छुट इतिहासले लामो समय कसैलाई पनि दिन सक्दैन । 

बालकृष्ण पोखरेलहरु इतिहासमा यदाकदामात्र जन्मिँदा रहेछन् । यस्ता मानिसहरुको उपस्थितिले उनीहरुले अँगालेको क्षेत्रमा भुइँचालो आउँदोरहेछ र पुरानो केही ढलेर नयाँ निर्माणको प्रादुर्भाव हुँदो रहेछ । नेपाली भाषामा पनि बालकृष्ण पोखरेलले एउटा भुइँचालो ल्याउनुभयो । कसैले ल्याउन नसकेको भुइँचालो । फेरि कहिले जन्मेलान् यसरी भुइँचालो ल्याउन सक्ने बालकृष्ण पोखरेल ? कहिलेकाहीँ हामीबाट बिदा भएका विशिष्ट प्रतिभाहरुका बारेमा म यसरी पनि सोच्ने गर्दछु । 

सबै मानिसहरुको मृत्यु अपूरणीय हुँदैन । भावनात्मक रुपमा हामी अपूरणीय भनिदिन्छौं । तर बालकृष्ण पोखरेलको निधन नेपाली भाषा साहित्यका लागि सोरैआना अपूरणीय क्षति हो । नेपाली भाषाका कुलगुरु प्रा. बालकृष्ण पोखरेलप्रति हार्दिक श्रद्धान्जली !



No comments: