Friday, February 9, 2024

भाषा संरक्षण तथा संवर्धनसम्बनधी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भाषा आयोगको आयोजनामा वि.सं. २०८० माघ २६ गते भाषा संरक्षण तथा संवर्धनसम्बनधी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी हुन आउनुभएका भाषिक संघसंस्थाका प्रतिनिधिहरूलाई माननीय सदस्य मातृका पोखरेलले स्वागत मन्तव्य मार्फत स्वागत गर्दै भाषा संरक्षण तथा संवर्धनमा भाषिक संघसंस्थाको महत्त्वपूर्ण योगदान रहन सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु हुँदै भाषा आयोगका माननीय सदस्य गोपाल प्रसाद सर्राफले अनुसन्धान गरिएका कामलाई अघि बढाउन परेका कठिनाईका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले भाषा संरक्षण तथा संवर्धन शाखाबाट सम्पादित भएका कार्यहरुको बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा भाषिक संघसंस्थाका प्रतिनिधिहरु उक्त अन्तर्क्रियामा सहभागी हुनुभयो । सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारले 'बिस प्रतिसत सुनुवारले सुनुवार भाषा बोल्दैनन् । यो हाम्रो ठुलो समस्या भएको छ । भाषा आयोगले तदारुकता लिएर यो समस्यालाई समाधान गर्न पहल गरोस् ।' भन्नुभयो । दिवस लोहोरुङले 'लोहोरुङ समाजले वर्ण निर्धारण र शब्दकोशको काम सम्पन्न गरीसकेको' जानकारी दिनुभयो । 'भाषा आयोगमा एउटा डिजिटल लाइब्रेरी भए राम्रो हुन्थ्यो' भन्ने सुझाव दिनुभयो । कार्यक्रममा दिनेश यादवले 'अहिले मैथिली भाषा सिमित व्यक्तिको कब्जामा रहेको र त उनीहरुको कब्जाबाट मैथिलीलाई मुक्त नगरुन्जेल यो भाषाको विकास हुन सक्दैन' भन्ने धारणा राख्नुभयो । अर्का सहभागी वक्ता अमर तुम्याहाङले 'लिम्बु भाषामा युनिकोडको कार्य गरिरहेको जानकारी गराउनु भयो । शैक्षाणिक व्याकरणको आवश्यकता छ ' भन्नुभयो । खगेन्द्र बहादुरले हायु भाषालाई महत्त्व दिएर काम अघि नबढाउने हो भने केही वर्षभित्र यो भाषा मर्नसक्छ भन्ने धारणा राख्नुभयो । कार्यक्रममा होम याम्पुले भाषा कसरी बचाउने भन्ने बारेमा चिन्तन गर्नुपर्ने सुझाव राख्नुभयो । अर्का सहभागी अब्दुल मोविन खानले भाषाको दर्जा दिनुभन्दा अघि 'क्राइटेरिया' निर्माण गर्न जरूरी छ' भन्ने धारणा राख्नु भयो । अर्का सहभागी वक्ता लोकेन्द्र जेरुङ किरातीको संकटापन्न भाषालाई जोगाउन केही कदम चालिहाल्न जरूरी रहेको बताउनुभयो । भोजपुरी प्रतिष्ठानका केन्द्रीय सदस्य रितेस त्रिपाठीले यस्तो अन्तर्क्रिया विकेन्द्रित रूपमा गर्दा राम्रो हुने धारणा राख्नुभयो । सहभागी माला राईले भाषिक संस्थालाई नछुटाइ छलफलमा बोलाउन सुझाव दिनुभयो । सुरेल भाषाका एकमात्र वक्ता रमेश सुरेलले सुटेल भाषालाई जोगाउन प्रयत्न नपुगेको धारणा राख्नुभयो । निर्कुधन राईले थुलुङ भाषामा भएका कामहरुको जानकारी गराउनुभयो । नेपाल आदिवासी याक्खा संघका महासचिव जितेन्द्र कुमार देवानले केही विद्यालयमा पाठ्यक्रम बनाएर पठनपाठन भइरहेको जानकारी गराउनु भयो । कार्यक्रमका सहभागी धुर्वकुमार राईले पुमा राईको गतिविधिबारे जानकारी गराउनुभयो । अन्तक्रियामा राजन डोनेले डोने भाषाको वर्तमान अवस्थाका बारेमा बोल्नु हुँदै भाषा आयोगले भाषा चाहिँ खोज्ने तर भाषाको संरक्षण चाहिँ गर्ने गरेको पाइएन भन्ने धारणा राख्नुभयो । कार्यक्रमका अर्का सहभागी आनन्द गुप्ताले भोजपुरी प्रतिष्ठानले गरेका कामहरुको जानकारी गराउनुभयो । कार्यक्रममा डा. वीरबहादुर महतोले पनि मगही भाषाको क्षेत्रमा भएका कार्यहरुको जानकारी गराउनु भयो । भाषा आयोगका उपसचिव कमला भण्डारी पाण्डेले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको औचित्यबारे मन्तव्य राख्दै कार्यक्रमको सहजीकरण भाषा आयोगका का.वा. सचिव डा. लोकबहादुर लोप्चनले गर्नुभएको थियो । सभापतिको आसनबाट समापन मन्तव्य राख्नुहुँदै माननीय अध्यक्ष डा. गोपाल ठाकुरले ' , शब्दकोशमा नहुँदैमा, व्याकरणमा , लिखितमा नहुँदैमा पनि भाषा हुन्छ । भाषालाई दिगो बनाउन शिक्षामा प्रयोग गर्नु जरूरी छ' भन्नुभयो ।

000





















No comments: