जतनपुरमा पोखरेलहरूको पदचाप : जनश्रुतिदेखि इतिहासको खोजीसम्म
- मातृका पोखरेल
पोखरेलहरू जतनपुरसम्म कसरी पुगे ? यो प्रश्नको उत्तर पाउन त्यति सजिलो छैन । पोखरेलहरूका धेरै वंशावली लेखिएका छन् र यो बारेमा केही प्रसङ्गहरू पनि उल्लेख गरिएका छन् । केही अनुमानहरू पनि प्रस्तुत गरिएका छन् । मौखिक परम्परामा पछिल्लो पुस्तासम्म आइपुगेका जनश्रुतिहरू पनि हामीलाई तथ्यको नजिक पुग्ने गोरेटो हुनसक्छन् भनेर अध्ययन गर्न जरूरी छ । अनुसन्धान योग्य विषयहरू अझै धेरै छन् ।
जतनपुरे पोखरेलहरूसँग पुराना राजकीय अभिलेखहरू थोरै हुनु स्वभाविकै थियो । चौदण्डीगढी राज्य विलुप्त भएको लामो समयसम्म उनीहरू प्रतिपक्षीको भूमिकामा थिए । गोरखाको छोप्राक हुँदै पूर्व आएका पोखरेलहरूझैं पश्चिम लमजुङबाट चौदण्डीगढी आइपुगेका कतिपय पोखरेलहरू मूलत: पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा सहयोगी भएनन् । त्यस्को प्रभाव निकै पछिसम्म परेको पाइन्छ । उनीहरूलाई पछिसम्म पनि सत्रुतापूर्ण व्यवहार गरियो ।
लमजुङमैं रहँदा वामदेव मिश्रले स्वरुङदेखि रामपुरसम्म विर्ता पाएको र सोही कारणले मिश्रका बहिनी ज्वाइँ शिवानन्द पोखरेल जतनपुर आइपुगेका हुन् भन्ने कुरा जतनपुरे पोखरेल खालकाे इतिहासप्रति रूची भएका केही ज्येष्ठ सदस्यहरूले भन्नुभएको प्रसङ्ग सुनेको पछिल्लो पुस्ता हो हाम्रो पुस्ता । यो जनश्रुतिलाई तथ्यको तुलोमा तौलँदा प्रमाणित गर्न सजिलो छैन । लमजुङमा त्यसबेला सेन वंशको राज्य थिएन । शाह वंशको राज्यमा थियो । यता चौदण्डीगढी भने मकवानपुरको सेन राज्यको अधिनस्त थियो । शाह वंशका शासकले सेन वंशको राज्यमा विर्ता दिने कुरो कतैबाट मेल खाँदैन । त्यसैले वामदेव मिश्र वा शिवानन्द पोखरेलले विर्ता पाएको समय लमजुङ छाडेर मकवानपुरगढी आइसकेपछि वा चौदण्डीगढी पुगेपछि हुनसक्छ भनेर अनुमान गर्ने आधारहरू प्रसस्त छन् ।
सेन राजाको दरबारमा पुरेत, पण्डितको काम गर्नका लागि लमजुङबाट मकवानपुरगढी हुँदै चौन्दण्डीगढी आइपुगेका पोखरेलहरू नै समयक्रममा विर्ता पाएर जतनपुर पुगेको कुरा सत्यको नजिक हुनसक्छ । तर पनि अझै धेरै भनाईहरू जनश्रुतिमैं आधारित छन् । कुनै ठोस प्रमाण फेला परेका छैनन् ।
समाजका पुस्तौँपुस्तादेखि सुनिँदै, भनिँदै र स्मृतिमा बाँच्दै आएका कथा, किंवदन्ती, लोककथा र मौखिक परम्पराले पनि विगतको एउटा महत्त्वपूर्ण झलक प्रस्तुत गर्छन् । यस्ता मौखिक स्मृतिमा आधारित इतिहासलाई सामान्यतः जनश्रुति आधारित इतिहास भन्न सकिन्छ । विशेषतः लिखित अभिलेख थोरै पाइएको बेला इतिहासको खोजीमा यसको महत्त्व अझ बढी हुन्छ ।
जनश्रुतिको सबैभन्दा ठूलो सबल पक्ष भनेको यसले सामान्य मानिसको स्मृति र स्थानीय समाजको अनुभवलाई इतिहासको स्रोत बनाउनु हो । पोखरेलहरू जतनपुर कसरी र कुन अवस्थामा आइपुगेका हुनसक्छन् भनेर यी पुराना जनश्रुतिहरू हामीलाई अनुसन्धानको नजिक पुऱ्याउन सहायकसिद्ध हुन सक्छन् । स्मृतिमा आधारित कथामा कल्पना, अतिशयोक्ति, सामाजिक गौरव र पारिवारिक स्वार्थ मिसिन सक्ने सम्भावना अत्यधिक रहन्छ । जनश्रुतिमा आएको प्रत्येक कुरालाई प्रमाणित ऐतिहासिक तथ्यका रूपमा स्वीकार गर्नु जोखिमपूर्ण हुन्छ ।
जनश्रुतिलाई इतिहासको अन्तिम प्रमाणभन्दा अनुसन्धानको महत्त्वपूर्ण प्रारम्भिक स्रोतका रूपमा लिनु उपयुक्त हुन्छ। एउटै घटना वा वंशसम्बन्धी जनश्रुतिलाई शिलालेख, लालमोहर, सनद, वंशावली, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, नक्सा तथा अन्य लिखित स्रोतसँग तुलना र परीक्षण गर्नुपर्छ। विभिन्न व्यक्तिबाट प्राप्त मौखिक विवरणबीचको समानता र भिन्नता पनि केलाउनुपर्छ । हामीले हाम्रो इतिहासलाई यसरी पनि खोज्न सक्छौं ।
जतनपुरमा पोखरेल हरूको बसाइ सुरू भएको समय झल्काउने केही जनश्रुतिहरू हेरौं :
१) सुनकोशीमा डुंगा अड्किएको कथा :
यो जनश्रुति पनि बालखै कालमा हामीले धेरै सुन्यौं । यो जनश्रुति यस्तो थियो । "शिवहरिका दुई श्रीमती थिए । जेठी दिव्यश्वरा र कान्छी पार्वता । जेठीका रामेश्वर भए हाम्रा पुर्खा । कान्छी पार्वताका सदानन्द छोरा भए । सदानन्द जतनपुर छाडेर बसाई सिम्पानी हिँड्दा रसुवाघाटमा सुनकोशीमा डुङ्गामा पार हुन खोज्दा डुङ्गा कोसीको बीचमा रोकियो ।
माझी पनि छक्क परे । डुँगा कसैगरी पनि चल्दैन अरे । देउतासँग बल माग्दा र पाठी भाकल गर्दा पनि डुंगा नदीको बीचमा अडियो । माझीले आफनो नियम सबै गरे । त्यही पनि डुङ्गा चलेन । सदानन्दले जतनपुरबाट लगेको कुलको दियो र चामर लिएर भाकल गरेपछि डुङ्गा फेरि बाटो लाग्यो । पछि माझीले खेवा लिन मानेनन् भन्ने बुढापाकाहरू थिए ।" यो जनश्रुतिले के देखिन्छ भने जेठो ठाउँ जतनपुरै हो । यो जनश्रुतिले पनि इतिहासको एउटा सानो पाटो बुझ्न पक्कै योगदान पुऱ्याउँछ । रामेश्वरका भाइ सदानन्द जतनपुरबाटै सिम्पानी गएका हुन् भन्ने तथ्यलाई थप बुझ्न टेवा पुऱ्याउँछ । रामेश्वरको जतनपुर नआउँदै निधन भएको भन्ने पनि केही वंशावलीको भनाई छ । जतनपुर नै नआएको मानिसको नाममा कसरी रामपुर नाम नामाकरण भयो भन्ने प्रश्न उठाउन पनि सकिन्छ । हामीले खोज्ने त फेरि प्रमाणमैं हो । अनुमानमा खोज्नु हुँदैन ।
२) वामादेउ (कुमालटार) को पाहुना :
जतनपुरमा पोखरेलको प्रारम्भिक वसोवासको समय झल्काउने एउटा प्रख्यात जनश्रुति अर्थात् किंवदन्ती विद्यमान छ । वामदेव मिश्रको घर जतनपुरमा थियो । जतनपुर भेकमा चलेको एउटा चर्चित जनश्रुति यस्तो छ । " सिम्पानीबाट दुइजना पोखरेल दाजुभाइ वामदेव मिश्रलाई भेट्न जतनपुर आएछन् । जतनपुर आइपुग्दा निकै रात परिसकेको रहेछ । वामदेव मिश्रको घरमा पुग्दा उहाँ घरमा नहुनु भएको र यारीखोला बेसीमैं गोठ लगेर बस्नु भएको छ भनिदिए घरमा भएका दुई बहिनी छोरीले । रात निकै छिप्पिइ सकेकोले अब जतनपुरबाट यारी खोला पुग्न पनि सजिलो थिएन । उनीहरूले त्यहीँ बस्ने विचार गरे र बास मागे । घरमा भएका दुइटी छोरीले पनि यतै बसौं भने र राडी ल्याएर बाहिर पाहुनालाई ओछ्याइदिएछन् । राती पाहुनालाई राम्रो सत्कार गरेर खानापिनाको व्यवस्था गरे । भोलिपल्ट बिहानै उनीहरू वामदेव मिश्रलाई भेट्न यारी खोला पुगे । वामदेवले टाढाबाट भेट्न आएका आफन्त पाहुनालाई बेलुका कसरी कहाँ बस्नुभयो । खान पनि पाउनु भएन होला भने । सिम्पानीका पाहुनाले हामीले जतनपुरको घरमा दुइटी नानीहरूले खानेकुरा र बासको राम्रो व्यवस्था गरे भने । दुइटीमात्र छोरीको केही दिन पहिले निधन भइसकेको थियो । वामदेवले पाहुनाहरूलाई आफ्ना छोरीहरूको भरखरै मात्र निधन भएको र जतनपुरको घरमा कोही पनि मानिस बस्ने नगरेको भने पछि एकजना पाहुना त्यहीँ रगत छादेर मरे ।" यो निकै चर्चित रहेको जनश्रुति हो । जतनपुरमा मिश्र बारी नामले पुराना मानिसहरू अहिलेसम्म पुकार्दै छन् । वामदेव मिश्रको नाममा स्वतःस्फुर्त रूपमा नामाकरण भएको 'वामादेउ' अचेलभरी कुमालटारमा रुपान्तरित हुँदै छ । जतनपुरमा यद्यपि मिश्र बारी भनेर पुकारा गरिँदै छ । झण्डैझण्डै मानिसहरूले बिर्सिसकेको अवस्थामा छ । असमयमैं निधन भएका वामदेव मिश्रका दुइ बहिनी छोरीहरु कुन्ती र मैतीका नाममा भाग छुट्याएर चढाएरमात्र खाने चलन देखेको र भोगेको पुस्ता अझै पनि छँदै छ ।
केही वर्ष अघि प्रकाशित मिश्र वंशावलीमा पनि वामदेव मिश्र जतनपुरमैं बसोवास गरेको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । वंशावलीमा धनकुटाका मिश्रहरू वामदेव मिश्रकै भाइका सन्तान हुन् । जतनपुरमा पोखरेलहरूलाई पुऱ्याउने कार्यमा मिश्रहरुको ठुलो भूमिका भएका तथ्यहरू धेरै भेटिन्छन् ।
प्रा. बालकृष्ण पोखरेलले वामदेव मिश्रकी बहिनी दिव्यश्वरासँग लमजुङमैं शिवानन्दको विवाह भएको उल्लेख गर्नुभएको छ । उहाँले वामदेव लमजुङ छोडेर मकवानपुर दरबार आएपछि आफ्ना बहिनी ज्वाइँ शिवानन्दलाई स्वरुङको विर्ता र मौजा हेरचाह गर्न दिएको उल्लेख गर्नुभएको छ । यसरी हेर्दा रामेश्वरका मामा वामदेव मिश्र पोखरेलहरूलाई जननपुर प्रवेश गराउने पहिलो पात्र हुन् ।
३) दामु, चामु र पद्मुको कथा :
जतनपुर भेकमा बच्चाले पनि रुचीका साथ सुन्न मन पराउने र लोककथाकै रूप धारण गरिसकेको अर्को एउटा जनश्रुति चर्चित छ दामु, चामु र पद्मुको कथा । यो कथा जतनपुर आवाद गर्दाको प्रसङ्गसँग मेल खान्छ । जतनपुरको दक्षिण पश्चिमको गहिरो खोँचमा बिमिरे भन्ने एउटा ठाउँ छ । हाल त्यहाँ कुनै पनि मानव बस्ती छैन । जनश्रुति अनुसार - "दामु चामु र दामुको त्यहाँ पशुपालनको एउटा गोठ थियो । ठिक समयमा खानेबेला भए पछि हात थाप्दै एउटा राक्षस 'मलाई पनि देउ' भन्दै हात थाप्दै आइपुग्थ्यो रे ! उनीहरूले जे गरे पनि म पनि त्यसै गर्छु भन्दै आइपुग्थ्यो । राक्षसले धेरै दुःख दिए पछि तीनै भाइले एउटा जुक्ति निकालेछन् । खाना खाने बेलामा सल्लाको खोटो अनुहार भरी दल्ने आफू चाहिँ जोगिँदै दियालो बालेर नजिकै अनुहार नेर लग्ने । एकछिन पछि राक्षस आइपुग्यो । दामु, चामु र पद्मुले आफ्नो सल्लाह अनुसार आफ्नो शरीरभरी खोटो दले । आफू जोगिने गरेर नजिकै दियालोको अगुल्टो बाले । राक्षसले म पनि तिमीहरूले जस्तै गर्छु भन्यो । शरीरभरी रौं भएको राक्षसले खोटो दल्यो र आगोको अगुल्टो नजिक लग्यो । राक्षसको शरीरमा आगो सल्क्यो र ऊ अब देखि यहाँ आउँदिन भन्दै आगो लागेको शरीर लिएर एउटा ओडारमा पस्यो । बिमिरेको त्यो ओडारबाट पसेर राक्षस जतनपुरको माझको बर नेरको अर्को ओडारमा निस्केर अलप भयो । त्यसपछि त्यो फर्केर आएन ।" यो किंवन्दन्ती चर्चित थियो ऊ बेला । यसमा उल्लेख भएका पात्रहरू दामु भनेका रामेश्वरका कान्छा पुत्र देवीचरण हुन् । त्यस्तै चामु भनेको रामेश्वरका जेठा पुत्र चन्द्रलाल हुन् । त्यसैगरी पद्मु भनेको पनि रामेश्वरकै माहिला पुत्र पद्मलाल हुन् । यो किंवदन्तीले जतनपुरका वरिपरिको क्षेत्र सर्वप्रथम आवाद गर्नेहरू पोखरेलहरू नै थिए भन्ने देखिन्छ । सायद बनमान्छेको अवशेष त्यसबेला हुनसक्छ र त्यसैलाई राक्षस भनिएको पनि हुनसक्छ । पोखरेल वस्तीमा फैलिएको अरू किंवन्दन्ती भन्दा यो चर्चित थियो ।
४ ) जनश्रुतिमा सत्यधर र गजधरको प्रसङ्ग
उदयपुरको जतनपुर भेगमा पुराना पाकाका बीचमा धुकधुकी बोकेर एउटा कथा अझै बाँचेको छ । त्यो कथाका दुइवटा पात्र छन् सत्यधर र गजधर । उनीहरू जतनपुरका पोखरेल ब्राम्हणहरू थिए । त्यो कथामा उनीहरूले रूपाटारलाई जङ्गलबाट आवाद बनाएको चर्चा पाइन्छ । त्यसबेला त्यो लोककथामा रूपाटारलाई त्यसबेला खुर्पेठ्याक भनेर सम्बोधन गरिँदो रहेछ । उनीहरू खुर्पेठ्याक फँडानी गरेर साँझमा जतनपुर फकिँदा माथिल्लो आदमारा पुगेपछि तिर्खा लागेछ । उनीहरूले माथिल्लो आदमारामा रहेको मगर परिवारको एउटा घरमा पानी मागेर खाएछन् । पानी दिने मगर महिलाले पानी सारेर दिँदा पहिले जाँड छानेको भाँडामा पानी खान दिएको उनीहरूले पानी खाएपछि मात्र थाहा पाएछन् । त्यसपछि आफूहरूको जात गएको र अब अरू मानिसहरुले पनि थाहा पाउनेछन् भन्ने अनुमान गरेर जतनपुर छाडेर हिँडेछन् ।" यो जनश्रुतिले रूपाटार क्षेत्रको आवादी केही पछि भएको देखिन्छ । पोखरेलको वंशावलीमा यी दुई पात्रहरू सत्यधर र गजाधर कतैतिर पनि भेटिँदैनन् । मानिसहरूको त्यसबेला दोस्रो नाम पनि प्रयोग गर्ने अधिक चलन भएको हुनाले वंशावलीमा यी नामहरू नभेटिएको हुनसक्छ ।
जब इतिहासको सिलसिलालाई अलौकिक सत्ता र पौराणिक पात्रहरूसँग जोडिन्छ ; त्यहीँबाट तथ्य प्रमाण र अनुसन्धानको प्रकृया अवरुद्ध हुन्छ । हाम्रा धेरै वंशावलीहरू त्यही प्रकृयाबाट गुज्रिएका छन् । पोखरेल वंशावली पनि यसबाट अछुतो छैन । हाम्रा जनश्रुतिहरू पनि यही रोगबाट ग्रस्त छन् । यी माथिका जनश्रुतिहरूमा त्यसको मनग्गे प्रभाव देखिन्छ ।
वि.सं. २०१४ सालभन्दा पहिले पनि जतनपुरे पोखरेलको कुनै लिखित वंशावली भएको चर्चा कृष्णचन्द्र पोखरेलले पोखरेलको वंशावली (दोस्रो संस्करण, २०४४ साल, पृष्ठ - २७) मा उल्लेख गर्नुभएको छ । त्यो वंशावली डिठ्ठा यज्ञ प्रसादले लेख्नुभएको हो वा अरू कसैले लेख्नुभएको थियो भन्ने केही उल्लेख छैन । यसप्रकारका सामग्रीहरू अझै प्राप्त गर्न सकिन्छ । त्यसबेला हामीले हाम्रो इतिहासलाई अझ व्यवस्थित र परिस्कृत गर्न सक्नेछौं ।
पोखरेलहरूको इतिहासका कैयौं सन्दर्भहरूले अहिले पनि प्रसस्तै अध्ययन र अनुसन्धानको माग गरिरहेका छन् । कुनै यथेष्ट प्रमाण विना निस्कर्षको टाँचा लगाइदिने कार्यले सत्यको नजिक पुग्ने बाटो नै अवरुद्ध बन्छ भनेर हामीले गहिरोसँग बुझ्न जरूरी छ ।
वंशावली जनताको इतिहास हो । इतिहासको स्रोत हुन्छ र हुनुपर्छ । पौराणिक कथा र इतिहास फरक फरक विषय हुन् । इतिहास प्रमाण र तर्कको आधारमा लेखिन्छ । पौराणिक कथामा स्रोतको आवश्यकता पर्दैन । पौराणिक कथालाई सभ्यताको सांस्कृतिक प्रतिकका रूपमा बुझ्न जरूरी छ । पौराणिक कथामा सांस्कृतिक स्मृति, नैतिक शिक्षा, कल्पना शक्तिजस्ता यावत कुराको अभिव्यक्ति हुनसक्छ ।पौराणिक कथाको महत्त्व आफ्नै स्थानमा छ । इतिहास स्रोतहरूको अध्ययन हो । यो प्रमाणमा आधारित हुन्छ । हाम्रा वंशावलीहरूमा कमैमात्र स्रोतहरू उल्लेख गरिएका छन् । हाम्रा धेरै वंशावलीहरूमा मिथकलाई आधार बनाइएका कारण प्रामाणिकताको कसी भन्दा टाढा पुगेका छन् । आगामी दिनमा हामीले यसतर्फ सचेत भएर सोच्न र खोजी गर्न जरूरी छ ।
ooo
सन्दर्भ सामग्री
१. किरातको नालीबेली, नारदमुनि थुलुङ , फिनिक्स बुक्स, २०८१
२. मिश्र वंशावली, मिश्र वंशावली प्रकाशन समिति, झापा, प्रथम संस्करण - २०५०
३ . जतनपुरे पानी पोखरेलको वंशावली, प्रा . बालकृष्ण पोखरेल, प्रकाशक लेखक स्वयम्, प्रथम संस्करण - २०६५
४ . पोखरेलको वंशावली, कृष्णचन्द्र पोखरेल, प्रकाशक - कुबेरप्रसाद शर्मा, संस्करण दोस्रो - २०४०
५ . पानी पोखरेलको वंशावली, गणेशप्रसाद पोखरेल, २०६४ वैशाख
No comments:
Post a Comment