Wednesday, February 22, 2023

वर्तमान सरकारको नेतृत्व दलाल पुँजीवादी राज्यसत्ताले गरेको छ : ज्ञवाली

 


काठमाडौँ । ‘नेपाल सरकारको नेतृत्व दलाल पुँजीवादी राज्यसत्ताले गरेको’ साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा नेपाली समाजको चरित्र र संस्कृति विषयक परिसंवाद कार्यक्रममा वहाँले सो धारणा राख्नुभएको हो । 

सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा फागुन ५ गते प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञवालीले पुँजीवादको चरित्र, ‘राष्ट्रिय अर्थतन्त्र, ज्यालादारी अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र भएको’ बताउँदै वहाँले, ‘नेपालको अर्थतन्त्रमा यी कुनै पनि चरित्र नभएकाले अहिलेको समाज, अर्ध सामन्ती अवस्थामा नै रहेको’ बताउनुभयो । ‘प्रशस्त नाफा, प्रशस्त उत्पादन तथा प्रशस्त वितरण पनि पुँजीवादी अर्थतन्त्रको चरित्र हुने’ बताउँदै वहाँले, ‘नेपालको अर्थतन्त्र उत्पादनमूलक छैन, ओरालो लागेको अर्थतन्त्रका कारण  विदेशबाट २ खरब ऋण ल्याएर कर्मचारीलाई तलब खुवाउने स्थिति सिर्जना भएको र यस्तो प्रणालीलाई पुँजीवादी अर्थ प्रणाली भन्न नमिल्ने’ बताउनुभयो  । 

परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्दै साहित्यकार ज्ञवालीले ‘देशको अर्थतन्त्रमा वित्तीय, सूदखोर तथा दलाल पुँजीको हालीमुहाली बढ्दै जाँदा राष्ट्रिय पुँजीपति, उच्च मध्यम वर्ग तथा पुँजीपति वर्ग माथि उठ्नै नसकिरहेको’ वहाँको तर्क थियो । चितवन लगायतका ठाउँहरूमा किसानहरूले तरकारी सडकमा फाल्नुपर्ने बाध्यताको कारण पनि दलाल पुँजीवादी राज्यसत्ता रहेको साहित्यकार ज्ञवालीको धारणा थियो । वहाँको प्रश्न थियो, ‘जुन देशले ५४ अरबको खाद्यान्न आयात गर्छ, जुन देशमा तरकारी, सागसब्जी, मासु, फलफूल लगायत सबै कुरा बाहिरबाट आयात गर्दछ, जुन देशमा २० खरब व्यापार घाटा तथा १८ खरब विदेशी ऋण छ त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’

‘पुँजीले त रोजगारको सिर्जना गर्दछ तर जुन देशले ८० लाख नेपालीलाई बिदेसिन बाध्य बनाउँछ त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’ साहित्यकार ज्ञवालीको प्रश्न थियो । ‘कृषिको न त आधुनिकीकरण भयो, न त यान्त्रिकीकरण भयो, न त बजारीकरण नै भयो । दलाल पुँजीवाद राज्यसत्ताले पुँजीको केन्द्रीकरण मात्र गर्‍यो ।’ यस प्रकारको अर्थतन्त्र भएको देशलाई कुनै पनि अवस्थामा पुँजीवादी मुलुक भन्न नमिल्ने वहाँको तर्क थियो । ‘हिन्दु अति वादले सामन्तवादलाई जीवन्त राख्न सहयोग पुर्याईरहेको’ बताउँदै वहाँले ‘दलाल पुँजीवादी उत्पादन सम्बन्धलाई अन्त गर्नु सांस्कृतिक चुनौती रहेको’ बताउनुभयो । 

सङ्घकी उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको सो परिसंवाद कार्यक्रमको विषयवस्तुका बारेमा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा डा.कौशिला रिसाल, तेजविलास अधिकारी, गोपिरमण उपाध्याय , मातृका पोखरेल, गोपाल अस्क, धर्मेश पोखरेल, पारस ढकाल, रामचन्द्र श्रेष्ठ, समीर सिंहले पूरक टिप्पणी गर्नुभएको थियो । 

www.adharsheela.com बाट





No comments: