Tuesday, March 15, 2022

अनलाइनमा उज्यालो यात्रा

 


काठमाडौं । समृद्धिको यात्रामा जान प्राप्त उपलब्धिलाई जोगाएर लैजानुपर्छ भन्ने मान्यताका साथ ‘उज्यालो यात्रा’ भर्चुअल कला प्रदर्शनी सुरु भएको छ । अखिल नेपाल ललितकला संघको आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गरे । उनले समाजलाई प्रगतिशील रुपान्तरण गर्नका लागि संस्कृतिकर्मीको भूमिका विशिष्ट रहने बताए । अध्यक्ष पोखरेलले सामाजिक चेतना र जागरण ल्याउन कलाकारले महत्वपूर्ण योगदान दिएको बताउँदै प्रदर्शनीले नेपाली समाजलाई रुपान्तरणका पक्षमा लैजान माहोल सिर्जना गर्ने विचार व्यक्त गरे ।

जनयुद्ध दिवस, सहिद सप्ताह र सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारेर गरिएको उक्त प्रदर्शनीले न्यायपूर्ण समाजको परिकल्पना गरेको धारणा राख्दै पोखरेलले भने, ‘सामाजिक जागरणका निम्ति कला र संस्कृतिको भूमिका विशेष रहन्छ ।’ करिब तीन दर्जन कलाकारका गणतन्त्र, जनजीविका, जनयुद्ध, आन्दोलन, श्रम, मजदूर, सामाजिक जनजीवन, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ ।


प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, आलोक गुरुङ, लालमान लामा, देवेन्द्र थुम्केली, रामकृष्ण भण्डारी, उत्तम डंगोल, पाल्साङ्मो लामा, वासुदेव श्रेष्ठ, केशव राज खनाल, सौरगंगा दर्शनधारी, कमानसिंह लामा, झिग्मे लामा, प्रदीप अधिकारी, रवीन्द्र श्रेष्ठ, नरेश थुलुङ, प्रकाश पौडेल, राजकुमार राना मगर, राजकुमार बिक, लिलाधर केसी, चन्द्र रनाहँछा, दिवस कार्की, अमर परियार, अमिर शाक्य, खेम बिक, शिव शेर्पाली, निरीमाया लामा, भीमबहादुर सिंह ‘सुरज’, रञ्जु पुलामी मगर, प्रकाश मिजार, पूर्णिमा पौडेल लगायतका कलाकारका कलाकृति राखिएको छ ।

संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले प्रदर्शनीमा न्यायपूर्ण तथा विभेदरहित सामाजिक संरचना र समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएका कलाकृति राखिएको बताए । उनले भर्चुअल माध्यमबाट गरिएको कला प्रदर्शनीले आन्दोलनको मर्म र जनताको अपेक्षालाई उधिन्ने काम गरेको जिकिर गरे । लामाले भने, ‘जनयुद्ध, सहिद सप्ताह तथा सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारेर गरिएको कला प्रदर्शनीले नेपाली जनताको परिवर्तन आकांक्षालाई चित्रण गरेको छ । कलाकारले रुपान्तरणका लागि सिर्जनामार्फत अभिव्यक्ति दिएका छन् । साथै नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलकसमेत कलाकृतिमा देखिएको छ ।’


संघका उपाध्यक्ष प्रदीप अधिकारी सुशान्तले सामाजिक न्यायको आन्दोलनमा माओवादी आन्दोलनले तलैदेखि जागरण ल्याएको बताउँदै प्रदर्शनीमा राखिएका कलाकृतिले ती विषयलाई उठान गरेको धारणा व्यक्त गरे । उनले नेपालमा परिवर्तनकारी शक्ति र यसलाई नरुचाउने शक्तिबीचको टक्करलाई समेत कलाकारले कलाकृतिमा बिम्बात्मक रुपमा उनेको बताए । उपाध्यक्ष अधिकारीले सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिकरण गरेको विचार व्यक्त गरे । उनले भने, ‘नेपालको प्रगतिशील तथा समाजवादी कला आन्दोलनका लागि यो भर्चुअल कला प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास लिन सक्छौं ।’

संघका महासचिव केशव खनालले नेपालको संविधानले परिकल्पना गरेको समाजवादको विषयलाई कलाकारले कलामार्फत देखाउने कोशिस गरेको बताए । उनले प्रदर्शनीमा गणतन्त्र ल्याउन गरिएको बलिदानी र सामाजिक न्यायका पक्षमा कलाकारले सिर्जनात्मक अभिव्यक्ति दिएको जिकिर गरे । कलाकारले राजनीतिक दिशा र परिवर्तनका पक्षमा रचेका कलाकृतिले जनताका आकांक्षालाई उठाएको बताउँदै खनालले भने, ‘देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देशसमेत कलाकृतिमा आएको पाइन्छ । यस्तै, प्रदर्शनीको लक्ष्य भनेकै नेपालको गणतान्त्रिक यात्राका लागि गरिएको क्रान्ति र त्यसको उपलब्धिलाई देखाउनु पनि हो ।’



समालोचक तेजविलास अधिकारीले नेपालको परिवर्तनकारी आन्दोलनलाई चिनाउने उद्देश्य राखेर प्रदर्शनी गरिएको बताए । उनले समाजको प्रगतिशील रुपान्तरणमा अग्रसर हुन अभिप्रेरित गर्ने कलाकृति प्रदर्शनीमा राखिएको भनाइ राखे । ललितकला मञ्च नेपालका संयोजक तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका सचिवालय सदस्य दिवेश प्रधानले सांस्कृतिक रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्न प्रदर्शनी भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले तराई मधेश, पहाड तथा हिमाली परिवेशका विविध आयामलाई समेटिएका कलाका प्रदर्शनीमा राखिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनी चैत २० गतेसम्म अनलाइन ग्यालरी नेपाल डटकममा हेर्न सकिने बताए । भर्चुअल प्रदर्शनीलाई प्रोजी सोलुसन र आर्टनेपालले प्राविधिक सहयोग गरेको लामाले जानकारी दिए ।




www.souryaonline.com बाट साभार 


सौर्य दैनिकबाट साभार 

No comments: