Sunday, February 22, 2026

कविता : निद्रामा देश

                                                                                                                    मातृका पोखरेल


ऊ हामीलाई देखाउन
वारम्बार सुमसुम्याइरहन्छ
देशको झण्डा र नक्साका निर्जीव रेखाहरू
अनि निरन्तर गाइरहन्छ राष्ट्रिय गानको कृत्रिम धून ।

ऊ सफल छ 
हाम्रो मस्तिष्कमा सत्य र भ्रमको सीमा मेटिदिन
ऊ सफल छ 
निर्दोष आँखाहरूमा विश्वासको जालो बुन्न
र मानिसहरूलाई निरन्तर सम्मोहनमा राख्न
हो, ऊ असाध्यै सफल छ
​अनुहारमा 'मखुण्डो' भिरेर
हामीलाई अर्कै अनुहार देखाउन ।

​तर, म अचेल उसलाई वारम्बार अर्कै देखिरहेको छु
अरूले भन्दा फरक देखिरहेको छु
कस्तै प्रचण्ड रापमा पनि
उसको छालाले स्पर्श गर्दैन 'चिसो बतास'को शीतल स्वाद
उसका नाकका पोराहरूले चिन्दैनन् माटोको आदिम सुगन्ध
उसको मुटुको कुनै पनि कुनामा
अटाउँदैनन्
आफन्तका मीठा सद्भावहरू
न गुराँसको लाली
न डाँफेको नाच
न त ती सेता हिमालका अटल लहरहरू
उसका आँखाहरूमा कतै टाँसिदैनन्
​उसलाई केही फरक पर्दैन 
राष्ट्रिय गान गुन्जियोस् या मौन रहोस्
धून बज्दा ऊ जुरुक्क उठिदिन पनि सक्छ,
बडो सानका साथ 'सलामी' चढाउन पनि सक्छ,
उसले जे गरे पनि, उसलाई केही बिग्रँदैन
​आफ्नो असली अनुहार लुकाउन
ऊ राष्ट्रिय झण्डाहरूको 'सिरक' ओढ्छ,
नक्साको 'डसना' बनाएर सुत्छ ।

जब उसले पर्खिरहेको सुनौलो मौका
एउटा विभत्स कालो 'अजिङ्गर' झैं
सत्ता बनेर उसको अघिल्तिर पल्टिन्छ
त्यसपछि ऊ त्यही झण्डामा मट्टितेल खन्याउँछ
र जाडो भगाउन 'आगो' ताप्छ
​हाम्रा आँखाहरूमा भ्रमको बादल ढपक्कै ओढाएर
निन्द्राबाट ब्युँझिन खोज्ने हामीहरूलाई
आत्मीयताको अभिनय गर्दै ढाड सुमसुम्याउँछ,
र लोरी गाउँदै फेरि सुताइदिन्छ
​उसका लागि
छोरा हराएकी आमाको आँसु
र लुगा धोएर पखालेको मैलो पानीमा कुनै भेद छैन
छुटिएका प्रेमीहरूको भक्कानो
र गधाहरूको सामूहिक आवाजमा कुनै भिन्नता छैन ।

​मलाई थाहा छ
जबसम्म ऊप्रति हाम्रो 'अन्धविश्वास' भत्किँदैन
हामी सँगसँगै
यो देश पनि पटक-पटक
उही लोरी जस्तो लाग्ने गीतमा
निदाइरहने छ
निरन्तर निदाइरहने छ ।

०००

No comments: