Thursday, February 22, 2024

२५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न

 


फेब्रुअरी २१, २०२४ को लागि "पुस्तागत सिकाइका लागि बहुभाषिक शिक्षा" भन्ने मूलनारा रहेको अन्तर्राष्ट्रिय मातृभाषा दिवस उपलक्ष्यमा भाषा आयोग र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेर मनाए । भाषासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमका साथ मनाइएको उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन माननीय मन्त्री सुदनी किराँतीको प्रमुख आतिथ्यतामा भएको थियो । दुई सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्र सुभारम्भ सत्र रहेको थियो जसमा विशेष अतिथिका रूपमा नेपालका लागि बंगलादेशका राजदूत महामहिम रमसलाबुद्धिन नोमन चौधरीसहित नेपालका संवैधानिक आयोगका प्रमुखहरूसहित मन्त्रालय र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो। पहिलो सत्रको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ त्रैलोक्यमान बनेपालीले स्वागत मन्तव्यको प्रारम्भ पनि आफ्नो मातृभाषा नेपाल भाषा वा नेवार भाषाबाट गर्नु भएको थियो। त्यसपछि भाषा आयोगको संवैधानिक दायित्व र उपलब्धि एवम आगामी गन्वत्यका बारेमा भाषा आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनले संस्थागत प्रस्तुति गर्नु भएको थियो।

पहिलो सत्रकै कार्यक्रममा युनेस्कोको नेपाल प्रतिनिधि डा.ध्रुवराज रेग्मीज्यूबाट युनेस्कोको तर्फबाट सन्देश वाचन गर्नुका साथै मन्तव्य राख्नुभएको थियो । त्यसैगरी नेपालका लागि बंगलादेशका महामहिम राजदूत सलाबुद्धिन नोम चौधरीले नेपाल र बंगलादेशमा भाषिक विविधताको सम्बोधनका लागि संस्थागत रूपमा कार्य गरिएको चर्चा गर्नु भएको थियो । प्रमुख अतिथिको मन्तव्यकै क्रममा भाषा, समुदाय र जातिको अस्तित्वसहित जीवनमरणको आधार भाषा भएको बताउनुभयो ।उहाँले भाषाको मृत्यु भनेको समुदायको मृत्यु हो भन्दै भाषा पर्यटनको अवधारणासहित नेपालमा भाषिक सङग्रहालय स्थापना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। त्यसैगरी भाषा आयोगका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष मा.डा.गोपाल ठाकुरज्यूले नेपालमा भाषाहरूको व्यवस्थापनका लागि भाषा आयोगबाट सिफारिस गरेर केही तहहरूमा लागु भएको स्मरण गराउनु भयो । तथापि राज्यको तर्फबाट अपेक्षित रूपमा पहल र लगानी नगरिएको विषयलाई उठाउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थीबाट मातृभाषामा शिक्षाका लागि नेपालको प्रस्तावित खाका प्रस्तुत गर्नु भएको थियो भने यसउपर प्रा.डा.लक्ष्मणप्रसाद ज्ञवाली र प्रा.डा.ओमकारेश्वर श्रेष्ठ टिप्पणी गर्नुभएको थियो।साथै खुला छलफलका क्रममा सम्बद्ध क्षेत्रका विज्ञहरू प्रा.दानराज रेग्मी, विक्रममणि त्रिपाठी, लीलबहादुर रोगु, पवित्र बज्रचार्य, उदय लामा लगायतका सहभागीहरूबाट प्रतिप्रश्व र जिज्ञासा राख्नु भएको थियो। कार्यक्रमका सम्पूर्ण सहभागीहरूलाई भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले धन्यवाद ज्ञापन सहित मन्तव्य राख्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सभाको अध्यक्षको मन्तव्यसहित मातृभाषा शीर्षकको कविता वाचन गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो।

000

















































































































































































































































































































































No comments: