Saturday, August 26, 2023

विद्युतकर्मी साहित्यिक समाजद्वारा 'त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्' नामक साहित्यिक कार्यक्रमको आयोजना

 


नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सो संस्थाका पूर्व अध्यक्ष  विष्णुबहादुर सिंहको साहित्यिक योगदानको कदर गर्दै  उनको जन्मदिनको अवसर पारेर मिति २०८० साल भाद्र ०९ गते 'त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्' नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ।  

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना'को अध्यक्षता तथा  साहित्यकार एवम् शिवपुरी साहित्यिक समाजका अध्यक्ष विष्णुबहादुर सिंहको  प्रमुख आतिथ्यमा महाराजगन्ज काठमाडौँस्थित रिचमन्ड क्याफेमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू- कुलप्रसाद पराजुली, केशवप्रसाद रुपाखेती, वीरेन्द्र पाठक, पुण्य घिमिरे र रामेश्वर राउत 'मातृदास' ,शिवपुरी साहित्यिक समाजका पूर्व अध्यक्ष वियोगी बुढाथोकी, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल तथा साहित्य अनुरागीहरू-अच्युत अधिकारी र कृष्ण पौडेलले विष्णुबहादुर सिंहको साहित्यिक र गैरसाहित्यिक योगदानको स्मरण गर्दै उनको जीवनी, व्यक्तित्व र कृतित्वका साथै उनीसँगको साहित्यिक सहयात्रा र नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा उनले खेलेको भूमिकाका बारेमा आ-आफ्ना अनुभव प्रस्तुत गरेका थिए। 

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाज सातौँ कार्यसमितिका पदाधिकारीहरूले सिंहद्वारा रचित विभिन्न विधाका साहित्यिक पुस्तकहरूमाथि लघुसमीक्षा गरेका थिए । यसक्रममा  विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना'ले  'सम्झनामा रुस' कृतिका बारेमा लघुसमीक्षा गरेका थिए भने  उपाध्यक्ष  शारदा भट्टराई पोखरेलले  'सीसाको घर' विम्ब कवितासङ्ग्रहका बारेमा टिप्पणी गरेकी थिइन् ।  सिंहकै डोडोइट्सु सङ्ग्रह 'समयको सुस्केरा' का बारेमा  समाजका सचिव विष्णु आचार्य 'अतृप्त' र 'चुपचाप' कविता सङ्ग्रहका बारेमा कोषाध्यक्ष  मुकुन्दप्रसाद प्रसाईंले समालोचकीय धारणा राखेका थिए।  त्यस्तै साहित्यिक समाजका पूर्व कार्यसमिति सदस्य यादवराज घलेले उनको हाइकु सङ्ग्रह 'मौन बतास'का बारेमा सङ्क्षिप्त परिचर्चा गरेका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सिंहले हालसम्म साहित्यका बहुविधामा कलम चलाइसकेको भएतापनि अब नियात्रा लेखनमा आफू केन्द्रीकृत भएर लाग्ने बताएका थिए। आफ्ना कृतिका भावार्थ अरूका माध्यमबाट सुन्न पाएकोमा प्रसन्नता जाहेर गर्दै यो कार्यक्रमले आफूमा अझै लेखकीय ऊर्जा थपेको धारणा उनले राखेका थिए। 

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना'ले 'तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ' भन्ने आशय सहित 'त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्' नामक साहित्यिक अभियान सुरु गरिएको बताए। उनले यो अभियान गत असार र श्रावण महिनामा क्रमश: आदिकवि भानुभक्त आचार्य र  महामानव विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक देनप्रति समर्पित गर्दै सञ्चालन  भैसकेको जानकारी दिँदै सोही अभियानको तेस्रो संस्करणका रूपमा  विष्णुबहादुर सिंहको साहित्यिक योगदानलाई स्मरण गरिएको विचार व्यक्त गरे ।

यस अघि'तीन तियाँ','गजल मुशायरा', 'पुस्तकसँग पाठक', 'बहुभाषिक काव्यगोष्ठी'  'लेखन प्रशिक्षण कार्यशाला', 'स्रष्टा सम्मान', 'पर्यटन साहित्य प्रवर्द्धन' लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम सञ्चालन गरिसकेकोले पृथक धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई  यस प्रकृतिको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य 'अतृप्त' ले जानकारी दिए।

करिब ३ घन्टासम्म सञ्चालन भएको सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य 'अतृप्त' ले गरेका थिए। अर्ध-औपचारिक  शैलीमा सञ्चालन भएको सो कार्यक्रममा करिब डेढ दर्जन स्रष्टाहरूको सहभागिता रहेको थियो।

विष्णुबहादुर सिंहका हालसम्म कविता, कथा, हाइकु, ताङ्का, गीत, गजल,चोका, नियात्रा, सिजो, डोडोइट्सु आदि विधाका गरी करिब ३ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । सिर्जना, सम्पादन र अनुवादमा समेत उनी निरन्तर क्रियाशील रहँदै आएका छन् । उनी नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक समेत हुन् ।

०००

शब्दपथबाट
























No comments: