Wednesday, May 28, 2025

महान् सांस्कृतिक सहिद कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवस कार्यक्रम सम्पन्न

 काठमाडौँ, 

जनसांस्कृतिक महासङ्घ  नेपाल केन्द्रीय समितिले वि. सं.  २०८२ साल जेठ १३ गते महान् सांस्कृतिक सहिद  कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवस कार्यक्रम सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रीय सदस्य एवम्  साहित्य ,कला तथा संस्कृति विभाग प्रमुख  महेश्वर दाहालको प्रमुख आतिथ्यमा महान् सांस्कृतिक सहिद कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजना पेरिसडाँडामा गरेको हो। कार्यक्रमको आरम्भमा एक मिनेट सहिद प्रति मौन धारण गर्दै  इच्छुकको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु  गरिएको हो । 

प्रमुख अतिथि दाहालले उहाँसँग काम गर्ने अवसर पाएका कारणले पनि उहाँको व्यक्तित्व, विचार र नेतृत्व शैली मेरो स्मृतिमा अझै गहिरो रूपमा बसेको बताए । ‘कृष्ण सेन भन्ने बित्तिकै एक जना क्रान्तिकारी कवि, एक जना समर्पित पत्रकारको रूपमा सम्झना आउँछ’ भन्दै दाहालले ‘साँच्चै भन्नुपर्दा जनताको पक्षमा कलम चलाउने साहसी योद्धा, नामभन्दा पनि विचार भएको’ बताए ।

कार्यक्रमका अतिथि  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ, नेपालका पूर्व अध्यक्ष   मातृका पोखरेलले इच्छुकको  वैचारिक  प्रतिबद्धता र  कवि व्यक्तित्वको चित्रण गरे । 

कार्यक्रममा इच्छुकद्वारा रचित प्रसिद्ध कविता ''प्रतिबन्ध''लाई  जनवादी कला कार झङ्कार बुढा,केसरी घर्ती मगर एलिना ,विश्व दोङ,दिपक राई,पुजा श्रेष्ठ,सुशील सिंह ठकुरी  र धनु ग्याङ्मीले सामूहिक रूपमा गाउनु भएको थियोे ।यसैगरी प्रगतिवादी कविहरू चेतनाथ धमला,बम बानिया,मिथोच र उत्तम लिम्बूले कृष्ण सेन इच्छुक रचित कविता वाचन गर्नुभयो । 

जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको समापनका क्रममा महान् सांस्कृतिक सहिद  इच्छुकको क्रान्तिकारी चिन्तन ,साहित्यिक व्यक्तित्व,आदर्श र प्रेरणा भावी पुस्तासम्म  पुर्याउने गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।उद्घोषण गर्दै महासङ्घका महासचिव केशव सिलवालले इच्छुक निरङ्कुशता विरुद्धका योद्धा कवि तथा पत्रकार रहेको बताउनुभयो।  जनदिशा दैनिकको प्रधान सम्पादक भएका बखत  तत्कालीन राज्य सत्ताको निर्देशनमा प्रहरीले पक्राउ गरी  कृष्ण सेनलाई  २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमै चरम यातना दिएर हत्या गरेको हो ।  इच्छुकका शोकाञ्जली,इतिहासको यस घडीमा,बन्दी र चन्द्रागिरी जस्ता काव्यकृति प्रकाशित रहेका छन् । कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतका पत्रपत्रिकामा सम्पादक रहेका उनले साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनपुरस्कार (२०५९),कृष्णमणि साहित्य पुरस्कार (२०५९),प्रगतिशील साहित्य पुरस्कार (२०६१), मरणोपरान्त र प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त प्राप्त गर्नुभएको हो। दाङ कारागार,भद्र बन्दीगृह सिराहा र राजविराजमा पटकपटक जेलजीवन बिताएका इच्छुकको सहादतपछि पनि कृष्ण सेन 'इच्छुक' स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १-३, कवि इच्छुक कविताका सन्दर्भमा 'आस्था र निष्ठाका सतिसाल इच्छुक'जस्ता कृति प्रकाशित  भएका छन् ।

000


















































No comments: